मधेस


मधेसमा फेरि सरकार ढाल्ने खेल सुरु, जनमतमा विवाद

मधेसमा फेरि सरकार ढाल्ने खेल सुरु, जनमतमा विवाद

सुभाष कर्ण
बैशाख २२, २०८३ मंगलबार २०:१९, जनकपुरधाम

मधेस प्रदेशमा सरकार ढाल्ने राजनीति फेरि सुरु भएको छ। कांग्रेसका कृष्णप्रसाद यादव नेतृत्वमा सरकार बनेको ६ महिना नबित्दै पुनः सरकार ढाल्ने सत्तारुढ दलबाटै चलखेल सुरु भएको हो। 

सत्ता साझेदार दल जनमत पार्टीले कांग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै नयाँ गठबन्धन निर्माणको प्रयास पनि तीव्र भएको छ। जनमतको समर्थन फिर्तासँगै जनता समाजवादी पार्टी (जसपा) नेपालले पनि समर्थन फिर्ता लिने तयारीमा छ। 

ठूला दलको हैसियतमा जसपा नेपालले वर्तमान मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार विस्थापित गरी आफ्नै नेतृत्वमा नयाँ सरकार गठन गर्ने रणनीति अघि बढाएको छ। जसपा नेपालको १८ र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको ८ सिट मिलाएर २६ सिटसहित ठूलो पार्टी बन्न गएको छ। यसअघि २४ सिटसहित नेकपा एमाले ठूलो दल थियो। 

संघीय तहमा महन्थ ठाकुर नेतृत्वको लोसपा नेपाल र उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबीच एकीकरण भइसकेपछि प्रदेशमा एकीकरण भएको थिएन। तर नयाँ सरकार निर्माणले लोसपा पनि जसपासँगै रहने संकेत देखिएको छ। 

जसपा नेपाल, नेकपा एमाले र जनमत पार्टीबीच नयाँ गठबन्धन निर्माणको प्रयास अन्तिम चरणमा पुगेको बुझिएको छ। जसपा नेपालको नेतृत्वमा गठबन्धनमार्फत जसपा नेतृत्वमा सरकार गठन गर्ने तयारी भइरहेको नेताहरूको भनाइ छ।

जसपा नेपालकी प्रमुख सचेतक किरण कुमारी साह औपचारिक रूपमा नभएपनि अनौपचािरक रुपमा नयाँ सरकार गठनबारे कुरा भएको बताउँछिन्। वर्तमान सरकार सुस्तगतिमा हिँडिरहेका कारण जनताले सरकारको अनुभूति गर्न नपाएको उनको भनाई थियो। 

उनले भनिन्, ‘यदि सरकार परिवर्तनको अवस्था आयो भने ठूलो दलको हैसियतले सरकार नेतृत्वको दाबी स्वतः हुन्छ।’

यसैबीच, नेकपा एमालेले पनि सरकार परिवर्तनको प्रक्रियामा सहभागिता जनाएको छ। एमाले सांसद शारदा थापाका अनुसार पार्टीभित्र नयाँ सरकारमा सहभागी हुने तयारी भइरहेको छ। 

उनले भनिन् ‘हामी अन्य दलको नेतृत्वमा पनि सरकारमा जाने र वर्तमान सरकारको विपक्षमा उभिने तयारीमा छौँ।’ 

जसपा नेपालका नेता तथा पूर्वमुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले पनि सरकार परिवर्तनको प्रयास भइरहेको पुष्टि गरेका छन्।

उनले भने, ‘वर्तमान सरकारको कार्यसम्पादन सन्तोषजनक देखिएको छैन। छिट्टै दलको औपचारिक निर्णय आउनेछ।’ 

मधेस प्रदेशसभाको अंकगणित अनुसार जसपा नेपालसँग २६, एमालेसँग २४ र जनमत पार्टीसँग ९ सांसद रहेका छन्। जनमतको १२ सांसद भएपनि सत्ता फेरबदलको खेलमा ३ सांसद नयाँ सरकार गठनको विपक्षमा छन्। 

जनमतमा चुल्यो विवाद
सत्ता ढाल्ने खेलमा जनमत पार्टीभित्रै गम्भीर विवाद भई दुई चिरा भएको छ। पार्टीका प्रमुख सचेतक चन्दनकुमार सिंहले ९ सांसदको हस्ताक्षरसहित सरकारबाट समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाएका छन् भने दलको नेताको हैसियतमा महेश यादवद्वारा समर्थन फिर्ता नलिएको भन्ने अर्को पत्र पनि गएको छ।

पार्टीभित्रको विवाद चरमोत्कर्षमा पुगेको छ। केन्द्रीय अध्यक्ष डा सीके राउतले भने औपचारिक रूपमा सरकारबाट बाहिरिने निर्णय भइसकेको दाबी गरेका छन्। वैशाख २१ गते बसेको संसदीय दलको बैठकबाट सरकार छाड्ने निर्णय भइसकेको राउतले जानकारी दिएका छन्। 

यसैबीच दलका नेता महेश यादव पार्टीको निर्णयविरुद्ध गएको भन्दै पार्टीले नयाँ संसदीय दलको नेतामा चन्दन सिंहलाई चयन गरेको छ। यादव हाल प्रदेश सरकारमा अर्थमन्त्रीको जिम्मेवारीमा छन्।

जनमतको यही सत्ताको भद्रखेलले गर्दा असोज २८ गते सतिश सिंहको नेतृत्वमा आफ्नै पार्टीको रहेको सरकार ढालेर लोसपा नेपालका जितेन्द्र सोनलको नेतृत्वमा नयाँ सरकार बनाएका थिए।

जेनजी आन्दोलनको क्रममा भदौ २४ गते तत्कालीन मुख्यमन्त्री सतीशकुमार सिंहले असहज परिस्थिति देखेपछि समाजिक सञ्जालमा दिएको राजीनामापछि जनमतले उनलाई हटाएको थियो। पछि सिंहले आफ्नै नयाँ पार्टी खोलेर प्रतिनिधि सभाको निर्वाचनमा भाग लिएका थिए। 

त्यसयता प्रदेशमा तीनजना मुख्यमन्त्री भइसकेका छन्। तरपनि सरकार परिवर्तनको क्रम रोकिएको छैन। निर्वाचनयता कृष्ण यादव पाचौँ मुख्यमन्त्री हुन्। अब छैठौं मुख्यमन्त्रीको खेल शुरु भइसकेको छ। 

१०० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ५१ सांसद आवश्यक पर्छ। हाल नेकपा एमाले का २४, नेपाली कांग्रेसका २२, जसपा नेपाल र लोसपा मिलाएर २६, जनमतका १२, माओवादी केन्द्रका ९,र एकीकृत समाजवादीका ७ सांसद रहेका छन्। अन्य साना दलहरूका एक–एक सिट छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad