प्रत्येक तीन वर्षमा मलमास अर्थात पुरुषोत्तम मासमा लाग्ने महोत्तरीको लोहरपट्टी नगरपालिकाको खुट्टापिपराढीस्थित गेरुका नदी स्नान मेला आजदेखि सुरु भएको छ।
धनुषा र महोत्तरी जिल्लाको सीमा पर्ने गेरुका नदीमा स्नान गर्न बिहानैदेखि श्रद्धालु भक्तजनहरूको भीड लागेको छ। धार्मिक आस्था तथा परम्पराअनुसार भक्तजनहरूले रामायणकालीन सो गेरुका नदी तथा पवित्र कुण्डमा स्नान गरी पूजा–आराधना गरेका छन्।
जनकपुरधामको जानकी मन्दिरको अगुवाइमा राम र सीताको स्वरुपलाई गेरुका नदीमा लगेर पूजासमेत गरिएको छ। नेपाल र भारतका मिथिला क्षेत्रबाट लाखौँ संख्यामा श्रद्धालुहरू सो मेलामा सहभागिता हुँदै आएका छन्। यसवर्ष पनि लाखौँको सहभागिता हुने अपेक्षा गरिएको छ।

गेरुका नदी स्नानको महत्व जगत जननी माता सीता गेरुका नदीमा स्नान गर्ने गरेको मिथिला महात्म्यमा उल्लेख छ। कन्तावाँ नदी र उत्तरवाहिनी नदीको संगमस्थल गेरुका नदीमा पूर्वकालदेखि नै मिथिलाको महाकुम्भ स्नान मेला लाग्दै आएको छ।
यस वर्षको मेला जेठ ३ गते सुरु भई पूरा महिना मलमास अवधिभर सञ्चालन हुनेछ। विशेषगरी आइतबार र मंगलबार श्रद्धालु भक्तजनको बढी सहभागिता हुन्छ। मलमासको बेला गेरुका नदीमा स्नान गर्नाले जानी नजानी गरिएका पापहरूबाट मुक्ति मिल्ने जनविश्वास रहेको छ।
आजको स्नान अवसरमा साधुसन्त, महन्थ तथा स्थानीय भक्तजनको सहभागितामा भजन–कीर्तन, झाँकी तथा धार्मिक कार्यक्रमसमेत आयोजना गरिएको थियो। मेला व्यवस्थापन समितिका अनुसार श्रद्धालुहरूको सुविधाका लागि खानेपानी, सुरक्षा तथा स्वास्थ्य सेवाको व्यवस्था गरिएको छ।
Shares

प्रतिक्रिया