कोशी


उद्योग वाणिज्य महासंघको चुनावी सरगर्मी, कोसीमा दोहोरिन खोज्दै राउत, चुनौती दिने रिजालको तयारी

उद्योग वाणिज्य महासंघको चुनावी सरगर्मी, कोसीमा दोहोरिन खोज्दै राउत, चुनौती दिने रिजालको तयारी

नेपालखबर
चैत १२, २०८२ बिहिबार १९:५६, विराटनगर

नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशको नेतृत्वका लागि निर्वाचन हुने सम्भावना बढेर गएको छ। नेतृत्वका लागि दुई समूह बन्दै जाँदा नेतृत्वमा फरक फरक समूहको बिचमा प्रतिस्पर्धा हुने देखिएको हो। 

आगामी निर्वाचनका लागि वर्तमान अध्यक्ष राजेन्द्र राउत पुनः दोहोरिने मनस्थितिमा देखिएका छन्। आफ्नो कार्यकालमा सातै प्रदेशमध्ये कोसी प्रदेशलाई उत्कृष्ट बनाउन सफल भएको दाबी गर्दै राउतले अधुरा कामलाई पूर्णता दिन पुनः अध्यक्ष पदमा दोहोरिने इच्छा व्यक्त गरे।

विशेष गरी आफ्नै कार्यकालमा जग्गा खरिद गरी निर्माण सुरु गरिएको महासंघको प्रदेश भवनलाई सम्पन्न गर्न जिल्ला तथा नगरका उद्योगी व्यवसायीहरूको आग्रहमा आफू अध्यक्ष दोहोरिने योजना सहित अघि बढेको बताए।

उनले भने, ‘भवन निर्माणको जग्गा खोज्ने देखि हाल दुई तला निर्माण भइसकेको उक्त भवनलाई प्रदेशकै गौरवको आयोजनाका रूपमा हामीले लिएका छौँ।’ 

राउतका अनुसार, यसअघि भोजपुर र त्रियुगामा भएका विभिन्न कार्यक्रममा करिब २५ जना जिल्ला नगर अध्यक्षहरूले निरन्तरता दिनुपर्नेमा सहमति जनाएका थिए।

चुनावी सरगर्मी बढेसँगै राउतले व्यापार संघ, उद्योग संगठन र अन्य क्षेत्रका साथीभाइको पूर्ण समर्थन आफूलाई रहेको विश्वास व्यक्त गरेका छन्। तर, आगामी चैत २२ गते हुने निर्वाचनमा नवीन रिजालले पनि उम्मेदवारी दिने देखिएपछि प्रतिस्पर्धा रोचक हुने भएको छ।

रिजालको उम्मेदवारीलाई राउतले पुरानो व्यापारिक रिसिबी र संस्थामा पकड जमाउने दाउपेचका रूपमा चित्रण गरेका छन्। रिजाल अहिले नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय समिति सदस्य हुन्।

उनले प्रदेशमा आफ्नो उम्मेदवारी दिने तयारी गरेको जनाए। देशको वर्तमान चुनौतीपूर्ण आर्थिक अवस्था र निजी क्षेत्रले झेलिरहेका समस्याहरूलाई राज्यको माथिल्लो निकायसम्म पुर्‍याई समाधान खोज्न आफू नेतृत्वका लागि इच्छुक रहेको रिजालले नेपालखबरलाई बताए।

‘संस्थागत सुधार र व्यवसायीको हितका लागि विशेष योजना छ, उनले भने, ‘कुनै पनि जिल्ला वा नगरका अध्यक्षले प्रदेशको नेतृत्व सम्हाल्दा आफ्नो जिम्मेवारीलाई प्रभावकारी बनाउन आफ्नै स्थानमा सम्पर्क सचिवालय स्थापना गरी कार्यसम्पादन गर्न पाउने व्यवस्था मिलाइनेछ।’ 

उनले नेपाल उद्योग वाणिज्य महासंघको निर्माणाधीन प्रदेश भवनलाई समयमै सम्पन्न गरी सञ्चालनमा ल्याउने प्रतिबद्धता उनको समेत छ।

उद्योग वाणिज्य महासंघ कोसी प्रदेशको निर्वाचनका लागि १४ जिल्लाका ३८ वटा जिल्ला तथा नगर उद्योग वाणिज्य संघ, १४९ वटा एसोसिएट सदस्य र १९ वटा वस्तुगत संघले २०६ जनाले मतदान गर्नेछन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad