कोशी


एमाले अपराजित रहेको इलाम-१: पाँच पटक जितेका झलनाथ बाहिरिँदा कसले मार्ला बाजी?

एमाले अपराजित रहेको इलाम-१: पाँच पटक जितेका झलनाथ बाहिरिँदा कसले मार्ला बाजी?

सुमन सुस्केरा
माघ २०, २०८२ मंगलबार १८:३६, विराटनगर

इलामको माइजोगमाईको आसपासमा उम्मेदवार काजीमान कागते आफ्ना मतदाता भेटघाटमा व्यस्त देखिन्छन्। माइजोगमाई गाउँपालिकाका अध्यक्ष कुश बहादुर थेवेको गाउँमा पुगेका नेकपा (एमाले)का उम्मेदवार कागते मतदातासँग मत मागिरहेका छन्। जहाँ झन्डै ८० प्रतिशत लिम्बु समुदायको बसोबास छ।

त्यहाँको माहोल हेर्दा यस्तो लाग्छ, मानौँ यो चुनावी प्रचार मात्र होइन, एउटा पारिवारिक भेटघाट हो। लिम्बु संस्कृति अनुसार ‘सेवारो’ गर्दै कागते भोट मात्र मागिरहेका छैनन्, जनताका तीता–मीठा अनुभव पनि सुनिरहेका छन्।  मतदाताको प्रश्न र काजीमानको कडा जवाफ धेरैजसो मतदातालाई मन पर्छ।

गाउँघरमा जाँदा मतदाताको एउटै गुनासो छ,‘नेताहरू चुनावमा नमस्ते गर्छन्, जितेपछि कता हराउँछन् हराउँछन्।’

कागते जवाफ दिँदै भन्छन्, ‘म हराउने मान्छे होइन। म त यति धेरै पटक तपाईँहरूको घरमा आउँछु कि, पछि तपाईँहरूले नै यो कागते कति धेरै आएर दुःख दिएको’ भन्ने बनाउँछु।’

हो यस्तै यस्तै छ अहिले इलाम क्षेत्र नम्बर १ का उम्मेदवारहरूको अवस्था। 

सम्भावनाको नयाँ खाका 
सन्दकपुरको हिमाली भेगमा पुग्दा उनी हिमाली जडिबुटीको सम्भावना र बजारीकरणको विषयमा मतदातासँग आफ्ना कुरा सुनाउँछन्। त्यसका लागि संघीय सरकारको नीतिमा आफ्नो प्रभावकारी भूमिका हुने वाचा गर्छन्। 

‘यहाँका साथीहरूले जडीबुटीबाट करोडौँ कमाइरहेका छन्, अब यसलाई व्यवस्थित गरेर अरबौँ कमाउने ठाउँ बनाउनुपर्छ,’ उनले नेपालखबरसँग भने। 

कृषिलाई स–साना झुण्डबाट निकालेर एउटा ठूलो औद्योगिक प्रोजेक्ट बनाउने र पर्यटनलाई आर्थिक उन्नतिको आधार बनाउने उनको संकल्पले स्थानीयमा आशा जगाएको छ।

विगतमा प्रदेश सांसदको अनुभव बटुलिसकेका कागतेले २०७९ को स्थानीय तह निर्वाचनमा अहिलेका उनका प्रतिस्पर्धी रणबहादुर राईसँग पराजय बेहोरेका थिए। कागते भन्छन्, ‘म कुनै व्यक्तिसँग होइन, नीति र सिद्धान्तको लडाइँ लड्दै छु। मेरो प्रतिस्पर्धी कोही छ जस्तो मलाई लाग्दैन।’

खेतीपातीलाई उद्यमसँग जोड्ने
एमालेका उम्मेदवार कागतेका मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसका ३५ वर्षीय युवा नेता निश्कल राई आफ्नो निर्वाचन क्षेत्रका कच्ची सडकहरूमा मोटरसाइकल लिएर मतदाता भेट्दैछन्।

नेपाली कांग्रेसको तर्फबाट इलाम क्षेत्र नं १ (२) का प्रदेश सभा क्षेत्रीय सभापति समेत रहेका राई सोमबार बिहानै देखि व्यस्त देखिन्थे। बिहानै सूर्योदयन नगरपालिका वडा नम्बर १४ जिमी, थापाचोक, चुम्वाङ र बर्दु जस्ता बस्तीहरूमा पुगेर उनले स्थानीयसँग भलाकुसारी मात्र गरेनन्, वृद्धवृद्धाहरूको आशिर्वाद लिँदै आफ्नो उम्मेदवारीको बारेमा बुझाउँदै थिए। 

मोटरसाइकलमा बतासेतर्फ जाँदै गरेका राई स्थानीयलाई भेटेर आफ्ना एजेन्डा सुनाउँदै भन्दै थिए, ‘हाम्रो इलामलाई केवल खेतीपाती गर्ने जिल्लाका रूपमा मात्र होइन, कृषि उत्पादन र प्रशोधन गर्ने नेपालकै पहिलो कृषि औद्योगिक जिल्ला बनाउनुपर्छ।’

शंकरदेव क्याम्पसबाट एमबीएम सकेर हाल एमफील गर्दै गरेका राईका अनुसार उनीसँग नीति र विकासको स्पष्ट खाका छ। उनको मुख्य चुनावी नारा नै आफ्नै माटो, आफ्नै पानी र आफ्नै इन्धन मार्फत नै समृद्ध इलाम निर्माण गर्नु पर्छ भन्ने छ। 

‘अहिलेसम्म हाम्रा उद्योगहरू विदेशी कच्चा पदार्थमा टिकेका छन्। अब इलामले आफ्नै चिया, दुध, अलैँची र जडीबुटीलाई आफ्नै जलविद्युत् प्रयोग गरेर प्रशोधन गर्नुपर्छ, उनले भने, इलामलाई देशकै आर्थिक पावर हाउस बनाउने मेरो संकल्प हो।’

इलाममा यस्तो छ भिडन्त
इलाम १ मा त्रिपक्षीय भिडन्तको सम्भावना देखिन्छ। फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिएसँगै इलाम क्षेत्र नम्बर १ मा चुनावी चहलपहल ह्वात्तै बढेको छ। पूर्वप्रधानमन्त्री झलनाथ खनालको ‘किल्ला’ मानिने यस क्षेत्रमा यसपटक पुराना अनुभवी र नयाँ युवा अनुहारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।

यस क्षेत्रमा मुख्य गरी नेकपा (एमाले), नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच प्रतिस्पर्धा हुने चर्चा हुँदै आएको छ। 

स्थानीय राजनीतिक विश्लेषकहरूका अनुसार यसपटकको चुनावमा दानाबारी र इलाम बजारको मत निर्णायक हुने देखिन्छ। त्यस्तै फिक्कल बजारमा युवा मतदाताको संख्या उल्लेख्य रहेकाले त्यहाँको मत कता जान्छ भन्ने कुरा अझै निश्चित छैन।

कांग्रेस समर्थकहरूले यसपटक आफ्ना उम्मेदवार युवा र विज्ञ उम्मेदवारको रुपमा प्रचार गरिरहेका छन्। उम्मेदवार राम्रो भएका कारण मतदाताहरू युवाप्रति आकर्षित हुने दाबी नेपाली कांग्रेसको छ। 

नेकपा एमालेका समर्थकहरू संगठनको बल र कागतेको व्यक्तिगत प्रभावले जित सुनिश्चित हुने दाबी गर्छन्। प्रदेश सभाका पूर्वसांसद कागते एमालेका बलिया उम्मेदवार हुन्। 

स्थानीय मतदाताका माझमा भिजेका कागते सूर्योदय नगरपालिका फिक्कलका चिया व्यवसायी पनि हुन्। २०७९ को स्थानीय चुनावमा मेयरमा समेत प्रतिस्पर्धा गरेका उनी थोरै मतले पराजित भए। नेकपा एमालेका नेताहरू माई नगरपालिका र माईजोगमाई गाउँपालिकामा राम्रो पकड रहेको दाबी गर्छन्। 

दुई पटक सूर्योदय नगरपालिकाको मेयर भइसकेका रण बहादुर राई मेयरबाट राजीनामा दिएर प्रतिस्पर्धामा छन्। उनी पालिकामा शिक्षा क्षेत्र सुधार गर्ने र केही काम गर्नु पर्छ भन्ने हुटहुटि भएको नेताका रुपमा उनका नेता कार्यकर्ताहरुले लिन्छन्। 

सूर्योदय नगरपालिकामा उनलाई विकासप्रेमी नेताका रुपमा लिइन्छ। पहिले म्यानपावर व्यवसायमा संलग्न रहेको आरोप उनलाई लगाउने गरिन्छ। यही क्षेत्रका अर्का प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका बिमल गदाल छन्।

उनी स्थानीयको माझ धेरै परिचित अनुहार नभएको टिप्पणी गरिन्छ। लामो समय अमेरिका बसेर फर्किएका र उच्च शिक्षा हासिल गरेका भनेर गदाललाई लिइन्छ। फिक्कल निवासी भनिए पनि उनी स्थानीयस्तरमा ‘टुरिस्ट नेता’का रुपमा चित्रण गरिन्छ।

यस्तो छ चुनावी हिसाब
इलाम–१ मा यसपटक १३ जना उम्मेदवारहरू चुनावी मैदानमा छन्। यो निर्वाचन क्षेत्रलाई एमालेले आफ्नो बलियो किल्लाको रुपमा लिने गरेको छ।  एमाले, कांग्रेस, नेकपासँगै, रास्वपा र श्रम संस्कृति पार्टीका विनोद नेम्बाङ लिम्बू पनि चुनावी प्रतिष्पर्धामा छन्।

झलनाथ खनाल नेकपा एमाले पार्टीमा हुञ्जेल पाँच पटक जितेको इलाम १ मा २०७९ को चुनावमा उनी आफैं पराजित बनेका थिए। एमाले विभाजनपछि बनेको एकीकृत समाजवादीबाट निर्वाचन लडेका उनी आफ्नै कार्यकर्ता एमालेका महेश बस्नेतसँग पराजित बन्नु पर्‍यो। 

इलाम १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ज्वाला नेपाल, नेपाल मजदुर किसान पार्टीबाट तुलसीकेसरी प्रजापति छुजू, उज्यालो नेपाल पार्टीका हरिबहादुर गुरूङ, मंगोल नेसनल अर्गनाइजेसनका बुद्धलाल मेचे, नेपाल जनमुक्ति पार्टीबाट डम्बरसिंह लिम्बू, नेकपा (माओवादी) बाट नारदमणि साम्पाङ, जनता समाजवादी पार्टीबाट लीलाबहादुर सुनुवार तथा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट रामप्रसाद लिम्बूसहित १३ जना उम्मेदवार छन्।

क्षेत्र १ मा २०७९ को निर्वाचनमा तत्कालीन नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई पराजित गर्दै एमालेका तत्कालीन जिल्ला अध्यक्ष महेश बस्तेत विजयी भएका थिए। त्यसबेला बस्नेतले २ हजार ६ सय ६४ मतान्तरले खनाललाई हराएका थिए।  

बस्नेतले २५ हजार ७ सय ५३ र खनालले २३ हजार ८९ मत ल्याएका थिए। त्यसबेला खनाल कांग्रेस, माओवादीसहितको गठबन्धनबाट उम्मेदवार थिए भने एमाले एक्लै चुनावी मैदानमा थियो।

२०४८ र ०५१ को चुनाव जितेका खनाल २०५६ मा यही क्षेत्रमा कांग्रेसका बेनुपराज प्रसाइसँग पराजित भएका थिए।  त्यसपछि संविधानसभाका दुवै निर्वाचन २०६४ र २०७० मा झलनाथ नै निर्वाचित भएका थिए। २०७४ मा पनि उनैले चुनावी सफलता पाएका थिए। 

समानुपातिकमा एमाले पहिलो
यो क्षेत्रमा समानुपातिकतर्फ एमाले पहिलो भएको थियो । २० हजार ५६४ मतसहित एमाले पहिलो पार्टी बन्दा कांग्रेस १६ हजार ४५० मतसहित दोस्रो र एकीकृत समाजवादी ८ हजार २१ मतसहित तेस्रो देखिन्छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले ४ हजार ४५१, मंगोल नेशनल अर्गनाइजेशनले २ हजार ११५, माओवादीले १ हजार ६४९, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ हजार ३०० र  जनता समाजवादी पार्टी नेपालले १ हजार १८२ मत प्राप्त गरेका थिए।

इलाम १ मा सन्दकपुर गाउँपालिका, माइजोगमाई गाउँपालिका, रोङ गाउँपालिका, सूर्योदय नगरपालिका, इलाम नगरपालिकाको १०, १३ र १४ तथा माई नगरपालिकाको १, २, ३, ४, ५, ९ र १० नम्बर वडा समेटिएको छ। यसपटक यहाँ कूल मतदाता १ लाख १२ हजार ३२० जना मतदाता छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad