ad ad

म्यागेजिन


हिमानीले चियापान गरेकै साँझ कमल कोइरालाले सेयर गरेको राजा वीरेन्द्र–मातृकाको त्यो तस्बिर

हिमानीले चियापान गरेकै साँझ कमल कोइरालाले सेयर गरेको राजा वीरेन्द्र–मातृकाको  त्यो तस्बिर

विराटनगरस्थित कोइराला निवासमा मातृका प्रसाद कोइरालासँग राजा वीरेन्द्र (तस्बिर स्रोतः कमल कोइराला)


सीताराम बराल
कात्तिक ८, २०७८ सोमबार १०:१, काठमाडौँ

पूर्वराजा ज्ञानेन्द्र शाह बुहारी हिमानी शाहको नाममा स्थापित ‘हिमानी ट्रस्ट’ले आयोजना गरेको चियापान कार्यक्रमका निम्तालुहरूसँग भेटघाट र कुराकानीमा व्यस्त थिए, शुक्रबार (५ कात्तिक) साँझ। 

त्यही समय पुराना राजनीतिज्ञ एवं दक्षिण कोरियाका लागि पूर्वराजदूत कमल कोइरालाले ५ वर्षअघि फेसबुकमा पोस्ट गरेको एउटा तस्बिर सेयर गरे। 

तस्बिरको दायाँतिर राजा वीरेन्द्र छन् भने दायाँतिर तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाह (हाल पूर्वराजा)। बीचमा कपाल सेतै फुलेका, सेतो पाइजामा लगाएका एक जना ज्येष्ठ नागरिक देखिन्छन्, जो हाल नेकपा (एकीकृत समाजवादी) का नेता कमल कोइरालाका बुबा तथा पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइराला हुन्। 

कोइरालाले फेसबुकमा उल्लेख गरेअनुसार त्यो तस्बिर विराटनगरस्थित कोइराला निवासमा सन् १९८५ (वि.सं. २०४१) ताका राजा वीरेन्द्र भाइ ज्ञानेन्द्रका साथ पूर्वप्रधानमन्त्री मातृकालाई भेट्न जाँदाको हो। 

‘केटाकेटी उमेरमा दार्जिलिङमा बाजे (त्रिभुवन) लाई भेटेको धेरै वर्षपछि राजा वीरेन्द्र भाइ ज्ञानेन्द्रका साथ हाम्रो विराटनगरको घरमा आए’, कोइरालाले लेखेका छन्, ‘मेरो बाबा मातृकाप्रसाद कोइरालाको दायाँबायाँ बसेर फोटो खिचाए।’​

कुनै जानकारी नदिई राजा वीरेन्द्र ज्ञानेन्द्रका साथ हाम्रो निवासमा आउनुभएको थियो। त्यसैले, तस्बिरमा बुबाले टोपी जुत्ता लगाउनुभएको देखिन्न। बाबाले शिष्टता र सम्मानका लागि यथोचित पोसाक लगाउन पाउनुभएन।

कोइराला निवासमा दुईपटक 
वि. सं. २००७ मा राणा शासनको पतनपछि नेपाली कांग्रेस र राणाहरूको संयुक्त सरकार बन्यो। संयुक्त सरकारको प्रधानमन्त्री पनि श्री ३ मोहनशमशेर नै बने। तर केही समयपछि नै गृहमन्त्री बीपी कोइरालासँग उनको खटपट सुरु भयो। त्यसपछि मोहनशमशेरले प्रधानमन्त्री पदबाट राजीनामा दिए।

यसपछि राजा त्रिभुवनले नेपाली कांग्रेसका सभापति मातृकाप्रसाद कोइरालालाई प्रधानमन्त्री बनाए। यसरी मातृका सर्वसाधारण जनताका तर्फबाट देशको प्रधानमन्त्री बन्ने पहिलो नेपाली भए। उनी २००७ को क्रान्तिका सुप्रिम कमान्डर पनि थिए।​

मोहनशमशेरको बहिर्गमनपछि प्रधानमन्त्री बन्न चाहन्थे– बीपी कोइराला। तर राजा त्रिभुवनले मातृकालाई प्रधानमन्त्री बनाए। बीपीले नेपाली कांग्रेसबाट निष्कासन गरेपछि मातृकाले राष्ट्रिय प्रजा पार्टी गठन गरे। राजा त्रिभुवनले प्रजा पार्टीको सभापतिको हैसियतमा मातृकालाई फेरि प्रधानमन्त्री पदमा नियुक्ति गरे। 

यसले प्रस्ट पार्छ– राजा त्रिभुवन र कमलका पिता मातृकाबीच कति प्रगाढ सम्बन्ध रहेछ।

राजपरिवारसँग यही सुमधुर सम्बन्धका कारण उनी प्रधानमन्त्री छँदा तत्कालीन नवयुवराज वीरेन्द्र र शाहज्यादा ज्ञानेन्द्रलाई भेट्न दार्जिलिङ पनि पुगेका थिए। त्यो बेला वीरेन्द्र र ज्ञानेन्द्र दार्जिलिङस्थित सेन्ट जोसेफ स्कुल नर्थ पोइन्टमा पढ्थे। 

दार्जिलिङमा राजा त्रिभुवनका नातिद्वय वीरेन्द्र र ज्ञानेन्द्रसँग भएको भेटघाटको तस्बिर कोइरालाले बिहीबार (४ कात्तिक) का दिन फेसबुकमा पोस्ट गरेका छन्। तस्बिरमा प्रधानमन्त्री कोइरालाका साथ वीरेन्द्र, ज्ञानेन्द्र र तत्कालीन प्रहरी प्रमुख जीबी याक्थुम्बा छन्।

प्रधानमन्त्री मातृकाप्रसाद कोइराला वीरेन्द्र (अगाडि दायाँ) र ज्ञानेन्द्र

हजुरबुबा त्रिभुवनले दुईपटक प्रधानमन्त्री बनाएका मातृकाप्रसाद कोइरालालाई राजा वीरेन्द्र निकै सम्मान गर्थे। केही वर्षअघि सामाजिक सञ्जालमा भाइरल बनेको एउटा तस्बिरमा आफ्नो सम्मानका लागि बिछ्याइएको रातो कार्पेटमा मातृकालाई हिँडाएर बाटो देखाइरहेका भेटिन्छन्, वीरेन्द्र।

कमल कोइराला भन्छन्, ‘यसबाट पनि राजा वीरेन्द्र बाबा (मातृका) लाई कति सम्मान गर्थे भन्ने स्पष्ट हुन्छ।’​

रातो कार्पेटमा मातृकाप्रसाद कोइरालालाई हिँडाएर बाटो देखाउँदै राजा वीरेन्द्र

पहिलो नागरिक प्रधानमन्त्री मातृकाप्रति राजा वीरेन्द्रले काठमाडौंमा गरेको यो सम्मान त सार्वजनिक भयो, तर सार्वजनिक नभएको कुरा के हो भने पूर्वाञ्चल भ्रमणका क्रममा उनी गोप्य रूपमा विराटनगरस्थित कोइराला निवास पुग्थे। र, प्रथम नागरिक प्रधानमन्त्री मातृकालाई भेटेर फर्कन्थे।

‘मैले थाहा पाएसम्म उहाँ (राजा वीरेन्द्र) दुईपटक बाबालाई भेट्नका लागि हाम्रो निवासमा आउनु भयो’, छोरा कमलले सम्झे, ‘राजा आउँदा बाबा र राजाबीच खासै लामो कुराकानी हुँदैनथ्यो। सिर्फ बाबाप्रति सम्मान प्रकट गर्न राजा वीरेन्द्र हाम्रो निवासमा आउने गर्नुहुन्थ्यो।’

कोइरालाले जुन तस्बिर फेसबुकमा राखेका छन्, त्यो सन् १९८५ तिरको हो। जसमा राजा वीरेन्द्र र अधिराजकुमार ज्ञानेन्द्र दुवै सैनिक पोसाकमा देखिन्छन्। झन्डै ३६ वर्षअगाडिको तस्बिर भएकाले वीरेन्द्र र ज्ञानेन्द्र दुवै युवा छन्। 

‘कुनै जानकारी नदिई राजा वीरेन्द्र ज्ञानेन्द्रका साथ हाम्रो निवासमा आउनुभएको थियो’, कोइराला भन्छन्, ‘त्यसैले, तस्बिरमा बुबाले टोपी जुत्ता लगाउनुभएको देखिन्न। राजा वीरेन्द्र हाम्रो घरमा अकस्मात् आउनुभएकाले बाबाले शिष्टता र सम्मानका लागि यथोचित पोसाक लगाउन पाउनुभएन।’  

जुन तस्बिर कोइरालाले फेसबुकमा पोस्ट गरेका छन् त्यो, एडीसी (अंगरक्षक) ले रोक्न खोजे पनि राजा वीरेन्द्रले हस्तक्षेप गरेपछि खिचिएको थियो।

‘राजा वीरेन्द्र र अधिराजकुमार ज्ञानेन्द्रसँग बाबा बसिरहनुभएको तस्बिर ज्योति आचार्य (नातेदार) ले खिच्न खोज्दा एडीसीले राजासँग बसेको तस्बिर कहाँ खिच्न हुन्छ भन्दै रोक्न खोजेका थिए’, कोइरालाले सम्झे, ‘त्यसपछि राजा वीरेन्द्रले प्राइबेट–फ्यामिली (परिवार) प्रयोजनका लागि खिच्न खोज्नुभएको हो भनेर स्वीकृति दिएपछि यो तस्बिर खिचिएको थियो।’  ​

कोइराला निवासमा रानी ऐश्वर्यको खित्का 
पिता मातृकाप्रसाद कोइराला नेपाली कांग्रेसबाट प्रधानमन्त्री भएका बेलादेखि नै छोरा कमलप्रसाद कोइराला भने कम्युनिस्ट राजनीतिमा संलग्न भए। २०५१ मा मोरङबाट प्रतिनिधि सभाको सदस्य पदमा चुनिएपछि राज्य व्यवस्था समितिको सभापति हुँदा उनको पटक–पटक भेट भयो। 

जतिबेला भाइ ज्ञानेन्द्र लिएर मातृकासँग भेटघाटका लागि राजा वीरेन्द्र कोइराला निवास पुगे, त्यतिबेला कमल कोइराला मनमोहन अधिकारीले नेतृत्व गरेको प्रतिबन्धित नेकपा (माक्र्सवादी) को केन्द्रीय सदस्य थिए। 

पिता मातृका भेट्न राजा आउने भएपछि पारिवारिक सदस्यको हैसियतले राजालाई स्वागत त गर्नैपर्यो। तर झुकेर स्वागत गर्दा अरूहरूले देख्न सक्थे। यसले उनलाई पार्टीमा समस्या पर्न सक्थ्यो; राजासँग निहुरिएको भन्दै आलोचना हुनसक्थ्यो। 

‘त्यसैले मैले परैबाट नमस्कार भन्दै राजा वीरेन्द्र र अधिराजकुमार ज्ञानेन्द्रलाई स्वागत गरेँ’, उनी भन्छन्, ‘टाढैबाट स्वागत गरेको अरूहरूले देखे। त्यसैले मलाई पार्टीमा पनि खासै अप्ठेरो परेन।’  

यसभन्दा २ वर्षअघि पनि राजा वीरेन्द्र बडामहारानी ऐश्वर्यका साथ गोप्य रूपमा कोइराला निवास पुगेका थिए। तर घरमा नभएकाले बाबु मातृकासँग राजा–रानीको भेट हुन सकेन।

कोइरालाका भनाइमा– राजा वीरेन्द्र रानी ऐश्वर्यका साथ त्रिभुवन विश्वविद्यालयको गाडी चढेर कोइराला निवास पुगेका थिए। मातृका घरमा थिएनन्। कमल छोरी ऋचाका साथ सिनेमा हेर्न गएका थिए। घरमा कमलकी पत्नी धन कोइराला थिइन्। 

वीरेन्द्र आफैंले हाँकेर ल्याएको त्रिभुवन विश्वविद्यालयको गाडी कोइराला निवासको आँगनमा थियो। राजा–रानी घरको पिँढीमा बसेका थिए। सिनेमा हेरेर फर्केका कमल कोइराला छोरी ऋचाका साथ घर–कम्पाउन्डमा प्रवेश गरे। 

आँगनमा त्रिभुवन विश्वविद्यालयको गाडी र घरको पिँढीमा एक जोडी पुरुष र महिला देखेपछि उनलाई लाग्यो– त्रिभुवन विश्वविद्यालयका कुनै कर्मचारी बाबा (मातृका) लाई भेट्न आएका होलान्।

पिँढीमा बसेका पुरुष र महिलाको अनुहार राजा वीरेन्द्र र रानी ऐश्वर्यको जस्तो त लाग्यो तर, दिमागमा भर्खर हेरेको सिनेमा नाचिरहेकाले उनीहरू राजा–रानी नै हुन् भन्ने ख्याल गर्न सकेनन्।

सुटुक्क कोइराला निवास पुगेका राजा–रानीले चाहिँ घरमा रहेकी धन कोइराला (कमलकी पत्नी) लाई मातृकालाई खोज्न पठाएका रहेछन्। फिल्ममा भुलेका कमलले यो चाल पाउने कुरै भएन। 

त्यो बेला उनको घरमा भचुलाल मुडियारी नामका एक जना सहयोगी थिए। कमल उनैसँग कुरा गर्न थाले। 

‘बाबालाई भेट्न आएका होलान् भन्ने ठानेर म घरतिर नगई भचुलालसँग कुरा गरिरहेँ, छोरी ऋचा मात्र घरभित्र पसी’, कोइराला सम्झिन्छन्, ‘पिँढीमा रहेका ती पुरुष र महिला धैर्यतापूर्वक कुरेर बसिरहेका थिए।’

ससुरा मातृका खोज्न गएकी कमल–पत्नी धन कोइराला एक्लै घर आइपुगिन्। राजा–रानी पिँढीमै थिए। कमल भने अझै भचुलालसँग गफमा व्यस्त थिए। 

‘घरमा राजा–रानीको सवारी भएको छ, तपाईं भने यहाँ हरुवा (सहयोगी) सँग गफिएर बस्ने’, श्रीमती धनले कमललाई हकारेको स्वरमा भनिन्, ‘तपाईंको यो के पारा हो!’

कमल झल्याँस्स भए। अब भने उनीहरू साँच्चिकै राजा वीरेन्द्र र रानी ऐश्वर्य रहेछन् भन्ने उनलाई विश्वास भयो। त्यसपछि उनी हतार–हतार राजा–रानीको नजिक पुगे। 

‘सरकार! म सिनेमा हेर्न गएको थिएँ, सरकारहरूको सवारी भएको थाहै भएन’, कोइरालाले राजा–रानीलाई स्पष्टीकरण दिए, ‘फिल्म हेरेर भर्खर फर्कंदै छु।’

‘मेरो यो कुरा सुनेर रानी ऐश्वर्य काउकुती लागेझैँ जोडले हाँसिन्, मैले साँचो कुरा भन्दा ऐश्वर्यलाई किन यस्तो जोेडले हाँसो लाग्यो’, कोइरालाले शुक्रबार (५ कात्तिक) मा फेसबुकमा लेखेका छन्, ‘कहिलेकाहीँ सोच्दछु– अझै पनि मैले के यस्तो फन्नी (हाँसउठ्दो) कुरा भनेँ र ऐश्वर्य यसरी जोडले हाँसिन्?’  

पूर्वप्रधानमन्त्री मातृकासँग भेटघाटका लागि राजा–रानी कोइराला निवास पुगेपनि यसपटक भेट नहुने पक्का भइसकेको थियो। त्यसैले राजा वीरेन्द्रले रानी ऐश्वर्यसँग भने, ‘यसरी खबर नगरी आउनु हाम्रै मिस्टेक हो।’

महेन्द्रको ‘उपयोग’, वीरेन्द्रको सम्मान
राणा शासन अन्त्यपछि विश्वास गरेर हजुरबुबा त्रिभुवनले दुई–दुईपटक प्रधानमन्त्री बनाएकैले होला– राजा वीरेन्द्रले मातृकालाई आन्तरिक तथा सार्वजनिक रूपमा निकै सम्मान गरे। राजा वीरेन्द्रको कार्यकालमा मातृकाका लागि नारायणहिटी दरबार सधैं खुला थियो।

तर तिनै मातृकालाई राजा महेन्द्रले भने उति रुचाएनन्। मुटु रोगी त्रिभुवन जब उपचारका लागि स्विट्जरल्यान्ड गए, तब युवराज महेन्द्र ‘राज्य सहायक’को भूमिकामा सर्वेसर्वा भए र मातृकाको प्रधानमन्त्री ताज खोसियो। 

कतिपयले मातृका प्रधानमन्त्री छँदा भारतसँग भएको कोसी सम्झौता, भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूसँग उनको घनिष्ठताका कारण ‘राष्ट्रवादी राजा’ महेन्द्रले मातृकालाई प्रधानमन्त्रीबाट हटाएर परामर्शदात्री सरकारको नाममा आफैंले शासन चलाएको बताउने गरेका छन्।   

तर नेहरूसँग कोइरालाको मात्र होइन, महेन्द्रको पनि घनिष्ठ सम्बन्ध थियो। महेन्द्र पनि कोसी सम्झौताका विरोधी थिएनन्। त्यसैले कोसी बाँधको शिलान्यास र निर्माण पूरा भएपछि उद्घाटनका लागि आफैं पुगेका थिए। 

 कोसी बाँधको शिलान्यासमा भारतीय प्रधानमन्त्री नेहरूका साथ राजा महेन्द्र

कमल कोइरालाका भनाइमा– राजा त्रिभुवन र युवराज महेन्द्रबीचको द्वन्द्वको घानमा उनका बाबु मातृका परेका थिए। र, द्वन्द्व रत्न राणासँग युवराज महेन्द्रको प्रेमका कारण सिर्जना भएको थियो। 

प्रजातन्त्रपछि पनि राजा त्रिभुवनमा राणाहरूसँगको तुष बाँकी नै थियो। त्यसैले उनी छोरा युवराज महेन्द्रले फेरि राणाकै छोरीसँग बिहे नगरोस् भन्ने चाहन्थे। 

तर प्रसव व्यथाका कारण निधन भएकी युवराज्ञी इन्द्रराज्यलक्ष्मीले जीवनको अन्तिम क्षणमा ६ जना बालबच्चाको हेरचाहका लागि बहिनी रञ्जना (पूर्व मुमा बडामहारानी रत्न) सँग बिहे गर्न गरेको अनुरोध टार्न सक्ने स्थितिमा युवराज महेन्द्र थिएनन्। 

रत्नसँग विवाह गर्ने युवराज महेन्द्रको अडानले बाबु–छोरा (त्रिभुवन–महेन्द्र) बीच कस्तो द्वन्द्व भएको थियो, बीपी कोइरालाले ‘आत्मवृत्तान्त’मा लेखेका छन्। 

बीपीका भनाइमा– रत्नसँग बिहे गरे महेन्द्रलाई युवराजको हैसियतबाट हटाइदिने धम्की राजा त्रिभुवनले दिएका थिए। आफूले सम्झाएपछि राजा त्रिभुवन थामिएको दाबी पनि बीपीले गरेका छन्। 

९ मंसिर २००९ मा युवराज महेन्द्र र उनकी साली रत्नको बिहे नागार्जुन दरबारमा भयो। महेन्द्र–रत्नबीच बिहे हुँदा प्रधानमन्त्री पदमा मातृकाप्रसाद कोइराला थिए। आफूले नरुचाएको विवाह भएकाले राजा त्रिभुवन आफ्ना दुई रानी लिएर कलकत्ता (भारत) गए। 

‘राणाकी छोरी भनेर राजा त्रिभुवन रत्नसँग महेन्द्रको बिहे हुनै नदिने अडानमा थिए, महेन्द्र भने रत्नसँग नै बिहे नगरी छाड्दिनँ भन्ने अडानमा’, कोइरालाले भने, ‘मेरो बाबा (मातृका) ले यो त माया–प्रेमको कुरा हो, बिहे हुन दिनुपर्छ भनेर राजा त्रिभुवनलाई सम्झाउन खोज्नुभएको रहेछ। पारिवारिक मामिलामा आफूलाई सम्झाउन खोजेको भन्दै राजा त्रिभुवन रिसाएछन्। आफूलाई परेको अप्ठेरो उहाँ पछिसम्म सुनाइरहनु हुन्थ्यो।’

मातृकालाई राजा त्रिभुवनले श्री ३ चन्द्रशमशेरले कसरी राजपरिवारका विवाहलगायत पारिवारिक मामिलामा पनि हस्तक्षेप गर्थे, त्यो कुरा सुनाउँदै झोक्किएका थिए, ‘तिमीले पनि हाम्रो पारिवारिक मामिलामा चन्द्रशमशेरले झैैँ हस्तक्षेप गर्ने काम नगर।’

‘बिहेको मामिलामा बाबाले महेन्द्रकै पक्ष लिनुभएको थियो, तर राजा त्रिभुवनसँग उहाँको निकटताका कारण होला– महेन्द्रले बुबालाई त्यति रुचाएनन्’, कोइरालाले सुनाए, ‘महेन्द्र शक्तिमा आएपछि उहाँ प्रधानमन्त्रीबाट हट्नुभयो।’

निर्वाचित प्रधानमन्त्री बीपी कोइरालालाई १ पुस (२०१७) मा अपदस्थ गरेपछि राजा महेन्द्रले मातृकालाई अमेरिकाका लागि राजदूत बनाए। सम्भवतः भाइ बर्खास्त गरिएकामा विरोध नगरुन् भनेर महेन्द्रले मातृकालाई राजदूत बनाएर अमेरिका पठाएका थिए।

तैपनि एकपटक मातृकालाई भेट्न महेन्द्र कोइराला निवास पुगेका थिए। 

‘त्यो बेला हाम्रै घरमा राजा महेन्द्रले डिनर पनि लिएका थिए’, कोइरालाले भने, ‘तर बाबाको राजा त्रिभुवनसँग जस्तो घनिष्ठ सम्बन्ध राजा महेन्द्रसँग चाहिँ रहेन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .