साहित्य


पत्रकार दीपा दाहालको ‘कोभिडः नसोचेको–नभोगेको संकट’ विमोचन

पत्रकार दीपा दाहालको ‘कोभिडः नसोचेको–नभोगेको संकट’ विमोचन

नेपालखबर
पुस २१, २०८० शनिबार २०:५३, काठमाडौँ

पत्रकार दीपा दाहालको ‘कोभिडः नसोचेको–नभोगेको संकट’ पुस्तक विमोचन भएको छ।

शनिबार काठमाडौँको कमलादीमा आयोजित एक कार्यक्रममा डा. सन्दुक रुइत, गणेश रसिक र मानव अधिकारकर्मी मोहन अन्सारीले पुस्तकको संयुक्त रूपमा विमोचन गरेका हुन्।

डेढ दशकदेखि पत्रकारितामा सक्रिय दाहालले देशमा उत्पन्न झाडापखला, स्वाइन फ्लुलगायतको महामारी, भूकम्प, नाकाबन्दी, बाढीपहिरोलगायत विपद्को स्थलगत रिपोर्टिङ गरेकी छन्। उनले कोरोना महामारीको रिपोर्टिङ र थप अध्ययन गरी अभिलेख राख्ने जमर्को गरेको बताइन्।  

पुस्तकमा कोरोना महामारीका कारण चीनको वुहान बिथोलिएको प्रसंगदेखि, नेपालमा कोरोना रोकथाम तथा नियन्त्रण कार्य प्रभावकारी नहुँदा स्वास्थ्य, शिक्षा, अर्थतन्त्र, पर्यटन, कृषिलगायत क्षेत्रमा परेको प्रभाव समेटिएको उनको भनाइ छ। 

महामारीका बेला देखिएको सरकारको लापरवाही, बेथिति,बद्समासी, भ्रष्टाचार, अनियमितता, कालोबजारीलगायत विषय पनि पुस्तकमा समावेश गरिएको छ।

महामारीबाट प्रभावित र संक्रमितको जीवन जोगाउन चिकित्सक, स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी, स्वयंसेवकलगायतको योगदान पनि दाहालले पुस्तकमा उल्लेख गरेकी छन्। 

‘यो पुस्तक कोरोना महामारीको प्रभावको अभिलेख मात्रै होइन,’ उनले भनिन्, ‘आगामी दिनमा यस्ता महामारी फैलिएमा सरकार वा सरोकारवाला निकायले कहाँकहाँ ध्यान दिनुपर्छ भन्ने सिकाइ पनि हो।’

पुस्तकका विशेषज्ञ सल्लाहकार डा. अनुप सुवेदी हुन्। उनले महामारीको समयमा हरेक देशका आ–आफ्नै समस्या भए पनि नेपाल राजनीतिक किचलो र भ्रष्टाचारमा गिँजोलिएको बताए। 

‘कोभिड महामारीका लागि विश्वका कुनै पनि मुलुक तयार थिएन। यस्तोमा प्राविधिक, व्यवस्थापकीय समस्या तथा गडबड हुन स्वाभाविक हो तर नेपालको स्वास्थ्य क्षेत्रमा मिसिएको राजनीतिक चलखेल अस्वाभाविक थियो,’ डा. सुवेदीले भने, ‘यस्तोमा सरकार पक्षबाट नकारात्मक टिप्पणी गर्दै सकारात्मक पाटोबारे उल्लेख नगरेको गुनासा आए।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .