कोशी


कांग्रेस र एमालेले ‘अड्को’ थाप्दा मुख्यमन्त्रीले सकेनन् विवादित मन्त्री हटाउन

कांग्रेस र एमालेले ‘अड्को’ थाप्दा मुख्यमन्त्रीले सकेनन् विवादित मन्त्री हटाउन

नेपालखबर
मंसिर ८, २०८२ सोमबार १४:५७, विराटनगर

मन्त्री फेर्ने की नफेर्ने भन्ने अलमलमा नेकपा एमाले र नेपाली कांग्रेस विगत ३ महिना देखि रन्थनिएका छन्। एउटा पार्टीले मन्त्री फेर्न खोज्दा अर्को पार्टी पछि हट्ने गर्दा विवादित छवि भएका मन्त्रीहरू चैनमा छन्।

मन्त्री फेरिने हल्ला बिच पनि योजना कार्यक्रम कार्यान्वयन जान नसकेको कर्मचारीहरूले बताउन थालेका छन्। कोसी सरकारले पछिल्लो एक चौमासिकमा करिब ९ प्रतिशतको हाराहारीमा बजेट खर्च गरेको छ। 

कोसी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार, पछिल्लो चार महिनामा पुँजीगत खर्च ४ प्रतिशत र सञ्चालन खर्च ५ प्रतिशत छ।  यही तथ्यलाई हेर्ने हो भने सरकारी काम कारबाही सुस्त रहेको स्पष्ट देखिएको छ।

मन्त्रीहरू विवादमा आउने अनि कर्मचारी र मन्त्रीको बिचमा दुरी बढ्दै जाँदा बजेट कार्यक्रम कार्यान्वयनमा समस्या देखिएको छ। एक कर्मचारीका अनुसार, पछिल्लो समय मन्त्रीहरू फेरिने हल्लाका बिच कामहरू अघि बढ्न सकेका छैनन्। 

कोसी प्रदेश सरकारका मन्त्रीहरू फेर्नका लागि साउनदेखि नै तयारी गरेको भए पनि अहिलेसम्म एकजना पनि मन्त्री फेरिएका छैनन्। 

विवादमा परेका पर्यटन वन तथा वातावरण मन्त्री सदानन्द मण्डल, उद्योग कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङ्गाम र सामाजिक विकास मन्त्री पाँचकर्ण राईलाई कार्यसम्पादन सन्तोषजनक नभएको र विवादमा परेको भन्दै मुख्यमन्त्री हिक्मत कुमार कार्कीले साउनमा नै हटाउ खोजेका थिए। तर उनीहरूलाई हटाउन खोजेको तीन महिना बितिसक्दा समेत मन्त्री परिवर्तन गर्न सकेका छैनन्।

मन्त्री मण्डल स्वकीय सचिव मार्फत कर्मचारीहरूसँग क्युआर कोड पठाएर पैसा मागेको आरोपमा विवादित भएका छन्। 

त्यस्तै, मन्त्री हाङ्गामले कर्मचारीहरूलाई धम्की दिएको, सार्वजनिक रूपमा व्यक्तिहरूमाथि कुटपिट गरेको तथा सचिवसँग विवाद गरेको आरोप लाग्दै आएको छ। 

सामाजिक विकास मन्त्री राईको भने कार्यशैली सन्तोषजनक नभएको मुख्यमन्त्रीले साउनको अन्तिम साता हटाउन खोजेका थिए। त्यो बेलामा नेपाली कांग्रेसले मन्त्री फिर्ता बोलाउन आलटाल गर्दा मन्त्री हेरफेरको विषय ओझेलमा परेको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ। 

भदौमा तीन जना मन्त्री फेर्ने गरी नेकपा एमाले र नेपाली कांग्रेसका बिचमा छलफल भएको थियो। छलफलमा नेकपा एमाले र कांग्रेसको संयन्त्रका सबै सदस्यहरू थिए। त्यो बेला पनि नेपाली कांग्रेसका संसदीय दलका नेता एवम् कोसी प्रदेश सभापति उद्धव थापाले केन्द्रको निर्णय पर्खिएको बताउँदै आएका थिए। 

पछिल्लो समय फेरि मन्त्री फेर्ने हल्ला चलाइएको छ। मुख्यमन्त्री हिक्मत कुमार कार्कीले केही दिनअघि मात्रै आफ्ना मन्त्रीहरूबाट देखिने गरी काम नभएको भन्दै अबको केही दिन भित्रै मन्त्री फेर्ने बताएका थिए। उनले यो विषय सार्वजनिक गरेको झन्डै दुई हप्ता बित्न लागेको छ। 

अब मन्त्री फेर्दा सबै मन्त्रीहरू फेर्ने मुख्यमन्त्रीको तयारी छ। 

तर, कांग्रेस र एमालेले आलटाल गरेको भन्दै पार्टी भित्रैबाट आलोचना हुँदै आएको छ। 

कांग्रेसका एक सांसदले भने, ‘हाम्रो सहमति अनुसार एक वर्ष पुगेपछि मन्त्री फिर्ता गर्ने र अर्को सांसदलाई मन्त्री पठाउने भन्ने निर्णय भएको थियो, त्यो पनि टेरेका छैनन्, यो मन्त्री फिर्ता नहुनुमा हामी कांग्रेस भित्रकै समस्या हो।’ 

पछिल्लो समय थप दुई मन्त्रीहरू पनि विवादमा आएका छन्। आफ्नो स्वकीय सचिव प्रयोग गरेर कर्मचारी सरुवामा पैसा मागेको भिडिओ सार्वजनिक भएपछि स्वास्थ्यमन्त्री भूपेन्द्र राई र घरमा बसेर घर भाडा लिएको भन्दै आन्तरिक मामिला तथा कानुनमन्त्री रेवती रमण भण्डारी पनि विवादमा तानिएपछि मुख्यमन्त्री कार्की मन्त्री फेर्नु पर्ने थप दबाबमा परेका छन्।

यसमा एमालेका प्रदेश कमिटीले तत्कालै सबै मन्त्रीहरू फिर्ता बोलाएर नयाँ मन्त्री नियुक्त गर्न समेत भनिसकेको स्रोतले जनाएको छ। 

दुई हप्ता पहिला नै एमालेका कोसी प्रदेश इन्चार्ज शेरधन राईले कांग्रेसले मन्त्री फिर्ता नबोलाए पनि एमालेका मन्त्री फेर्न मुख्यमन्त्रीलाई सुझाव दिएको एमालेका नेताहरू बताउँछन् । 

मन्त्रीहरूले रिजल्ट देखिने गरी कामै गर्न नसकेको निष्कर्षमा पुगेका मुख्यमन्त्री कार्की एमाले निकट मन्त्री फिर्ता बोलाउने तयारीमा पुगेको भए पनि महाधिवेशन अघि भने उनले आँट गर्न सकेका छैनन्।

यसअघि नै मन्त्री फिर्ता बोलाउन पार्टीले दबाब दिएको भए पनि अब महाधिवेशनपछि मात्रै मन्त्री फिर्ता गर्ने तयारीमा एमाले छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad