म्यागेजिन


एरोनटिकल इन्जिनियर बन्ने सपना छाडेर फोक्सो चिरफार गरिरहेकी डा. आकृति

एरोनटिकल इन्जिनियर बन्ने सपना छाडेर फोक्सो चिरफार गरिरहेकी डा. आकृति

नेपालमा यस क्षेत्रमा काम गर्ने डाक्टर औँलामा गन्न सकिने मात्रै छन् (तस्बिर : सरोज बैजु)


गीता चिमोरिया
कात्तिक २६, २०८१ सोमबार १४:१३, काठमाडौँ

‘खासमा म एरोनटिकल इन्जिनियर बन्न चाहन्थेँ। एकदम ठूलो महत्त्वाकांक्षा थियो– नासा ज्वइन गर्ने।’

कुराकानीको सुरुवातमै डा. आकृति शर्माले मुस्कुराउँदै अहिले गरिरहेको डाक्टरी पेसा आफ्नो पहिलो रोजाइ नभएको प्रस्ट पारिन्।

तर, उनको जन्म हुनुभन्दा धेरै पहिले परिवारमा उनलाई डाक्टरी पढाउने सपनाको बीजारोपण भइसकेको थियो।

‘आमा पनि पढाइमा निकै राम्रो हुनुहुन्थ्यो। हजुरबुवा आमालाई डाक्टर बनाउन चाहनुहुन्थ्यो तर त्यो समयमा डाक्टर पढ्न कहाँ जाने, के के गर्नुपर्छ भन्ने पनि धेरै जानकारी भएन रे। परिवारमा कोही न कोही डाक्टर होस् भन्ने चाहना थियो। आमालाई लिएर हजुरबुवाको जुन सपना थियो, त्यो ममा सर्‍यो अनि म डाक्टर भएँ,’ उनले सुनाइन्।

बुवा महेन्द्र शर्मा खर्साङका। आमा मीना लिम्बू धरानकी। हजुरबुवा ब्रिटिस लाहुरे। कक्षा ५ पछि आमाले पनि खर्साङमै गएर पढिन्। महेन्द्र र मीना दुवैले ब्याचलर्स चाहिँ दार्जिलिङमा गरे। डाक्टर बन्ने सपना पूरा नभए पनि मीना मेधावी शिक्षक बनिन्। महेन्द्र एमआर थिए। 

महेन्द्रको परिवार पछि बसाइँ सरेर झापा शनिश्चरे झर्‍यो। मीनाले पहिला विराटनगरमा पढाउँथिन्। पछि इटहरीमा स्कुल किनिन्। महेन्द्रले पनि काम छोडे। झन्डै दुई दशकभन्दा बढी समयदेखि मीना इटहरीमा स्कुल चलाएर बसिरहेकी छन्। श्रीमान महेन्द्र र जेठी छोरी उनलाई सघाउँछन्। 

महेन्द्र र मीनाकी माइली छोरी हुन् आकृति। उनले कक्षा ४ सम्म विराटनगरमा पढिन् र त्यसपछि सिक्किममा गएर पढिन्। उनले कक्षा १२ सम्मको पढाइ सिक्किमबाट पूरा गरिन्। 

‘हामी तीनजना छोरीहरू हो। एकजना दिदी र एकजना बहिनी। दिदीले बीबीए/एमबीए नेपालमै गर्नुभयो, अहिले आमासँगै बोर्डिङ चलाएर बस्नुभएको छ। बहिनी पनि डाक्टर पढिरहेकी छिन्,’ आकृतिले सुनाइन्।

अन्तरिक्षयात्री कल्पना चावलाबाट प्रेरित भएर उनी एयरोनोटिकल इन्जिनियर बन्न चाहन्थिन्।

‘त्यतिबेला म कक्षा ८ मा पढ्थेँ। चावला अन्तरीक्षमा यात्रा गर्ने भारतको पहिलो महिला एयरोनोटिकल इन्जिनियर हुनुहुन्थ्यो। उहाँबाट प्रभावित भएर मैले त्यो सपना देखेको थिएँ,’ उनले भनिन्, ‘म फिजिक्स र म्याथमा एकदमै राम्रो थिएँ।’

तर, नेपाल फर्किएपछि आमाले उनलाई एमबीबीएसको प्रवेश परीक्षा दिन आग्रह गरिन्।

‘मेरो कुरा त्यतिबेला पनि स्पष्ट थियो, डाक्टर बन्ने हो भने चाहिँ म कार्डियो थोरासिक सर्जन नै बन्छु भन्ने थियो,’ आकृतिले सुनाइन्।

प्रवेश परीक्षामा उनले नाम निकालिन्। नेपाल मेडिकल कलेजमा एकजना आफन्त काम गर्थे। उनले सम्झाए, तिमीले सर्जन बन्ने सपना देखेको छौ, यो पूरा नहुन पनि सक्छ। थाहा छ नि?’

आकृतिले आफूले सक्दो कोसिस गर्ने बताएकी थिइन्। 

‘सर्जन बन्नु नै ठूलो कुरा त्यतिखेर त, त्यसमा पनि कार्डियो थोरासिक भन्दा उहाँहरूलाई अलिकति गाह्रो हुन्छ भन्ने लागेको थियो। निराश नहुनु, हुन्छ नै भन्ने हुँदैन। एकदमै ठूलो सपना हो भन्नुहुन्थ्यो,’ उनले सुनाइन्।

एमबीबीएस पास गरिसकेपछि पनि उनका धेरै साथीलाई थाहा थिएन, सर्जरीमा उनको रुचि छ भनेर। त्यही समयतिर हजुरबुवा एकदमै बिरामी भए। उनले इन्टर्नसिप गर्ने समयमा हजुबुवा बिते। पित्तथैलीको क्यान्सर भएर। 

हजुरबुवाको सपना पूरा हुँदै गर्दा हजुरबुवा भने गुमाइन्। यसले उनलाई निकै दुःखी तुल्यायो। 

नेपाल मेडिकल कलेजमा एकवर्ष सर्जरीमै काम गरिन् उनले। त्यहाँ काम गरिसकेपछि आफूले रोजेको क्षेत्र झनै राम्रो लाग्न थाल्यो। यही नै पढ्नुपर्छ भन्ने भयो। त्यसपछि उनले सर्जरी रोजिन् र काठमाडौँ मेडिकल कलेज (सिनामङ्गल) मा मास्टर्स पढ्न भर्ना भइन्। तीन वर्ष त्यहाँ पढिन् र पास भएपछि मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा केही महिना काम गरेपछि एमसीएचको परीक्षा दिइन्। 

कार्डियोथोरासिक सर्जनले केको उपचार गर्छन् त?

‘मुटु, फोक्सो, नसाको सर्जन। कार्डियो भनेको मुटु, थोरासिक भनेको फोक्सो, भास्कुलर भनेको नसा। त्यसमा स्पेसलाइज्ड गरेपछि पनि त्यसभित्र अलगअलग युनिटमा काम हुन्छ। कार्डियोमा गर्ने मान्छेले त्यही मात्रै गर्नुहुन्छ। हामी थोरासिककोले फोक्सोको मात्रै गर्छौँ, भास्कुलरकोहरूले त्यो मात्रै हेर्नुहुन्छ,’ उनले बिस्तारमा बुझाइन्, ‘फोक्सोको पनि हामी चिरफार मात्रै हेर्छौं। दमलगायत रोग हेर्ने डाक्टर अरु हुनुहुन्छ।’

‘नयाँ पुस्ताले जानीजानी बिगार्दैछ फोक्सो’
ठूलो सपना बुनेर हुर्किएकी आकृतिले जीवनमा निरुत्साहित भने हुनु परेन। छोरी भएकाले तिमीले सक्दैनौ भनेर उनलाई कसैले भनेनन्। सबैले हौसला नै दिए। परिवारदेखि शिक्षकसम्मको सुझाव एउटै हुन्थ्यो– तिम्रो सपना ठूलो छ, मेहनत धेरै गर्नुपर्छ, मेहनत गर्दागर्दै पनि सफल नै भइन्छ भन्ने छैन। असफलता हात पर्‍यो भने पनि त्यसलाई स्वीकार गर्नुपर्छ। यसका लागि पनि तयार हौ।

आफूले पाएको यो साथ र हौसलाले उनलाई निकै खुसी दिन्छ। हरेक महिलाले आफूले रोजेको क्षेत्रमा यस्तै साथ र हौसला पाऊन् भन्ने उनको चाहना छ। 

चिकित्सा पेसामा काम र व्यक्तिगत जीवनबीच सन्तुलन कायम गर्न निकै कठिन हुने गर्छ। त्यसमाथि कार्डियोभास्कुलरमा झनै कठिन हुने उनको अनुभव छ।

‘अहिलेको समयमा मान्छेलाई काम मात्रै होइन, वर्क–लाइफ ब्यालेन्स पनि चाहियो। परिवारलाई सस्टेन गर्न सक्नुपर्‍यो। जुन सीटीभीएसमा अलिकति गाह्रो छ। किनकि हाम्रो काम अलिकति डिमान्डिङ हुन्छ,’ उनले सुनाइन्, ‘एउटा शल्यक्रिया गर्ने चारपाँच घण्टा लाग्छ। अन्य डिपार्टभन्दा हाम्रोमा बिरामीको ज्यान जोखिम ज्यादा हुन्छ। मुटुको र फोक्सोको अप्रेसन भनेको ठूलो अप्रेसन हो। बिहानदेखि बेलुकासम्म काम गर्नुपर्ने हुन्छ।’

नेपालमा यस क्षेत्रमा काम गर्ने डाक्टर औँलामा गन्न सकिने मात्रै छन्। उनले काम गर्ने मनमोहनमा बिरामीको चाप पनि अत्यधिक छ। 

‘दैनिक करिब साढे दुई सय बिरामी आउँछन्। सीटीभीएस डिपार्टले वर्षमा १५ सयभन्दा धेरै अप्रेसन गर्छ। रिफरल सेन्टर भएकाले देशभरबाट बिरामी यहाँ आउँछन्। ७० देखि ८० प्रतिशत बिरामी रिफर भएर आउँछन्,’ आकृति भन्छिन्।

नेपालीलाई फोक्सोसम्बन्धी कस्ता रोग बढी लाग्छन् त?

‘हाम्रोमा धेरै संक्रमणसम्बन्धी केसहरू हुन्छन्। निमोनिया बिग्रेर। अर्को, एउटा किरा हुन्छ, इकानोककस भन्ने, जुन कलेजोमा पनि हुन्छ, फोक्सोमा पनि हुन्छ। हाम्रोमा त्यो किरा धेरै पाइने रहेछ। त्यस्ता बिरामीहरू धेरै आउँछन्,’ उनी सुनाउँछिन्, ‘अर्को भनेको, टीबी धेरै नै हुन्छ नेपालमा, अहिले पनि। टीबीले गर्दा रगत जाने, पानी भरिने, लेउ लागेर बस्ने, ढुसी पर्ने। हाम्रोमा त्यस्तो अप्रेसनहरू धेरै गर्नुपर्ने हुन्छ। क्यान्सरभन्दा।’

नेपालमा ढिला अस्पताल जाने समस्याका कारण फोक्सोको क्यान्सर अबेर पत्ता लाग्ने गरेको उनको भनाइ छ।

उनले इकाइनोककस लाग्ने कारण पनि सुनाइन्।

‘खानेकुराहरू अलि राम्रोसँग पकाएर खाएन भने, काँचो खानेकुरा, सलादहरू खाँदा मान्छेमा त्यो सर्ने हुन्छ। हाइडाटिड डिजिज पनि भन्छौँ हामी। भेडाबाख्रा, बस्तुभाउले दिसा गरेको हुन्छ, अनि हामी त्यही सलाद मात्र पानीले पखालेर खान्छौँ, त्यहीँबाट यो सर्छ,’ उनले भनिन्।

आकृतिलाई एकदमै चिन्तित बनाउने अर्को विषय भनेको युवा पुस्तामा देखिएको धूमपानको लत हो। जसले दिनप्रतिदिन उनीहरूको फोक्सो बिगारिरहेको छ। 

उनी भन्छिन्, ‘आमा/हजुरआमा पुस्तामा सुविधा थिएन, उहाँहरूले दाउराको चुलो बाल्नुपर्थ्यो। धुँवाले गर्दा धेरै नै असर गर्थ्यो। त्यो उहाँहरूको बाध्यता थियो। तर अहिलेको पुस्ताले जानीजानी नै आफ्नो फोक्सोलाई बिगारिरहेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad