मधेस


महोत्तरी ३ का उम्मेदवारसँग मतदाताको प्रश्न: ‘जनकपुरधाम-भिट्ठामोड’ सडक कहिले बन्छ?

महोत्तरी ३ का उम्मेदवारसँग मतदाताको प्रश्न: ‘जनकपुरधाम-भिट्ठामोड’ सडक कहिले बन्छ?

सुभाष कर्ण
फागुन २, २०८२ शनिबार २२:१३, जनकपुरधाम

देशभर जस्तै मधेस प्रदेशको महोत्तरी जिल्लामा पनि फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको माहोल तातेको छ। उम्मेदवारहरू विभिन्न एजेन्डा लिएर हिँडिरहँदा स्थानीय मतदातालाई मुख्य समस्या भने सडकको पीडा रहेको छ।

महोत्तरीको क्षेत्र नम्बर ३ का मतदाताको एउटै प्रश्न छ, ‘१० वर्षसम्म जनकपुरधाम—महोत्तरीको भिट्ठामोड सडक किन बनेन?’

भारतसँग सीमा जोडिएका महोत्तरी र धनुषाको प्रमुख सिमानाका मध्ये एक सडक खण्ड रहेको जनकपुरधाम—भिट्ठामोड ९ वर्ष बितिसक्दा पनि पूर्ण रुपमा तयार हुन सकेको छैन। 

प्रत्येक निर्वाचनमा जनकपुरधाम—भिट्ठामोड सडकखण्ड निर्माण चुनावी एजेण्डा बन्ने गरेको छ। यसपटक विभिन्न दलका उम्मेदवारहरुले आफू जितेपछि सो सडकखण्ड निर्माण गरिने चुनावी एजेण्डा बनाएका छन्।  

अहिले दलका नेताहरू शिक्षा, स्वास्थ्य र पूर्वाधार विकाससहित सो सडक खण्डलाई प्रमुखतामा राख्दै मत मागिरहेका छन्। 

तीन वर्षभित्रै सम्पन्न गर्ने गरी २०७३ साल भदौ २४ गते शिलान्यास गरिएको सो सडक खण्ड अहिलेसम्म किन निर्माण हुन सकेन भन्ने प्रश्न मतदाताहरू उम्मेदवारहरूसँग गर्न थालेका छन्। हाल सो सडक निर्माण सम्पन्न नहुँदै ठाउँ ठाउँमा भत्कन थालेको छ। 

जिल्लाको सदरमुकाम जलेश्वर पर्ने सो सडकखण्डको निर्माण कार्य सम्पन्न हुन नसक्दा महोत्तरी ३ का मतदाताहरू आक्रोशित छन्। महोत्तरी ३ मात्रै होइन धनुषा ३ र महोत्तरीको २ नं. क्षेत्र पनि यी सडकखण्ड अन्तर्गत पर्दछन्। 

आक्रोशित स्थानीय भन्छन् ‘यस १० वर्षको अवधिमा मधेसबाट कांग्रेस, एमाले र जनता समाजवादी पार्टी (जसपा) नेपालबाट संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनिसकेका छन्। तरपनि हालसम्म सडक निर्माण हुन नसक्नु निकै दुखदायी हो।’ 

२०७३ साल यता कांग्रेसबाट विमलेन्द्र निधि, एमालेबाट रघुवीर महासेठ, जसपा नेपालबाट रेणु यादव र मोहम्मद इश्तियाक राईन मन्त्री बनिसकेका छन्। रघुवीर महासेठ २०७४ र २०८० मा गरी दुई पटक भौतिक पूर्वाधार यातायात मन्त्री बने। 

भारतीय सीमासम्म पुग्ने जनकपुरधाम– भिठामोड सडकखण्डमा दैनिक सयौँ सवारी साधनको आवागमन हुने गरेको छ। तर पनि फोर लेन भनिएको सो सडकको अवस्था भने दुरुस्त छैन। कतै कालोपत्रे उप्किएको छ, कतै खाल्डाखुल्डी छन् भने कतै पुल निर्माण कार्य पुरा भएको छैन। 

जलेश्वर नगरपालिका ४ निवासी ई रिक्सा चालक मंसुर आलम सडक निर्माण कार्य शुरु भएदेखि मधेस प्रदेशबाट ४÷४ जना केन्द्रमा भौतिक पूर्वाधार मन्त्री बनेपनि सडक निर्माण हुन नसक्नु दुर्भाग्य भएको बताउँछन्।

महोत्तरी ३ बाट २०४८ मा कांग्रेसका महेश्वर सिंह, २०५१ राप्रपाका रामविलास यादव, २०५६ मा कांग्रेसबाट शरतसिंह भण्डारी, २०६५ मा तत्कालिन तमलोपाबाट गणेश तिवारी नेपाली, २०७० एमालेका रामदयाल मण्डल, २०७४ मा तात्कालीन राजपाका महन्थ ठाकुर र २०७९ मा पनि लोसपाबाट ठाकुरले नै जिते।

यसपटक महोत्तरी ३ मा स्वतन्त्र र दलगत गरी ४२ जना उम्मेदवार चुनावी मैदानमा छन्। जसपा नेपालबाट तत्कालीन लोसपा र राजपा अध्यक्ष महन्थ ठाकुरकी छोरी मिनाक्षी झा, कांग्रेसबाट बजरंग नेपाली, एमालेबाट मनोज सिंह र रास्वपाबाट उज्जवल झा र नेकपाबाट राजकिशोर साह उम्मेदवार छन्। 

यस्तै जलेश्वर नगरपालिका ३ का नन्दी दास भन्छन्, ‘यही सडकखण्डको निर्माण अविलम्ब शुरु हुनुपर्ने माग गर्दै एक दशक अगाडि आमरण अनशनसम्म पनि बस्नु पर्यो। तर आज पनि सडकको निर्माण कार्य अधुरै छ। नेताहरू अनेक वाचा गरेर जान्छन् तर यस भेग कै लागि विकासको मेरुदण्डको रुपमा रहेको जनकपुरधाम–भिठामोड सडकखण्ड उनीहरूको प्राथमिकतामा नपर्नु राजनीतिक बेइमानी हो।’ 

जलेश्वर २ की सुमित्रा मलिक भन्छिन्, ‘जनकपुरधाम—भिट्ठामोड सडक निर्माण हुन नसक्नुमा यहाँका नेता र जनप्रतिनिधि दोषी छन्। उनीहरू यहाँबाट जितेर गएपछि सरकारमाथि दबाब बनाउन नसक्दा यस्तो अवस्था भएको हो। त्यसैले अब काम गर्ने जनप्रतिनिधिलाई जिताउन आवश्यक छ।’

२०७३ सालमा शिलान्यास हुनु अघि भारत सरकारको पूर्ण सहयोगमा निर्माण हुने भनिएकोमा एक दशकसम्म समेत निर्माण हुन सकेको थिएन। वर्षौंसम्म स्थानीयले जर्जर सडकको निर्माण माग गर्दै धर्नादेखि आमरण अनसनसम्म गरेका थिए। देश संघीयतामा गएपछि तत्कालीन भौतिक पूर्वाधार विकास मन्त्री रमेश लेखकको अगुवाईमा सो सडक खण्डको पुनः शिलान्यास गरी विधिवत रुपमा निर्माण कार्य अघि बढाइएको थियो। 

निर्माण सम्पन्न नहुँदै ठाउँ ठाउँमा उप्किँदै गएपछि कमसल सामग्री प्रयोग, गुणस्तरहीन काम भएको तत्कालीन माओवादी नेता एवं हालका जसपा नेता रामकुमार शर्मासहित स्थानीयको अगुवाईमा छानबिनको माग गर्दै धर्नादेखि अनसनसम्मको कार्यक्रम  गरियो थियो। प्रतिनिधि सभा सदस्य इन्दु शर्माको नेतृत्वमा छानबिन समिति गठन गरी प्रतिवेदन समेत तयार पारियो। तर हालसम्म प्रतिवेदन कार्यान्वयनमा आउन सकेको छैन। 

सो समितिले ७ वर्ष अगाडी नै कमसल सामग्रीको प्रयोग, मापदण्ड विपरित निर्माण, गुणस्तरहीन निर्माण भएको सहितका आफ्नो प्रतिवेदन संसदको विकास तथा पूर्वाधार समितिलाई बुझाएको थियो। प्रतिवेदनमा सडकको जग नै कमजोर रहेको, गुणस्तरहीन, सम्झौता विपरीत कार्य भएको तथा करोडौं रकमको हिनामिना भएको दाबी गरिएको थियो। 

निर्माण कार्यको नालीबेली
९३ करोड ४३ लाखको लागतमा निर्माण हुने भनिएको १८.५६ किमिको उक्त सडकको नेपाल सरकारले दुई खण्डमा निर्माण गर्ने सम्झौता गरेको थियो। पहिलो खण्डमा जनकपुरधास्थित जिरोमाइलदेखि महोत्तरीको पिपरासम्म  श्री प्रतिभा वाई पि जे.भीलाई ४३ करोड ५४ लाख ७२ हजार आठ सय चौहत्तर भ्याट सहितमा ठेक्का सम्झौता गरेको थियो। 

त्यस्तै दोस्रो खण्डमा पिपरादेखि भिठामोडसम्म ९.५६ किलोमिटर सडक श्री आशिष पप्पु रोशन जेभी ४९ करोड ८९ लाख २० हजार ७ सय ७ रुपैयाँ भ्याटसहित बजेट ठेक्का सम्झौता गरेको थियो।

क्षेत्रकै जलेश्वर निवासी स्थानीय विजय दत्तले गुणस्तरहीन र मापदण्ड विपरीत निर्माण भईरहेकाले सडकको निर्माण पूरा नहुँदै भत्किन लागेकोमा आक्रोश व्यक्त गरे। उनले भ्रष्टाचारको कारण कमसल र गुणस्तरहीन काम गरिएको कारण निर्माण कार्य सम्पन्न नहुँदै सडक भत्किन थालेको आरोप लगाएका छन्। 

तर हुलाकी राजमार्ग परियोजनाका प्रमुख कृष्णकुमार महतोले सडकको करीब करीब काम सम्पन्न भइसकेको दाबी गरे। केही कल्भर्ट, नाला र पुलको काम बाँकी रहेको उनको भनाई छ। 

‘अधिकांश ठाउँमा विवादको कारण नाला, पुल र कल्भर्टको काम हुन नसकेको हो। तर विस्तारै सबै समस्या समाधान गर्दै कार्य तिव्रगतिमा अघि बढाइएको छ। काम सम्पन्न भएको आधारमा टुक्रा टुक्रामा हस्तान्तरण गरिनेछ’ उनले भने। 

चालु आ.व. भित्र सडक निर्माण सम्पन्न भई ठेकेदारले हस्तान्तरण गर्ने उनले बताए। अन्य पुल, कल्र्भट र नालाको काम आगामी आ.व. भित्रै सम्पन्न गर्नेगरी काम भइरहेको उनको भनाई छ। शुरुमा बजेट आभाव र जग्गा अधिग्रहण विवादको कारण लम्बिएको उनले बताए।

सडकको गुणस्तरियतामा उठेको प्रश्नबारे भने उनले कुनै किसिमको खराबी नरहेको दाबी गरे। उनले यो सडकलाई जनकपुरधाम ढल्केवर सडकखण्डसँग तुलना गरिरहेको कारण यस्तो गुनासो आइरहेको बताए। 

उनले भने ‘दुवै सडकको निर्माण प्रकृया नै फरक छ। जनकपुरधाम–भिठामोड सडकखण्ड डिविएसडी प्रविधिमा निर्माण भईरहेको छ जबकि जनकपुरधाम–ढल्केवर स्फाल्ट प्रविधिमा निर्माण भइरहेको छ। स्फाल्ट प्रविधि डिविएसडी प्रविधिभन्दा उत्तम र खर्चिलो प्रविधि हो। तर निर्माण भईरहेको जनकपुरधाम भिठामोड सडकखण्ड पनि टिकाउ नै नरहेको भन्न मिल्दैन।’ 

उनी थप्छन्, ‘सडकतर्फ ९५ प्रतिशत काम सम्पन्न भई सकेको र बाँकी काम आगामी आर्थिक वर्षभित्र सम्पन्न भई हाल्छ।’ 

कल्भर्ट निर्माणका लागि ईलाइट सूर्या जेभीसँग २०७७ साल भदौ १९ गते २९ करोड २६ लाख ६९ हजारमा ठेक्का सम्झौता भएको थियो। कल्भर्ट निर्माणको सम्पूर्ण काम २०७९ साल भदौ १८ सम्म सम्पन्न गर्नु पर्ने थियो।

हुलाकी राजमार्ग परियोजनाका अनुसार प्रतिभा वाइपी जेभीलाई ३९ करोड ५५ लाख ५६ हजार, आशिष पप्पु रोशन जेभीलाई ५१ करोड ३८ लाख ९१ हजार र कल्भर्ट निर्माणको ठेक्का पाएको ईलाइट सूर्या जेभीलाई १० करोड ८८ लाख ७१ हजार रुपैयाँ भुक्तानी समेत भई सकेको छ।  

पुल कल्भर्ट र नालातर्फ हालसम्म ३ वटा पुल मध्ये पिपरा पर्सा नजिकको पुलको ठेक्का लागेको छैन भने अन्य दुईवटा पुल निर्माण चरणमा रहेको छ। कल्भर्ट र नालातर्फ अधिकांश काम सम्पन्न भई टुक्रा टुक्रा काम बाँकी रहेको छ। चालु आ.व. मा सम्पन्न नभएपनि जिम्मा लिई काम अघि बढाइने प्रमुख महतोले बताएका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad