छापा खबर


मन्त्रिपरिषद् पुनर्गठन गर्दा तत्कालीन माओवादीका नेतालाई प्राथमिकता

मन्त्रिपरिषद् पुनर्गठन गर्दा तत्कालीन माओवादीका नेतालाई प्राथमिकता

नेपालखबर
पुस ११, २०७७ शनिबार १:३२,

प्रधानमन्त्री केपी शर्मा ओलीले १३औं पटक मन्त्रिपरिषद् पुनर्गठन र जिम्मेवारी हेरफेर गरेका छन्।

विवादका कारण सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई भागमा विभाजित बनेपछि उनले शुक्रबार नौ मन्त्री थप गर्दै सातजनाको जिम्मेवारी हेरफेर गरेका हुन्।

राजनीतिक रूपमा नेकपा दुई पार्टीमा विभाजन भएपछि प्रधानमन्त्रीसमेत रहेका ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्ष आ–आफ्नो शक्तिसञ्चयमा जुटेका बेला तत्कालीन माओवादी केन्द्रका केही नेतालाई मन्त्रीको जिम्मेवारी दिइएको हो। यो खबर आजको नागरिक दैनिकले छापेको छ।

२०७४ फागुन ३ गते प्रधानमन्त्रीको जिम्मेवारीमा पुगेका ओलीले शुक्रबार टोपबहादुर रायमाझी, प्रभु साह, गौरीशंकर चौधरी, गणेश ठगुन्ना, मणि थापा, दावा लामा, प्रेम आले, जुली महतो र विमला विश्वकर्मालाई मन्त्री बनाएका हुन्। थपिएका मन्त्रीमा रायमाझीले ऊर्जा, जलस्रोत तथा सिँचाइ, साह सहरी विकास, चौधरीले श्रम तथा रोजगार, ठगुन्नाले सामान्य प्रशासन तथा संघीय मामिला, थापाले खानेपानी तथा सरसफाइ, लामाले युवा तथा खेलकुद, आलेले वन तथा वातावरण र महतोले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी पाएका छन्।

त्यस्तै विश्वकर्मालाई उद्योग राज्यमन्त्रीको जिम्मेवारी तोकिएको छ। रायमाझी, साह, थापा, चौधरी, तामाङ र विक तत्कालीन माओवादी केन्द्रनिकटका नेता हुन्। उनीहरू पछिल्लो समय दाहालसँग असन्तुष्ट थिए। शपथग्रहण समारोहमा प्रधानमन्त्री ओलीसहित विशिष्ठ व्यक्तिहरूको उपस्थिति थियो।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर नयाँ निर्वाचनमा जाने निर्णयपछि दाहाल र नेपालनिकट सात मन्त्रीले पदबाट राजीनामा दिएका थिए। रिक्त मन्त्रालयमा दाहाल र नेपालसँग असन्तुष्ट अधिकांश नेताहरूलाई ओलीले जिम्मेवारी दिएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad