कोशी


मन्त्रालय तानिए लाइसेन्स कार्यालय प्रमुख सत्याल, स्वास्थ्य जाँचमा फेललाई पास गराएको आरोप

मन्त्रालय तानिए लाइसेन्स कार्यालय प्रमुख सत्याल, स्वास्थ्य जाँचमा फेललाई पास गराएको आरोप

नेपालखबर
चैत १५, २०८२ आइतबार ११:१०, विराटनगर

इटहरीस्थित कोसी प्रदेश यातायात व्यवस्था कार्यालय (लाइसेन्स) का प्रमुख सतीश सत्याल गम्भीर आर्थिक अनियमितताको आरोपमा मन्त्रालय तानिएका छन्।

सवारी चालक अनुमतिपत्रका लागि अनिवार्य गरिएको स्वास्थ्य परीक्षणमा अनुत्तीर्ण भएका व्यक्तिहरूलाई आर्थिक लाभ लिएर उत्तीर्ण गराएको पाइएपछि आन्तरिक मामिला तथा कानुन मन्त्रालयले उनलाई कारबाहीस्वरूप मन्त्रालय तानिएको हो।

मन्त्रालयका सचिव आस्मान तामाङको नेतृत्वमा भएको आकस्मिक छड्के अनुगमनका क्रममा स्वास्थ्य परीक्षणको नतिजा फेरबदल गरी गैरकानुनी काम भएको पुष्टि भएपछि यो कदम चालिएको आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणी पराजुलीले जानकारी दिए।

मन्त्री पराजुलीले पटकपटक सचेत गराउँदा समेत सुधार नभएपछि अनुगमन गरिएको र सो क्रममा कैफियत भेटिएको उनको भनाइ छ। 

लाइसेन्स नवीकरण वा नयाँ आवेदनका क्रममा सेवाग्राहीसँग पैसा लिएर स्वास्थ्य परीक्षण पास गराउने गरेको लिखित तथा मौखिक उजुरी मन्त्रालयमा परेको थियो।

अनुगमन टोलीले कार्यालय प्रमुख सत्यालको कार्यकक्षको दराज समेत सिल गरी घटनाको थप अध्ययन गरिरहेको छ।

यातायात कार्यालयहरूमा हुने यस्ता अनियमितता रोक्न मन्त्रालयले गत साउनदेखि नै झापाको बिर्तामोड, इटहरी र विराटनगरमा विशेषज्ञ डाक्टरहरू नियुक्त गरी स्वास्थ्य परीक्षणको जिम्मेवारी सुम्पिएको थियो।

यता आरोपित सत्यालले भने आरोपको खण्डन गरेका छन्।

उनले स्वास्थ्य परीक्षणमा फेल भएका सेवाग्राहीको समस्या समाधान गर्न रि-चेकका लागि मात्र सिफारिस गर्ने गरेको दाबी गर्दै आफूले कुनै आर्थिक लाभ नलिएको जिकिर गरेका छन्।

स्वास्थ्य परीक्षण प्रणालीमा सुधार गर्न खोज्दा आफूलाई फसाइएको दाबी उनले गरेका छन्।

यद्यपि मन्त्रालयले यस विषयमा थप छानबिन भइरहेको र सत्यतथ्य चाँडै बाहिर आउने जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad