झापा जिल्लाको गौरीगञ्ज गाउँपालिका–६ खजुरगाछी बजारमा गएराति भएको आगलागीबाट करिब एक करोड बीस लाख रुपैयाँ बराबरको क्षति भएको छ।
राति करिब १० बजे राजेन्द्र ढकालको दुईतले इट्टाको पर्खाल र टिनको छानाको घरमा अचानक विद्युत् सर्ट भई आगलागी भएको थियो। आगोले ढकालको घर र घरसँगै रहेको भाडामा बस्ने चन्द्र नायकको होलसेल किराना पसल पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
आगलागी नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय गौरीगंजबाट खटिएको टोली, प्रस्तावित सिमा सुरक्षा बल, गौरादह नगरपालिका, शिवसतासी नगरपालिका, कमल गाउँपालिकाको दमकलको सहयोगमा मध्यराति आगो नियन्त्रणमा आएको थियो।
आगलागीबाट कुनै मानवीय वा चौपाय क्षति नभए पनि ठूलो आर्थिक क्षति भएको प्रहरीको भनाइ छ। आगलागीबाट चन्द्र प्रसाद नायकको नाममा सञ्चालित राहुल खुद्रा किराना पसल पूर्ण रूपमा जलेर नष्ट हुँदा करिब ३० लाख, मिनु देवी नायक (चन्द्र नायककी श्रीमती) को भाँडा पसल पूर्ण रूपमा जलेर नष्ट हुँदा करिब २० लाख र राजेन्द्र ढकालको घर तथा घरभित्र रहेका सुन, चाँदी, नगद, लत्ताकपडा, भाँडाकुँडा आदि गरी करिब ७० लाख गरि करिब १ करोड २० लाख बराबरको क्षति भएको अनुमान प्रहरीले गरेको छ।
प्रहरीले घटनास्थलको विस्तृत क्षति विवरण संकलन कार्य जारी रहेको जनाएको छ।
Shares

प्रतिक्रिया