मोरङ जिल्ला अदालतले अदालतको नियमित कामकारबाही क्रमिक रूपमा सुचारु गर्ने निर्णय गरेको छ।
अदालतले जारी गरेको सूचनामा अदालतको दैनिक कार्यसम्पादन र क्षति भएका मिसिलहरूको पुनः प्राप्तिका विषयलाई अगाडि बढाउन थालेको हो। मंगलबार अदालतको पूर्ण बैठकले काम कारबाही बारेमा निर्णय गर्दै सेवालाई क्रमिक सुरु गर्ने निर्णय गरेको हो।
बैठकको निर्णय अनुसार, थुनछेक, म्याद थप, जरुरी पक्राउ पुर्जी अनुमति, विशेष प्रकृतिका निवेदनहरूको सुनुवाइ, साथै मिलापत्र, मुद्दा फिर्ता, रोक्का÷फुकुवा र अन्तर कालीन आदेश सम्बन्धी कार्यहरू पुनः सञ्चालन गरिने भएको छ। यी कामको हकमा नष्ट नभएको मिसिलको हकमा मात्रै लागूू हुने भनिएको छ।
भदौ २४ गतेको घटनाबाट क्षति भएका मुद्दाका मिसिलहरूको सन्दर्भमा विशेष परिस्थितिका कारण नष्ट भएका मिसिल कागजातहरूको प्राप्ति र प्रमाणीकरण सम्बन्धी निर्देशिका, २०८२ झ अनुसार पुनः प्राप्ति र प्रमाणीकरणको प्रक्रिया अघि बढाइने अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए।
अदालतले घटनाबाट क्षति नभएका मिसिलहरू छठ पर्वको बिदा पछि पेशी व्यवस्थापन गरी पुनः सुनुवाइमा ल्याइने जानकारी पनि दिएको छ।
मोरङ जिल्ला अदालतमा भदौ २४ को जेन्जी आन्दोलनका कारण १ लाख ५० हजार मिसिल जलेर नष्ट भएको छ। करिब २ हजार चालू मिसिल आधा डढेको अवस्थामा प्रयोग गर्न मिल्ने खालको रहेको सूचना अधिकारी बुढाथोकीले जानकारी दिए। अदालतका २ वटा भवन ३ तले जलेको थियो ।
ती भवनमा ११ वटा इजलास, ११ वटा फाँट, प्रशासन शाखा, श्रेस्तेदार, न्यायाधीश चेम्बर ६ वटा, अभिलेख शाखाको ५ वटा कोठा, बैठक हल, लेखा शाखा सबै जलेर प्रयोग गर्न नमिल्ने अवस्था रहेका छन्। त्यस्तै मेलमिलाप भवन, दक्षिण तर्फको, दायरी, म्याद र दर्ता शाखा, वैतनिक वकिल कक्ष, स्तनपान कक्ष, तहसिल शाखा पूर्ण नष्ट भएको सूचना अधिकारी बुढाथोकीले जानकारी दिए।
नष्ट भएका संरचनाहरू पुन प्रयोग गर्न नमिल्ने पुरानो भवन भएकोले त्यो प्राविधिक रिपोर्ट पछि मात्रै के गर्ने भन्ने निर्णयमा पुगिने उनले बताए। तत्काल जिल्ला अदालत मोरङले काम चलाऊ रूपमा ३ वटा इजलासलाई रङ्ग रोगन गरेर सञ्चालनमा ल्याएको छ। मङ्गलबारदेखि आलो पालो गरेर न्यायाधीशहरुले इजलासबाट काम थालेको सूचना अधिकारी बुढाथोकीले जानकारी दिए।
पुरानो भवन प्रयोगमा ल्याउन समस्या भएपछि अहिले बार एशोसिएसनबाट अदालतले खरिद गरेको भवन मर्मत तथा रङ्ग रोगन गरेर कार्य सञ्चालन गरिएको छ।
Shares

प्रतिक्रिया