नेपालको ध्वाँसे चितुवा संरक्षण परियोजना उत्कृष्ट पाँचमा पर्न सफल भएको छ।
‘युरोपियन आउटडोर कन्जर्भेसन एसोसिएसन’ले विश्वभरबाट छानेको संरक्षण परियोजनामध्ये नेपालको परियोजना उत्कृष्ट पाँचमा परेको खबर आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छन्।
उत्कृष्ट पाँचबाट सबैभन्दा उत्कृष्ट छनोट हुने क्रममा यति बेला विश्वभरबाट अनलाइन मतदान चलिरहेको परियोजना निर्माण गर्ने नेपालस्थित प्रकृतिका साथीहरू नामक संस्थाका कार्यकारी निर्देशक राजु आचार्यले जानकारी दिए।
“कास्की जिल्लाको मादी गाउँपालिकामा करिब तीन वर्षअघि क्यामरा ट्र्यापिङमा ध्वाँसे चितुवा देखिएपछि संरक्षणको पहल सुरु गरेका थियौँ”, उनले भने, “दिनभर नदेखिने ध्वाँसे चितुवा रातमा मात्र विचरण गर्ने हुँदा स्थानीयवासी पनि यसबारे अञ्जान छन्।”
त्यसैले यस क्षेत्रमा ध्वाँसे चितुवा जोगाउँदै पर्यटन र संरक्षणमार्फत स्थानीयवासीको जनजीविका सहज बनाउने गरी परियोजना तयार गरेको उहाँले बताए।
विगतमा तीन पटकसम्म छनोट हुन नसकेको परियोजना बल्ल यसपटक छनोटमा परेको भन्दै उनले खुसी व्यक्त गरे। उनका अनुसार एसोसिएसनले हरेक छ महिनामा विश्वभरबाट यस्तै खालको संरक्षण परियोजनाको प्रस्तावना आह्वान गर्ने गर्छ।
परेका आवेदनमा संस्थासँग आबद्ध विज्ञ समूहले मूल्याङ्कन गरेपछि छनोट हुन्छ । यसमा वन्यजन्तु, फोहोरमैला र पहाड वन शीर्षकको संरक्षणको मापदण्ड तोकिएको हुन्छ । त्यसभित्र परेपछि बल्ल अर्को छनोटका चरणमा प्रवेश गर्छ।
त्यसबाट छानिएर नेपालको ध्वाँसे चितुवा संरक्षण परियोजना उत्कृष्ट पाँचमा पर्न सफल भएको हो । बिहीबारसम्म कुल आठ हजार सात सय मतदान भएको छ । अब तीन दिन मात्र मतदान हुने छ।
नेपालको ध्वाँसे चितुवाबाहेक मेक्सिकोको मरुन फ्रन्टेड प्यारोट संरक्षण परियोजना, कोलम्बियाको वन हेरालु संरक्षण परियोजना, इक्वेडरको दस हजार वृक्षरोपण परियोजना र अर्मानियाको मानव–भालु द्वन्द्व समाधान परियोजना उत्कृष्ट पाँचभित्र रहेको छ।
मतदानमा नेपाललाई अर्मानियाको परियोजनाले पछ्याउँदै हालसम्म दोस्रो स्थानमा रहेको जनाइएको छ।
सबैभन्दा उत्कृष्ट ठहरिएको खण्डमा परियोजनाले ३० हजार युरो हात पार्नेछ । प्राप्त रकम मादी गाउँपालिकाको सिक्लेस र ताङ्तिङ बस्तीमा मानव र ध्वाँसे चितुवा द्वन्द्व समाधानसँगै संरक्षण, पर्यटनमार्फत पर्यापर्यटनको प्रवद्र्धन र संरक्षण शिक्षामा खर्च गर्ने योजना परियोजनाले तय गरेको जानकारी आचार्यले दिए।

प्रतिक्रिया