कोशी


दुहबीमा पतिले गरे पत्नीमाथि पेट्रोल छर्केर हत्या प्रयास

दुहबीमा पतिले गरे पत्नीमाथि पेट्रोल छर्केर हत्या प्रयास

नेपालखबर
पुस ११, २०८२ शुक्रबार १६:३३, विराटनगर

सुनसरीको दुहबीमा एक महिलामाथि श्रीमानले पेट्रोल खन्याएर आगो लगाई हत्याको प्रयास गरेका छन्।

दुहबी नगरपालिका–३ मुक्तिनाथ मन्दिर टोलमा बसोबास गर्ने ३३ वर्षीय मुस्तफा शेखले शुक्रबार २८ वर्षीय श्रीमती खुस्बु खातुनको शरीरमा पेट्रोल छर्केर आगो लगाई ज्यान मार्ने प्रयास गरेका प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार शेखले योजनाबद्ध रूपमा श्रीमतीको शरीरमा आगो लगाएको देखिएको छ।

भारतमा वैदेशिक रोजगारीमा रहेका मुस्तफा शुक्रबार मात्र घर फर्किएका थिए। घर आउनासाथ घरायसी विवाद उग्र बनेपछि उनले श्रीमतीमाथि पेट्रोल खन्याएर आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी चन्द्र खड्काले जानकारी दिए।  

उनका अनुसार, घटना लगत्तै स्थानीयले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय दुहबीको टोलीले उद्धार गरेको हो। 

आगोले जलेर गम्भीर घाइते भएकी खुस्बुको दुवै हात, घाँटी, छाती र अनुहारमा गम्भीर चोट लागेको उनले बताए। स्थानीय सामुदायिक अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारको लागि विराटनगरमा रहेको नोबेल मेडिकल कलेज हुँदै अहिले पारस अस्पतालमा भर्ना गरिएको छ। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। 

डेढ वर्ष अगाडि मात्र विवाह गरेकी खुस्बुको माइती भारतको बिहारमा बस्छन्। 

उनका माइती पक्षले मुस्तफा विरुद्ध ’ज्यान मार्ने उद्योग’ अन्तर्गत इलाका प्रहरी कार्यालय दुहबीमा जाहेरी दिएको डीएसपी खड्काले बताए।  हत्याको आरोपमा उनका श्रीमान् शेखलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad