वि.सं २०१५ सालको पहिलो आम निर्वाचनमा डगलसेन लिम्बु र लीलानाथ दाहालले जित निकाल्दा धनकुटा कांग्रेसको किल्ला जस्तै देखिएको थियो। तर वि.सं २०१७ को राजनीतिक परिवर्तनपछि सुरु भएको कांग्रेसको पराजयको शृङ्खला आजसम्म पनि तोडिन सकेको छैन।
प्रजातन्त्रको पुनःस्थापनापछिका २०४८, २०५१ र २०५६ का निर्वाचनहरूमा कांग्रेसले पटक–पटक प्रयास गरे पनि कहिले नेकपा एमालेका रकम चेम्जोङ त कहिले राप्रपाका सूर्यबहादुर थापाको प्रभावलाई चिर्न सकेन। २०६४ को पहिलो संविधानसभा निर्वाचनमा माओवादीको उदयले कांग्रेसलाई झनै पछाडि धकेल्यो भने २०७० मा पनि एमाले र राप्रपाकै वर्चस्व कायम रह्यो।
पछिल्ला २०७४ र २०७९ का निर्वाचनहरूमा समेत राप्रपाबाट कांग्रेसमा आएका सुनिलबहादुर थापालाई अघि सार्दा तथा गठबन्धन गर्दा समेत एमालेका राजेन्द्रकुमार राईसँगको हारले धनकुटामा कांग्रेसको चुनावी ‘खडेरी’ कायमै रहेको पुराना नेताहरू बताउँछन्।
एमालेका उम्मेदवार राजेन्द्रकुमार राईले लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार थापालाई कडा प्रतिस्पर्धाबीच पराजित गरिदिए। जिल्लामा एमालेको वर्चस्व पुन देहोर्याएका थिए। राईले ३० हजार १०१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी थापाले २८ हजार ७०४ मत ल्याएका थिए। यो प्रतिस्पर्धामा १ हजार ३९७ को मतान्तरले राई विजयी भएका थिए।
निर्वाचनमा माओवादी केन्द्रबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका हेमराज भण्डारीले ५ हजार ९२६ मत प्राप्त गरेका थिए। २०७९ सालमा गठबन्धन गरेर पनि कांग्रेस उम्मेदवारको हारको मुख्य प्राविधिक कारण गठबन्धनभित्रको विद्रोही मतका कारण भएको भनेर विश्लेषण गरिन्छ।
आगामी चुनावमा दलका आफ्नै दाबी
आगामी २०८२ फागुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनका लागि नेपाली कांग्रेसले धनकुटाका सभापति एवं उम्मेदवार दिनेश राईलाई अगाडी सारेको छ। नेपाल विद्यार्थी संघको क्याम्पस एकाइ सभापतिदेखि तरुण दलको जिल्ला अध्यक्ष र पार्टीको कोषाध्यक्ष हुँदै नेतृत्व सम्हालेका राईले आफ्नो राजनीतिक अनुभव र विगतका निर्वाचनको समीक्षा गर्दै यस पटक जितको आधार बलियो रहेको दाबी गर्दै आएका छन्।
अघिल्ला स्थानीय तहको निर्वाचनमा झिनो मतान्तरले पराजित भए पनि निरन्तर जनताको सेवा र सामाजिक कार्यमा सक्रिय रहेका कारण आफूलाई यस पटक आम मतदाताको साथ रहने उनको विश्वास छ।
२०७४ साल र २०७९ सालमा धनकुटा नगरपालिकाको मेयरमा पराजित भएका राई तेस्रो पटक चुनावी प्रतिस्पर्धा गरेर प्रतिनिधि सभाको यात्राका लागि अग्रसर छन्। उनी कृषि, पर्यटन र ऊर्जालाई मुख्य चुनावी एजेन्डा बनाएर मतदाताको घरदैलोमा पुगेको बताउँछन्।
राईले धनकुटाको आर्थिक समृद्धिका लागि कृषि उत्पादनको उचित बजारीकरण र मूल्य निर्धारणलाई प्राथमिक एजेन्डा बनाएका छन्।
बिचौलियाको अन्त्य गरी कृषकले उत्पादनको सिधा लाभ पाउने र दुग्धजन्य पदार्थको भुक्तानी तत्काल पाउने व्यवस्थाका लागि नीतिगत पहल गर्ने उनले प्रतिवद्धता जनाएका छन्। यसका साथै धनकुटाको धार्मिक तथा पर्या–पर्यटनको प्रवर्द्धन गरी स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउने र रोजगारी सिर्जना गर्ने योजना उनले अघि सारेका छन्।
किसानलाई सास्ती दिइरहेको बाँदर नियन्त्रणका लागि ठोस नीति बनाउने र स्वास्थ्य बिमा कार्यक्रमलाई परिमार्जन गरी सबै नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा पु¥याउने संकल्प ब्यक्त गर्छन्।
राष्ट्रिय मुद्दाहरूमा टिप्पणी गर्दै राईले विद्युत ऊर्जामा राज्यको लगानी बढाएर प्रत्येक नागरिकलाई कम्तीमा ५ लाख रुपैयाँ बराबरको सेयर वितरण गर्ने र लगानी गर्न नसक्नेका लागि सेयर कर्जाको व्यवस्था गर्ने अवधारणा चुनावी एजेण्डामा अघि सारेका छन्।
प्रमुख प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवारले पटक–पटक अवसर पाउँदा पनि जिल्लाको विकासमा ठोस काम गर्न नसकेको आरोप लगाउँदै राईले अहिलेका युवा मतदाताले नयाँ अनुहार र युवा नेतृत्व खोजेको दाबी उनको छ।
विरासत जोगाउने रणनीतिमा एमाले
एकातिर एमाले आफ्नो विरासत जोगाउने रणनीतिमा छ भने अर्कोतिर नेपाली कांग्रेस पुरानो जनमत फर्काउन र आन्तरिक गुटबन्दी अन्त्य गर्न सक्रिय देखिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका नयाँ शक्तिहरूले पनि आफ्नो प्रभाव विस्तार गर्न खोजिरहेकाले आगामी दिनमा धनकुटाको राजनीति थप रोचक हुने अनुमान गरिएको छ।
२०४७ सालमा अनेरास्ववियू धनकुटा अध्यक्ष भएका राजेन्द्र राई एमालेका तर्फबाट २०४९ मा जिविस सदस्य बनेका थिए। उनी २०५४ मा जिविस उपसभापति भए। २०६४ पछि तीन पटक गरी करिब १३ वर्ष जिल्ला अध्यक्ष भएर काम गरे। २०७५ जेठमा माओवादीसँगको एकता पछि पनि राजेन्द्रनै पार्टी अध्यक्ष भएका थिए।
धनकुटाबाट चुनावी प्रतिस्पर्धामा रहेका एमालेका राईले यस पटक पनि निर्वाचनमा आफ्नो जित सुनिश्चित रहेको दाबी गर्दै आएका छन्।
राईले आफू विगतमा पदमा रहँदा शासक नभई जनताको सेवक बनेर काम गरेकाले धनकुटाका मतदाताले पुनः आफूलाई नै रोज्ने विश्वास व्यक्त गरे। उनले आफ्नो जितको मुख्य आधार नै जनतासँगको आत्मिय सम्बन्ध र जिल्लामा भएको व्यापक विकास निर्माण भएको दावी गर्दै आएका छन्।
राईले निर्वाचित भएपछिको पछिल्लो ८ वर्षमा धनकुटामा सडक, खानेपानी, विद्यालय भवन, स्वास्थ्य चौकी, सिँचाइ र खेल मैदान निर्माणका क्षेत्रमा उल्लेख्य कामहरू भएको बताए। विशेष गरी साढे दुई अर्ब रुपैयाँभन्दा बढीको खानेपानी योजना र कृषि क्षेत्रमा भएको प्रगतिले जनताको जीवनस्तर उकास्न मद्दत गरेको उनले उल्लेख गरे।
कृषि उपजको व्यापारबाट जिल्लामा अर्बौँ रुपैयाँ भित्रिएको र यस्ता अधुरा विकासका योजनाहरूलाई पूर्णता दिन पनि आफ्नो विजय आवश्यक रहेको उनको तर्क छ।
उनले विपक्षी उम्मेदवारहरूमा अनुभवको कमी रहेको र उनीहरूले जनताको भावनालाई सदनमा सही ढंगले प्रतिनिधित्व गर्न नसक्ने समेत बताए। नयाँ राजनीतिक शक्तिहरूको चर्चा गर्दै उनले ‘घण्टी’ लगायतका लहरहरू धनकुटाका आम कार्यकर्ता र जनताबीच खासै प्रभावकारी नदेखिएको टिप्पणी गरे।
विगतको चुनावी नतिजालाई स्मरण गर्दै राईले अघिल्लो पटक आठवटा पार्टी एक ठाउँमा उभिँदा समेत आफूले भारी मतान्तरले जितेको दाबी गर्दै यस पटक परिस्थिति अझ सहज रहेको बताए।
पार्टीभित्रको गुटबन्दीको बारेमा नेपालखबरले सोधेको प्रश्नलाई अस्वीकार गर्दै उनले भने, ‘अधिवेशनका बेला हुने स्वस्थ प्रतिस्पर्धालाई गुटबन्दी भन्न मिल्दैन, अहिले सबै नेता कार्यकर्ता एकजुट भएर निर्वाचनमा होमिएका छौँ।’
२०८२ सालको निर्वाचनमा कांग्रेसका दिनेश राई, एमाले केन्द्रीय सदस्य राजेन्द्रकुमार राई, नेपाली कम्युनिष्ट पार्टीका धर्मराज पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश भण्डारी, श्रम संस्कृति पार्टीका सानबहादुर राईलगायतका दल र स्वतन्त्र उम्मेदवारहरूको बिचमा प्रतिस्पर्धा हुने चर्चा छ। त्यसमा पनि कांग्रेस र एमाले बिचमा नै मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएका छ।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा धनकुटा जिल्लामा खसेको समानुपातिक मतको विवरण हेर्दा एमाले नै बलियो देखिन्छ।
प्रतिनिधिसभा समानुपातिकतर्फ नेकपा (एमाले)२७ हजार २४१, नेपाली कांग्रेसका २० हजार १२९ मत पाउँदा नेकपा (माओवादी केन्द्र) ७ हजार ६५ तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)४हजार ७७६ मत प्राप्त गरेका थिए।
Shares

प्रतिक्रिया