म्यागेजिन


५ खेप नेपाल आएका कार्टर, जसले भारततिर संकेत गर्दै राजा वीरेन्द्रलाई दिएनन् भूराजनीतिक साथ

कालापत्थरदेखि शिवपुरीसम्म : जिम्मी कार्टरको नेपाल यात्राको कथा
५ खेप नेपाल आएका कार्टर, जसले भारततिर संकेत गर्दै राजा वीरेन्द्रलाई दिएनन् भूराजनीतिक साथ

नेपाली ढाकाटोपीमा पूर्व अमेरिकी राष्ट्रपति जिम्मी कार्टर (फोटो सौजन्य : राजेन्द्र सुवाल)


सीताराम बराल
पुस १७, २०८१ बुधबार १६:२, काठमाडौँ

राष्ट्राध्यक्ष वा सरकार प्रमुख भइसकेका कुनै नेपाली नेता एक वर्षभित्र सायदै तीनपटक अमेरिका पुगेका होलान्। तर, एक यस्ता पूर्व अमेरिकी राष्ट्रपति पनि थिए, जो वर्ष दिनभित्र तीन–तीन पटक नेपाल भ्रमणमा आएका थिए। 

ती भ्रमणहरू खासमा नेपालप्रति उनको स्नेह र सद्भावको परिणाम थियो। यस्तो स्नेह र सद्भाव उनले ४० वर्षअघि नै प्रदर्शन गरेका थिए। उतिबेलै नेपाल आएर उनी लुक्लाबाट पैदलयात्रा गर्दै विश्वको सर्वोच्च शिखर सगरमाथाको फेदी कालापत्थर पुगेका थिए।

उनी थिए– ३९ औँ अमेरिकी राष्ट्रपति जिम्मी कार्टर। पूरा नाम जेम्स अर्ल कार्टर (जुनियर) रहे पनि विश्व समुदायमाझ उनी ‘जिम्मी कार्टर’ का नामले चिनिन्थे।  

कार्टर अमेरिकी इतिहासमा ‘जन्म शताब्दी’ मनाउने अवसर प्राप्त गर्ने एक मात्र पूर्व अमेरिकी राष्ट्रपति बने। १ अक्टोबर १९२४ मा जन्मेका उनले १ अक्टोबर २०२४ (१५ असोज २०८१) मा आफ्नो जन्मशताब्दी मनाएका थिए। 

जन्म शताब्दी मनाएको दुई महिनापछि पूर्वराष्ट्रपति कार्टरको सोमबार बिहान अमेरिकी राज्य जर्जियाको प्लेन्सस्थित आफ्नै निवासमा निधन भएको छ। उनको निधनप्रति समवेदना प्रकट गर्ने सिलसिलामा नेपालका शीर्ष नेताहरूले नेपालको शान्ति प्रक्रियामा कार्टरले निर्वाह गरेको भूमिकाको प्रशंसा गरेका छन्।   

नेपाल भ्रमण गर्ने एक मात्र पूर्व अमेरिकी राष्ट्रपति पनि कार्टर नै हुन्। सय वर्षे जीवनकालमा कार्टरले पाँचपटक नेपालको भ्रमण गरेका थिए।

जन्म शताब्दीको दिन पूर्वराष्ट्रपति कार्टर 

विसं २०६४ : तीन पटक नेपालमा 
‘द्वन्द्वमा सामेल विभिन्न पक्षहरूबीच मध्यस्थको भूमिकाका कारण शान्ति स्थापना गर्न कार्टर सेन्टरले सन् २००४ देखि नेपालमा काम सुरु गर्‍यो,’ अमेरिकाको ३९ औँ राष्ट्रपतिबाट अवकाश प्राप्त गरेपछि कार्टरको नाममा स्थापना गरिएको ‘कार्टर सेन्टर’ को वेबसाइटमा भनिएको छ, ‘यसले नेपालको पहिलो संविधान सभा निर्वाचनको पर्यवेक्षण गर्‍यो र जुन २०१६ सम्म नेपालको राजनीति र संविधान निर्माण कार्यको निगरानीसमेत गर्‍यो।’ 

हो, त्यही पहिलो संविधान सभा निर्वाचनमा पर्यवेक्षण गर्ने प्रमुख अन्तर्राष्ट्रिय गैरसरकारी संस्था थियो कार्टर सेन्टर। र, त्यही निर्वाचनका क्रममा कार्टर चारपटक नेपाल भ्रमणमा आएका थिए। 

‘२८ चैत्र (२०६४) मा भएको संविधान सभा निर्वाचनको उहाँले काठमाडौँमा रहेर पर्यवेक्षण गर्नुभयो, निर्वाचनका सिलसिलामा त्यसअघि नै उहाँ दुईपटक नेपाल आइसक्नु भएको थियो,’ तत्कालीन प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले भने, ‘अघिल्ला दुई भ्रमण संविधान सभा निर्वाचनको वातावरण बनाउने सिलसिलामा भएका थिए।’  

भएको के थियो भने १ माघ २०६३ मा जारी अन्तरिम संविधानमा ६ महिनाभित्र संविधान सभाको निर्वाचन गर्ने व्यवस्था गरिएको थियो। त्यसैअनुसार २०६४ जेठमा संविधान सभाको चुनाव तय गरिएको थियो।

तर, संविधान जारी भएलगत्तै जनसंख्याका आधारमा समानुपातिक निर्वाचन प्रणालीको माग गर्दै तत्कालीन मधेसी जनअधिकार फोरमले आन्दोलन सुरु गर्‍यो। त्यो पहिलो मधेस आन्दोलनका कारण जेठ (२०६४) का लागि तय गरिएको संविधान सभा निर्वाचन नहुने परिस्थिति सिर्जना भयो।

संविधान सभा निर्वाचन हुन नसके पनि कार्टर २०६४ जेठमा नेपाल आइपुगे। यहाँका राजनीतिक शक्तिहरूसँग शान्ति प्रक्रिया र निर्वाचनका विषयमा कुराकानी गरेर उनी अमेरिका फर्के। 

२०६४ जेठमा हुन नसकेको संविधान सभा निर्वाचन त्यसैसाल (२०६४) मंसिरका लागि तय गरियो। तर, निर्वाचन नजिकिँदै गर्दा गणतन्त्र घोषणा र समानुपातिक निर्वाचन प्रणालीको माग गर्दै माओवादी सरकारबाट बाहिरियो। 

राजा ज्ञानेन्द्रको सक्रियता अनावश्यक रूपमा बढेको भन्दै ‘निर्वाचनको वातावरण बनाउन’ माओवादीले यो कदम चालेको थियो।  

सरकारको प्रमुख हिस्सा थियो– माओवादी। तर, त्यही पार्टीका मन्त्रीहरू सरकारबाट बाहिरिएपछि मंसिर (२०६४) का लागि तोकिएको निर्वाचन नहुने निश्चित भयो। 

‘जेठमा जस्तै मंसिरमा हुने भनिएको निर्वाचन पर्यवेक्षणका लागि कार्टर नेपाल आउने सेड्युल बनिसकेको थियो, तर माओवादी नै सरकारबाट अलग भएपछि दोस्रोपटक पनि निर्वाचन  रोकियो,’ पोखरेलले सम्झे, ‘निर्वाचन रोकिए पनि कार्टर फेरि नेपाल आउनुभयो।’ 

यसपटक (२०६४ मंसिर) भएको कार्टरको नेपाल भ्रमणको उल्लेख्य पक्ष अन्तरिम व्यवस्थापिका–संसदमा ६ मंसिरमा उनले गरेको सम्बोधन थियो।  

संसदमा गरेको सम्बोधनका क्रममा कार्टरले राजनीतिक शक्तिहरूबीच भएको संवादको प्रशंसा गरेका थिए। साथै, निर्वाचन नहुँदा नेपाली जनतामा देखिएको असमञ्जसता र सम्भावित रक्तपात अन्त्यका लागि (अरु भन्दा) नेपालका राजनीतिक शक्तिहरू नै बढी जिम्मेवार हुनुपर्नेमा जोड दिएका थिए।   

सरकार र विद्रोही माओवादीबीच भएको बृहत् शान्ति सम्झौता र अन्य पक्षबीच भएका सम्झौताहरूको प्रशंसा पनि कार्टरले त्यसक्रममा गरेका थिए। 

‘यी सम्झौताहरूको कार्यान्वयन हुनुपर्छ, भएका सम्झौताहरूलाई निर्वाचनको कार्यतालिकाबाट अलग गर्न सकिन्न,’ संविधान सभाको निर्वाचनमा जोड दिँदै उनले थपेका थिए, ‘सम्झौता र निर्वाचन एक अर्कासँग सम्बन्धित छन्। निर्वाचनको प्रतिबद्धता पूरा नहुँदा जनतामा भ्रम सिर्जना भएको छ, राजनीतिक दलहरूबीच अविश्वास पनि पैदा भएको छ। यो कुरामा तपाईंहरू सबैले ध्यान दिनु जरुरी छ।’ 

दुईदुई पटक सरेको पहिलो संविधान सभाको निर्वाचन अन्ततः २८ चैत्र २०६४ मा सम्पन्न भयो। त्यसअघि राजनीतिक दलहरूबीच संविधान सभा निर्वाचन मिश्रित निर्वाचन प्रणाली (६० प्रतिशत समानुपातिक र ४० प्रतिशत प्रत्यक्ष) मार्फत् हुने निर्णय भएको थियो। 

यसैगरी पहिलो संविधान सभाले निर्णय नगरुञ्जेलसम्मका लागि राजतन्त्रसमेत निलम्बनको निर्णय गरिएको थियो।

‘कार्टरको जोड छिटोभन्दा छिटो संविधान सभा निर्वाचन हुनुपर्छ र शान्ति प्रक्रिया पूरा हुनुपर्छ भन्ने थियो,’ तत्कालीन प्रमुख निर्वाचन आयुक्त पोखरेलले सम्झे, ‘राजनीतिक दलहरूबीच मतभिन्नता बढिरहेको थियो, यसले गर्दा निर्वाचनमा ढिलाइ भइरहेको थियो। यस्तो बेला कार्टरको निरन्तरको भ्रमणले संविधान सभा निर्वाचनका लागि सकारात्मक दबाब सिर्जना गर्‍यो भन्ने मलाई लाग्छ।’    

दुई निर्वाचन : कहिले गाली, कहिले ताली
कार्टर नेपालमा संविधान सभा निर्वाचन र संविधान सभाबाट संविधान जारी भएको देख्न उत्सुक थिए। पहिलो र दोस्रो संविधान सभा निर्वाचनमा पर्यवेक्षणका लागि नेपाल आउनुको कारण यही थियो। 

दुवै निर्वाचनमा प्रमुख राजनीतिक दलहरूबीच चर्को प्रतिस्पर्धा थियो। दलहरूबीच तिक्तता पनि उत्तिकै थियो। त्यो तिक्तताको ‘मार’मा भने कार्टर परे।

संविधान सभाको पहिलो निर्वाचनमा कांग्रेस र एमालेले अनुकूल परिणाम पाएनन्। प्रतिकूल परिणामको दोष उनीहरूले कार्टरमाथि थोपर्न खोजे।  

पहिलो संविधान सभा निर्वाचनको पर्यवेक्षणको क्रममा कार्टर राजधानीका सहरी क्षेत्रका सबैजसो मतदान केन्द्र पुगे, निर्वाचनको पर्यवेक्षणका अलावा सर्वसाधारण मतदाताहरूसँग कुराकानी पनि गरे। 

पहिलो संविधान सभा चुनाव पर्यवेक्षणका क्रममा ललितपुरमा कार्टर। फोटो : सीताराम बराल

त्यो निर्वाचनमा कार्टर सेन्टरसँग सम्बन्धित पर्यवेक्षकहरू ७५ वटै जिल्लाका मतदान केन्द्रमा खटिएका थिए। राजधानी काठमाडौँका मतदान केन्द्रहरूको आफैँ पर्यवेक्षण गरेका कार्टरले देशभरि पर्यवेक्षणमा खटिएका पर्यवेक्षकहरूबाट छिनछिनमा जानकारी पनि लिइरहेका थिए।

‘एकाध मतदान केन्द्रमा गडबड त जुन निर्वाचनमा पनि हुन्छ,’ तत्कालीन प्रमुख निर्वाचन आयुक्त पोखरेलले सम्झे, ‘तर, समग्रमा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो। कार्टर सेन्टरका देशभरिका पर्यवेक्षकहरूले कार्टरलाई पनि यस्तै जानकारी दिएका रहेछन्।’ 

यस्तो जानकारी प्राप्त गरेपछि कार्टर अपरान्ह तीन बजे कान्तिपथस्थित निर्वाचन आयोग पुगे। त्यहाँ पुग्नासाथ उनले ‘सफलतापूर्वक शान्तिपूर्ण निर्वाचन गराउनुभयो’ भन्दै प्रमुख निर्वाचन आयुक्त पोखरेल लगायत निर्वाचन आयोग परिवारलाई बधाई र धन्यवाद दिए। 

निर्वाचन आयोगका पदाधिकारीहरूसँग कुराकानी गर्दा आयोग भवन परिसरमा राष्ट्रिय–अन्तर्राष्ट्रिय सञ्चारकर्मीहरू जम्मा भइसकेका थिए। सञ्चारकर्मीहरू कार्टरका कुरा सुन्न उत्सुक थिए। 

निर्वाचन आयोगका पदाधिकारीहरूसँगको कुराकानी सकिएपछि कार्टर सञ्चारकर्मीसामु उभिए। नेपालको निर्वाचनप्रति सन्तुष्टि प्रकट गरे। सफलतापूर्वक निर्वाचन सम्पन्न गरेको भन्दै त्यहाँबाट पनि आयोगलाई बधाई दिए। ऐतिहासिक निर्वाचन प्रक्रियामा सहभागी भएको भन्दै नेपाली जनतालाई धन्यवाद ज्ञापन पनि गरे। 

खासमा नेपाली कांग्रेस र एमाले त्यो निर्वाचनमा आ–आफूले विजय हासिल गर्नेमा ‘ढुक्क’ थिए। माओवादीले विजय हासिल गर्छ भन्ने कल्पना समेत उनीहरूले गरेका थिएनन्।

त्यहीकारण जब निर्वाचन सकियो, उनीहरूले पनि ‘निर्वाचन सफल र शान्तिपूर्ण भयो’ भन्दै निर्वाचन आयोग, राष्ट्रिय–अन्तर्राष्ट्रिय पर्यवेक्षक र मतदाताहरूलाई धन्यवाद दिए। 

कार्टरले ‘नेपालको संविधान सभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भयो’ भन्दै सार्वजनिक तारिफ गरेकाले निर्वाचनले अन्तर्राष्ट्रिय मान्यता पनि प्राप्त गर्‍यो। 

‘कार्टरको सन्देश एकैछिनमा अन्तर्राष्ट्रिय जगतमा पुग्यो,’ पोखरेल सम्झन्छन्, ‘त्यसपछि मलाई पनि बधाई र धन्यवादसहितका फोन देश–विदेशबाट आउन थाले।’

निर्वाचन पर्यवेक्षण सकेर कार्टर स्वदेश फर्कने तरखरमा लागे। निर्वाचनको मतगणना सुरु भइसकेको थियो। प्रारम्भिक मतगणनाको रुझानले माओवादीले आश्चर्यजनक सफलता हासिल गर्ने संकेत गर्‍यो। 

अन्तिम गणनाबाट माओवादी पहिलो ठूलो दल बन्यो, दुई ठूला दलहरू कांग्रेस र एमाले क्रमशः दोस्रो र तेस्रो ठूलो दल मात्र बने। 

‘संविधान सभा चुनावपछि प्रधानमन्त्री बन्ने पालो मेरै हो भनेर कतिपय नेताहरू माला लगाउन ठिक्क परेर बस्नुभएको थियो, तर मतपरिणाम उहाँहरूले कल्पना गरेभन्दा विपरीत आयो, त्यसले गर्दा प्रधानमन्त्री बन्ने उहाँहरूको विश्वास गर्ल्यामगुर्लुम ढल्यो,’ पोखरेल भन्छन्, ‘त्यसपछि ती दल र नेताहरूको ‘टोन’ अकस्मात परिवर्तन हुन थाल्यो।’ 

‘जसले हिजो साँझसम्म सफल, निष्पक्ष र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराएको भन्दै बधाई र धन्यवाद दिनुभएको थियो, अब उहाँहरू नै निर्वाचनमा धाँधली भयो पो भन्न थाल्नुभयो, गाली गर्न थाल्नुभयो,’ पोखरेल सम्झन्छन्, ‘गाली खाने म एक्लो थिइनँ, जिम्मी कार्टर पनि हुनुहुन्थ्यो। उहाँहरूको आरोप चुनाव नसकिँदै ‘शान्तिपूर्ण र धाँधलीरहित चुनाव भयो भनेर किन भनियो?’ भन्ने थियो।’ 

कार्टरप्रतिको उनीहरूको धारणा २०७० को दोस्रो संविधान सभा निर्वाचनपछि परिवर्तन भयो। किनकि त्यो निर्वाचनमा कांग्रेस पहिलो र एमाले दोस्रो ठूलो दल बने। यसपटक माओवादीको धारणा पनि सम्भवतः बदलियो होला। किनकि यसपटक ऊ तेस्रो स्थानमा खुम्चिन पुगेको थियो।

पहिलो संविधानसभा निर्वाचनका दिन ललितपुरको पुल्चोकस्थित मतदान केन्द्रको पर्यवेक्षणको क्रममा जिम्मी कार्टर र रोजलिन कार्टर । तस्बिर : सीताराम बराल

कार्टर राष्ट्रपति हुँदाका सप्ठेरा–अप्ठेरा 
डेमोक्रेटिक पार्टीको उम्मेदवारका रूपमा सन् १९७६ को निर्वाचनमा विजय हासिल गरेर अमेरिकाको ३९ औँ राष्ट्रपति बनेका कार्टर सन् १९८० को निर्वाचनमा भने रिपब्लिकन उम्मेदवार रोनाल्ड रेगनसँग पराजित हुन पुगे। 

पराजयको दुई वर्षपछि विश्वभर शान्ति स्थापना, मानवअधिकारको प्रबद्र्धन र स्वास्थ्य अवस्था सुधारलाई केन्द्रमा राखेर ‘कार्टर सेन्टर’ स्थापना गरियो। राष्ट्रपति छँदा सन् १९७८ मा इजरायल–इजिप्टबीचको क्याम्प डेभिड सम्झौता गराउन र शान्ति स्थापना एवं मानवअधिकार प्रबद्र्धनमा खेलेको भूमिका स्वरूप कार्टरलाई सन् २००२ को नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो। 

कार्टर सेन्टरले ‘शान्ति स्थापना’लाई आफ्नो एक प्रमुख उद्देश्य बनाएको थियो। र, सेन्टर यही उद्देश्यमा सघाउन नेपाल आइपुगेको थियो। 

आफ्नो नाममा स्थापना गरिएको सेन्टरको ब्यानरमुनि रहेर कार्टरले नेपालको शान्ति प्रक्रियामा योगदान मात्र दिएनन्, शान्ति प्रक्रियाको अभिन्न अंग मानिएको संविधानसभा निर्वाचन सम्पन्न गराउन भूमिका खेले। 

उनका पछिल्ला भ्रमणहरू शान्ति प्रक्रिया र निर्वाचनसँग सम्बन्धित भए पनि नेपालप्रतिको चासो भने अमेरिकी राष्ट्रपति हुँदादेखि नै थियो। 

उनी अमेरिकी राष्ट्रपति छँदा नेपालमा राजाको सक्रिय नेतृत्वमा पञ्चायती व्यवस्था थियो। सातौँ नेपाली राजदूतका रूपमा कार्यभार सम्हाल्न २०३७ भदौमा डा. भेषबहादुर थापा वासिङ्टन डीसी पुग्दा कार्टर अमेरिकामा राष्ट्रपति कार्यकालको तेस्रो वर्षमा थिए। 

‘कार्टर राष्ट्रपति हुँदा अमेरिकी विदेश नीतिको प्राथमिकतामा मानवअधिकार थियो, मानवअधिकारकै कोणबाट अमेरिकाले नेपाललाई हेथ्र्याे,’ तत्कालीन राजदूत डा. थापाले भने, ‘यता नेपालमा भने प्रजातन्त्रका लागि संघर्ष चलिरहेको थियो। अमेरिकी विदेशनीतिको प्राथमिकता मानवअधिकार भएकाले अमेरिकाले त्यही कोणबाट नेपाललाई हेरिरहेको थियो। अमेरिकी दृष्टिकोणका कारण नेपाल अप्ठेरोमा थियो।’ 

कार्टर राष्ट्रपति निर्वाचित हुनुभन्दा २ वर्षअघि मात्र राजा वीरेन्द्रले आफ्नो राज्यभिषेकको अवसरमा ‘नेपाललाई शान्तिक्षेत्रका रूपमा घोषणा गरियोस्’ भन्ने प्रस्ताव विश्व समुदायसामु राखेका थिए। 

त्यसैले, नेपाली विदेशनीतिको प्राथमिकतामा ‘शान्तिक्षेत्रको प्रस्ताव’प्रति समर्थन जुटाउने अभियान थियो। राजा वीरेन्द्र अमेरिकाले पनि यो प्रस्तावमा समर्थन जनाइदेओस् भन्ने चाहन्थे।

कार्टरका पूर्ववर्ती राष्ट्रपति जेराल्ड फोर्डको कार्यकालमा शान्तिक्षेत्रको प्रस्तावमा अमेरिकी समर्थन प्राप्त गर्ने प्रयासमा राजा वीरेन्द्र सफल भएका थिएनन्।

कार्टरले ७ माघ २०३३ (२० जनवरी १९७७) देखि राष्ट्रपतिका रूपमा काम सुरु गरे। त्यसको तीन हप्तापछि नै शान्तिक्षेत्रको प्रस्तावमा समर्थनको अपेक्षा गर्दै राजा वीरेन्द्रले २५ माघ २०३३ (७ फेब्रुअरी १९७७) मा राष्ट्रपति कार्टरलाई पत्र पठाए। 

राजा वीरेन्द्रको पत्रको जवाफ कार्टर प्रशासनले १७ चैत्र २०३३ (३० मार्च १९७७) मा वासिङ्टन डीसीस्थित नेपाली राजदूतावासमार्फत् पठायो। जसमा शान्तिक्षेत्रको प्रस्तावप्रति समर्थन थिएन। 

बरु त्यसमा ‘बाहिरी हस्तक्षेपरहित स्थायी दक्षिण एसिया’ को पक्षमा अमेरिका रहेको उल्लेख गरिएको थियो। 

‘अमेरिका नीतिले दक्षिण एसियामा बाहिरी हस्तक्षेपबिना स्थायित्व प्रदान गर्ने कुरा पक्षपोषण गर्छ’ पत्रमा भनिएको थियो, ‘शान्तिक्षेत्रको प्रस्तावको सम्बन्धमा छिमेकी देश (खासगरी भारत) हरूसँग विशेष समझदारी नभएसम्म तपाईंले राख्नुभएको (शान्तिक्षेत्रको) प्रस्तावका सन्दर्भमा कुनै धारणा (समर्थन) जनाउनु उचित हुन्छ भन्ने हामीलाई लाग्दैन।’ 

कार्टर प्रशासनले यो पत्रमार्फत् राजा वीरेन्द्रलाई दिएको स्पष्ट संकेत थियो– भारतले समर्थन नगरीकन शान्तिक्षेत्रको प्रस्तावमा हामी पनि समर्थन गर्दैनौँ। 

कार्टर प्रशासन नेपालको मानवअधिकारको स्थितिप्रति पनि सन्तुष्ट थिएन। खासमा अमेरिकी दृष्टिकोणका कारण नेपाल निकै अप्ठेरोमा थियो। र, डा. थापाका भनाइमा, त्यही अप्ठेरो फुकाउन राजा वीरेन्द्रले राजदूतका रूपमा उनलाई छानेका थिए।

‘मानवअधिकार लगायतका विषयमा अमेरिकामा नेपाली दृष्टिकोण राम्रोसँग बताउन सक्ने प्रवक्ताको आवश्यकता परेको छ, त्यसैले तिमी राजदूत बनेर गइदिनुपर्‍यो भन्ने प्रस्ताव मलाई राजा वीरेन्द्रले राखिबक्स्यो,’ डा. थापाले भने, ‘त्यो प्रस्ताव स्वीकार गर्दै राजदूत बनेर म अमेरिका गएँ।’

करिब ६ वर्ष लामो कार्यकालमा राजदूत थापाले मानवअधिकार, शान्तिक्षेत्रको प्रस्ताव लगायतका विषयमा अमेरिकी अधिकारीहरूलाई नेपाली कोणबाट ‘कन्भिन्स’ गर्ने प्रयास गरिरहे। तर, कार्टरको शासनकालभर त्यसमा सफलता मिलेन। 

राष्ट्रपति कार्टरसमक्ष ओहोदाको प्रमाणपत्र पेस गर्ने क्रममा डा. थापा । फोटो साभार : ‘राष्ट्र–परराष्ट्र’ 

‘उनीहरूको आफ्नै दृष्टिकोण थियो, हाम्रो आफ्नै,’ थापाले भने, ‘न हाम्रो दृष्टिकोणबाट उनीहरू कन्भिन्स हुने स्थिति थियो, न उनीहरूको दृष्टिकोणबाट हामी।’

कार्टर राष्ट्रपतिबाट हटेपछि भने अमेरिकाले शान्तिक्षेत्रको प्रस्तावमा समर्थन जनायो, राष्ट्रपति रोनाल्ड रेगनको कार्यकालमा। राजा वीरेन्द्रको अमेरिका भ्रमणको क्रममा अमेरिकी राष्ट्रपति रेगनले शान्तिक्षेत्रको प्रस्तावमा समर्थन जनाएका थिए।

‘मानवअधिकार’ विदेशनीतिको प्राथमिकता भएका कारण कार्टरको शासनकालभर नेपाल अलिक ओझेल र अप्ठेरोमा पर्‍यो। तर, यो द्विपक्षीय सम्बन्धको ‘राजनीतिक पक्ष’ मात्र थियो, व्यक्तिगत तबरमा भने कार्टर नेपालप्रति सद्भाव राख्थे।  

कार्टर राष्ट्रपतिबाट हटेको चार वर्षपछि सन् १९८५ मा डा. थापाले यो कुराको स्पष्ट अनुभूति गरे। 

‘एक दिन उहाँले मलाई जर्जियास्थित आफ्नो निवासमा लन्चका लागि बोलाउनुभयो, राजदूतकै हैसियतमा उहाँलाई भेट्न गएँ,’ थापाले भने, ‘उहाँले नेपाल भ्रमणको योजना बनाउनुभएको रहेछ। उहाँले नेपालबारे यति गहिरो अध्ययन गर्नुभएको रहेछ कि कुन–कुन ठाउँ घुम्न जाँदा उपयुक्त हुन्छ भनेर मसँग सल्लाह लिनुभयो। लगत्तै उहाँ नेपाल भ्रमणमा आउनुभयो र सगरमाथाको फेदीसम्मै पुग्नुभयो।’ 

पासाङसँगको मित्रता, सगरमाथाको फेदीमा पाइला  
कार्टर पहिलो पटक नेपाल भ्रमणका लागि १ कार्तिक २०४२ मा आइपुगेका थिए। २ कार्तिकमा उनी हेलिकोप्टरबाट मुस्ताङतर्फ उडे। उनी सवार हेलिकोप्टर मुस्ताङको घासामा अवतरण गर्ने कार्यक्रम थियो। तर, खराब मौसमका कारण अवतरण हुन नसकेपछि पोखरा फर्कियो। पोखरामा उनले तिब्बती शरणार्थी क्याम्पको अवलोकन गरेका थिए। पोखरापछि उनी चितवन राष्ट्रिय निकुञ्ज पुगेका थिए। त्यो भ्रमणको स्मरण उनले ६ मंसिर २०६४ मा व्यवस्थापिका–संसदमा गरेको सम्बोधनमा गरेका थिए।

त्यो भ्रमणको स्मरण उनले ६ मंसिर २०६४ मा व्यवस्थापिका–संसदमा गरेको सम्बोधनमा पनि गरे। 

‘फेरि नेपाल फर्कने अवसर मेरा लागि ठूलो सम्मान हो, जहाँ म र मेरी श्रीमती पहिलोपटक पर्यटकका रूपमा आइपुगेका थियौँ,’ सम्बोधनको सुरुवात गर्दै कार्टरले भनेका थिए, ‘म ६० वर्षको थिएँ र त्यो भ्रमणको क्रममा पोखरा वरपरको क्षेत्र र सगरमाथाको बेसक्याम्प कालापत्थर पुग्न पाउँदा म निकै रोमाञ्चित थिएँ।’

कालापत्थरमा जिम्मी कार्टर (सौजन्य : पेम्बा ग्याल्जेन शेर्पा)

सोलुखुम्बुको नाम्चेस्थित होटल ‘खुम्बु लज’ का सञ्चालक पेम्बाग्याल्जेन शेर्पा पूर्वराष्ट्रपति कार्टरबाट भएको सगरमाथा क्षेत्रको त्यो भ्रमणको सन्दर्भ सम्झँदा उस्तै रोमाञ्चित हुन्छन्। 

सगरमाथाको आधारशिविर ‘कालापत्थर’तर्फ प्रस्थान गर्नुअघि कार्टर नाम्चेस्थित पेम्बाग्याल्जेन शेर्पाको होटलमा बसेका थिए। सगरमाथाको बेसक्याम्पबाट फर्केपछि पनि उनी त्यही होटलमा बसे। 

‘बेसक्याम्पसम्म पुग्दा लेक लाग्ने सम्भावना भएकाले वातावरणीय अनुकूलनका लागि तीन दिन हाम्रो होटलमा बस्नु भएको थियो,’ शेर्पाले सम्झे, ‘पूर्वराष्ट्रपति भएकाले उहाँको सुरक्षाका लागि ‘सिक्रेट सर्भिस’ बाट सुरक्षाकर्मी मात्रै २५ जना आएका थिए।’

त्यो बेला ‘खुम्बु लज’ २० वटा कोठासहितको होटल थियो। कार्टरका लागि दुई दर्जन अमेरिकी सुरक्षाकर्मी सादा पोसाकमा आएका थिए। त्यहीकारण अमेरिकी टोलीका लागि ‘खुम्बु लज’ का पुरै कोठाहरू ‘बुक’ गरिएको थियो। 

कार्टरका साथमा उनकी पत्नी रोजलिन पनि थिइन्। 

तीन दिन नाम्चेमा बसेपछि जिम्मी–रोजलिनको टोली कालापत्थरका लागि पैदल–प्रस्थान गर्‍यो। साथमा होटलका संस्थापक पासाङ कामी शेर्पा (पेम्बाग्याल्जेनका पिता) पनि थिए। 

सगरमाथाको फेदीमा पासाङ कामी शेर्पा (अगाडि) र जिम्मी कार्टर (ठीक पछाडि)  (सौजन्य : पेम्बा ग्याल्जेन शेर्पा)

‘कार्टरलाई कालापत्थरसम्म बुबाले नै गाइडिङ गरेर पुर्‍याउनु भएको हो। तेङ्बोचे, फेरिचे हुँदै कार्टर कालापत्थरसम्म पुग्नुभयो,’ तेम्बाले सम्झे, ‘तर, कार्टरपत्नी रोजलिन चाहिँ लेक लागेकाले कालापत्थरसम्म पुग्न सक्नु भएन। उहाँ बीच बाटोबाटै फर्कन बाध्य हुनुभयो।’   

व्यवस्थापिका–संसदको सम्बोधनका क्रममा कार्टरले पदयात्राका क्रममा अदभुतखालका शेर्पा गाइडहरूसँग सम्बन्ध राख्ने अवसर पाएकोमा गौरव प्रकट गरेका थिए। 

पदयात्रामा सहयोग र आतिथ्यका कारण पासाङ कामी शेर्पा र उनको परिवार जीवनपर्यन्त कार्टरका अभिन्न मित्र रहे।   
  
२४ वर्षअघि, असोज २०५७ मा पासाङ कामी शेर्पाको निधन भयो। सो खबर सुनेर कार्टर पनि निकै दुखित भए। 

पासाङ कामीको निधनको खबर सुन्नासाथ उनले उनकी पत्नी नाम्दुलाई समवेदना पत्र पठाए। 

‘पासाङको निधनको खबरले रोजलिन र म ज्यादै दुखित छौँ। म तपाईंलाई जानकारी गराउन चाहन्छु, यो कठिन घडीमा तपाईं हाम्रो हृदयमा हुनुहुन्छ र हामी तपाईंका लागि प्रार्थना गरिरहेका छौँ,’ ३० असोज २०५७ (१६ अक्टोबर २०००) को पत्रमा कार्टरले भनेका छन्, ‘हामी आशा गर्छाैं– न्याना सम्झना, साथीहरूको माया र सहयोगले तपाईंका आगामी दिनहरू पक्कै सहज हुनेछन्।’

कार्टरले स्व. पासाङ कामी शेर्पाकी श्रीमती नाम्दुलाई पठाएको समवेदना पत्र

कालापत्थरसम्मको यात्रामा कार्टरलाई साथ दिएका कामी पासाङ पत्नी नाम्दुसहित २०४८ जेठ–असारताका अमेरिका पुगेका थिए। अमेरिका पुगेका कामी पासाङ र नाम्दुलाई भेट्न कार्टर पनि उत्सुक थिए।  

तर कारणवश उनीहरूलाई भेट्ने अवसर कार्टरलाई जुरेन। त्यसप्रति पत्रमार्फत उनले क्षमा मागे।  

‘नमस्ते–कामी पासाङ र नाम्दु! तपाईंहरूलाई संयुक्त राज्य अमेरिकामा स्वागत छ। सन् १९८५ मा मैले नेपालमा गरेको पदयात्राका क्रममा तपाईंको आतिथ्यको मलाई गहिरो सम्झना छ,’ २५ असार २०४८ (९ जुलाई १९९१) को पत्रमा कार्टरले लेखेका छन्, ‘मलाई आशा छ, हाम्रो देशमा तपाईंको भ्रमण पनि सुविधाजनक हुनेछ। यो साँझ म तपाईंसँग हुन नसकेकोमा क्षमाप्रार्थी छु ल!’

नाम्चे बसाइको क्रममा खुम्बु लजको जुन कोठा कार्टरका लागि बुक गरिएको थियो, त्यो कोठा अहिले पनि छँदैछ। त्यसको बाहिर लेखिएको छ, ‘प्रेसिडेन्ट कार्टर स्लेप्ट हेयर (राष्ट्रपति कार्टर सुतेको कोठा) : १९८५’।

सगरमाथा क्षेत्रमा पदयात्राका लागि नेपाल आउँदा पूर्वराष्ट्रपति कार्टरले राजा वीरेन्द्रसँग पनि भेटवार्ता गरेका थिए। नेपालको संसदमा गरेको सम्बोधनका क्रममा ‘ह्वाइट हाउस छाडेपछि नेपालको पहिलो भ्रमणको क्रममा मैले यहाँको राजपरिवारका सदस्य र राजनीतिक नेताहरूलाई समेत भेट्ने अवसर प्राप्त गरेको थिएँ’ भन्दै त्यो भेटवार्ताको स्मरण पनि उनले गरेका थिए।  

अमेरिका पुगेका पासाङ कामी र नाम्दु शेर्पालाई कार्टरले लेखेको पत्र

इरानी राजाबारे कार्टरको ‘पश्चाताप’
राजप्रासाद सेवाका पूर्वसचिव चिरन शमशेर थापा (८१ वर्ष) त्यो बेला राजा वीरेन्द्रलाई वैदेशिक मामिलामा सहयोग गर्थे। राजा वीरेन्द्र र पूर्व अमेरिकी राष्ट्रपति कार्टरबीचको भेटवार्ताका बेला थापा पनि सँगै थिए। 

‘राजा वीरेन्द्रले कार्टरलाई डिनरसहितको भेटवार्ताका लागि निमन्त्रणा दिइबक्सेको थियो,’ थापाले भने, ‘कार्टरको साथ अमेरिकाका लागि नेपालका अवैतनिक वाणिज्यदूत रिचर्ड बुम पनि हुनुहुन्थ्यो।’ 

बुम पनि चानचुने मानिस थिएनन्। उनी अमेरिकाका केही ठूला कम्पनीका मालिक र नाम चलेका लगानीकर्ता थिए। उनकी पत्नी डायान फाइन्स्टाइन त्यो बेला अमेरिकी सहर सान फ्रान्सिस्कोकी मेयर थिइन्। 

गतसाल १२ असोज (२०८०) मा निधन हुनुअघिसम्म उनी उपल्लो सदन सिनेटमा क्यालिफोर्निया राज्यको प्रतिनिधित्व गर्थिन्। अमेरिकी सिनेटमा सन् १९९२ देखि उनले क्यालिफोर्नियाको प्रतिनिधित्व गर्दै आएकी थिइन्। 

राजा वीरेन्द्र र पूर्वराष्ट्रपति कार्टरबीचको कुराकानी मानवअधिकारकै विषयमा केन्द्रित भयो। उनीहरूबीच डिनरअघि र पछि समेत लामो कुराकानी भएको थियो। 

थापाका भनाइमा आफ्ना कुरा प्रष्ट रूपमा राख्ने हो भने मानवअधिकारका विषयमा पनि कार्टरलाई नेपालको धारणाबाट ‘कन्भिन्स’ गराउन सकिन्छ भन्ने विश्वास राजा वीरेन्द्रलाई थियो र त्यहीकारण उनले कार्टरसँगको भेटवार्ताका लागि लामो समय छुट्ट्याएका थिए।

‘कार्टरसँगको त्यो लामो कुराकानीमा राजाले संविधान र नेपाली कानुनहरूले कसरी मानवअधिकारको प्रत्याभूत गरेका छन् भन्ने कुराको व्याख्या गरिबक्सेको थियो,’ थापा भन्छन्, ‘राजाले भनिबक्सेका कुरा कार्टरले राम्रैसँग ग्रहण गर्नुभयो भन्ने मलाई लाग्छ।’ 

थापाले भनेजस्तै, कार्टर राजा वीरेन्द्रबाट ‘कन्भिन्स’ भएजस्तै देखिन्थ्यो। १४ कार्तिकमा अमेरिका फर्कनुअघि सञ्चारकर्मीहरुलाई दिएको प्रतिक्रियाले यस्तै झल्को दिन्थ्यो। ‘मेरो राष्ट्रपतित्वकालमा मानवअधिकारलाई जोड दिएको थिएँ’ कार्टरले भनेका थिए, ‘त्यसअवधिमा मानवअधिकारको सवालमा ज्यादै ठूलो प्रगति भएको छ।’ (गोर्खापत्र, १५ कार्तिक २०४२) 

‘ठूलो स्वरमा हाँसी–हाँसी कुरा गर्ने कार्टरको स्वभाव थियो, उहाँको हाँसोमा कुनै कृत्रिमपना थिएन, प्राकृतिक र स्वभाविक हाँसो हाँस्नुहुन्थ्यो,’ थापाले सम्झे, ‘त्यही भएर राजा वीरेन्द्रले पनि कार्टरसँगको कुराकानीमा खुब ‘इन्जोय’ गरिबक्सेको थियो।’ 

कार्टरले इरानी राजा मोहम्मद रेजा पहलबीलाई सुरुमै अमेरिकामा शरण दिन नसकेको र स्वास्थ्य उपचार बिग्रँदै गएपछि अमेरिका पुगेका बेलासमेत उचित व्यवहार गर्न नसकेकोमा राजा वीरेन्द्रसँग ‘पश्चाताप’ गरेका थिए।  

लाग्न सक्छ, इरानका अपदस्थ राजा शाह रेजा पहलबीप्रतिको व्यवहारबारे कार्टरले किन राजा वीरेन्द्रसँगको कुराकानीमा पश्चाताप गरेका होलान्!

खासमा यो प्रकरणको एक लामो पृष्ठभूमि थियो। 

राजा शाह रेजा पहलबी इरानमा अमेरिका समर्थक शासक मानिन्थे। इस्लामिक क्रान्तिका कारण २८ माघ २०३५ (११ फेब्रुअरी १९७९) मा उनले इरान छाड्न बाध्य हुनुपर्‍यो।

देश छाड्ने परिस्थिति सिर्जना भएपछि इरानी राजाले अमेरिकामा शरण मागे। ‘अमेरिका परस्त इरानी शासक’ हुनुका बाबजुद राष्ट्रपति कार्टरबाट उनले शरणका लागि अमेरिका जाने अनुमति पाएनन्। 

परिणाम, उनी पहिले इजिप्ट गए, त्यहाँ पनि अहसज भएपछि मोरक्को पुगे। केही महिनापछि नै उनको स्वास्थ्य अवस्था खराब हुन थाल्यो। 

उनको उपचारका लागि स्विट्जरल्यान्डले ‘अफर’ गर्‍यो। तर, पहलबीको चाहना भने अमेरिका नै जाने थियो। 

तर पनि कार्टरले पहलबीलाई अमेरिका आउने अनुमति दिएनन्। उनलाई शरण दिन कार्टरमाथि देशभित्रै दबाब बढ्न थाल्यो। पूर्वविदेशमन्त्री हेनरी किसिन्जरले त फोन नै गरेर कार्टरलाई दबाब दिए। 

त्यसपछि मात्र पहलबीले अमेरिका प्रवेशको अनुमति पाए, तर गोप्य रूपमा। गोप्य रूपमा अमेरिका पुर्‍याइएका पहलबीलाई न्युयोर्कस्थित वाइल कोर्नेल मेडिकल सेन्टरमा भर्ना गरियो।

अस्पतालको रेकर्डमा उनको नाम ‘डेभिड डी. न्युसम’ उल्लेख थियो, ताकि उनी इरानका अपदस्थ राजा हुन् भन्ने जानकारी कसैलाई नहोस्। तर, यो कुरा लामो समय गोप्य रहन सकेन।

त्यहाँ उपचाररत रहेको जानकारी प्राप्त भएपछि अस्पतालबाहिर अमेरिकामा रहेका इरानीहरूले अपदस्थ राजा पहलबीविरुद्ध प्रदर्शन सुरु गरे। आफ्नो मृत्युको कामना गर्दै इरानी विद्यार्थीहरूले गरेको नाराबाजी समेत पहलबीले सुन्नुपर्थ्यो।  

‘एकपटक इरानी विद्यार्थीहरूको प्रदर्शन रोक्न प्रहरीले अश्रुग्यास प्रहार गर्‍यो, त्यो अश्रुग्यास राजा पहलबीसम्म पुग्यो, बिरामी राजालाई त्यसले असर पुर्‍यायो,’ थापाले भने, ‘खासमा कार्टर प्रशासनले राजा पहलबीमाथि कुनै मानवीय व्यवहार गरिरहेको थिएन। त्यही भएर राजा वीरेन्द्रसँगको कुराकानीमा कार्टरले इरानका राजा पहलबीप्रति भएको त्यो व्यवहारबारे पश्चाताप गरेका थिए।’

कार्टरलाई नारायणहिटी राजदरबारका तत्कालीन समारोह प्रबन्धक काजी हंशमान सिंह (दायाँबाट पहिलो) को परिचय गराउँदै राजा वीरेन्द्र। काजी सिंहको परिवार नारायणहिटीमा तीन पुस्तादेखि सेवारत थियो। साथमा तत्कालीन परराष्ट्र सचिव विश्व प्रधान (बायाँबाट दोस्रो) (सौजन्य : अनन्तमान सिंह)

राजा पहलबीप्रतिको कार्टर प्रशासनको त्यस्तो व्यवहारप्रति राजा वीरेन्द्र कति धेरै खिन्न थिए भन्ने कुराको अनुभव राजदूतको जिम्मेवारी सम्हाल्न अमेरिका प्रस्थान गर्नुअघि डा. थापाले पनि गरेका थिए। 

वासिङ्टन डीसी प्रस्थान गर्नुअघि राजा वीरेन्द्रसँग डा. थापाको बिदाइ भेट भएको थियो। त्यसक्रममा उनले राजा वीरेन्द्र अमेरिकाको राजकीय भ्रमण गर्न इच्छुक छन् कि छैनन् भन्ने बुझ्न चाहे।  

तर, राजा वीरेन्द्रले अमेरिकाको राजकीय भ्रमणमा अरुचि प्रकट गरे। कार्टर प्रशासनले इरानी राजा पहलबीमाथि गरेको उपरोक्त व्यवहार त्यो अरुचिको पृष्ठभूमिमा थियो।  

‘हेर, मैले त्यहीँ (अमेरिका) पढेको हुँ, अमेरिकी समाजलाई चिनेको छु, मलाई (अमेरिका भ्रमण गर्ने) रहर छैन,’ विष्णु रिजालद्वारा सम्पादित नेपालको कूटनीतिक अभ्यासमा डा. थापाले भनेका छन्, ‘तर रानी (ऐश्वर्य) लाई चाहिँ अमेरिका हेर्ने रहर छ।’ 

‘मलाई अमेरिका जाने इच्छा नभएको खास कारण चाहिँ अमेरिकासँग सम्बन्ध सुधार नहोस् भनेर होइन,’ राजा वीरेन्द्र डा. थापासँग भन्छन्, ‘तर, हेर न इरानका शाह (रेजा पहलबी) जिन्दगीभर अमेरिकातिर मोडिए। आखिरमा सत्ताबाट हट्दा शरणार्थी (अमेरिकामा) पनि हुन पाएनन्। त्यस्तो धारणा राख्ने राज्यमा के उत्सुकता राखेर जाने?’ 

डा. थापा राजा वीरेन्द्रको भनाइ थप उद्धृत गर्दै भन्छन्, ‘अरुलाई मानवअधिकार हनन् भयो भनेर तिरस्कार गर्ने, आफैले चाहिँ जिन्दगीभर साथ दिएको राजालाई संकट पर्दा शरणार्थी हुने ठाउँ पनि नदिने? यो कुरा मेरो मनमा ज्यादै बिझेको छ। त्यसैले गर्दा म (अमेरिका भ्रमण गर्न) त्यति उत्सुक छैन।’ 

खासमा नेपालको राजपरिवार र इरानी राजपरिवारबीच निकटको हार्दिक सम्बन्ध थियो। कार्टरको प्रशासनकालमा पहलबीप्रतिको जस्तो व्यवहार गरियो, त्यसप्रति चित्त दुखाइको पृष्ठभूमिमा त्यो निकट र हार्दिक सम्बन्ध पनि थियो। 

असंलग्न राष्ट्रहरूको चौथो शिखर सम्मेलन (२०–२४ भदौ २०३०, ५–९ सेप्टेम्बर १९७३) का लागि राजा वीरेन्द्र इरानको बाटो हुँदै अल्जियर्स (अल्जेरिया) पुगेका थिए। गद्दीमा बसेपछि त्यही नै उनको पहिलो विदेश भ्रमण थियो। 

‘अल्जियर्स जान राजा वीरेन्द्रले शाही नेपाल वायुसेवा निगमको ७४७ बोइङ जहाज प्रयोग गरिबक्सेको थियो, काठमाडौँबाट जहाज सिधै इरानको राजधानी तेहरानस्थित विमानस्थल (मेहरावाद अन्तर्राष्ट्रिय विमानस्थल) मा अवतरण गर्‍यो,’ राजा वीरेन्द्रको भ्रमणदलमा सामेल पूर्वसचिव चिरन शमशेर थापाले भने, ‘जहाज तेहरानबाट रोम (इटली) हुँदै अल्जियर्स जाने कार्यक्रम थियो।’

‘जहाज छोटो समयका लागि तेहरानमा अवतरण गरेको थियो, त्यहाँ ओर्लंदा राजा वीरेन्द्रको स्वागतका लागि इरानी राजा रेजा पहलबी आफै उपस्थित थिए, रानी फराहका साथ,’ थापाले भने, ‘इरानी राजा–रानी नै विमानस्थलमा उपस्थित भएर स्वागत गरिबक्सेला भन्ने कल्पना राजा वीरेन्द्रलाई थिएन।’

त्यही भ्रमणका क्रममा हो वा अर्काे कुनै भ्रमणका बेला– थापालाई यकिन सम्झना छैन– राजा वीरेन्द्र इरानको त्यही विमानस्थल हुँदै स्वदेश फर्कंदै थिए, त्यो बेला पनि राजा पहलबी राजा वीरेन्द्रको स्वागतमा विमानस्थलमा उपस्थित थिए। 

‘तेहरानस्थित प्रसिद्ध ‘काख–इ एभेन्यु प्यालेस’ राजा पहलबीको जीवनसँग अभिन्न रूपमा जोडिएको दरबार हो, त्यो दरबारमा आफूले जीवनको सबैभन्दा सुखद र सबैभन्दा दुखद दुवै पल बिताएको राजा शाह रेजा पहलबीले पनि बताउनुभएको छ,’ थापाले सम्झे, ‘तेहरान हुँदै फर्कंदा राजा वीरेन्द्रलाई एकपटक इरानी राजाले त्यही दरबारमा लगेर दिवाभोज समेत दिनुभएको थियो।’

त्यो भेटमा राजा वीरेन्द्रले इरानी राजालाई नेपाल भ्रमणको निमन्त्रणा दिएका थिए। राजा पहलबी पनि नेपाल आउन इच्छुक थिए। 

‘तर, नेपाल आउने भन्दाभन्दै इरानमा सत्तापलट भयो, राजा पहलबी आफै शरणार्थी बनेर अर्काे देश जानुपर्‍यो,’ थापाले भने, ‘तर, अमेरिकाले उहाँप्रति जस्तो व्यवहार गर्‍यो, त्यो राजा वीरेन्द्रलाई चित्त बुझेको थिएन।’ 

‘आफ्नो पालामा राजा पहलबीमाथि उचित व्यवहार नभएकोप्रति कार्टरले पनि सहमति जनाउनु भयो,’ पूर्वसचिव थापा भन्छन्, ‘राजा वीरेन्द्रसँगको त्यो भेटवार्तामा कार्टरले पश्चाताप व्यक्त गर्नुभयो।’ 

राष्ट्रपति कार्टर (दायाँ) का साथमा इरानका राजा शाह रेजा पहलबी 

फेरि नेपाल आउने अधुरो इच्छा
शान्ति प्रक्रिया र संविधान सभा निर्वाचनका सन्दर्भमा भएका कार्टरका पछिल्ला नेपाल भ्रमणहरूको रोचक पक्ष के थियो भने काठमाडौँमा रहँदा उनी फुर्सद मिलाएर वरिपरिका जंगलहरू चाहर्थे। उद्देश्य हुन्थ्यो– यहाँका जंगलहरूमा पाइने असंख्य चरा–चुरुङ्गीको अवलोकन गर्ने र तिनीहरूको चिरिबिरीमा रमाउने! 

हाल विश्व वन्यजन्तु कोष (डब्ल्यूडब्ल्यूएफ) अन्तर्गतको विकास साझेदारीका प्रमुख रहेका वातावरणविद् राजेन्द्र नारायण सुवाल जंगलयात्राका क्रममा कार्टरका साथ हुन्थे। 

‘काठमाडौँमा रहँदा उहाँलाई राजनीतिक भेटघाटहरूमा धेरै व्यस्त हुनुपर्थ्यो, तर पनि प्रकृतिप्रेमका कारण समय निकालेर काठमाडौँ वरपरका जंगलहरू घुम्ने अचम्मको सोख उहाँमा थियो,’ सुवालले भने, ‘त्यसक्रममा २०६४ मा दुईपटक र २०७० एकपटक गरी तीनपटक उहाँलाई साथ दिने अवसर मैले प्राप्त गरेँ।’ 

यसमध्ये २०६४ जेठमा कार्टरले शिवपुरी निकुन्जको भ्रमण गरे। सो निकुन्जस्थित पानीको मुहानक्षेत्र र डाँडागाउँ पुगेर चराहरूको अवलोकन गरेका थिए। लगत्तै मंसिर (२०६४) मा आउँदा चाहिँ नागार्जुन जंगल पुगे। 

दोस्रो संविधान सभा निर्वाचन (४ मंसिर २०७०) का लागि आउँदा उनी गोदावरी गए। निर्वाचनको भोलिपल्ट अर्थात् ५ मंसिर (२०७०) मा कार्टर त्यहाँ पुगेका थिए। 

‘उहाँ आफ्नो जीवनकालमा पाँचपटक नेपाल आउनुभयो,’ सुवालले भने, ‘त्यसमध्ये तीनपटक उहाँको साथ चराहरू अवलोकनमा जाने अवसर प्राप्त गरेँ।’

गोदावरी भ्रमणका क्रममा कार्टरले सुवाललाई आफ्नो रुचि मौरी पालन रहेको बताएका थिए। मंगोलिया जाँदा ट्राउट माछा मारेको घटना पनि उनले सुनाए। दक्षिण अफ्रिकाको प्रख्यात क्रुगेर राष्ट्रिय निकुञ्जको सफारीको अनुभव पनि सुवालले कार्टरबाट सुन्न पाए।  

चराबारे कार्टरमा कति गहिरो चाख थियो, २०६४ जेठमा शिवपुरी जाँदाको घटना सुवालको स्मृतिमा ताजै छ।  

‘चरा अवलोकनका लागि जाँदा साथमा ‘ग्रिन लेजर पोइन्टर’ हुनु उपयुक्त हुन्छ,’ कार्टरले त्यो बेला दिएको सुझाव सुवाल यसरी सम्झन्छन्, ‘ग्रिन लेजर पोइन्टरको सहायताले बाक्लो जंगलभित्र चरा कहाँनिर बसेको छ, त्यो सजिलै पत्ता लगाउन सजिलो हुन्छ।’ 

त्यसपछि नागार्जुन र गोदावरी जाँदा सुवाल ‘ग्रिन लेजर पोइन्टर’ बोकेर गएका थिए।  

कार्टर र राजेन्द्र सुवाल 

शान्ति प्रक्रिया र संविधान सभा निर्वाचनका क्रममा कार्टरले चारपटक नेपाल भ्रमण गरे। उनी फेरि–फेरि पनि नेपाल आइरहन चाहन्थे। 

तर, दोस्रो संविधान सभा निर्वाचनताकाको भ्रमण नै उनको अन्तिम नेपाल भ्रमण हुन पुग्यो। 

संविधान सभाबाट २०७२ असोजमा संविधान जारी भयो। २०७२ कार्तिक–मंसिर (नोभेम्बर २०१५) मा फेरि उनी नेपाल भ्रमणमा आउने कार्यक्रम त्यसअगावै तय भइसकेको थियो। 

तर, यसपटकको भ्रमण गैर–राजनीतिक प्रयोजनका लागि थियो। चितवनमा दलित तथा गरिबहरूको घर निर्माणका लागि अमेरिकी स्वयंसेवीहरूसहित नेपाल आउने कार्यक्रम तय गरेका थिए। कार्टरपत्नी रोजलिन पनि आउँदै थिइन्। 

दुर्भाग्य! २०७२ साउनमा उनी बिमार परे। स्वास्थ्य परीक्षण गर्दा उनको मस्तिष्कमा क्यान्सर रहेको पत्ता लाग्यो। 

कार्टर ९० वर्ष पुगिसकेका थिए। तर पनि चाहना र हिम्मत कस्तो जब्बर भने ‘डाक्टरले स्वीकृति दिए नेपाल जान्छु’ भनिरहेका थिए।  

‘तर, स्वास्थ्यले साथ दिएन, उहाँको नेपाल आउन कार्यक्रम स्थगित भयो,’ शेर्पाले भने, ‘नेपालप्रति उहाँमा गहिरो माया थियो, तर स्वास्थ्य प्रतिकूलताका कारण फेरि नेपाल आउने उहाँको इच्छा अधुरै रह्यो।’

पूर्वराजदूत डा. थापा कार्टरलाई नेपालप्रति गहिरो माया र सद्भाव भएका पूर्व अमेरिकी राष्ट्रपतिको रूपमा चिनाउन चाहन्छन्। 

‘अमेरिकाको राष्ट्रपति हुँदा उहाँले नेपाललाई मानवअधिकारको कोणबाट हेर्नुभयो,’ पूर्वराजदूत थापाले भने, ‘तर, स्नेहका हिसाबले उहाँ नेपाललाई सद्भावसहितको आँखाले हेर्नुहुन्थ्यो।’ 

पूर्व प्रमुख निर्वाचन आयुक्त पोखरेल पनि कार्टरलाई नेपालप्रति गहिरो माया भएको व्यक्तित्वको रूपमा सम्झन चाहन्छन्।

‘उहाँ नेपाललाई निकै सम्भावना भएको सुन्दर मुलुकको रूपमा व्याख्या गर्नुहुन्थ्यो, तर नेपाल अप्ठेरो भूराजनीतिक अवस्थितिमा भएकाले यसको व्यवस्थापन कुशलतापूर्वक गर्नुपर्छ भन्ने उहाँको सुझाव थियो,’ पोखरेलले सम्झे, ‘यति महत्त्वपूर्ण सुझाव उहाँको नेपालप्रति स्नेह, सद्भाव र मायाको परिणाम थियो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad