यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुकुमपूर्वमा निर्धारित मतदान केन्द्रहरूमा खटाउन भनी शिक्षकहरूको विवरण मागिएको तर नखटाएर मानमर्दन गरिएको भन्दै एकजना मतदान अधिकृतले जिम्मेवारी छाडेका छन्।
पुथा उत्तरगङ्गा गाउँपालिकाका सहायक शिक्षा अधिकृत रामप्रसाद खड्काले जिल्ला निर्वाचन कार्यालय (रुकुमपूर्व) लाई निवेदन लेख्दै रुकुम पूर्वी भागको क्षेत्र नम्बर १ स्थित भूमे गाउँपालिका-९ मा रहेको मतदान केन्द्र (ख) नेपाल राष्ट्रिय माध्यमिक विद्यालय चुनबाङमा मतदान अधिकृतको जिम्मेवारीबाट हटेको जानकारी गराएका हुन्।
हेर्नुहोस् पत्र मिति: २०८२।११।१२ गते
श्रीमान् जिल्ला निर्वाचन अधिकारीज्यू,
जिल्ला निर्वाचन कार्यालय, रुकुमकोट, (रुकुम पूर्वी भाग)।
विषय: मतदान अधिकृतको रूपमा खटिन नसकिने जानकारी सम्बन्धमा ।
प्रस्तुत विषयमा आसन्न मिति २०८२।११।२१ गते बिहीबारका दिन हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा जिल्ला निर्वाचन कार्यालयले शिक्षकहरूको समेत विवरण माग गरी सोही निर्वाचनमा हरेक नागरिकलाई शिक्षाको उज्यालो प्रकाश दिई विभिन्न जनशक्ति उत्पादन गर्न अहोरात्र खट्ने शिक्षकहरूलाई समेत निर्वाचन मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत र सहायक कर्मचारीको रूपमा कुनै पनि शिक्षकहरूलाई नखटाई शिक्षकहरूको मान मर्यादा तथा जिम्मेवारीमा समेत अपहेलना भएको महसुस गर्दै म एउटा नेपाली नागरिक तथा शिक्षा शाखाको जिम्मेवारी कर्मचारी भएको हिसाबले सोही कर्मचारी खटनपटनमा पुनः हेरविचार गरी कम्तीमा पनि ५० प्रतिशत शिक्षकहरू रुकुमपूर्वका मतदान केन्द्रमा समेत खटाउन अनुरोध गर्दै मलाई आसन्न निर्वाचन मतदान केन्द्रमा चुनाव सञ्चालन, व्यवस्थापन तथा सम्पन्न गर्नका लागि रुकुम पूर्वी भागको क्षेत्र नम्बर १ स्थित भूमे गाउँपालिका वडा नम्बर ९ मा रहेको मतदान केन्द्र (ख) नेपाल राष्ट्रिय माध्यमिक विद्यालय चुनबाङमा मतदान अधिकृतको रूपमा मुख्य निर्वाच अधिकृतको कार्यालयले जिम्मेवारी दिएको हुँदा सोही जिम्मेवारीमा खटाइएकोप्रति उच्च सम्मान गर्दै म सोही जिम्मेवारी पूरा गर्न नसक्ने जानकारी दिँदै उक्त मतदान अधिकृतको जिम्मेवारीको रूपमा खटिन नसकिने जानकारी साथ यो निवेदन पेस गर्दछु।
रामप्रसाद खड्का
सहायक शिक्षा अधिकृत तथा
पुथा उत्तरगङ्गा गाउँपालिका (Election Focal Person)
सम्पर्क नम्बरः ९८४९३९१७७०
बोधार्थः श्री मुख्य निर्वाचन अधिकृतको कार्यालय, रुकुमकोट, रुकुम पूर्वी भाग) : जानकारी सम्बन्धमा।

Shares

प्रतिक्रिया