विचार


ट्रम्पको सन्देश : इरान र चीन होसियार, इजरायल अघि बढ, युक्रेन पर्ख!

ट्रम्पको सन्देश : इरान र चीन होसियार, इजरायल अघि बढ, युक्रेन पर्ख!

आन्ड्रेयास क्लुथ
कात्तिक २८, २०८१ बुधबार १९:७,

राष्ट्रपतिका रूपमा दोस्रो कार्यकालमा आफ्नो विदेश नीति कस्तो हुनेछ, डोनाल्ड ट्रम्पले तीव्रताका साथ त्यसको संकेत दिइरहेका छन्। अहिलेसम्म सार्वजनिक भएका नियुक्तिको घोषणा र सम्भावनाका आधारमा उनको सन्देश छ– चीन र इरान होसियार हुनुपर्छ। इजरायल सावधानीपूर्वक ढुक्क हुँदा हुन्छ। युक्रेनको कुरा बिस्तारै गरौँला।

यी सबै घोषणाहरूमा सधैँझैँ ट्रम्पले नियुक्त हुने आफ्ना कृपापात्रहरूलाई पनि सन्देश दिएका छन्। आफ्नो पहिलो कार्यकालमा ट्रम्पले चारजना राष्ट्रिय सुरक्षा सल्लाहकार फेर्नुपर्‍यो। तीनजनालाई उनले बर्खास्त गरे। बर्खास्त भएकाहरू आफूविरुद्धै खनिएपछि ट्रम्पले तिनलाई घृणा गर्न थाले।

यसपटक भने ट्रम्पलाई चुनौती दिनसक्ने वा उनलाई उछिन्न सक्ने कसैलाई पनि उनले छेउछाउ आउन दिने छैनन्।

त्यसकारण, नयाँ ब्याचका प्रशासकहरूका लागि पहिलो योग्यता हो– निसर्त समर्पण। ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकारमा माइकल वाल्ज, विदेशमन्त्रीका रूपमा मार्को रुबियो र राष्ट्रसंघको दूतमा एलिज स्टेफानिकलाई रोज्नुको एउटा कारण यही हो।

वाल्ट्ज र स्टेफानिक दुवै तल्लो सदनका रिपब्लिकन सांसद हुन्। ट्रम्पप्रतिको वफादारीको पुष्टि गर्न उनीहरूले वर्षौं खर्च गरेका छन्। २०२० मा ट्रम्पले आफूबाट चुनाव चोरिएको आरोप लगाउँदा वाल्जले पूर्णरूपमा उनको समर्थन गरेका थिए। स्टेफानिकले ट्रम्पविरुद्धको पहिलो महाभियोगको क्रममा उनको जोडदार समर्थन गरेका थिए र त्यसपछि उनको साथमा खडा भएका थिए।

रुबियोको भने समर्पणको मार्ग अलि बांगोटिंगो थियो। २०१६ को प्राइमरी चुनावका क्रममा उनी र ट्रम्प एकअर्काका प्रतिस्पर्धी थिए। दुवैले निकै गिरेर एकअर्काको खोइरो खनेका थिए। ट्रम्पले रुबियोलाई ‘लिटिल मार्को’ भन्दै होच्याएका थिए। रुबियोले ‘सानो हात’ भएको भन्दै ट्रम्पलाई गिज्याएका थिए। तर, प्राइमरीमा हारपछि रुबियोले कुरा बुझे। उनी ट्रम्पका सामु झुके र झुकी नै रहे। ट्रम्पलाई यस्तो कुरा मन पर्छ।

सबलताको कुरा गर्दा, वाल्ज र रुबियो दुवैले आआफ्नो पदमा राष्ट्रिय सुरक्षासम्बन्धी विज्ञता र वजन लिएर आउँछन् (स्टेफानिकको हकमा कम)। प्रतिनिधि सभा र सिनेटमा उनीहरूले अन्तर्राष्ट्रिय मामिलासम्बन्धी संसदीय समितिहरूमा महत्त्वपूर्ण भूमिका सम्हालेका छन्। अधिकांश विषयमा उग्र (चीन, इरान, भेनेजुएलाविरुद्ध ज्यादा, रुसप्रति त्यति होइन) रूपमा प्रस्तुत हुने उनीहरू ‘शक्तिमार्फत शान्ति’ ल्याउनुपर्ने ट्रम्पको नाराको पक्षपाती हुन्।

खासगरी वाल्ज चाहिँ राष्ट्रिय सुरक्षा सल्लाहकार पदका लागि योग्य देखिन्छन्। तल्लो सदनमा निर्वाचित हुने उनी पहिलो ‘ग्रिन बेरेट’ अर्थात् अमेरिकी सेनाको ‘स्पेसल फोर्सेस’का सदस्य हुन्। जो अफगानिस्तान, मध्यपूर्व र अफ्रिकाका द्वन्द्वहरूमा प्रत्यक्ष सहभागी भएका छन्। अफगानिस्तानबाट सेना फिर्ता गर्ने निर्णयको विपक्षमा थिए उनी। जबकि ट्रम्प र राष्ट्रपति जो बाइडेन दुवै फिर्ता गर्नुपर्ने पक्षमा थिए। तर, सेना फिर्ता गर्ने क्रममा जुन भद्रगोल भयो, त्यसले वाल्जलाई बचायो। त्यसयता उनी बाइडेनको आलोचना गरिरहेका छन्।

ट्रम्पलाई सबैभन्दा मनपर्ने हाउगुजी चीन हो। त्यसैले वाल्ज र रुबियो दुवै बेइजिङका कम्युनिस्टविरुद्ध विषवमन गर्छन्। उनीहरूको वास्तविक धारणा पनि त्यही हुन सक्छ। यसका लागि आंशिक रूपमा उनीहरू चीनको मानवअधिकार हननबाट प्रेरित छन्। रुबियो यो विषयमा विचार गर्न बनेको आयोगको सहअध्यक्ष थिए भने वाल्ज चाइना टास्क फोर्सका सदस्य थिए। यी दुवै भविष्यमा चीनसँग हुने युद्धका लागि हतियार भण्डार बढाउन आह्वान गरिरहेका मान्छेहरूमा पर्छन्, भलै यो ट्रम्पका लागि यो कम महत्त्वपूर्ण विषय हो। वाल्जले स्पष्ट रूपले चीनलाई ‘अस्तित्वमाथिको खतरा’ भनेका छन्।

तर, मुख्यभूमिले ताइवानमाथि आक्रमण गरेको खण्डमा अमेरिकाले उसको साँच्चै रक्षा गर्छ कि गर्दैन भन्ने विषय अलग हो। शक्तिमार्फत शान्ति नीतिको एउटा हिस्सा के हो भने ट्रम्प साँच्चै सैन्य शक्ति प्रयोग गर्नुको सट्टा त्यसको संकेत मात्र दिएर युद्ध अन्त्य गर्न वा टार्न खोज्छन्। उनले ताइवानको विषयमा उस्तै लेनदेनवाला लबजमा कुरा गरेका छन्। जसरी उनी अन्य सहयोगीका बारेमा कुरा गर्छन्। तिनले अमेरिकालाई आर्थिक रूपले लुटिरहेको उनको सन्देह छ।

इरानको हकमा पनि ट्रम्पको नीतिमा अस्पष्टता देखिन्छ। कुरा चर्को हुन्छ, संकल्प अस्पष्ट। ट्रम्पले आफ्नो पहिलो कार्यकालमा शीर्ष इरानी जर्नेलको हत्या गरे। अहिले उनी ‘अधिकतम दबाब’ को नीति पुनः लागू गर्न तयार छन्, खासगरी तेहरानले आणविक हतियार निर्माणको प्रयास गरेमा। अर्कोतिर, ट्रम्पका उपराष्ट्रपति जेडी भान्सले स्पष्ट पारेका छन्, ‘इरानसँग युद्ध नगर्नुमै हाम्रो हित छ।’

इजरायलकै हकमा समेत ट्रम्पको नयाँ टोलीको नीति बयानबाजीभन्दा फरक हुन सक्छ। रुबियोले गाजाको मृत्यु, पीडा र कष्टका लागि हमास शत प्रतिशत दोषी रहेको दाबी गरेका छन्। स्टेफानिकले राष्ट्रसंघलाई ‘यहुदीविरोधी नर्क’ भनेका छन्। २०२० मा बाइडेनलाई बधाई दिएकोमा ट्रम्प आफैँले पनि बेन्यामिन नेतन्याहुलाई माफ गरिसकेको देखिन्छ। त्यसैले उनले नेतन्याहुप्रति मित्रवत् व्यवहार गरिरहेका छन्। नेतन्याहुको अतिवादी सत्ता गठबन्धनका एक साझेदार त सोझै ट्रम्पको दोस्रो कार्यकाल इजरायलका लागि वेस्ट ब्यांक कब्जा गर्ने मौका भएको बताउँछन्।

फेरि पनि गाजा र लेबनानमा इजरायलको बमबारीलाई ट्रम्प आफ्नो छविका लागि नराम्रो मान्छन्। बाइडेनजस्तै उनी पनि क्षेत्रीय युद्धमा तानिन चाहँदैनन्। यो युद्ध रोकियोस् भन्ने उनको चाहना छ। सायद साउदी अरब र इजरायलबीच सम्झौता गराएर आफ्नो ‘अब्राहम सम्झौता’ को विरासत विस्तार गर्न चाहन्छन्। त्यसैले नेतन्याहुले ट्रम्पको समर्थनलाई स्थायी मान्नु हुँदैन।

ट्रम्पको यो नयाँ टोलीलाई लिएर सबैभन्दा ज्यादा द्विविधमा रहनुपर्ने कारण भने युक्रेनीहरूसँग छ। वाल्ज, रुबियो र स्टेफानिकले समेत रुसी आक्रमणको स्पष्ट भर्त्सना गरेका थिए। भ्लादिमिर पुटिनलाई जसरी पनि रोक्नुपर्छ भन्ने उनीहरूको मत छ। २०२२ मा समेत वाल्जले युक्रेनलाई समयमै सहयोग नगरेको र पर्याप्त सहयोग पनि नपठाएको भन्दै बाइडेनको आलोचना गरेका थिए। रुबियोको कुरा पनि उस्तै थियो।

त्यसपछि हावा बदलियो। पुटिनप्रति ट्रम्पमा सधैँ एकप्रकारको लगाव थियो। सेना र हतियार पठाउनुको सट्टा उनी पुटिनसँग सम्झौता गर्न तयार छन्, युक्रेनकै मूल्यमा भए पनि। त्यसैले आजभोलि रुबियो भने युद्धलाई निष्कर्षमा पुर्‍याउनुपर्छ भन्न थालेका छन्। तल्लो सदनमा वाल्जले युक्रेनलाई दिइने पूरक सहायताविरुद्ध मत दिए। ‘खाली चेकको युग समाप्त भएको’ उनको भनाइ छ।

वाल्ज, रुबियो र स्टेफानिक यी विषयमा अस्पष्ट, असंगत र अविश्वसनीय लागे भने त्यो आश्चर्यको कुरा होइन। उनीहरू डोनाल्ड ट्रम्पका सल्लाहकार, दूत र सूचक हुन्। जो आफैँ आफ्नो सनकप्रति गर्व गर्छन्। उनीहरूलाई शुभकामना दिऊँ तर ‘शक्तिमार्फत शान्ति’ झनझन् सन्दिग्ध देखिन्छ। 

(ब्लुमबर्गबाट)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad