सुनसरीको देवानगन्ज क्षेत्र केही दिनदेखि अशान्त छ। अवस्थालाई नियन्त्रणमा लिन अहिले सुनसरीका विभिन्न क्षेत्रहरूमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको छ। ठाउँठाउँमा सुरक्षाकर्मीहरू ठूलो मात्रामा परिचालन भएका छन्। यही विषयमा नेपालखबरकर्मी सुमन सुस्केराले कोसी प्रदेशका प्रहरी प्रमुख डीआईजी शेखर खनालसँग गरेको कुराकानीको संक्षिप्त अंशः
कोसी प्रदेश प्रहरी प्रमुखका रूपमा नयाँ आउनुभएको छ, अहिलेको अवस्थालाई कसरी हेर्नुभएको छ?
अहिले कमभन्दा कम जनधनको क्षति होस् भनेर सबै सुरक्षा निकायहरू सबै एकै ठाउँमा छौँ। जुनजुन ठाउँमा समस्या हुन सक्छ बिहानैदेखि खटिरहुनभएको छ। जिल्ला प्रशासनबाट कर्फ्यु पनि जारी भएको छ। तथापि हाइवेका केही स्थानहरूमा प्रदर्शनकारीहरू समूह झुन्ड बनाएर ठाउँठाउँमा बसेको अवस्था छ।
प्रहरीले संयमितरूपमा काम गरिरहेको छ, सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड, आगजनी गर्न थाले भने हामीले सामान्य टियर ग्यासहरू प्रयोग गर्ने पनि गरेका छौँ। हामी मिडियामार्फत् पनि जनसमुदायमा के अपिल गर्न चाहान्छौँ भने यो जति लम्बायो, त्यति लम्बिने हो, केन्द्रबाट छानबिन समिति गठन भइसकेको छ, टोली यहाँ आएर काम प्रारम्भ पनि गरिसकेको छ। छानबिन समितिको प्रतिवेदन आएपछि सबै क्लियर हुन्छ। यस्तो अवस्थामा के हुन्छ भने कतिपय मान्छेहरूको अर्कै खालको इन्टेन्सन पनि हुन्छ, उक्साहटमा लाग्ने घुसपैठ गर्ने, यस्ता खालका गतिविधिमा नलागेर यो सिचुएसनलाई चाँडै सामान्यीकरण प्रयास गर्नुपर्छ सबै पक्षबाट।
कतिपय ठाउँमा भिड उत्तेजित भयो भन्ने पनि कुरा आएको छ नि।
होइन, त्यस्तो छैन। केही ठाउँमा भेला, जम्मा भएका छन्। केही ठाउँमा मान्छेहरू टायर बालेर बसेका छन्। तर, सार्वजनिक सम्पत्ति नै तोडफोड गर्ने, दुई पक्षबीच कन्फ्रन्टेसन हुन सक्ने अवस्था भएको छैन।
सेना उतार्दा पनि माहोल सोचेजस्तो शान्त नभएको हो?
हामीले प्रयास गरिरहेका छौँ। हामीसँग जनशक्ति पर्याप्त छ। नपुगेको पनि हामीले नजिकैको प्रदेश र जिल्लाबाट पनि मागेको अवस्था छ। असन्तुष्ट पक्ष, प्रदर्शनकारी पक्षहरूसँग पनि वार्ता गर्ने छलफल गर्ने, आफ्ना समूहलाई सम्झाउने बुझाउने काम गर्नु भनेर त्यो प्रयास पनि भइरहेको छ। साथै सुनसरी जिल्ला सुरक्षा समितिका पदाधीकारीले पनि विभिन्न खालका प्रयास गरिरहनुभएको छ।
अवस्था नियन्त्रणमा लिन प्रदेश प्रहरीबाट कस्ता खालका पहल भइरहेका छन्?
आवश्यक जनशक्ति ठाउँठाउँमा डिप्लोइ गर्ने, प्रहरी जनशक्तिहरूलाई आवश्यक पर्ने उपकरणहरु प्रदान गर्ने, सुरक्षा समन्वय लगायतको काम भइरहेको छ। सँगै माथिल्लो निकायहरूलाई पनि रिर्पोटिङ गर्ने काम भइरहेको छ। यससँगै यसलाई नर्मलाइज गर्नका लागि विभिन्न छलफलहरू गर्ने काम पनि गरिएको छ।
Shares

प्रतिक्रिया