आज (शनिबार) बिहान साढे ५ बजेको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यो वर्षअन्तर्गत अहिलेसम्मकै कम देखिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १.३ डिग्री सेल्सियसमा झरेको हो।
‘आजको आधिकारिक न्यूनतम तापक्रमचाहिँ हामी अहिले बिहान पौने ९ बजे पुनः अपडेट गरेर राख्छौं,’ मौसमविद् सजिना शाक्यले नेपालखबरसँग भनिन्, ‘यही हाराहारीमै पनि रहन सक्छ, तर घट्ने सम्भावना बढी हुन्छ।’
हिजो काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २ दशमलव ५ डिग्री थियो। एक रातमै १ डिग्रीभन्दा बढी घटेको हो।
मौसम विश्लेषण
माैसमविद्का अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ।
यतिबेला तराईका थोरै स्थानमा बाक्लो हुस्सु /कुहिरो लागेको छ भने देशका बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा छ।
माैसम पूर्वानुमान महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेकाे ३ दिनको मौसम पूर्वानुमान
पुस ११ गते (शनिबार)
दिउँसो : प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
राती : गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली रहनेछ।
पुस १२ गते (आइतबार)
दिउँसो : गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ।
राती : बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ।
पुस १३ गते (सोमबार)
दिउँसो : प्रदेश नं १, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
राती : प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
चिसो रहिरहने तथा तराई /पहाडी भू-भागका केही स्थानमा बिहानीपख हुस्सु/कुहिरोका कारण वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।
Shares

प्रतिक्रिया