लुम्बिनी


लुम्बिनीमा ट्राफिक कारबाहीबाट ४ करोडभन्दा बढी राजस्व संकलन

लुम्बिनीमा ट्राफिक कारबाहीबाट ४ करोडभन्दा बढी राजस्व संकलन

नेपालखबर
बैशाख ३०, २०८३ बुधबार १९:१३, काठमाडौँ

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले आर्थिक वर्ष २०८२/०८३ को साउनदेखि वैशाखसम्मको कार्यप्रगति सार्वजनिक गरेको छ। बुधबार बुटवलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा कार्यालयले ट्राफिक व्यवस्थापन, सवारी कारबाही र दुर्घटना सम्बन्धी विवरण सार्वजनिक गरेको हो।

कार्यक्रममा बोल्दै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक मित्रबन्धु शर्माले भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलन तथा निर्वाचन लगायतका विशेष जिम्मेवारीका कारण अपेक्षाअनुसार काम गर्न कठिन भएको बताए।

उनका अनुसार चालु आर्थिक वर्षको वैशाखसम्म लुम्बिनी प्रदेशभर स्वरूप परिवर्तन गरी ठूलो आवाज निकालेर सञ्चालन गरिएका ५ सय ७२ वटा मोटरसाइकल नियन्त्रणमा लिई थप कारबाहीका लागि यातायात व्यवस्था कार्यालय पठाइएको छ। उक्त कारवाहीबाट ४७ लाख ५८ हजार रुपैयाँ राजस्व संकलन भएको उनले जानकारी दिए।

त्यस्तै, ओभरलोड बोकेर सञ्चालन गरिएका २४ हजार २ सय ६६ वटा सवारी साधनबाट ४ करोड १८ लाख २६ हजार ५ सय रुपैयाँ जरिवाना संकलन गरिएको कार्यालयले जनाएको छ। यसमध्ये १ हजार ४ सय ४९ वटा सवारी साधनलाई थप कारबाहीका लागि यातायात व्यवस्था कार्यालय पठाइएको र १ करोड ४३ लाख ७० हजार ८ सय रुपैयाँ जरिवाना गरिएको शर्माले बताए।

कार्यालयका अनुसार लापरबाहीपूर्वक सवारी चलाउने ३९ जना चालकलाई कारवाही गरिएको छ भने मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाएका ४ हजार ७ सय ७५ चालक कारबाहीमा परेका छन्। आफूखुसी थप सिट तथा मुडा राखेर सञ्चालन गरिएका ५ सय ८३ वटा सवारी साधनमाथि कारबाही गरिएको छ।

सार्वजनिक तथा निजी सवारी साधनमा नियमविपरीत जडान गरिएका ७ सय २३ वटा अतिरिक्त लाइट हटाइएको छ भने ८२ वटा सवारी साधनको अवैध रूपमा जडान गरिएको हुड (छत) हटाइएको कार्यालयले जनाएको छ।

प्रयोजन विपरीत रातो नम्बर प्लेटका सवारी साधनले यात्रु बोकेको पाइएपछि ८ सय ६७ वटा सवारी साधनलाई थप कारवाहीका लागि यातायात व्यवस्था कार्यालय पठाइएको छ। साथै १ हजार ५ वटा नम्बर प्लेट सुधार गरिएको छ।

लामो समयसम्म नवीकरण नगरी सञ्चालन गरिएका १ सय ७० वटा सवारी साधन नियन्त्रणमा लिई यातायात व्यवस्था कार्यालय पठाइएको र त्यसबाट १५ लाखभन्दा बढी राजस्व संकलन गरिएको प्रहरीले जनाएको छ। यातायात व्यवस्था कार्यालयका प्राविधिक र ट्राफिक प्रहरीको संयुक्त टोलीले इन्जिन तथा मेकानिकल परीक्षण गर्दा ६२ वटा सवारी साधन नियन्त्रणमा लिइएको जानकारी दिइएको छ।

कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाको संख्या बढ्दो अवस्थामा देखिएको छ। आर्थिक वर्ष २०८१/०८२ मा २ हजार ५ सय २९ दुर्घटना भएकोमा चालु आर्थिक वर्षमा बढेर ४ हजार ४ सय ८८ पुगेको छ। दुर्घटनामा मृत्यु हुनेको संख्या ४ सय २४ बाट बढेर ४ सय ९३ पुगेको छ भने घाइते संख्या ४ हजार १ सय ५४ बाट बढेर ७ हजार ५ सय ८ पुगेको छ।

यद्यपि कारबाहीको संख्या भने घटेको देखिएको छ। अघिल्लो आर्थिक वर्षमा १ लाख ३९ हजार १२ सवारी कारवाहीमा परेकोमा चालु आर्थिक वर्षमा ९४ हजार ८ सय ४१ मा झरेको कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार चालकको लापरबाहीका कारण तीव्र गति सम्बन्धी २ हजार ९ सय ५१, मादक पदार्थ सेवन ५ सय ६६, निद्रा तथा थकानका कारण ३, मोबाइल फोन प्रयोग गरेर सवारी चलाउने १, अनावश्यक ओभरटेक १७, लेन अनुशासन उल्लंघन ३, चालकको असक्षमता ४ सय ९० तथा अन्य लापरबाहीका १ सय २ जनामाथि कारबाही गरिएको छ।

त्यस्तै, ट्राफिक कारबाहीमार्फत तीव्र गतिबाट १० लाख १७ हजार रुपैयाँ, मापसेबाट २५ लाख ६४ हजार रुपैयाँ, गलत स्थानमा पार्किङबाट २६ लाख ५२ हजार ५ सय रुपैयाँ, रातो बत्ती तथा ट्राफिक संकेत उल्लंघन गर्ने ४ हजार २ सय ६२ जनाबाट २२ लाख २२ हजार रुपैयाँ, लेन अनुशासन उल्लंघन गर्ने १ हजार २ सय ६१ जनाबाट ६ लाख ७६ हजार रुपैयाँ तथा चालकको असक्षमतासम्बन्धी कारवाहीबाट १ करोड ३१ लाख ३८ हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad