बालबालिकाको क्षेत्रमा सबै देशले चासो राखेका हुन्छन्। सबैको कानुनमा फरक परिभाषा भए पनि बाल अधिकारसम्बन्धी महासन्धिले १८ वर्षमुनिका सबै मानिसलाई बालबालिकाका रूपमा स्वीकार गरिएको पाइन्छ।
हाम्रो देशमा बालबालिका ऐन, २०७५ अनुसार १८ वर्षमुनिका नानीबाबुहरू बालबालिकाहरू हुन् र देशको जनसांख्यिक अवस्था हेर्दा नेपालको जनसंख्यामध्ये करिब ४० प्रतिशत १८ वर्षमुनिका बालबालिका छन्।
बाल अधिकारका विषयमा चर्चा गर्ने हो भने वयस्कभन्दा फरक रूपले पाउने विशेष अधिकारलाई बाल अधिकार भनी बुझ्नुपर्ने हुन्छ। सन् १९४८ को विश्व मानव अधिकार घोषणापत्रले बाल अधिकारलाई मानव अधिकारका रूपमा औपचारिक रूपमा स्वीकारेको हो।
बाल अधिकार महासन्धि १९८९ ले बालबालिकाको अधिकारको संरक्षण एवं संवद्र्धनको भूमिका खेलेको देखिन्छ। सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्र संघले पारित गरेको यो दस्तावेज हालसम्मकै मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय ठूला महासन्धिमध्ये धेरै राष्ट्रले एकैपटक अनुमोदन गरेको महासन्धि पनि हो।
सन् १९९० सेप्टेम्बर १४ मा नेपालले अनुमोदन गरेको यो महासन्धिमा १८ वर्षमुनिका बालबालिकाको संरक्षण गर्नु राज्यको दायित्व हो भनी स्पष्ट पारेको छ। बाँच्न पाउने जन्मसिद्ध अधिकार, आमा–बाबुसँग बस्न पाउने अधिकार, उनीहरूको नाम र राष्ट्रियताको अधिकार, पारिवारिक पुनर्मिलनको अधिकार, विवेक र धर्मसम्बन्धी अधिकार शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षाको अधिकार, उनीहरूको अभिव्यक्तिको स्वतन्त्रता, अपांगता भए हेरचाहको अधिकार, यौन र अन्य शोषणविरुद्धको अधिकार आदि छन्।
राज्यले भेदभाव गर्न नहुने, जिम्मेवार मानिसले बेवास्ता गरे राज्यले हेर्नुपर्ने, अधिकारको कार्यान्वयन गर्नुपर्ने बाबु आमाबाट विछोड भए संरक्षण दिनुपर्ने, अपहरणबाट जोगाउनुपर्ने, बेचबिखन वा सौदाबाजीबाट जोगाउनुपर्ने, उचित न्यायिक कारबाही, सामाजिक पुनस्र्थापना, दुर्व्यवहारबाट बचाउनुपर्ने, कुनै अमानवीय र अपमानजनक काम/कारबाही हुन नदिने, कुनै पनि बालबालिकाको अपहरण हुन नहुने र स्वतन्त्र अदालतबाट यसको उपचार पाउनुपर्ने कानुनी प्रावधान पनि छ।
२०३१ भदौ ४ देखि नेपालमा बाल दिवस मनाउने चलन चलेको हो। जनआन्दोलन २०६३ पछि यसलाई भदौ २९ गते गर्नेगरी सारियो। सन् १९९० सेप्टेम्बर १४ मा नेपालले महासन्धिलाई अनुमोदन गरेको दिन पारेर हरेक वर्ष भदौ २९ गते देशव्यापी रूपमा मनाउन लागिएको हो।
निर्दोष आँखा, निर्दोष हाँसो, निर्दोष मन, हैरान पार्ने गरी दोहोरिने सामान्य प्रश्न, दोहोर्याइरहने गल्ती, तोते बोली, बदमास र सैतानी व्यवहार, अबोध गतिविधि, सानो कुरामा खुसी र दुःखी हुने बानी, कार्टुनमा रमाउने, अनि असीमित सपना बोकेका ती कलिला बालबालिका र तिनको सुरक्षा एवं संरक्षणका लागि बाल दिवस मनाउने गरिन्छ।
बालबालिकालाई हेरचाह, पालनपोषण र संरक्षण गर्नु, शिक्षा, स्वास्थ्य उपचारलगायत व्याक्तित्व विकासका अवसरहरू उपलब्ध गराउनु, ममतापूर्ण वातावरण उपलब्ध गराउनु र सुनिश्चित भविष्यका लागि उचित मार्गदर्शन गर्नु प्रत्येक बाबु, आमा, परिवारका अन्य सदस्य वा संरक्षकको दायित्व हुन्छ।
कतिपय रोजगारीका लागि विदेशिएका बाबुआमाका सन्तान धेरैले स्कुलका छतबाट अभिभावक आउने जहाजको बाटो हेरेका छन्। स्कुल छुट्टीपछि संगीका अभिभावकले उनीहरूलाई समाएका औंलाहरू हेरी टोलाएर विवशतामा अध्ययन गरेका छन्। आमाको न्यानो काखसँग लालायित छन्। आमाबाबुको काखमा संसार मान्दै सुनौलो भविष्य कोर्न विद्यालय जाने बाल्यअवस्थाका कतिपय बालबालिकाहरू अनाथ, गरिब र अपांग भई सडकमा प्रवेश गर्न बाध्य छन्।
नौ–नौ महिनासम्म कोखमा राखेका आमाहरूले नै जन्मनासाथ बच्चाहरूलाई खोला किनार झाडीहरूमा फालेर हिँडेका घटनाहरू पनि सुन्न पाइन्छ। कतै पारिवारिक विखण्डनका सिकार कैयौं अबोध बच्चा बनेका छन्।
कमजोर आर्थिक अवस्था, श्रीमान्–श्रीमतीबीच सम्पत्तिको लडाइँ र पारिवारिक किचलोका कारण आफ्नै आमाबाबुको हातबाट मारिनुपरेका क्रूर घटना पनि हुने गरेका छन्। आफ्ना अभिभावक गुमाई टुहुरा बनेका, जन्मसिद्ध अपांग भएका र विभिन्न दुर्घटनामा शारीरिक मानसिक सन्तुलन गुमाउन पुगेका बालबालिका आज वर्षातको पानी र पुसको जाडो नभनी सहर–बजारका गल्ली र चोकचोकमा खुला आकाशमुनि बस्न बाध्य छन्।
सडक बालबालिकाको समस्या पनि उल्लेख्य रूपमा घटेको छैन। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको वार्षिक प्रतिवेदन आ.व.२०७८/७९ को तथ्यांक हेर्दा ३५५ जनालाई उद्धार तथा व्यवस्थापन गरिएको देखिन्छ भने यस आवसम्म जम्मा १ हजार ८०१ जनालाई उद्धार तथा व्यवस्थापन गरिएको देखिन्छ। यसबाट धेरै बालबालिका उद्धारको पर्खाइमा छन् भन्ने पनि देखिन्छ।
कतिपय बालबालिका घरेलु र मानवीय दुर्व्यवहारको सिकार भइरहेका छन्। उद्योग, कलकारखाना, यातायात क्षेत्रमा बालबालिकाको प्रयोग भइराखेको देखिन्छ। होटल मजदुर, खाजा घर, सडक, मठमन्दिर वरपर बालबालिकाको भीड नै देखिन्छ।
बालबालिका यौन शोषण र कुपोषणमा परेका छन्। देशमा गरिबीको अवस्था गम्भीर छ, आमा–बाबुविहीन, बेसहारा, आयस्रोत नहुने अवस्था, बाध्यता, विवशता, हेरचाह, औषधिमूलो, बालविवाहजस्ता अनेक कारणले बालबालिका जेखिममा छन्।
श्रम रोजगारी क्षेत्रमै बालबालिका असुरक्षित रहनेजस्ता चुनौती पनि छन्। सहारा दिने नाममा उनीहरूलाई श्रममा लगाइन्छ र श्रममा बेचिन बाध्य पारिएको हुन्छ। त्यस्तै उमेर ढाँटेर बालबालिकालाई जोखीमपूर्ण काममा समेत संलग्न गराएका घटना पनि प्रकाशमा आएका हुन्छन्।
पछिल्लो समय अनलाइनमार्फत बालबालिकाविरुद्ध हुने यौन दुर्व्यवहार गम्भीर समस्याका रूपमा देखिएको छ। यस स्थितिलाई विश्लेषण गरी यथाशक्य चाँडो सम्बोधन गर्न जरुरी देखिएको छ।
विद्यालयमा बालबालिकालाई उनीहरूको शैक्षिक एवम् नैतिक पक्ष सुधारी अनुशासनमा राख्ने भन्दै मानसिक तथा शारीरिक सजाय दिने गरेको समेत पाइन्छ। प्रायः सबै उमेरका मानिसविरुद्ध हेपाइ वा बुलिङ हुने गरेको सुनिन्छ। हेपाइबाट प्रभावित व्याक्तिहरूमा यसको असर अल्पकालीन तथा दीर्घकालीन दुवै पर्न सक्छ। यसले व्यक्तिको व्यक्तिगत विकासमा नै नकारात्मक प्रभाव पर्छ।
घरपरिवार, खेल मैदान, छरछिमेक, समुदायलगायत विद्यालयमा शारीरिक, बौद्धिक, आर्थिक वा अन्य कारण बालबालिकालाई साथीहरूले तथा ठूलाहरूले हेप्ने, गिज्याउने, दुःख दिनेजस्ता थुप्रै घटना हुने गरेका छन्।
हेपाइले बालबालिकाको मानसिक तथा बौद्धिक विकासमा नकारात्मक असर पर्छ। यदाकदा पीडित विद्यार्थीले आत्महत्यासम्म गरेका घटना सुनिन्छ। विभिन्न स्थानमा हुने हेपाइमध्ये विद्यालयमा हुने हेपाइ अझ जोखिमपूर्ण हुने हुँदा यसलाई न्यूनीकरण गर्न विशेष ध्यान दिनुपर्ने देखिन्छ।
बाल अधिकारका कुरा दस्तावेज र नारामा सीमित देखिएका छन्। नेपाल सरकारले बालबालिकाका थुप्रै हकको प्रत्याभूति गरे पनि कार्यान्वयनको पाटो फितलो भइदिँदा कैयौं बालबालिका अधिकारबाट वञ्चित छन्।
बाल दिवस मनाइरहँदा यो औपचारिकतामा मात्रै सीमित रहेको र तमाम अधिकार प्रत्याभूतिमा असफल रहेको भनी आलोचना पनि भएको पाइन्छ। सरकार र निजी क्षेत्र दुवै मिलेर बालबालिकाको अधिकारको क्षेत्रमा काम गर्ने गरे तापनि बालबालिकाको अवस्थामा अपेक्षित सुधार आउन नसक्नुलाई मुख्य कमजोरीका रूपमा लिइएको छ।
फ्रान्सका दार्शनिक जिन ज्याक्स रुसोले मानव जन्मिँदा स्वतन्त्र जन्मिन्छ तर बिस्तारै ऊ दायित्वको डोरीले बाँधिदै जान्छ भनेका थिए। संसारमा बालबालिकाबाहेक अरू कोही स्वतन्त्र छैनन्। निर्दोष र स्वतन्त्र त्यो बालापन नै सिकाइको महत्त्वपूर्ण समय हो। बालापनमा प्रशस्त माया पाएका बालबालिकाले मात्र अरूलाई माया र विश्वास गर्न सकेका हुन्छन्।
बालापनमा आमाको स्पर्शले माया–ममता सिकाउँछ, बाबाको हातको ठेलाले संघर्ष सिकाउँछ। स्कुलमा गुरुहरूले दिएका गृहकार्यले अनुशासन सिकाउँछ। बेन्चमा सँगै बस्ने साथीले मित्रता सिकाउँछ। बाटोमा हिँड्दा लागेका ठेसहरूले अघि बढ्न सिकाउँछ।
तसर्थ यो समयमा बालबालिकालाई सत्य र आशावादी बन्न हरेक हिसाबले सिकाउन जरुरी छ। हरेक बुबा आमाले पनि आफ्नो छोराछोरीसँग आफ्नो सम्बन्ध र आफूले दिएको समयको बारेमा सोच्न जरुरी छ। मानिसहरूको जीवनशैली एकदमै व्यस्त हुँदै गइरहेको वर्तमान अवस्थामा बालबालिकालाई पैसाभन्दा धेरै समय दिन जरुरी छ।
बालबालिकामा लगानी गर्नु भनेको मानव पुँजीमा लगानी गर्नु हो। गर्भाधानदेखि दुई वर्षसम्मको समयावधि अर्थात् सुरुका हजार दिनमा दिइने उचित हेरचाह र पोषणले उनीहरूको हुर्कने, सिक्ने र गरिबीबाट उम्किन सक्ने क्षमतामा प्रभाव पार्छ। यसले समाजको दीर्घकालीन स्वास्थ्य, स्थिरता र समृद्धिमा पनि प्रभाव पार्छ।
हिंसा, शोषण, दुर्व्यवहार र उपेक्षाबाट सुरक्षित हुनु सम्पूर्ण बालबालिकाको अधिकार हो। तथापि नेपालसहित विश्वभरका सबै प्रकारका आर्थिक–सामाजिक पृष्ठभूमि, उमेर समूह, धर्म तथा संस्कृतिका लाखौं बालबालिका हिंसा, शोषण र दुर्व्यवहारबाट पीडित छन्। अझै पनि बालबालिकाको मुद्दा दिनहुँ खतरामा परिरहेका छन्।
उनीहरूले उचित शिक्षा, स्वास्थ्य सेवा, पोषण र हिंसाबाट सुरक्षा पाउन सकेका छैनन्।
बालश्रम शोषणको अन्त्य नहुनु भनेको बाल अधिकारको हल्ला मात्रै गर्नु हो। त्यसैले शोषण न्यूनीनकरण गर्न बाल अधिकारलाई सम्मान र संरक्षण गर्नुपर्छ। जब प्रत्येक सरकार र नागरिकले बाल अधिकारसम्बन्धी आफ्ना कर्तव्यको पालना गर्छ र प्रत्येक बालबालिकाले ती अधिकार दाबी गर्न सक्छन् तब मात्र बालअधिकार पूर्ण रूपमा सुरक्षित हुनेछ।
Shares
प्रतिक्रिया