‘मोक्षभूमि’ मार्फत नेपाली साहित्यमा नवीन स्वाद पस्किएका लेखक केशव दाहाल गैर–आख्यानकृति लिएर आएका छन्। किताब पब्लिसर्सले छापेको उनका गैरआख्यान निबन्ध लेखनको संगालो— ‘माधवी ओ माधवी’ शुक्रबार विमोचन गरिएको छ।
‘नयाँ शैलीमा लेखिएको यो पुस्तक एक लेखकले विभिन्न समय र कोणबाट देखेको नेपाली समाज, यहाँको मनोविज्ञान र राजनीतिका घुम्तीहरुको वृत्तान्त हो,’ किताब पब्लिसर्सले भनेको छ, ‘गैर–आख्यानात्मक भइकन पनि आख्यानको स्वाद पाइनु माधवी ओ माधवीको विशेषता हो।’
‘माधवी ओ माधवीमा मैले एउटा आँखीझ्याल बनाएको छु, जसबाट मेरो पुस्ताको समय, भावधारा र जीवनको ईन्द्रेणीलाई चियाउन सकिन्छ,’ विमोचन कार्यक्रममा बोल्दै लेखक केशव दाहालले भने।
किताबमा केही प्रकाशित र केही अप्रकाशित सामग्रीहरु रहेको उल्लेख गर्दै उनले भने, ‘‘प्रकाशित सामग्रीलाई पनि मैले मसिनो गरी नयाँ रंगले सजाएको छु र ताजा बनाएको छु।’
विभिन्न समयमा लेखिएका यी निबन्धहरुमा लेखकले तत्कालीन समय र सन्दर्भलाई मसिनोसँग केलाएका छन्। कतै उनी नितान्त निजात्मक अनुभूतीहरुमा पोखिएका छन्, जहाँ पारिवारिक दुर्घटनाको फलकबाट तत्कालीन सत्ताको क्रुर तस्वीर पनि देखिन्छ। कतै उनी राजनीतिका पेचिला प्रश्नहरुमा डुबेका छन्, जहाँ वैयक्तिक सहभागिताको फलकबाट नेपाली राजनीतिका दुर्घटनाहरु भेटिन्छन्। कतै भने उनले आफ्ना कल्पनालाई पखेटा हालिदिएका छन्, जहाँ समयका सीमाहरु भत्किएका पाइन्छन्।
शुक्रबार शिल्पी थिएटरमा आयोजित कार्यक्रममा लेखक दाहालसँग साहित्यकार उमा सुवेदीले अन्तरसंवाद गरेकी थिइन्।
लेखक कुमार नगरकोटीले आफ्ना थुप्रै छोटा–मिठा–आकर्षक प्रयोगात्मक कविताहरु वाचन गरेर कार्यक्रमलाई रोचक बनाएका थिए, जसमध्ये एउटा थियोः ‘म देवकोटाको पागल पोएट्री हुँ, मन–मस्तिष्कको हिस्टोरिकल मिष्ट्री हुँ।’
कार्यक्रममा रंगकर्मी घिमिरे युवराजले ‘माधवी ओ माधवी’माथि टिप्पणी गरेका थिए। ‘व्यक्तिको विचार वा विश्वासको निर्माणमा ऊ बसेको समाजको सांस्कृतिक, सामाजिक, राजनीतिक र आर्थिक परिस्थितीले कसरी निर्धारण गर्छ भन्ने कुरा केशवका केही रचनाले मिहिन र कलात्मक ढंगले वैचारिकी प्रस्तुत गरेका छन्,’ रंगकर्मी घिमिरेले टिप्पणी गरे।
किताब पब्लिसर्सका अनुसार, फरकफरक स्वादका २३ ओटा निबन्धहरुको संकलन ‘माधवी ओ माधवी’ विगत यात्राको वृत्तान्तमात्र होइन, वर्तमानको सुक्ष्म चित्रण पनि हो। र, हो सुन्दर भविष्यको सपना पनि। यो केवल वृत्तान्त मात्र होइन, निर्मम समीक्षाको संग्रह पनि हो। र, वस्तुपरक विश्लेषणहरु पनि।
विभिन्न बान्की र सन्दर्भका निर्बन्ध लेखनमा लेखक दाहालले खासमा आफू, आफ्नो परिवेश र समयलाई उजिल्याएका छन्।
प्रतिक्रिया