ad ad

म्यागेजिन


धुलौटोमा अक्षर सिकेका भीम रावल: आमा र पढाइको मायाले भूमिगत हुन सकिनँ

धुलौटोमा अक्षर सिकेका भीम रावल: आमा र पढाइको मायाले भूमिगत हुन सकिनँ

कक्षाको जान्ने विद्यार्थी थिए भीम रावल, त्यसैले उनले शुल्क तिर्नु परेन (तस्बिरः विक्रम राई)


मीना खड्का
चैत १२, २०७८ शनिबार १८:४४, काठमाडौँ

‘चिलगाडी आयो!’ पढाइरहेका शिक्षकले उत्तेजित हुँदै भने। कक्षा ८ का सबै विद्यार्थी तँछाडमछाड गर्दै बाहिर निस्किए। त्यही हुलमा थिए भीम रावल।

सुदूरपश्चिमको अछामस्थित कालाआम गाउँमा पहिलोपटक हवाईजहाज पुगेको थियो। विद्यार्थी मात्रै होइन, पढाउँदै गरेका शिक्षक पनि बाहिर निस्किए र जहाजतिर हेर्दै विमानस्थलतिर दौडिए।

जहाज आकाशमा, आफू भुइँमा दौडेको रावल अझै पनि सम्झिन्छन्। उनका कति साथी बाटैबाट फर्किए। हातमा झोला समाएर कुदेका उनी भने जहाज पुग्नुअगावै विमानस्थल पुगे। 

जीवनमा पहिलोपटक यति नजिकैबाट ‘चिलगाडी’ देख्ने अवसर जुर्यो। जहाज र पाइलट देखेर उनी दंग परे। जहाजको आकृति र त्यो दिनको दौडले सात दिनसम्म दुखेको गोडाको याद उनलाई ताजै छ।

सुदूरपश्चिमको बाजुराबाट बझाङ जाँदै भीम रावलसहितको टोली

‘त्यो भिर र अप्ठ्यारो बाटोमा दौडिँदा कतै उछिट्टिएर उठ्नै नसक्नेगरी लडेको भए?’ उनी अहिले सोच्छन्।

रावल जन्मेको सात दिनमै बुबाको मृत्यु भयो। दुई वर्षपछि हजुरबुबाको मृत्यु भयो। घरमा आमा, दिदी र उनीमात्रै भए। बुबा र हजुरबुबाको अनुहार उनले तस्बिरमा मात्रै देखेका छन्।

उनले अक्षराम्भ गर्दा विद्यालयको भवन थिएन। कहिले आँपको रुखमुनि त कहिले बारीमा बसेर पढाइन्थ्यो। पढ्न किताब थिएन। लेख्न कलम र कापी थिएनन्। रातो माटो भएको धुलौटोमा काठको छेस्कोले कोरेर कखरा, वर्णमाला र जोडघटाउ सिकाइन्थ्यो। कक्षा ३ मा पढ्दाताका पातलो फलामको घेरा भएको सिलोट आयो। त्यसैमा चकले लेख्न थाले। 

सुतीको कपडाबाट बनाएको झोलामा सिलोट र चक बोकेर स्कुल जान्थे उनी। सिलोटको चुच्चोले कति पटक त झोलै च्यातिदिन्थ्यो। आधा घण्टा उकालो हिँडेर स्कुल पुगिन्थ्यो। घर फिर्दा ओरालो दौडिँदा लडेर सिलोट फुट्ने गर्थ्यो।

जस्तै कठिनाइ भए पनि पढ्नुपर्छ भन्ने चेतना भने थियो। कटुसको पातलाई पकाएर बनाएको मसीले पनि लेख्ने चलन थियो।

कक्षा ४ मा गएपछि केही सहज भयो। डिब्बाको मसी र कापी गाउँमा आइपुग्यो। त्यसपछि उनी मसीको डिब्बासँगै कापी लिएर स्कुल जान थाले। 

रावलले अछामस्थित महेन्द्र माध्यमिक विद्यालय बयलपाटामा कक्षा १ देखि एसएलसीसम्म पढे। उनी पढेको स्कुल बनाउन त्यहीँका बासिन्दाले श्रमदान गरेका थिए। 

उनीहरुले बयलपाटाबाट जयगढसम्म तीन घण्टाको बाटो हिँडेर ढुंगा बोकेका थिए।

‘शिक्षाप्रति जनतामा राम्रो सोच थियो। अहिले एउटा सानो शौचालय बनाउन पनि मान्छेले गैरसरकारी संस्था खोज्छन्। हाम्रो संस्कार बिग्रेछ भन्ने लाग्छ,’ उनी भन्छन्, ‘विमानस्थल बन्ने भएपछि खुसीले गद्गद् हुँदै सात दिन काम गरेको थिएँ।’

स्कुल भवन बने पनि कक्षा ६ मा पढ्दासम्म कक्षाकोठमा बेन्च थिएन। कक्षा ७ तिर पढ्दा अनुदानमा बेन्च ल्याइए। तर लामो समयसम्म टिकेनन्। किलाहरु फुक्लिए। ८, ९ र १० कक्षा उनले फल्ला (काठ) मा बसेरै पढे। 

‘दयाखालमा एउटा पोखरी थियोे। अहिले त सुकिसक्यो,’ रावल भन्छन्, ‘त्यहीँबाट हिलो ल्याएर फल्ला अड्याएका थियौँ, त्यसमै बसेर पढ्यौँ।’​

‘शिक्षकले कुटे पढ्न झन् जाँगर बढ्दै जान्थ्यो’ 
एकपटक स्कुलमा आयोजित नाटकमा रावललाई केटीको भूमिका दिइयो। केटीहरु नाटकमा सहभागी हुँदैनथे। शिक्षिकाले उनलाई सारी लगाइदिइन्, सिंगारेर केटी बनाइदिइन्। रावलले मेनकाको भूमिका खेले। पेट्रोम्याक्स बालेर गरिएको नाटक हेर्न गाउँका मान्छेको घुइँचो लागेको थियो।

सरकारी विद्यालय भए पनि अंग्रेजी राम्रो पढाइन्थ्यो। मिनिङ राम्रो घोकेर नगए कुटाइ खाइन्थ्यो। जानेका विद्यार्थीले नपढ्ने विद्यार्थीलाई हान्थे। रावल कक्षामा अरुभन्दा जान्ने भएकाले साथीलाई उनले पिट्नुपथ्र्यो। विद्यार्थीहरु स्कुल छेउमै भएको करबिर फूलको चाम्रो सिर्किनाले हातमा पिटाइ खान्थे। उनले भने कहिल्यै पिटाइ खाएनन्। 

यति धेरै सजाय पाउँदा पनि साथीहरुले शिक्षकप्रति गुनासो गरेको उनले कहिल्यै सुनेनन्।

‘कुटे भनेर दुखी हुने, विरोध गर्ने होइन, पढ्न झन् जाँगर बढ्दै जान्थ्यो,’ उनी सुनाउँछन्।

रावल कक्षाको जान्ने विद्यार्थी थिए। त्यसैले उनले कहिल्यै शुल्क तिर्नु परेन। 

परीक्षामा उत्कृष्ट हुनेलाई मोटो कापी पुरस्कार दिइन्थ्यो। त्यसैले उनी निकै मिहिनेत गर्थे। र, प्रायः पहिलो वा दोस्रो भइरहन्थे। विद्यालयको निरीक्षण गर्न जिल्ला शिक्षा अधिकारीको टोली आउँथ्यो। त्यसैले शिक्षकहरू सतर्क हुन्थे। 

‘अहिलेको जस्तो शिक्षकहरु कुनै दलका भनेर विभाजित थिएनन्। न त कांग्रेस र कम्युनिस्टका रुपमा विद्यार्थी संगठित थिए,’ उनी भन्छन्, ‘केवल पढ्ने–पढाउने र खेल्ने–खेलाउनेमा मात्रै ध्यान हुन्थ्यो।’​

शिक्षकले छात्रालाई जिस्काएपछि ... 
उनी ८ कक्षामा पढ्थे। बलराम शर्मा नामका एक शिक्षक भारतबाट पढाउन आएका थिए। तिनै शिक्षकले एकदिन ऋणीकोटकी एक छात्रालाई जिस्काएको भनेर विद्यालयमा ‘हरिताल’ हुने भयो। 

रावललाई आमाले पटकपटक सम्झाएकी थिइन्– गाउँबाहिर जाँदा जसले पायो त्यसले दिएको खानेकुरा नखानू, हारिताल हालेर दिन्छन्, मरिन्छ।

उनले सोचे– विद्यालयको ‘हरिताल’ पनि विषै हो। अब को को मर्छन्। 

तर, उनले सोचेको जस्तो भएन। दुई दिनसम्म पढाइ रोकिएपछि तत्कालीन विद्यालय सञ्चालक समिति र जिल्ला शिक्षा अधिकारीको टोली आयो। बलराम सरले ढाकाको टोपी गोडामा राखेर ती छात्रासँग ‘अब उप्रान्त यस्तो गल्ती गर्दिनँ’ भनेर माफी मागे। 

त्यसपछि मात्रै रावललाई हड्तालको अर्थ थाहा भयो।

कक्षा ८ सम्म उनको कक्षामा २५ जना विद्यार्थी थिए। एसएलसी दिँदासम्म १० जनामा झरे। त्यसमा छात्रा एक जना पनि थिएनन्। कक्षा ८ सम्म सँगै भएका २ जना छात्राले ९ कक्षा टेक्न पाएनन्। १० जना केटाले मात्रै एसएलसी दिए।

‘त्यो बेला छोरीहरुको सानै उमेरमा विवाह गरिदिने चलन थियो,’ रावल भन्छन्।

सँगै एसएलसी दिएका जगतबहादुर बोगटी र तिलाराम खनाल रावलका मिल्ने साथी थिए। तिलारामसँग त उनले कक्षा ४ देखि स्नातकोत्तरसम्म सँगै पढे। सुरतबहादुर विष्ट, भूपेन्द्र स्वाँर, मोहनबहादुर कुँवर उनका साथी थिए। 

एसएलसीको परीक्षा केन्द्र अछाममा थिएन। उनीहरु सामल बोकेर दुई दिन हिँडेर परीक्षाकेन्द्र डोटी पुगेका थिए। जहाँ महिनाको १० रुपैयाँ कोठाभाडा तिरेर बसेका थिए। चार जनाले पालैपालो खाना पकाउने गर्थे। २ वटा ऐच्छिक र अन्य ९ वटा विषयको परीक्षा दिन महिना दिन बढी लाग्थ्यो। परीक्षा दिन १६ वर्ष पुगेको हुनुपर्थ्यो। तर, उनी १५ को मात्रै भएका थिए। त्यसैले शिक्षकले उमेर बढाइदिएका थिए।​

विद्यार्थी सम्मेलनका क्रममा जापानमा भीम रावल

१० दिन लगाएर काठमाडौँ, ३८ वर्षपछि विद्यावारिधि 
दिदीको बिहे भइसकेको थियो। एसएलसीपछि उनी पनि काठमाडौँ हिँड्ने भए। घरमा आमालाई एक्लै छाडेर उनी भुटेको गहुँ, दालचामल, सिरौला र कपडा अनि किताब बोकेर हिँडे। बाटोमै दाउरा जम्मा गरेर गाउँका मान्छेसँग भाँडा मागेर खाना पकाएर खाए। बाटो सोध्दै, भोक लाग्दा तिनै आमाले झोलामा राखिदिएका खाजा खाँदै पाँच दिनको पैदल यात्रापछि साथीसँग उनी धनगढी पुगे।  

धनगढी जरायलनजिकै घना जंगल थियो। त्यहीँ बास बसेका बेला राति बच्चा रोएजस्तो आवाजले उनी ब्युँझिए। दिमागमा कल्पना गरेको भुतको चित्र आउन समय लागेन। सँगै सुतेका जगतबहादुर बोगटीलाई उनले उठाए। चरा कराएको हो भनेर उनले रावललाई आश्वस्त तुल्याए।

‘सँगै पढ्ने भए पनि उमेरले केही जेठा भएकोले जगतबहादुरले नडराउन भने। अनि म शान्त भएँ,’ उनी भन्छन्, ‘यो घटना भरखरैको हो जस्तो लाग्छ।’ 

धनगढीबाट उनीहरु भारत गएर रेल चढे र रक्सौल पुगेर रिक्सामा वीरगञ्ज आए। त्यहाँबाट बस चढेर मकवानपुरको भैँसे हुँदै काठमाडौँ आए। बस धरहरानजिकै रोकियो।

‘१० दिनदेखिको मैलो लुगा, कोइलाबाट चलेका रेलको कालोले अनुहार चिन्नै नसक्ने भएको थियो,’ उनी भन्छन्, ‘पहिलोपल्ट काठमाडौँमा टेक्दा कोलाहल थिएन। खेतबारी र प्रशस्त रुख थिए।’

त्यो रात गाँउका दाइको कोठामा बित्यो। अर्कोदिन उनीहरु सिंहदरबार घुम्न पुगे। पुतलीसडकको बाटो हिँडेर सिहंदरबार पुगे। त्यहाँ उनीहरु कोठाचोटा घुमेर हेरे, रमाए र साँझ कोठमा फर्किए। 

भोलिपल्ट एकाबिहानै आकाशमा काग उडिरहेका देखिए। धुँवा नै धुँवा थियो, जताततै। सिंहदरबारमा आगलागी भएको थियो। निरन्तर पाँच दिनसम्म पनि आगो नियन्त्रणमा आएन। सात दिनपछि चीनले बम हानेर दरबारको केही अंश जोगाइदिने खबर रेडियोमा सुने। 

त्यसपछि प्रधानमन्त्री कीर्तिनिधि विष्टले राजीनामा दिएको खबर आयो। 

‘त्यो आगलागीबाट सिहंदरबारमा भएका हाम्रा कतिधेरै कागजात, दस्तावेज र अभिलेख जलेर नष्ट भए होलान्?’ उनी भन्छन्, ‘खै अहिलेसम्म अनुसन्धान भएको?’ 

उनलाई डाक्टरी पढ्न मन थियो। तर, आर्थिक अवस्था कमजोर भएकाले त्यता जान सकेनन्। उनका साथीहरु सबै आरआर भर्ना भएका थिए। उनी त्यहीँ मानविकी संकायमा भर्ना भए।

‘पढाइसँगै साथीहरुसँग पुस्तकालय जान थालेँ। क्रान्तिका सिनेमा हेर्न थालेँ। अनि नजानिँदो ढंगले प्रगतिशील राजनीतितर्फ आर्कषण बढ्यो,’ उनी भन्छन्, ‘०३२ सालमा पहिलोपटक जेलमा गएका बेला निकै किताब पढ्ने अवसर मिल्यो।’  

स्नातक पढ्न उनी त्रिचन्द्रमा भर्ना भए। राजनीतिशास्त्र र अर्थशास्त्र मुख्य विषय थियो। तेस्रो वर्ष पढ्दै गर्दा फेरि राजकाज मुद्दामा गिरफ्तार परे। त्यहीबेला जेलमा उनको भेट मिनेन्द्र रिजालसँग भएको थियो।

अछाममा पूर्व प्रधानमन्त्री स्व. मनमोहन अधिकारीसँग भीम रावल

विद्यार्थी आन्दोलनमा होमिएको बेला अध्ययन अगाडि बढाउन कम चुनौती थिएन। यसका बाबजुद उनले अध्ययनलाई अगाडि बढाए।

उनका कयौँ साथीहरु भूमिगत भए। उनलाई पनि भूमिगत राजनीतिमा लाग्न पार्टीले भनेको थियो। 

‘तर, गाँउकी एक्ली आमा र पढाइ सम्झेर भूमिगत हुन चाहिनँ,’ उनी भन्छन्।

उनकी आमाको ०४३ सालमा हृदयाघातका कारण मृत्यु भयो। 

उनले त्रिविबाट स्नातकोत्तर उत्कृष्ट अंक ल्याएर उत्तीर्ण गरे। त्यसैताका राजनीतिमा सक्रिय सञ्जितासँग भेट भयो। ०४८ सालमा उनैसँग बिहे भयो।

श्रीमती संजीतासँग भीम रावल

त्यसपछि उनी नेपाल र एसियाली अनुसन्धान केन्द्रमा काम गर्न थाले।

‘त्यहाँ म रिसर्चको काम गर्थेँ,’ उनी भन्छन्, ‘तर, त्यहाँको कामले राजनीति गर्न गाह्रो भयो। त्यसैले राजीनामा दिएँ।’

२०३८ सालमा स्नातकोत्तर तह उत्तीर्ण गरेका रावलले त्यसको ३८ वर्षपछि नेपालमै विद्यावारिधि गरे। छात्रवृत्तिमा विदेश जाने अवसर पाएका थिए। तर, उनी गएनन्। ‘नेपालमा माओवादी विद्रोह र राजनीतिक हिंसा’ शीर्षकमा उनले विद्यावारिधि गरे।

एमालेका नेता तथा अछामबाटै प्रतिनिधि सभाका सदस्य ६६ वर्षीय रावल नेपाली राजनीतिमा पढेलेखेका नेतामध्येमा गनिन्छन्। कम्प्युटरमा आफैँ नेपाली र अंग्रेजी टाइप गर्छन् र अखबारी लेख एकै बसाइमा लेखिसिध्याउँछन्। कहिलेकाहीँ उनी सामाजिक सञ्जालमा कविता पनि पोस्ट गरिरहेका हुन्छन्।

पढ्न विदेशिने जनशक्ति नफर्केकोमा उनी चिन्तित छन्।

‘पढ्नको लागि लाखौँ खर्च गरेर बाहिर जाने र नफर्कने जटिल अवस्था देख्दा दुःख लाग्छ,’ उनी भन्छन्। 

नेपालको शिक्षा प्रणालीप्रति पनि उनी निराश सुनिन्छन्। 

‘एउटा निजी विद्यालयले दुई लाखसम्म शुल्क लिन्छ। सरकारी विद्यालयको अवस्था अत्यन्तै नाजुक छ,’ रावल भन्छन्, ‘शिक्षामा समेत असमानता र वर्ग विभाजन छ। यो कुचक्रमा नेपाल परेको छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .