कोशी


कोसीका मन्त्री रामबहादुर मगर भन्छन्- बालिकालाई गाडीले ठक्कर दिएको घटना ठूलो होइन, उपचार खर्चको व्यवस्था गरिसक्यौँ (अन्तर्वार्ता)

‘घटनापछि नचिनेको ठाउँमा बसिरहनु उपयुक्त ठानिएन, तुरुन्तै प्रहरीलाई खबर गर्‍यौँ’
कोसीका मन्त्री रामबहादुर मगर भन्छन्- बालिकालाई गाडीले ठक्कर दिएको घटना ठूलो होइन, उपचार खर्चको व्यवस्था गरिसक्यौँ (अन्तर्वार्ता)

सुमन सुस्केरा
भदौ २१, २०८२ शनिबार २१:१०, काठमाडौँ

कोसी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगर शनिबार बिहान ललितपुरको गोदावरीस्थित एमालेको विधान महाधिवेशनस्थल जाने क्रममा हरिसिद्धिको सडकमा एउटा दुर्घटना भयो। उनको गाडीले एक बालिकालाई ठक्कर दियो। अनि गाडी एमालेको विधान महाधिवेशन भइरहेको स्थल सनराइज हलतिर अघि बढ्यो। बालिका ललितपुरको बी एण्ड बी अस्पतालमा २ घण्टाको उपचारपछि डिस्चार्ज भएकी छन्।

घटनास्थलको भिडियो हेर्दा मन्त्री सवार गाडीले जेब्रा क्रसमा बाटो पार गर्न लागेकी बालिकालाई ठक्कर दिन्छ, तर गाडी रोकिँदैन र सडकमा लडिरहेकी बालिकालाई छलेर अगाडि बढ्छ। यो घटनालाई लिएर शनिबार बिहानदेखि नै मन्त्री सवार गाडी नै ‘हिट एण्ड रन’ अर्थात् ठक्कर दिएर भागेको भनेर सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ। 

यो घटनालाई लिएर हरिसिद्धिका स्थानीयले विरोध जनाउँदा एमालेको विधान महाधिवेशनस्थल ललितपुरको गोदावरी जाने मुख्य सडक अवरुद्ध हुन पुग्यो, जसले गर्दा एमालेको शनिबारको कार्यक्रम एक घण्टा पछि मात्रै सुरु हुन सक्यो। एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशन स्थल सनराइज हलमै यसलाई ‘सामान्य घटना’ भन्दै उपचार खर्च पार्टीले गर्ने भनेपछि त्यसको विरोधमा सामाजिक सञ्जाल झन् तात्यो। मन्त्री रामबहादुर मगरको चरम असंवेदनशीलता देखिएको यस घटनामा उनी आफै चाहिँ के भन्छन् त? नेपालखबरले मन्त्री मगरसँग गरेको कुराकानी :

तपाईँ चढेकै गाडीले ललितपुरको हरिसिद्धिमा बालिकालाई ठक्कर दिएर भागेको रहेछ। जेब्रा क्रसमा यस्तो घटना कसरी भयो?
हो, सानो दुर्घटना भएको हो। हामी कार्यक्रम (एमाले विधान महाधिवेशन, गोदावरी, ललितपुर) तर्फ जाँदै थियौँ। सामान्य गतिमा गाडी अघि बढिरहेको थियो। अचानक एक सानी बालिका गाडीमा अलिकति ठोक्किइन्। तर हाम्रो चालकले तुरुन्तै ब्रेक लगाएकाले ठूलो दुर्घटना भएन। बालिका तुरुन्तै उठिन्, एक जना भाइले पनि सहयोग गरे। त्यसपछि हामीले गाडी अलिकति साइडमा लगेर अगाडि बढ्यौँ।

तपाईँ अहिले मन्त्री पनि हुनुहुन्छ। मन्त्री सवार गाडी नै यसरी जेब्रा क्रसमा मान्छेलाई ठक्कर दिएर, सडकमा लडिरहेकी बालिकालाई छलेर कसरी भाग्न सकेको?
होइन, त्यस्तो होइन। ठूलो दुर्घटना भएको थिएन। बालिकाको अवस्था सामान्य थियो। गम्भीर देखिएको थिएन। घटना हुनेबित्तिकै वास्तवमा हामीले तत्काल प्रहरीलाई जानकारी गराएका थियौँ। पछि प्रहरी स्वयं त्यहाँ पुगेर सामान्य दुर्घटना मात्र भएको रहेछ भनेर बताए।

तपाईँको गाडी बालिकालाई ठक्कर दिएपछि रोकिएकै देखिँदैन भिडिओ हेर्दा। कसरी थाहा पाउनु भयो बालिकाको अवस्था सामान्य थियो भनेर?
घटना नचिनेको ठाउँमा भएको थियो। हामीलाई ठाउँको बारेमा धेरै ज्ञान थिएन। हामी बसिरहनु उपयुक्त ठानिएन। तुरुन्तै प्रहरीलाई खबर गर्ने नै दायित्व थियो र हामीले त्यही गर्‍यौँ। पछि स्थानीय मन्त्री र हाम्रो टोलीका सहयोगीहरू त्यहाँ पुगे र उपचार खर्चसहितको व्यवस्था मिलाइएको छ।

यस्तो घटना भएपछि गाडी रोकेर बालिकालाई अस्पताल लैजानु पर्छ भन्ने किन लागेन?
त्यो प्रश्न दुई कोणबाट हेर्नुपर्छ। हामी नचिनेको ठाउँमा थियौँ। नजिकै कुन अस्पताल छ भन्ने पनि थाहा थिएन। त्यस्तो अवस्थामा आफैँले बालिकालाई उठाएर लगे गलत अर्थ लाग्न सक्थ्यो। त्यसैले प्रहरीलाई जानकारी गरेर प्रशासनकै सहयोगमा उपचार गर्न उपयुक्त ठान्यौँ। हामीले प्रशासन, प्रहरी लगायत सबै क्षेत्रलाई जानकारी गराएर परिचालन गरेका छौँ।

यस्तो गम्भीर घटनामा यति असंवेदनशील व्यवहार हुन्छ भने मन्त्रीबाट अरु के अपेक्षा गर्ने नागरिकले?
असंवेदनशील होइनौँ। हामीले तत्काल प्रहरीलाई खबर गर्‍यौँ। पछि बाग्मती प्रदेशका कृषि मन्त्रीसमेत त्यहाँ पुग्नुभयो। पार्टीले नै उपचार खर्चको जिम्मा लिने निर्णय गरेको छ। यस्तो दुर्घटना दुखद् त हो तर यो ठूलो ज्यानमारा दुर्घटना थिएन। त्यसैले यसलाई बढी चर्काउनुभन्दा जिम्मेवारीका साथ समाधानतर्फ लाग्नु उचित हुन्छ। दुर्घटना सामान्य भए पनि दुखद् भयो। तर हामीले प्रशासनलाई जानकारी गर्‍यौँ, उपचार खर्चको व्यवस्था गर्‍यौँ र अन्य सहयोग गर्न पनि तयार छौँ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad