अमेरिकी सेयर बजारका खेलाडीहरूलाई व्यंग्य गर्न टम वुल्फले एउटा पदावली प्रचलित तुल्याएका थिए– ‘ब्रह्माण्डका मालिक’। इलोन मस्कले चाहिँ यसको शाब्दिक अर्थ ग्रहण गरेछन्। त्यही भएर उनी मंगल ग्रहलाई उपनिवेश बनाउने कुरा गर्छन्।
तर, मस्क अहिले नराम्रो तरिकाले पृथ्वीमा पछारिन आइपुगेका छन्। डोनाल्ड ट्रम्पसँग झगडा परेपछि संसारकै धनी यी व्यक्तिलाई थाहा भएको छ– ब्रह्माण्डको त कुरै छाडौँ, उनी वासिङ्टनका पनि मालिक होइन रहेछन्।
मस्कको पतन विश्वभर चलिरहेको चलनकै हिस्सा हो, कुनै अलग घटना होइन। दशकौँको विश्वव्यापीकरणले विश्वभर अति धनाढ्यहरूको अल्पतन्त्र सिर्जना गरेको छ। तर, जब धनको शक्ति राजनीतिक शक्तिसँग टकराउँछ, तब दाव एकतिर मात्रै लगाउनुपर्छ। किनकि जित सधैँ राजनीतिक शक्तिकै हुन्छ।
रुस, चीन, साउदी अरब र अहिले अमेरिका। यी एकअर्कासँग एकदमै अलग देशहरूलाई हेरौँ। यी हरेक मुलुकमा राजनीतिक महत्वाकांक्षा देखाउने धनाढ्यलाई असली शक्ति कहाँ हुन्छ भनेर शासकहरूले याद दिलाउने गरेका छन्।
पैसाको शक्तिलाई राजनीतिले हराएको देखेर मार्क्सवादी र अति आत्मविश्वासी पुँजीवादी, दुवै वर्ग चकित पर्न सक्छन्। किनकि उनीहरू दुवैलाई लाग्छ– नेताहरू सधैँ धनाढ्यको इसारामा नाच्ने गर्छन्।
तर, माओले भनेजस्तै सत्ता बन्दुक नालबाट जन्मिन्छ। सोहीकारण अन्ततः ब्यांकमा थुप्रिएको अर्बौं रकमभन्दा सेना, सरकारी वकिल, कर कार्यालयजस्ता राज्यका अंगहरूमाथिको नियन्त्रण ज्यादा काम लाग्दो हुन्छ।
अवश्य पनि नेताहरूलाई पैसाको खाँचो पर्छ। खासगरी सत्ताको सिँढी चढ्न। लोकतन्त्रमा चुनाव साह्रै महँगा हुन्छन्। निरंकुश राज्यमा हुने ‘क्लाइन्ट पोलिटिक्स’ मा पनि खर्च ज्यादै हुन्छ। मस्कको आर्थिक सहयोगले ट्रम्पलाई २०२४ को राष्ट्रपतीय चुनाव जित्न सहयोग पुग्यो।
रुसमा भ्लादिमिर पुटिनलाई सत्ताको शीर्षमा पुर्याउन मुलुकाका केही सबैभन्दा धनी व्यक्तिहरूको हात छ। ती धनाढ्यहरूलाई आशा थियो, पुटिनले सत्तामा पुगेपछि १९९० को दशकमा तिनले कमाएको सम्पत्तिको संरक्षण गरिदिने छन्।
तर, एकपटक क्रेमलिनमा बलियो जरा गाडिसकेपछि पुटिनले ती धनाढ्यहरूलाई खास मालिक को हो भनेर देखाइदिए। त्यतिबेला रुसका सबैभन्दा धनी व्यक्ति मिखाइल खोदोरोव्स्की जब आफैँ अलग राजनीतिक शक्तिका रूपमा देखिन थाले, तब पुटिनले उनलाई गिरफ्तार गराए। खोदोरोव्स्की १० वर्ष जेल बस्नुपर्यो। यल्तसिनको पालामा अत्यधिक सम्पत्ति जोडेका बोरिस बेरेजोव्स्की पनि निर्वासनमा जान बाध्य भए। रहस्यमय परिस्थितिमा उनको मृत्यु भयो।
उतिबेलाका चीनका सबैभन्दा धनी व्यक्ति ज्याक माले चाहिँ सस्तैमा छुटकारा पाए। माको चर्चा र कहिलेकाहीँ मुखर अभिव्यक्तिलाई राष्ट्रपति सी चिनफिङले चुनौतीका रूपमा लिए। २०२० मा माले वित्तीय नियामकहरूको आलोचना गर्दै भाषण गरेपछि उनको एन्ट ग्रुपको आईपीओ रद्द गरियो र मा गायब भए। चिनियाँ कम्युनिस्ट पार्टीले मुलुकको सबैभन्दा ठूलो पुँजीपतिलाई आफ्नो ठाउँ देखाइदियो।
मा जेल जानु परेन र पछिल्लो समय उनी सार्वजनिक रूपमा देखिन थालेका छन्। तर, लोकतन्त्रवादी आन्दोलनलाई समर्थन गरेका हङकङका मिडिया टाइकुन जिमी लाइ भने यतिबेला लामो सजाय काटिरहेका छन्।
ट्रम्पले खुबै मन पराउने साउदी अरबका युवराज मोहम्मद बिन सलमानले पनि अधिराज्यका सबैभन्दा धनीमानीलाई आफ्नो सामु घुँडा टेकाएर देखाइसकेका छन्। २०१७ मा उनले दर्जनौँ धनाढ्य व्यापारीहरूलाई रिट्स कार्लटन होटलमा थुनेका थिए। भ्रष्टाचारविरोधी अभियान भन्दै। थुनिनेहरूमध्ये एक थिए अधिराज्यकै सबैभन्दा चर्चित लगानीकर्ता राजकुमार वालिद बिन तलाल। सो घटनाले उनको निर्दयी शक्तिबारे सबैलाई प्रस्ट सन्देश दियो, जसलाई उनीहरूले कहिल्यै बिर्सेनन्।
एउटा अर्बपतिका लागि कुनै पनि देशको नेताको सनकबाट बच्ने सबैभन्दा उत्तम तरिका भनेको आफैँ नेता बन्नु हो। इटलीका सिल्भियो बर्लुस्कोनीले यही तरिका अपनाए। यी विवादास्पद व्यापारीले आफ्नै पार्टी खोले र तीन कार्यकाल इटलीको प्रधानमन्त्री बने। जर्जियाको प्रधानमन्त्री बनेका अर्बपति बिद्जिना इभानिसभिली पनि सोही बाटो हिँडेका हुन्। ट्रम्प आफैँ पनि धनको प्रयोग गरेर राजनीतिमा छिरेका थिए।
तर, धनाढ्यबाट नेतामा छलाङ एकदमै कमले मात्र मार्न सक्छन्। र, जो किनारामा काम गर्छन्, उनीहरूले एकदमै सावधानी अपनाउन जरुरी हुन्छ। आफ्नो सम्पत्ति र स्वतन्त्रता दुवै कायम राख्न उनीहरूले आफ्नो सीमालाई राम्ररी बुझ्नुपर्ने हुन्छ। भारतमा अत्यन्त धनी अम्बानी परिवारले प्रधानमन्त्री नरेन्द्र मोदीसँग निकट सम्बन्ध राखेको छ। तर, अम्बानीहरूले कहिल्यै पनि मोदीको नेतृत्वलाई चुनौती दिने प्रयास गरेका छैनन्।
मेक्सिकोका सबैभन्दा धनी व्यक्ति कार्लोस स्लिम मुलुकका एकपछि अर्को राष्ट्रपतिको निकट रहँदै आएका छन्। उनी विरलै आफ्नो राजनीतिक विचार अभिव्यक्त गर्छन्। जानीबुझी अपनाएको तटस्थताले उनलाई सत्तामा जोसुकै भए पनि प्रभाव कायम राखिराख्न सहयोग पुगेको छ। उनले वामपन्थी राष्ट्रपति आन्द्रे म्यानुएल लोपेज ओब्राडोरसँग समेत मिलेर काम गरे र ठुल्ठूला पूर्वाधार परियोजनामा सहकार्य गरे।
धेरै अमेरिकीहरूलाई आफ्नो देशको पैसा र सत्ताबीचको सम्बन्धलाई चीन, रुस, साउदी अरब वा मेक्सिकोसँग तुलना गर्न सकिन्छ भन्दा पत्यार नलाग्न सक्छ। आखिर, अमेरिका त्यस्तो देश हो, जहाँ लामो समयदेखि लोकतन्त्र र सम्पत्तिको हक स्थापित छ। राष्ट्रपतिले मुलुकको सबैभन्दा धनी व्यक्तिविरुद्ध प्रतिशोध लिन कानुनको प्रयोग गर्न सक्छन् भन्दा अमेरिकीहरू छक्क पर्न सक्छन्।
तर, मस्कले संघीय सरकारको ठेक्का गुमाउन सक्छन् भनेर ट्रम्पले भनिसकेका छन्। त्यसमाथि डेमोक्र्याटहरूलाई सघाउने हो भने ‘गम्भीर परिणाम भोग्नुपर्ने’ चेतावनी पनि दिइसकेका छन्।
ट्रम्पका सबैभन्दा कट्टर अनुयायी त यसभन्दा पनि अगाडि बढ्न चाहन्छन्। स्टिभ ब्याननले मस्कको स्पेसएक्स कम्पनीलाई राष्ट्रियकरण गर्नुपर्ने बताएका छन्। जुन कम्पनीले अमेरिकाको अन्तरिक्ष कार्यक्रममा महत्त्वपूर्ण भूमिका खेलिरहेको छ। मस्कलाई डिपोर्ट गर्ने मनसायले उनको आप्रवासनको अवस्थाबारे पनि अनुसन्धान गर्न ब्याननले ट्रम्पलाई आग्रह गरेका छन्।
सम्पत्ति जफत? निर्वासन? अमेरिकामा यी कुराहरू अनौठो सुनिन्छन्। तर, यो ट्रम्पको अमेरिका हो। हुँदै हुँदैन कहिल्यै नभन्नू!
(फाइनान्सियल टाइम्सबाट)
Shares

प्रतिक्रिया