साहित्य


सांस्कृतिक झाँकीका साथ राईझुमाका गायक उपाध्यायको पुस्तक लोकार्पण (तस्बिर)

सांस्कृतिक झाँकीका साथ राईझुमाका गायक उपाध्यायको पुस्तक लोकार्पण (तस्बिर)

सरोज नेपाल
मंसिर ३०, २०८० शनिबार १५:५०, काठमाडौँ

सुदूरपश्चिम र कर्णाली क्षेत्रको लोकसाहित्य र संस्कृतिमा आधारित पुस्तक ‘काली–कर्णालीको लोकसाहित्य र संस्कृति’ पुस्तक राजधानीमा विमोचन गरिएको छ।

प्रसिद्ध राईझुमालगायत डेउडा गीतका गायक यज्ञराज उपाध्यायको पुस्तक मौलिक सांस्कृतिक झाँकी तथा मंगलाचरणका साथ राष्ट्रिय प्रज्ञा प्रतिष्ठानको डबलीमा लोकार्पण गरिएको हो।

करिब २५ वर्ष लगाएर उपाध्यायले तयार गरेको पुस्तकलाई संस्कृतिविद् जगमान गुरुङ र वीणा पौड्याल, लेखक सुभाषचन्द्र भण्डारी र नवराज लम्सालले लोकार्पण गरेका हुन्। 

९८४ पृष्ठको उक्त पुस्तकलाई वक्ताहरूले विश्वकोशको संज्ञा दिए।

सुदूरपश्चिम र कर्णाली प्रदेशमा प्रचलित लोकसाहित्यका विभिन्न विधा–उपविधाहरूलाई केलाएर मौलिक स्वरूपमै संकलन गरी पुस्तकमा समावेश गरिएको छ। यस्तै संस्कार र संस्कृतिको वर्णन पनि गरिएको छ।

संस्कृतिविद् गुरुङले अहिलेसम्म राज्यले गर्न नसकेको काम उपाध्यायले निजी पहलमा यो काम सम्पन्न गरेकोमा बधाई दिए। नेपाली भाषा संस्कृतिको उद्गमस्थलबाट यति ठूलो र उच्च कोटिको ग्रन्थ आउनु सम्पूर्ण नेपाल र नेपालीका लागि गौरवको विषय भनेर टिप्पणी पनि गरे।

संस्कृतिविद् वीणा पौड्यालले यो पुस्तक आद्योपान्त पढ्न नसके आफूलाई मन परेको प्रसंग मात्र पनि पढ्न सकिने भएकाले संग्रहणीय रहेको बताइन्। जनजीवनमा प्रचलित उखान, टुक्का, लोककथा, गाथा, डेउडा दोहोरीसमेत संकलन गरिएकाले पुस्तक निकै रोचक रहेको उनको भनाइ थियो।

लेखक एवं सञ्चारकर्मी लम्सालले प्रज्ञा प्रतिष्ठानको डबलीमा यस खालको कार्यक्रम अहिलेसम्मकै नौलो र भव्य रहेको भनेर टिप्पणी गरेका थिए। उनले उपाध्यायको यस कृतिलाई हाम्रो समाज र संस्कृति बुझाउने अनि भावी पुस्तालाई हस्तान्तरण गर्न सकिने गीताको उपमा दिएका थिए। 

कार्यक्रमका बीच कृतिकार उपाध्यायले आफ्नो लोकप्रिय गीत राईझुमाको विशेष प्रस्तुति पनि दिएका थिए।

पुस्तक बुकहिलले प्रकाशन गरेको हो। पुस्तकको मूल्य रु. ३ हजार तोकिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .