मधेस


मधेश : प्रदेशसभा सदस्यले लिए शपथ, दुई जनाको रोकियो

विवादबीच जनमतका १२ सांसदले लिए मधेशी भाषामा शपथ
मधेश : प्रदेशसभा सदस्यले लिए शपथ, दुई जनाको रोकियो

जयन्त ठाकुर
पुस १५, २०७९ शुक्रबार १५:२०, जनकपुरधाम

मधेश प्रदेशको नवनिर्वाचित प्रदेश्सभा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेशसभाका ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले नवनिर्वाचित प्रदेशसभा सदस्यहरुलाई शपथ ग्रहण गराएका हुन्।

शपथ लिन बाँकी रहेका प्रदेशसभा सदस्यहरु मध्ये १ सय ४ जना प्रदेशसभा सदस्यहरुले शपथ ग्रहण गरेका छन् भने २ जना प्रदेशसभा सदस्यहरुको शपथ ग्रहण रोकिएको छ।

अदालतको आदेशका कारण रोकियो २ जनाको शपथ
सर्वोच्च अदालतको आदेशका कारण मधेश प्रदेशका २ जना प्रदेशसभा सदस्यको शपथ ग्रहण रोकिएको छ।

नवनिर्वाचित प्रदेशसभा सदस्यहरु माला कर्ण र मोहम्मद रजी हैदरको हकमा सर्वोच्च अदालतले निर्वाचित भएको घोषणा हुन बाँकी रहेकाले कुनै काम कारबाही अगाडि नबढाउन अल्पकालीन अन्तरिम आदेश दिएकाले शपथ रोकिएको प्रदेशसभा सचिवालयले जनाएको छ।

सर्वोच्च अदालतले गत मंसिर २९ गते यी दुवैको हकमा फैसला सुनाएको थियो।

शपथ गर्न नसकेका दुवै प्रदेशसभा सदस्य माओवादी केन्द्रका हुन्। दुवैलाई समानुपातिक कोटामा उम्मेदवार बनाइएको थियो।

५३ जनाले लिए नेपालीमा शपथ, ४९ ले विभिन्न मातृभाषामा
मधेश प्रदेशसभा सचिवालयका अनुसार मधेश प्रदेशमा सबैभन्दा बढी ५३ जना सदस्यहरुले नेपाली भाषामा शपथ लिएका छन्। ४९ प्रदेशसभा सदस्यहरुले विभिन्न मातृभाषामा शपथ लिएको प्रदेशसभा सचिवालयले जनाएको छ।

बज्जिका भाषामा १३ जना प्रदेशसभा सदस्यहरुले शपथ लिए। बज्जिका भाषामा अभिराम शर्मा, उपेन्द्र महतो, कृष्णप्रसाद यादव, कौशलकिशोर राय, जंगीलाल राय, नागेन्द्र साह, रमिता प्रधान, रानी शर्मा तिवारी, रुपा कुमारी यादव, वीरेन्द्रप्रसाद सिंह, सकुन्ती देवी र शोभा देवीले शपथ लिएका हुन्।

मैथिली भाषामा ११ जना प्रदेशसभा सदस्यहरुले शपथ ग्रहण गरेका छन्। किरण कुमारी, कुमरकान्त झा, जिवछीकुमारी यादव, मनिषकुमार सुमन, ममतादेवी मण्डल, राजकुमार गुप्ता, रामअशिष यादव, रामचन्द्र मण्डल, रामसरोज यादव, शेषनारायण यादव, संजयकुमार यादव र सतिश सिंहले मैथिली भाषामा शपथ लिएको प्रदेशसभा सचिवालयले जनाएको छ। 

७ जना प्रदेशसभा सदस्यहरुले भोजपुरी भाषामा शपथ लिए। जैनब खातुन, बच्चाराउत अहिर, रमेशप्रसाद कुर्मी, शारदादास पहाडी, शेख अबु कलाम आजाद, सरोज कुमार यादव र सिंगासन सा कलवारले भोजपुरी भाषामा शपथ लिएका हुन्। थारु भाषामा राजकुमार लेखी, राजेन्द्रप्रसाद चौधरीले शपथ लिएका छन्।

मगही र हिन्दी भाषामा २÷२ जना प्रदेशसभा सदस्यहरुले शपथ लिएको प्रदेशसभा सचिवालयले जनाएको छ। भरतप्रसाद साह तथा सरोजकुमार सिंह मगहीमा र जितेन्द्र सोनल तथा सुरिता साहले हिन्दी भाषामा शपथ लिएका हुन्।

उर्दु भाषामा एक मात्र प्रदेशसभा सदस्य विमला अन्सारी तरन्नुमले शपथ लिएकी छिन्।

विवादकाबीच मधेशी भाषामा शपथ
जनमत पार्टीका नवनिर्वाचित प्रदेशसभा सदस्यहरुले विवादबीच मधेशी भाषामा शपथ लिएका छन्। जनमत पार्टीका १३ जना प्रदेशसभा सदस्यहरुमध्ये १२ जना प्रदेशसभा सदस्यहरुले मधेशी भाषामा शपथ लिएका हुन्।

जनमत पार्टीका सतिश सिंहले भने मैथिली भाषामा शपथ लिएको प्रदेशसभा सचिवालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .