ad ad

म्यागेजिन


केशवको सेन्ट जोसेफ सम्झना : वीरेन्द्रलाई हेप्दा भुटानी राजाका भान्जालाई गोदेँ, ज्ञानेन्द्रलाई हुत्याइदिएँ

केशवको सेन्ट जोसेफ सम्झना : वीरेन्द्रलाई हेप्दा भुटानी राजाका भान्जालाई गोदेँ, ज्ञानेन्द्रलाई हुत्याइदिएँ

जलस्रोत तथा सिँचाइ सहायकमन्त्री भएका बेला राजा वीरेन्द्रसँग केशवकुमार बुढाथोकी


सीताराम बराल
असोज ११, २०७९ मंगलबार ८:४५, काठमाडौँ

गिरिजाप्रसाद कोइराला २०४८ मा पहिलो पटक प्रधानमन्त्री बन्दा पूर्वाञ्चलका झापा–मोरङमा भुटानी शरणार्थीहरुको ओइरो लाग्न थालिसकेको थियो। 

शरणार्थीहरु नेपाल आउने क्रम जारी रहेकाले शरणार्थी समस्या समाधानका लागि भुटानी पक्षसँग कुराकानी गर्न सक्ने स्थिति थिएन।

विसं २०५५ मा जब कोइराला दोस्रो पटक प्रधानमन्त्री भए, उनलाई भुटानी शरणार्थी समस्या समाधानका लागि निर्णायक पहल थालौँ भन्ने लाग्यो। दसौँ सार्क शिखर सम्मेलन (१३–१५ साउन २०५५, कोलम्बो) मा भुटानी राजा जिग्मे सिङ्गे वाङचुकसँग यस विषयमा कुराकानी गर्ने योजना उनले बनाए।

त्यसअघि (नवौँ शिखर सम्मेलनसम्म) राजा जिग्मेले नै सार्कमा भुटानी प्रतिनिधिमण्डलको नेतृत्व गर्थे। दसौँ शिखर सम्मेलनमा भने प्रधानमन्त्री ल्योन्पो जिग्मी वाई थिन्लेले भुटानी पक्षको नेतृत्व गर्ने सूचना प्रधानमन्त्री कोइरालाले पाए। 

शरणार्थी समस्या समाधानका लागि भुटानी राजासँगै कुराकानी गर्ने प्रधानमन्त्री कोइरालाको योजना पुरा नहुने देखियो।    

प्रधानमन्त्री कोइरालालाई कसैले जानकारी दियो, ‘झापाली कांग्रेस नेता केशवकुमार बुढाथोकीको भुटानी राजासँग राम्रै चिनजान छ। उनलाई थिम्पु (भुटानको राजधानी) पठाउने हो भने सार्क सम्मेलनमा भुटानी राजा नै उपस्थित हुने वातावरण बनाउन सक्छन्।’

बुढाथोकीलाई झापाबाट काठमाडौँ झिकाएर प्रधानमन्त्री कोइरालाले सार्कमा राजाकै सहभागिता हुने वातावरण मिलाउन थिम्पु जान आग्रह गरे। 

थिम्पु पुगेर बुढाथोकीले सार्क शिखर सम्मेलनमा राजाको सहभागिता हुने–नहुने विषयमा बुझ्न आएको र राजाकै उपस्थिति भए राम्रो हुने प्रधानमन्त्री कोइरालाको सन्देश सुनाए।  

‘क्षेत्री दाइ! म सार्क शिखर सम्मेलनमा जान्नँ,’ बुढाथोकीले प्रधानमन्त्री कोइरालाको सन्देश सुनाएपछि राजा जिग्मेले नेपालीमै भने, ‘किनभने कोलम्बोमा ती बाहुन (प्रधानमन्त्री कोइराला) आउँछन् होला।’  

बाङ्गो कुराकानीबाट बुढाथोकीले बुझिहाले, राजा जिग्मे प्रधानमन्त्री कोइरालासँग निकै आक्रोशित रहेछन्। उनले राजाको असन्तुष्टिको कारण जान्न चाहे, ‘हाम्रो प्रधानमन्त्रीबाट चित्त नबुझ्ने कुनै कुरा भएको छ र सरकार!’ 

‘लौ हेर्नाेस्, तपाईंका प्रधानमन्त्रीको वक्तव्य’ भन्दै राजाले एउटा पत्रिका बुढाथोकीलाई पढ्न दिए। पत्रिकामा प्रधानमन्त्री हुनेबित्तिकै भुटानका असन्तुष्ट नेताहरुसँग कोइरालाले भेटेको समाचार थियो। 

बुढाथोकीका भनाइमा त्यो समाचारमा ‘अब तपाईंहरुले पनि संघर्ष गरेर नेपालमा जस्तै संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको बाटोमा जानुपर्छ’ भनेर भुटानी नेताहरुलाई भनेको समाचार थियो।  

‘शरणार्थीहरुसँग प्रधानमन्त्री कोइरालाको भेट र भेटमा कोइरालाले भनेको कुरा बीबीसीले समेत प्रशारण गरेको रहेछ,’ बुढाथोकीले भने, ‘भुटानी राजाले मलाई पत्रिकामा प्रकाशित त्यही समाचार देखाए। प्रश्न पनि गरे, ‘तिम्रो प्रधानमन्त्रीको यो के चाला हो?’

बुढाथोकी नाजवाफ भए।

राजाले शरणार्थी फर्काउन भुटान किन राजी छैन भन्ने सन्देशका लागि आफूसँग रहेको केही विवरण पनि  देखाए।

हालसालै बजारमा आएको बुढाथोकीको आत्मकथा ‘आफ्नो–आफ्नो सगरमाथा’ मा उल्लेख भए अनुसार त्यो विवरणका साथ राजाले नेपालमा रहेका भुटानी शरणार्थीबारे विश्लेषण पनि सुनाउन थाले।

केशवकुमार बुढाथोकी 

‘नेपालमा पुगेका एक लाख मानिसमध्ये हाम्रोमा सुन्तला र अलैँची टिप्न आएका नेपाली मजदुर यति, तिनको नामसहित छ। भुटानबाहिर दार्जिलिङ र आसपासको बोर्डरमा रहेर काम गरी भारतकै रासन खाने भारतीय नागरिक यति, हाम्रो यहाँका बैङ्कहरु लुटेर भागी तिम्रो देशमा पुगेकाहरु यति,’ आत्मकथामा राजाको विश्लेषण बुढाथोकीले यसरी उल्लेख गरेका छन्, ‘खासै भुटानी नेपालीहरु चाहिँ यति हुन् भनेर संख्या नै किटेर, त्यस्तै बीस–तीस हजार के कति संख्या देखाए।’

सुरुदेखि नै बाङ्गा–बाङ्गा कुरा गरिरहेका राजाले भुटानी शरणार्थीलाई स्वदेश फर्काउनका लागि उल्टो सर्त पो राखे। 

‘तिम्रो प्रधानमन्त्रीले हाम्रो बैङ्क लुटेर भागेका मानिसहरु पहिले बुझाउनु पर्यो। दोस्रो, यहाँ मजदुरी गर्न आएका नेपाली नागरिकहरुलाई नेपालमा रहेका क्याम्पबाट हटाउनु पर्यो,’ उनको सर्त थियो, ‘भारतीय रासन खानेहरुलाई पनि क्याम्पबाट हटाउनु पर्यो। अनि बाँकी रहेका जेजति भुटानी छन्, तिनको छानबिन गरौँ। तीमध्ये हामीले लिनुपर्ने भए लिन्छौँ।’

उनले थपे, ‘लौ! मेरो समाचार यही हो। आफ्नो प्रधानमन्त्रीलाई गएर सुनाउनू। यति गर्ने ‘कमिटमेन्ट’ भएमा र राजा वीरेन्द्र आफैँ आउने भए म सार्कमा जान्छु। नत्र मेरा प्रधानमन्त्री छँदैछन्, तिनै सार्क सम्मेलनमा जान्छन्।’

बुढाथोकी नेपाल फर्के। राजा जिग्मेले जे–जे भनेका थिए, जस्ताको तस्तै प्रधानमन्त्री कोइरालालाई सुनाए। 

आफूलाई प्रधानमन्त्री समेत नभनी भुटानी राजाले ‘ती बाहुन’ भनेको सुनेर कोइराला पनि हाँसे। 

दसौँ शिखर सम्मेलनमा भुटानको तर्फबाट प्रधानमन्त्री ल्योन्पो जिग्मी वाई थिन्लेले प्रतिनिधित्व गरे। राजासँग भेटेर कुराकानी गर्ने कोइरालाको योजना सफल भएन।  

भलै, शरणार्थी समस्या समाधान गर्न सिधै भुटानी राजासँग कुराकानी गर्ने योजनामा प्रधानमन्त्री कोइराला सफल भएनन्। तर, भुटानी राजालाई सार्कमा आउने वातावरण बनाउन कांग्रेस नेता बुढाथोकीलाई दूत बनाएर गोप्यरुपमा थिम्पु पठाउने कोइरालाको निर्णय गलत भने थिएन।  

खासमा राजा जिग्मे र बुढाथोकी दुवैजना दार्जिलिङको सेन्ट जोसेफ स्कुलका विद्यार्थी थिए। बुढाथोकी सो स्कुलमा विद्यार्थीहरुका क्याप्टेन थिए। बुढाथोकी क्याप्टेन हुँदा उमेरमा झण्डै १३ वर्ष कान्छा युवराज जिग्मे भर्खर सो स्कुलमा भर्ना भएका थिए। 

क्याथोलिक–क्रिस्चियनहरुद्वारा सञ्चालित दार्जिलिङको यो स्कुलमा बुढाथोकी अध्ययनरत रहेका बेला भुटानी राजकुमार जिग्मे मात्र होइन, नेपालका युवराज वीरेन्द्र, अधिराजकुमारद्वय ज्ञानेन्द्र र धीरेन्द्रसमेत त्यहीँका विद्यार्थी थिए। 

दार्जिलिङमा अध्ययनरत वीरेन्द्र (अगाडि सबैभन्दा बायाँ) दिदीहरु शान्ति र शारदा (बीच) र ज्ञानेन्द्र (बायाँ), पछाडि दरबारका सचिव लोकदर्शन बज्राचार्य र सरदार रत्नबहादुर 

होस्टेलमा वीरेन्द्र, ज्ञानेन्द्र, धीरेन्द्र र बुढाथोकी बस्ने कोठासमेत एकै थियो। अर्थात्, उनीहरु ‘रुममेट’ थिए। 

भुटानका पहिलो प्रधानमन्त्री जिग्मे पाल्देन दोर्जीका छोरा पाल्जोर जिग्मे दोर्जी पनि त्यहीँ अध्ययन गर्थे। एकपटक त दलाई लामाका कान्छा भाइ पनि त्यहाँका विद्यार्थी बनेका थिए।

सेन्ट जोसेफका विद्यार्थीहरुलाई अघिल्लो नामको अंग्रेजी अक्षरले चिनिन्थ्यो। बोलाउँदा भने थरले सम्बोधन गरिन्थ्यो।

यो प्रचलन अनुसार युवराज वीरेन्द्र ‘बी शाह’ का नामले चिनिन्थे, अधिराजकुमारद्वय ज्ञानेन्द्र र धीरेन्द्र ‘जी शाह’ र ‘डी शाह’ का नामले। 

पूर्वराजा ज्ञानेन्द्रले दार्जिलिङकालीन ‘जी शाह’ नाम नै आफ्ना साहित्यिक रचनाहरुमा प्रयोग गर्ने गरेका छन्। 

केशवकुमार बुढाथोकीको नाम चाहिँ ‘के क्षेत्री’ थियो। उनलाई बोलाउँदा सिनियरहरुले ‘क्षेत्री भाइ’ भन्थे, जुनियरहरुले ‘क्षेत्री दाइ।’  

बुढाथोकी विद्यार्थी क्याप्टेन हुँदा जुनियर विद्यार्थी रहेका भुटानी राजाले गरेको सम्बोधन ‘क्षेत्री दाइ’ त्यही सेन्ट जोसेफकालीन बुढाथोकीको प्रचलित नाम थियो।

अलिक निर्भीक र तगडा खालको विद्यार्थीलाई क्याप्टेन बनाउने जहाँतहीँको स्कुलको प्रचलन हो। यस्ता विद्यार्थीलाई क्याप्टेन बनाउँदाका दुई फाइदा हुन्छन्। 

एक, उसले अलिक हुल्लडबाज खालका विद्यार्थीहरुलाई अनुशासन र नियन्त्रणमा राख्छ। दुई, विद्यार्थीहरुलाई अनुशासनमा राख्नुपर्ने भएकाले ऊ आफैँपनि अनुशासित हुन बाध्य हुन्छ।

जोरी खोज्नेहरुलाई ठेगान लगाइहाल्ने बुढाथोकीको ‘दबंग स्टाइल’ नै सेन्ट जोसेफमा उनले क्याप्टेनको जिम्मेवारी पाउनुको मुख्य कारण थियो।  

कसैले गल्ती गर्यो वा कसैमाथि अन्याय गर्यो, अटेरी गर्यो भने बुढाथोकीको पहिले हात चल्थ्यो। ठूलो–सानो भन्दैनथे। गल्ती गर्नेले बुढाथोकीको चड्कन भेटिहाल्थ्यो।

बुढाथोकीको चड्कन भेट्नेमा भुटानका पाल्जोर जिग्मे दोर्जी पनि थिए। उनी भुटानी राजाका भान्जा थिए। उनका पिता जिग्मे पाल्देन दोर्जी पछि भुटानका प्रधानमन्त्री समेत भए।  

सोझा र भलाद्मी प्रकृतिका युवराज वीरेन्द्रलाई हेप्ने हुँदा तिनै दोर्जीले पटक–पटक चड्कन र घुस्सा भेट्ने गर्थे। 

बुढाथोकीका भनाइमा एकपटक उनकै अगाडि दोर्जीले वीरेन्द्रलाई देखाउँदै ‘तेरो नेपालको राजा यही होइन?’ भन्दै हेपे। 

बुढाथोकीको तातो रगत उम्लिहाल्यो। उनी दोर्जीमाथि जाइलागे। 

‘त्यो केटाकेटी उमेरको र होस्टेल जीवनको कुरा थियो, होस्टेलमा एक–अर्काेको चड्कन नखाने विद्यार्थी कमै होलान्,’ बुढाथोकीले भने, ‘अलिक उमेर पुगेको र धेरै कुरा थाहा पाएको भए त्यसरी किन कुट्दो हुँ!’ 

उनले थपे, ‘स्कुलभित्र सबैको हैसियत समान थियो। तैपनि दोर्जीले वीरेन्द्र एक्लै भएका बेला हेपिहाल्दा रहेछन्। यो कुरा थाहा पाएपछि म उनको धुलाइ गरिहाल्थेँ।’ 

वीरेन्द्रले बुढाथोकीको आड पाउन थालेपछि दोर्जीले वीरेन्द्रलाई हेप्न छाडे।  

केशवकुमार बुढाथोकी 

आत्मकथामा बुढाथोकीले उल्लेख गरे अनुसार हेपाहा प्रवृत्तिका दोर्जीलाई पेल्न थालेपछि वीरेन्द्र पनि बुढाथोकीसँग थप नजिकिए। 

भुटानी राजाका भान्जालाई बुढाथोकीले कुटेको प्रसङ्ग त ‘युवराज वा राजा भनेका के हुन्’ भन्ने जानकारी पाएपछिको कुरा भयो। त्यसअगावै राजकुमार ज्ञानेन्द्रले पनि बुढाथोकीको दनक भेटिसकेका थिए। 

राजा त्रिभुवन २००७ मा नारायणहिटी छाडेर भारत निर्वासनमा गएपछि श्री ३ मोहन शमशेरले शाहज्यादा ज्ञानेन्द्रलाई गद्दीमा बसालेका थिए। राजा त्रिभुवनको भारत–प्रवासनका कारण बाबु महेन्द्र र दाजु वीरेन्द्र अगावै साढे तीन वर्ष उमेरका शाहज्यादा ज्ञानेन्द्रलाई राजा बन्ने अवसर जुरेको थियो।

दाजुभन्दा आफू पहिले राजा बनेको हुँ भन्ने घमण्ड ज्ञानेन्द्रमा बच्चैदेखि थियो। हृषिकेश शाहले आफ्नो आत्मकथा ‘प्रारब्ध र पुरुषार्थ’ मा रानी रत्नको हवाला दिँदै यससम्बन्धी एउटा रोचक प्रसङ्ग उल्लेख गरेका छन्।

‘मलाई रानी रत्नले भन्नु भएको– वीरेन्द्रले ज्ञानेन्द्रको घाँटी समातेर झण्डै मारेका थिए रे,’ शाहले लेखेका छन्, ‘के फूर्ति गर्छाै! तिमीभन्दा अगाडि म राजा भएको भनेर ज्ञानेन्द्रले भनेकाले झगडा परेको रहेछ।’ 

सोझा वीरेन्द्रलाई अरुले त हेप्ने नै भए, ज्ञानेन्द्रले समेत हेप्ने गर्दा रहेछन्। 

स्कुलमा एक दिन वीरेन्द्र केही बोल्न खोज्दै थिए, ज्ञानेन्द्रले दाजुलाई ‘ओभरटेक’ गरिहाले। 

‘बी शाह डजन्ट नो एनिथिङ,’ ज्ञानेन्द्रले भनेछन्, ‘आइ वाज किङ बिफोर हिम।’ (बी शाहलाई केही पनि थाहा छैन, उनीभन्दा म पहिले राजा भएको हुँ।) 

यो त्यस्तै विसं २०११–१२ सालतिरको कुरा थियो।  

इलामको सिन्फिरिङ गाउँमा विसं २००१ मा जन्मेर ७–८ वर्षपछि झापा झरेका बुढाथोकीले ‘नेपाल (काठमाडौँ) बारे त सुनेका थिए। तर नेपाल कहाँ पर्छ, त्यहाँ राजा को छन् आदिबारे केही जानकारी थिएन।  

आफ्नो रुममेट रहेका वीरेन्द्र, ज्ञानेन्द्र र धीरेन्द्र राजकुमार हुन् भन्ने उनलाई सुनाइएको थियो। तर, बालककालमा त्यसको अर्थ उनलाई थाहा थिएन। 

‘करोडपति होस् कि अर्बपति, राजा होस् कि प्रजा– सेन्ट जोसेफका फादर (स्कुलका प्रमुख) का लागि सबै विद्यार्थी समान थिए,’ उनले सम्झे, ‘वातावरण नै त्यस्तो थियो, त्यस्तोमा राजकुमार भनेको के हो, कसरी थाहा पाउनु र सोही अनुरुपको व्यवहार गर्नु!’ 

तैपनि ‘राजा भनेको ठूलो मान्छे हो’ भन्ने उनलाई थाहा थियो। ज्ञानेन्द्रले आफू पहिल्यै राजा भइसकेको दाबी गर्दै वीरेन्द्रलाई हेपेपछि बुढाथोकीले सहन सकेनन्।

बुढाथोकी लेख्छन्, ‘त्यो सुन्नेबित्तिकै मलाई के झोँक चलेछ कुन्नि! भइस् राजा, हावा कुरा गर्ने भनेर पर ठेल्दी हालेँ।’ 

भाइमाथि जाइलागेका बुढाथोकीलाई वीरेन्द्रले सम्झाए, ‘छोडिदेऊ, यसको बानी नै यस्तो हो।’

वीरेन्द्रले सम्झाएपछि बुढाथोकी रोकिए। 

‘कस्तो हावादारी कुरा गरेको त! मभन्दा सानो छ। हामीसँगै यो स्कुलमा भर्ना भएको। होस्टेलको एउटै कोठामा छौँ, कहिल्यै छुट्टिएका छैनौँ, अनि यो चाहिँ कहाँबाट राजा भयो नि फेरि नेपालको!’ आत्मकथामा बुढाथोकी बाल्यकालीन शैलीमा अभिव्यक्त हुन्छन्, ‘गफ पनि अलिक सुहाउँदिलो दिनुपर्छ नि त!’ 

बुढाथोकीलाई पत्यार नलागे पनि दार्जिलिङ जानुअगावै ज्ञानेन्द्र नेपालमा राजा भइसकेका थिए। यो कुरा उनले त्यसैसाल छुट्टीमा झापा आएका बेला मात्र जानकारी पाए। 

उनका बा रघुवीर बुढाथोकी राणाकालमै दार्जिलिङमा पढेर फर्केका झापा–इलामका ठूला जमिन्दार थिए। राजा महेन्द्रसँग उनको राम्रो सम्बन्ध थियो। 

छोराछोरी भेट्न राजा महेन्द्र बेला–बेला दार्जिलिङ पुगिरहन्थे। बुढाथोकीका बाबु रघुवीरले इलामको करफोकस्थित विद्यालयका लागि निर्माण गरिदिएको होस्टेल राजा महेन्द्रकै बाहुलीबाट उद्घाटन गराएका थिए। 

दार्जिलिङमा अध्ययनरत छोराछोरी भेट्न गएका महेन्द्र (पछाडि बीचमा) दरबारका कर्मचारीहरुका साथ, अगाडि बायाँबाट क्रमशः शान्ति, वीरेन्द्र र शारदा

दार्जिलिङमा आफ्नो छोराका साथीहरु नेपालका राजकुमारहरु हुन् भन्ने बाबु रघुवीरलाई जानकारी छँदै थियो।   

केशवकुमार दार्जिलिङबाट छुट्टीमा झापा फर्केका थिए। रक्सी खाएपछि छोराबाट ढाड थिचाइमाग्ने रघुवीरको आदत थियो।

झापा आइपुगेकै दिन केशव बाबुको ढाड थिचिरहेका थिए। धेरैदिनपछि छोराबाट ढाड थिचाउन पाएकोमा रघुवीर आनन्दित थिए। 

ढाड थिचिरहेका छोरासँग रघुवीरले सोधेछन्, ‘स्कुलमा तेरा साथीहरुको हालखबर के छ, लौ सुना–सुना।’ 

केशवले साथीहरुको हालखबर जस्ताको तस्तै सुनाइदिए, ‘राम्रै छ। तर, एक दिन त्यो जी शाहले अलिक बढ्ता कुरा गर्यो। मैले पनि त्यसलाई अलिक पर पुग्ने गरी ठेलिदिएँ।’ 

रघुवीर रक्सीले रमरम परेका थिए। एकातिर रक्सीको रमरम, अर्काेतिर भर्खर दार्जिलिङबाट फर्केको बलिष्ठ छोराले ढाड मिचिदिएको आनन्द। 

तर, जब केशवले स्कुलमा जी शाहलाई परैसम्म पुग्नेगरी ठेलिदिएको कुरा सुनाएपछि उनी झस्के। थिचिरहेको छोराको हात ढाडबाट हटाएर उनी जुरुक्क उठे। 

उनले दोहोर्याएर सोधे, ‘के गरिस् रे!’

केशवले उही उत्तर दिए, ‘जी शाहलाई पर पुग्नेगरी बेस्मारी ठेलिदिएँ।’ 

उही उत्तर दोहोरिएपछि रघुवीर खंग्रङ्ग भए। 

केशव भने बाबु रघुवीरलाई स्कुलमा आफ्ना वीरताका थप कहानी सुनाउने मुडमा थिए। 

‘त्यो जी शाहले आफू राजा भएको नपत्याउने कुरा गर्यो, अनि पर पुग्ने गरी ठेलिदिएँ,’ उनले भने, ‘जिग्मीले पनि त्यो सोझो बी शाहलाई हेपिरहन्छ। त्यसलाई पनि पिटिदिएँ।’ 

केशवको कुटाइखाने जिग्मी अरु कोही नभएर १९५८–६४ सम्म प्रधानमन्त्री भएका जिग्मे पाल्देन दोर्जीका छोरा थिए। उनी तत्कालीन भुटानी राजाका भिनाजु समेत थिए। भुटानी दरबारभित्रको षडयन्त्रका कारण प्रधानमन्त्री रहेकै बेला १९६४ मा उनको हत्या भयो।      

युवराज वीरेन्द्रलाई हेपेबापत बुढाथोकीको कुटाइ खाएका पाल्जोर जिग्मे दोर्जी (प्रचलित नामः दासो दोर्जी) भुटानको पहिलो प्रधानन्यायाधीश (सन् १९७४–८५) पनि बने। सेन्ट जोसेफमा उनी बुढाथोकीभन्दा सिनियर विद्यार्थी थिए। 

‘उनी वीरेन्द्रलाई निकै हेप्थे, सोझा र भलाद्मी प्रकृतिका वीरेन्द्र प्रतिकार गर्न सक्दैनथे,’ बुढाथोकीले भने, ‘कसैलाई हेपेको मलाई मन पर्दैनथ्यो। वीरेन्द्रलाई हेपेको थाहा पाएपछि म जिग्मीलाई गएर कुटिहाल्थेँ।’

कसैमाथिको अन्याय केशवले मन पराउँदैन भन्ने त रघुवीरलाई थाहा थियो। तर, नेपालका राजा र भुटानी  राजाका भान्जालाई कुटेको कुराले उनी झस्कनु स्वाभाविक थियो। 

रघुवीरले सोधे, ‘जी शाह राजाका छोरा हुन् भन्ने तँलाई थाहा छ कि छैन?’

केशवको डाँको चाहिँ अझै सानो भइसकेको थिएन। उनले जवाफ दिए, ‘ठीकै छ, जी शाह राजाको छोरा होला रे। तर राजा भएको त होइन नि!’

रघुवीरले केशवकी आमालाई बोलाए। र, सुनाए, ‘तिम्रो छोराले त गर्नुसम्म गरेछ। राजालाई पो कुटेर आएछ।’

छोराको हर्कत सुनेर आमाले पनि जिब्रो काढिन्। 

भोलिपल्ट बाबुले महेन्द्र र वीरेन्द्र अगावै ज्ञानेन्द्र के–कसरी राजा भए, सबै वृत्तान्त केशवलाई सुनाए। राजकुमारहरुले स्कुलमा जे गरे पनि आफ्नो तर्फबाट पुराना हर्कत नदोहोर्याउन सम्झाए।

जलस्रोत तथा सिँचाइ सहायकमन्त्री भएका बेला राजा वीरेन्द्रसँग केशवकुमार बुढाथोकी 

‘त्यसपछि सातो उड्ने पालो मेरो थियो,’ उनले लेखेका छन्, ‘एक प्रकारले म नर्भस नै भएँ। विदा सकेर फर्केर गएपछि मलाई उनीहरुका अगाडि कसरी पर्नुजस्तो भयो।’

बुढाथोकीका भनाइमा उनलाई अप्ठेरो लागे पनि फर्केर सेन्ट जोसेफ पुग्दा ज्ञानेन्द्र र वीरेन्द्र भने पहिलेजस्तै सामान्य थिए। 

‘उनीहरुले त्यो घटनालाई सामान्य रुपमा लिएका थिए होलान्। तर अब मेरा लागि त्यो सामान्य थिएन,’ उनी थप लेख्छन्, ‘यसपल्ट म घरबाट फर्कंदा साधु भएर फर्केको थिएँ। त्यसपछि म उनीहरुको साँच्चै सुरक्षक जस्तो भएँ।’ 

सन् १९५८–५९ ताका वीरेन्द्रले सेन्ट जोसेफ छाडे र बेलायतको इटन स्कुल पढ्न गए। ज्ञानेन्द्र र धीरेन्द्र भने दार्जिलिङमै रहे। 

वीरेन्द्र बेलायत गएपछि पनि ज्ञानेन्द्र, धीरेन्द्र र बुढाथोकी ‘रुममेट’ का रुपमा रहिरहे।

यसै आधारमा पूर्वराजा ज्ञानेन्द्र शाहसँगका बाल्यकालीन अनगिन्ती स्मरणहरुसँग बुढाथोकीसँग छन्। 

बुढाथोकी थिए– स्कुलका क्याप्टेन, ज्ञानेन्द्र चाहिँ उनीभन्दा जुनियर र उनकै ‘रुममेट’। बुढाथोकी क्याप्टेन भएकाले उनको दराजमा रहेका कपडा, बेड आदि ज्ञानेन्द्रले मिलाइदिनुपथ्र्याे। 

‘विद्यार्थीहरुले रुटिन अनुसार फुटबल खेल्नुपथ्र्याे, क्याप्टेन भएकाले फूटबल खेलाउने जिम्मेवारी मेरै थियो। पानी परेका बेला ज्ञानेन्द्र फुटबल खेल्नु नपरे हुन्थ्यो जस्तो गर्थे,’ बुढाथोकीले सम्झे, ‘पानी परेका बेला फुटबल खेल्नुभन्दा बरु कोठाकै काम लगाइदिए हुन्थ्यो भन्ने उनको चाहना हुन्थ्यो।’ 

ज्ञानेन्द्र पढाइमा भने तीखा थिए। वक्तृत्वकलामा उनलाई उछिन्न स्कुलका अन्य विद्यार्थीहरुलाई हम्मे पथ्र्याे। 

‘भारतभरका जेसुइट क्रिश्चियनसम्बद्ध स्कुलका विद्यार्थीहरुबीच वक्तृत्वकलाको वार्षिक कम्पिटिसन हुन्थ्यो, एक वर्ष ज्ञानेन्द्रले सबैलाई जितेर ‘गोल्ड मेडल’  पनि प्राप्त गरेका थिए,’ उनले भने, ‘उनी नाचगानमा पनि उत्तिकै पारङ्गत थिए।’

बेला–बेला सप्ताहन्त मनाउन परिवारसहित काठमाडौँका विभिन्न रेस्टुरेन्टहरुमा पुगेका ज्ञानेन्द्र निकै मज्जासँग नाचेको दृश्य आजकल युट्युब र सामाजिक सञ्जालहरुमा देख्न पाइन्छ। 

पढाइमा वीरेन्द्र पनि अब्बल थिए। उनको रुचि संगीतमा बढी थियो।  

‘सेन्ट जोसेफमा संगीत विषय पनि पढ्न पाइन्थ्यो, वीरेन्द्रले संगीत विषय छनोट गरेका थिए,’ बुढाथोकीले भने, ‘उनी स्याक्सोफोन निकै राम्रोसँग बजाउँथे। चित्रकलामा पनि उनको रुचि थियो।’  

बुढाथोकीका भनाइमा दुई राजकुमारमध्ये वीरेन्द्र बहिर्मुखी थिए भने ज्ञानेन्द्र अन्तर्मुखी। खुलेर कुरा गर्ने र नढाट्ने वीरेन्द्रको स्वभाव थियो। 

ज्ञानेन्द्र भने त्यति खुलस्त थिएनन्। बालककालदेखि नै ज्ञानेन्द्रमा घमण्डी स्वभाव रहेको उनको अनुभव छ। 

‘कसैसँग निहुरिने स्वभाव स्कुलमा पढ्दा पनि उनमा थिएन,’ उनले भने, ‘त्यो स्वभाव अहिले पनि गएको छैन।’ 

वीरेन्द्र र ज्ञानेन्द्रको एउटा कुरा भने मिल्थ्यो। आर्थिक मामिलामा दुवै जना एकदमै मितव्ययी थिए। साथमा रहेको रकम हम्मेसी दुवै जना खर्च गर्दैनथे। 

सेन्ट जोसेफले हप्तामा एकजना विद्यार्थीलाई एक महिनामा दुई रुपियाँ दिन्थ्यो। त्यो रकम वीरेन्द्रले राख्थे। 

धीरेन्द्रलाई आइक्रिम खान खुबै मन पथ्र्याे। एक त त्यति थोरै रकम चाँडै सकिन्थ्यो। अर्काेतिर धीरेन्द्रले आइसक्रिममा पैसा खर्च गरेको वीरेन्द्र रुचाउँदैनथे।  

वीरेन्द्रले पैसा नदिएपछि धीरेन्द्र ‘क्षेत्री दाइ!’ भन्दै बुढाथोकीसँग पैसा माग्ने गर्थे। 

‘धीरेन्द्रजत्तिको सोझो मान्छे बालककालमा मैले अरु कसैलाई देखिनँ,’ उनी भन्छन्, ‘दरबार हत्याकाण्डमा मारिएकामध्ये सबैभन्दा धेरै माया मलाई धीरेन्द्रकै लाग्यो। तिनी मारिएको खबरले म रोएँ।’ 

धीरेन्द्रलाई स्कुल भर्ना गर्ने सिलसिलामा दार्जिलिङमा महेन्द्र, साथमा धीरेन्द्र

स्कुले जीवन सकिएपछि सेन्ट जोसेफको होस्टेलको एउटै कोठामा बस्ने यी चारजना नेपाली विद्यार्थीहरु आ–आफ्नो बाटो लागे। 

रोचक चाहिँ के भयो भने क्याम्पस जीवनमा प्रवेश गरेपछि बुढाथोकी नेपाल विद्यार्थी संघको राजनीतिमा सक्रिय भए। त्यो बेला नेपाली कांग्रेस राजा महेन्द्रको १ पुस (२०१७) को कदमविरुद्ध संघर्षमा थियो।

पछि उनी झापाको शनिश्चरे गाउँपञ्चायतको प्रधानपञ्च, झापा जिल्ला पञ्चायतको सभापति र २०४३ मा झापाबाट राष्ट्रिय पञ्चायत सदस्य समेत निर्वाचित भए। मरिचमानसिंह श्रेष्ठको मन्त्रिमण्डलमा उनलाई जलस्रोत तथा सिँचाइ सहायकमन्त्रीको जिम्मेवारीसमेत दिइयो। 

२०४६ को आन्दोलन सुरु भएपछि भने उनले मन्त्री पदबाट राजीनामा दिए। बहुदलीय व्यवस्थाको पुनर्स्थापनाका लागि भएको आन्दोलनको समर्थन गरे।  

बहुदलकालका कुनै पनि चुनाव उनलाई फापेन। २०६४ र २०७० दुवै निर्वाचनमा झापा–५ बाट संविधान सभामा निर्वाचित भए। 

संविधान सभाबाट संविधान जारी भएपछि एमालेका केपी शर्मा ओली, माओवादी केन्द्रका पुष्पकमल दाहाल (प्रचण्ड) र नेपाली कांग्रेसका शेरबहादुर देउवा पालैपालो प्रधानमन्त्री बने। देउवा प्रधानमन्त्री हुँदा उनलाई सामान्य प्रशासनमन्त्रीको जिम्मेवारी दिइयो।   

वाम गठबन्धनका कारण २०७४ को आम निर्वाचनमा भने उनलाई सफलता प्राप्त भएन।  

आगामी आम निर्वाचनमा उनी झापा–२ बाट टिकटका दाबेदार हुन्। २०७० मा बाहेक २०४८ यताका कुनै पनि निर्वाचनमा यो क्षेत्रमा नेपाली कांग्रेसले आफ्नो झण्डा फहराउन पाएको छैन। 

‘खासमा मेरो घर झापा–२ मा पर्छ, तर मलाई कहिल्यै नेपाली कांग्रेसले यो क्षेत्रमा टिकट दिएन, मैले जहिल्यै आफ्नो घरबाहिरको क्षेत्रमा गएर चुनाव लड्नुपर्यो,’ उनी भन्छन्, ‘हुन त, झापा–२ सधैँजसो कम्युनिस्टहरुले जितेको क्षेत्र हो, साथीहरुले तपाईं यसपटक त्यही क्षेत्रमा लड्नुपर्छ भन्दै सिफारिस गरेका छन्। हेरौँ, पार्टीले के गर्छ!’

दुई–दुई जना राजा (वीरेन्द्र र ज्ञानेन्द्र) सँगै बाल्यकाल बिताए पनि बुढाथोकीमा राजतन्त्रप्रति मोह छैन। गणतन्त्र र  संघीयताप्रति उनी प्रतिबद्ध छन्।

‘गाउँ–गाउँमा सिंहदरबार भने पनि सिंहदरबारका राम्रा कुरा गाउँ पुगेका छैनन्, नराम्रा कुरा भने प्रशस्तै पुगेका छन्,’ बुढाथोकी भन्छन्, ‘यसले गर्दा गणतन्त्र पनि अप्ठेरोमा परेको छ। जनता सन्तुष्ट भए मात्र गणतन्त्रको जग मजबुत बन्दै जान्छ। हाम्रो राजनीतिक ध्येय जनतालाई सन्तुष्ट बनाउने र गणतन्त्रलाई सबल बनाउने हुनुपर्छ।’   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .