कोशी


कोसी प्रदेशबाट ओलीसहित चार जना एकल सिफारिस हुँदा राजेन्द्र राईको ठाउँमा दुई जना थपियो

कोसी प्रदेशबाट ओलीसहित चार जना एकल सिफारिस हुँदा राजेन्द्र राईको ठाउँमा दुई जना थपियो

सुमन सुस्केरा
पुस २४, २०८२ बिहिबार १८:३३, विराटनगर

नेकपा एमालेले कोसी प्रदेशबाट चार जनाको नाम एकल सिफारिस गरेको छ। धनकुटाको राजेन्द्र राईको सन्दर्भमा भने २ जनाको नाम प्रदेश कमिटीबाट थप गरेर पठाएको हो। 

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कोसी प्रदेशबाट एमालेका चार जनाको नाम एकल सिफारिस भएको छ। 
नेकपा एमालेको बिहीबार विराटनगरमा बसेको कोसी प्रदेश कमिटीको सचिवालय बैठकले चार जनाको नाम एकल सिफारिस गर्ने निर्णय गरेको हो। 

झापा ५ बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एमालेका सचिव शेरधन राई भोजपुरबाट आएको नाममा एकल सिफारिस प्रदेश कमिटीले अनुमोदन गरेर सिफारिस गरेको हो। 

त्यस्तै सुनसरी ४ बाट जगदीश कुसियैत र इलाम २ बाट सुहाङ नेम्बाङको नाममा पनि प्रदेश कमिटीले कुनै पनि नाम थप नगरी एकल सिफारिस भएको हो। 

कोसी प्रदेशमा २८ वटा निर्वाचन क्षेत्र छन्। केन्द्रको निर्देशन अनुसार आज बसेको प्रदेश कमिटीको सचिवालय बैठकले एक महिला सहित सबै निर्वाचन क्षेत्रबाट तीन जनाको नाम केन्द्रमा सिफारिस गर्न पदाधिकारीलाई जिम्मा दिएको छ। 

धनकुटाबाट एकल नाम सिफारिस गरिएका राजेन्द्रकुमार राईको क्षेत्रमा भने थप दुई जनाको नाम सिफारिस गरिएको छ। जिल्लाबाट एकल नाम सिफारिस भएर आएकोमा त्यसमा प्रदेश कमिटीले टिकाराम चेम्जोङ र शकुन्तला बस्नेतको नाम थपेर पठाएको हो। 

जिल्लाले सिफारिस गरेको नाममा दाबी आएपछि प्रदेश कमिटीले २ जनाको नाम थपेर पठाएको एमाले प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिए। 

उनले भने, ‘धनकुटाबाट केही व्यक्तिहरूको दाबी आएको कारण हामीले नाम थप गरेका हौँ, अरू जिल्लाको हकमा एकल सिफारिसलाई अनुमोदन गरिएको छ।’ 

प्रदेश कमिटीको निर्णयले धनकुटा जिल्ला कमिटीले स्वाभाविक लिएको छैन। जिल्ला कमिटीका एक नेताले राजेन्द्र राईलाई रोक्नको लागि नाम थपिएको हुनसक्ने आशङ्का व्यक्त गरे। 

सिफारिस गरिएको नामको बारेमा आफूलाई थाहा नभएको केन्द्रीय सदस्य समेत रहेका राजेन्द्र राईले नेपालखबरलाई जानकारी दिए। 

११० सदस्य जिल्ला कमिटी २२ जनवर्गाीय सङ्गठनहरू सहित सबैले एकल सिफारिस गरेको नाममा प्रदेश कमिटीले कसरी नाम थप्यो त्यो बारेमा आफूलाई जानकारी नभएको राईले प्रतिक्रिया दिए। 

टिकाराम चेम्जोङ नेकपा एमाले कोसी प्रदेश कमिटीका उपाध्यक्ष हुन्। उनले प्रदेश कमिटीमा दिएको निवेदनका आधारमा सिफारिस गरिएको हुनसक्ने उनको अनुमान छ। 

राई यसअघि पनि प्रतिनिधि सभामा दुईपटक निर्वाचित भएका नेता हुन्। उनी २०७४ र २०७९ मा निर्वाचित भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad