कोशी


इलाम-२ का प्रतिस्पर्धी : को कति आशावादी?

इलाम-२ का प्रतिस्पर्धी : को कति आशावादी?

सुमन सुस्केरा
माघ २४, २०८२ शनिबार १४:४, विराटनगर

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका उम्मेदवारहरू यतिबेला आफ्ना पक्षमा माहोल सिर्जना गर्न मतदाताका घरदैलो धाइरहेका छन्।

निर्वाचन आचारसंहिताअनुसार फागुन ४ देखि चुनावी प्रचारप्रसार गर्न पाउने भएकाले उनीहरूले घरदैलो अभियानलाई तीव्र पारेका छन्। 

यसै क्रममा पहाडी जिल्ला इलामको निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवारहरू शुक्रबार रातिसम्म मतदाता भेटघाटमा व्यस्त देखिन्थे।

राति करिब ८ बजेतिर भेटिएका यस क्षेत्रका उम्मेदवारहरूलाई नेपालखबरले प्रतिक्रिया लिन खोज्दा पनि उनीहरू कुरा गर्ने मनस्थितिमा देखिएनन्।

इलाम २ मा यसपटक नेकपा एमालेका सुहाङ नेम्बाङ, नेपाली कांग्रेसका भेषराज आचार्य, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गोकुलबहादुर राई, श्रम संस्कृति पार्टीका सुदीप राई र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का ओमबहादुर गुरुङबिच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। 

यस क्षेत्रमा स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतमसहित राप्रपाका गणेशप्रसाद दुलाल, नेकपा माओवादीका होमप्रसाद खतिवडा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सादर सिं लिङ्देन, जनता समाजवादी पार्टीका बलबहादुर आङ्देम्बे, नेपाल जनमुक्ति पार्टीका यामबहादुर लिम्बु, राष्ट्रिय जनमुक्ति पार्टीका पवित्रा लिम्बु, राष्ट्रिय परिवर्तन पार्टीका दिवस राई, मंगोल नेसनल अर्गनाइजेसनका श्यामबहादुर लिम्बु पनि चुनावी मैदानमा छन्।

यस्ता छन् चुनावी एजेन्डा
संविधानसभा अध्यक्ष, पूर्वसभामुख एवं एमालेका तत्कालीन उपाध्यक्ष सुवासचन्द्र नेम्बाङका कान्छा छोरा हुन- सुहाङ।

सांसद रहेकै अवस्थामा २०८० भदौ २४ गते बुवा सुवासको निधन भएपछि इलाम-२ मा २०८१ वैशाख १५ गते भएको उपनिर्वाचनबाट सुहाङ पहिलोपटक प्रतिनिधि सभा सदस्य बनेका थिए। 

तर गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण प्रतिनिधि सभा विघटन भई निर्वाचन तोकिएपछि उनले पूरा कार्यकाल बिताउन पाएनन्। 

यसैले पहिलो कार्यकालमा इलाम-२ मा धेरै काम गर्न नपाएको उनको भनाइ छ।

‘शिक्षा, स्वास्थ्य र खानेपानीका समस्यामा पनि काम गर्नुपर्ने छ’, उनले नेपालखबरसँग भने, ‘यहाँका ४२ वटै वडा घुमेर हेरेको छु, थुप्रै समस्या पाइएको छ।’

सडक, पुल, खानेपानी, शिक्षा, स्वास्थ्य र स्थानीय कृषि उत्पादनमार्फत रोजगारी सिर्जनालाई उनले चुनावी एजेन्डा बनाएका छन्।

‘माथिको नीति निर्माणमा मैले खेल्ने भूमिका, यहाँका काम र योजनालाई माथिबाट अनुमोदन गराउने विषयमा निरन्तर लाग्ने वाचा मैले मतदातासँग गरेको छु’, उनी भन्छन्। 

एमालेले यो क्षेत्रमा निरन्तर जितिरहेकाले यसपटक पनि जित्नेमा उनी आशावादी छन्।

संगठन संरचना बलियो रहेको तथा यसअघि पार्टीका तर्फबाट गरिएका विकास नै चुनाव जित्ने आधार भएको दाबी सुहाङ गर्छन्।

त्यसो त बुवा सुवासचन्द्रको लोकप्रियता पनि उनको एउटा शक्ति हो। 

यस क्षेत्रमा एमालेको मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेस हो। यहाँ कांग्रेसबाट भेषराज आचार्य प्रतिस्पर्धामा छन्।

लामो समयदेखि पार्टीमा सक्रिय आचार्यलाई कांग्रेसीहरूले राम्रो नेता मान्छन्। गाउँबाटै राजनीति सुरु गरेका उनले नागरिकका समस्या नजिकबाट बुझेको र समाधानको पहल गर्ने चर्चा भइरहेको छ। 

आचार्यले चुनावका लागि विकास, सुशासन र सामाजिक न्यायलाई प्रमुख एजेन्डा बनाएका छन्। 

निरन्तर जनतासँगै रहेको तथा शिक्षा, स्वास्थ्य तथा खानेपानी विकास गर्न सक्ने नेताका रूपमा आफू परिचित रहेको जिकिर गर्दै उनले यही नै आफ्नो विजयको आधार भएको दाबी गरे। 

यस्तै इलाम-२ मा रास्वपाका उम्मेदवार गोकुल राईले सन्तुलित र दिगो विकासका लागि जनमुखी नीति निर्माण, कृषि, गुणस्तरीय स्वास्थ्य, शिक्षा र त्यसमा आम नागरिकको पहुँच आफ्ना चुनावी एजेन्डा रहेको बताए। 

यस्तै उनले वन-वातावरण र नागरिकमैत्री पूर्वाधार, विकासका गतिविधिमा स्थानीयको सहभागिता र सुशासन, गरिबी निवारण तथा सामुदायिक विकास पनि उनले एजेन्डामा समेटेका छन्। 

उनी सबैभन्दा कान्छो (३२ वर्ष) उम्मेदवार पनि हुन्। सबैभन्दा जेठो उम्मेदवारचाहिँ नेकपा (माओवादी) का होमप्रसाद खतिवडा (६८ वर्ष) हुन्। 

यहाँ २०८१ मा भएको उपनिर्वाचनमा भने रास्वपाका उम्मेदवार मिलन लिम्बुको जमानतसमेत जफत भएको थियो।

माओवादी केन्द्र त्यागेर रास्वपाको उम्मेदवार बनेका उनले जम्मा ५ हजार ५० मत मात्र पाएका थिए। कुल सदर मतको १० प्रतिशतभन्दा कम मत आएकाले उनको जमानत जफत भएको थियो।

त्यस उपनिर्वाचनमा एमालेका सुहाङ नेम्बाङ कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ५ हजार ८३० मतान्तरले हराउँदै विजयी भएका थिए। सुहाङले २७ हजार ७७२ मत प्राप्त गरेका थिए भने खड्काले २१ हजार ९४२ मत ल्याएका थिए।

यस्तै त्यसबेला पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत प्राप्त गरेका थिए।

उपनिर्वाचनको समानुपातिक मततर्फ पनि इलाम-२ मा एमाले नै सबैभन्दा अगाडि छ।

एमालेले २६ हजार ५६२ मत पाउँदा कांग्रेसले २२ हजार ३३३ मत पाएको थियो। यस्तै तत्कालीन नेकपा माओवादी केन्द्रले ५ हजार १५३, रास्वपाले ४ हजार ६८६ र मंगोल नेसनल अर्गनाइजेसनले १ हजार ६६१ समानुपातिक मत प्राप्त गरेका थिए।

यसपटक इलाम-२ मा १ लाख १९ हजार ४ सय ८९ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad