ad ad

मधेस


अफिसियल काममा वडाध्यक्षले झिके घरायसी लेनदेनको विवाद

अफिसियल काममा वडाध्यक्षले झिके घरायसी लेनदेनको विवाद

जयन्त ठाकुर
फागुन ४, २०७९ बिहिबार १५:४८, जनकपुरधाम

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ९ इच्छापुरका हरिचन पण्डितको केही दिन अगाडि नागरिकताको प्रमाण पत्र हरायो।

मोटरसाइकल नामसारीका लागि गाउँबाट जनकपुरधाम आइरहेका ५६ वर्षीय पण्डितको खल्तीबाट नागरिकताको प्रमाणपत्र झरेको थियो। बिना नागरिकता नामसारी नहुने भएपछि नागरिकताको प्रतिलिपिका लागि पण्डित वडा कार्यालय पुगे। 

तर नागरिकताको प्रतिलिपि निकाल्नका लागि गएका पण्डितको सिफारिशपत्रमा वडाध्यक्ष आफैँले हस्ताक्षर गरेर केरमेट गरेको पाइएको छ।

पण्डित करिब १० दिन अगाडि नागरिकताको प्रतिलिपि निकाल्नका लागि सिफारिश गराउन वडा कार्यालय पुगेका थिए। 
तर त्यहाँ पुगेपछि क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ९ का वड़ाअध्यक्ष अवधकिशोर यादवले आफ्नो भाइसँग लिएको रुपैयाँ नफर्काएसम्म सिफारिश नगर्ने जवाफ दिएको पीडित पण्डितले बताए। 

‘नागरिकताको प्रतिलिपि सिफारिशका लागि वडा कार्यालय पुगेँ तर त्यहाँ वडाध्यक्ष हुनुहुन्थेन’ पण्डितले भने, ‘पछि त्यहाँका कार्यालय सहयोगीले अध्यक्षज्यूलाई फोन गरेर बताएपछि चिया पसलमा पठाइ दिन भन्नुभयो। त्यहाँ गएर पत्र दिँदा हस्ताक्षर त गर्नुभयो तर सिफारिशपत्र मेरो हातमा दिनुभएन। आफ्नै गोजीमा राख्नुभयो।

सिफारिशको कागज दिएपनि केरमेट गरेर दिएको उनले गुनासो गरे।

‘म र मेरी श्रीमतीले पटक पटक हारगुहार लगाउँदा ऊक्त पत्र निकालेर हस्ताक्षर गरेको कागजात ऊपर नै रातो कलमले केरमेट गरेर हाम्रो अगाडि फालिदिनुभयो’ पण्डितले भने।

पण्डितका अनुसार केही वर्ष अगाडि वडाध्यक्षका भाई योगी यादवसँग ३ रुपैयाँ दरको ब्याजमा ६० हजार रुपैयाँ ऋण लिएका थिए। 

ऋण लिएको ६ महिनाभित्रै २२ हजार रुपैयाँ बुझाएको दबी गर्दै पण्डितले भने ‘पछि मेरो बटुवाबाटै १ लाख ७० हजार रुपैयाँ छिनि लियो।’ 

तर वडाध्यक्षले पैसा नबुझाएसम्म सिफारिश नगरिदिने भन्दै धम्की दिँदै आइरहेको पण्डितले आरोप लगाए।  

यता वड़ाध्यक्ष यादवले भने सिफारिश लिन आउँदा आफूलाई गालीगलौज गरेकाले आफूले हस्ताक्षर गरेको कागजात केरमेट गरेको प्रतिक्रिया दिएका छन्। वडाध्यक्ष यादवले सेवाग्राही पण्डितले आफूसँग माफी नमागेसम्म सिफारिश नगर्ने समेत बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .