प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न झापाका राजनीतिक दल, सुरक्षा निकाय र प्रशासनले साझा प्रतिबद्धता जनाएका छन्।
संवाद समूह कोशी प्रदेशले विर्तामोडमा आयोजना गरेको संवादमा सहभागीले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्ने र सामाजिक सञ्जालमार्फत हुने दुष्प्रचार रोक्न आफ्नो ठाउँबाट पहल गर्ने सामूहिक अठोट गरेका हुन्। प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले निर्वाचन आचारसंहिता २०८२ को कानूनी व्यवस्थाबारे प्रष्ट पार्दै २४ वटा विभिन्न क्षेत्र र समूहले यसको अनिवार्य पालना गर्नुपर्ने बताए। फागुन ४ गतेपछि मात्रै जुलुस, र्याली र कोणसभा गर्न पाउने व्यवस्था रहेकाले अहिलेदेखि नै हुन सक्ने उल्लंघनका क्रियाकलापमा प्रशासनले निगरानी गरिरहेको उनले बताए।
सुरक्षाको विषयलाई लिएर झापाका प्रहरी उपरीक्षक बसुन्धरा खड्काले अहिलेको प्रमुख चुनौती डिजिटल प्लेटफर्म र सामाजिक सञ्जालको दुरुपयोग रहेको उल्लेख गरे। प्रहरीले सामाजिक सञ्जालको सुक्ष्म मोनिटरिङ गरिरहेको र जिल्लाबाट सम्भव नभएका प्राविधिक विषयहरू केन्द्रमा पठाइने बताउँदै प्रहरी उपरीक्षक खड्काले सम्भावित सुरक्षा थ्रेटका सूचना समयमै प्रहरीलाई दिन आग्रह गरे।
छलफलमा दलका प्रतिनिधिले सुरक्षा र आचारसंहिता उल्लंघनका गम्भीर विषय उठाएका थिए। नेकपा (एमाले) का एकराज कार्कीले कतिपय दलले निर्धारित समय अगावै घरदैलो र प्रचार सुरु गरेको भन्दै विधिको शासनमाथि प्रश्न उठाए। उनले आचारसंहिताका कार्यान्वयन गर्न कार्यकर्तासम्म संयन्त्र बनाएको बताए।
नेपाली कांग्रेसका सचिव कृष्ण हुमागाईँले राजनीतिक प्रतिस्पर्धालाई आपराधिक गतिविधिले छायाँ पार्न खोजेको बताए। विर्तामोडबाट लुटिएका हतियार अझै नियन्त्रणमा नआएकोमा चिन्ता व्यक्त गरे।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका राजेन्द्र खनालले निर्वाचन आयोगको प्रभावकारितामाथि प्रश्न उठाउँदै आफ्ना कार्यकर्तालाई अनुशासनको दायरामा राख्न पाँच तहको प्रशिक्षण दिएको जानकारी दिए। राप्रपाका केशवप्रसाद ओझा र नेपाल कम्युनिस्ट पार्टीका सुमन सिंहले झापा–५ लाई केन्द्रित गरी सामाजिक सञ्जालबाट फैलाइएका गलत सूचना र उम्मेदवार लक्षित षड्यन्त्रका हल्लाले मतदातामा त्रास पैदा गरेको भन्दै सुरक्षा निकायको ध्यानाकर्षण गराए।
छलफलमा नेपाली कम्युनिस्ट पार्टीका ज्योतीसिंह दर्लामीले मतदाता शिक्षाको अभाव र बाहिर रहेका हतियारको जोखिमबारे कुरा उठाए।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका राजा आङ्थुबोले पाथीभरा केबलकारको विवाद समाधान हुनुपर्ने विषयमा जोड दिए। अहिले पनि पाथिभरामा केबुकार निर्माणको काम नरोकिएकोले भोलि सम्भावित झडप हुनसक्ने भएकोले त्यसले चुनावमा असर पार्नेमा जोड दिए।
Shares

प्रतिक्रिया