कोशी


चुनावको मुखैमा झापामा घोषणा भयो नेसनल भोलेन्टियर फोर्सको ‘युनिफाइड कमाण्ड’

समृद्धि र शान्तिका लागि परिचालित हुन ओलीको निर्देशन
चुनावको मुखैमा झापामा घोषणा भयो नेसनल भोलेन्टियर फोर्सको ‘युनिफाइड कमाण्ड’

नेपालखबर
फागुन ११, २०८२ सोमबार १८:२०, झापा

नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कोसी प्रदेश स्तरीय ‘नेसनल भोलेन्टियर फोर्स’को युनिफाइड कमान्ड घोषणा गरेका छन्। ओलीले देशको समृद्धि र शान्तिका लागि युवाहरूलाई परिचालित हुन निर्देशन दिए।

दमकमा आयोजित घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यो फोर्स केवल चुनावका लागि मात्र नभई देशमा सुशासन कायम गर्न र अराजकता रोक्नका लागि सधैँ क्रियाशील रहने स्पष्ट पारे। 

कार्यक्रममा सुरज सावा लिम्बुको नेतृत्वमा ४८ सदस्यीय प्रदेश स्तरीय युनिफाइड कमान्ड घोषणा गरिएको छ। सङ्गठनको संरचनाबारे चर्चा गर्दै ओलीले प्रदेशमा युनिफाइड कमान्ड, जिल्लामा कोर्डिनेटर कमान्ड, पालिकामा एक्टिभ कमान्ड र टोल स्तरमा सुरक्षा समिति रहने जानकारी दिए।

उनले विगतमा राज्यका सर्वोच्च निकायहरू सिंहदरबार, संसद् र न्यायालयमाथि भएका आक्रमणका घटनाहरू स्मरण गर्दै अब यस्ता अराजक र आतङ्ककारी गतिविधि हुन नदिन भोलेन्टियर फोर्सले ढालको रूपमा काम गर्ने दाबी गरे।

ओलीले भने, ‘अब प्रहरी एक्लै छैन, शान्ति सुरक्षा र अमनचैन कायम गर्न प्रहरीका साथमा नेसनल भोलेन्टियर फोर्स उभिनेछ।’

राष्ट्रियताको प्रसङ्ग उठाउँदै अध्यक्ष ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नक्सा जारी गरेकै कारण आफू र आफ्नो पार्टीमाथि चौतर्फी घेराबन्दी भएको उल्लेख गरे।

विदेशी शक्तिहरूको अगाडि घुँडा नटेकी राष्ट्रियताका पक्षमा चट्टान सरी उभिएकै कारण एमालेलाई सत्ताबाट बाहिर पुर्‍याएको उनको तर्क थियो।

ओलीले एमाले बाहेक अरू कसैले पनि आत्मविश्वासका साथ देशको विकास गरेको दाबी गर्न नसक्ने बताउँदै हुलाकी राजमार्ग, ऊर्जा क्षेत्रको विकास र सामाजिक सुरक्षाका कामहरूले एमालेको पहिचान स्थापित गरेको बताए।

दैलेखको ग्यास खानी, फलाम खानी र देशव्यापी सडक सञ्जालको विस्तारले नेपाललाई समृद्ध बनाउने आधार तयार भएको बताउँदै ओलीले अधुरा काम पूरा गर्न फेरि पनि एमालेकै नेतृत्व आवश्यक रहेकोमा जोड दिए।

दमकको रङ्गशाला निर्माणमा केही दलहरूले अवरोध सिर्जना गरेको गुनासो गर्दै ओलीले जसरी पनि रङ्गशाला बनाएरै छोड्ने दृढता व्यक्त गरे। 

अध्यक्ष ओलीले आफूले सरकारको नेतृत्व छाडेपछि देशको अवस्था ड्राइभरबिनाको गाडीको जस्तो भएको टिप्पणी गरेका छन्। अध्यक्ष ओलीले एमालेको नेतृत्वको सरकार ढलेपछि विकासको गति रोकिएको र देश दिशाहीन बनेको दाबी गरे।

‘मैले काम गर्न थालेपछि विकास विरोधीहरू थर्कमान हुन्छन् र काम रोक्नका लागि मलाई सरकारबाट हटाइन्छ, ओलीले भने, ‘म सरकारबाट हटेपछि देश ड्राइभरबिनाको गाडी जस्तो हुन्छ, जहाँको त्यहीँ बस्छ। तर म नेतृत्वमा फर्किने बित्तिकै फेरि देश कुद्न थाल्छ।’

कार्यक्रममा फोर्सका राष्ट्रिय कमान्डर पुष्पराज श्रेष्ठले भूगोल र राजनीतिक उतारचढावका बिच पनि देशलाई सही दिशा दिन युवा शक्तिको सक्रियता जरुरी रहेको बताए। नव घोषित समितिका सदस्यहरूलाई अध्यक्ष ओलीले खादा ओढाएर बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad