योगमाया (वि.सं. १९२४–१९९८) नेपालको एक क्रान्तिकारी व्यक्तित्व हुनुहुन्थ्यो। उहाँले आध्यात्मिक क्षेत्रबाट आफूलाई विद्रोही नेताको रुपमा अघि बढाउनुभयो। क्रान्तिकारी नेताको रुपमा आफूलाई स्थापित गर्नुभयो।
क्रान्तिकारी नेता भनेको राजनीतिक संगठन खोलेर, राजनीतिक नारा नै मुख्य बनाएर अघि बढ्ने व्यक्ति मात्रै हुँदैन। त्यतिखेरको सामाजिक, आर्थिक, राजनीतिक र सांस्कृतिक क्षेत्रमा गुणात्मक परिवर्तन गर्न विद्रोहको नेतृत्व गर्ने व्यक्ति पनि क्रान्तिकारी नेता कहलिन्छ। योगमायाले त्यो भूमिका निर्वाह गर्नु भएको थियो।
उहाँले कुनै एउटा क्षेत्रमा मात्रै परिवर्तनको नेतृत्व गर्नु भएन। धार्मिक र आध्यात्मिक सुधारकहरुले सामाजिक क्षेत्रमा, शैक्षिक क्षेत्रमा योगदान गरेको हामी पाउँछौँ। तर, योगमाया यस्तो व्यक्तित्व हुनुहुन्थ्यो, जसले निरंकुशतन्त्रको विरुद्धमा, सुशासनको पक्षमा आफूलाई उभ्याउनुभयो।
हामी कम्युनिष्टहरुका बीचमा धर्म, अध्यात्मको विषयमा ठूलै बहस हुने गर्छ। ‘योगमाया मरिन् त मरिन्, के को टाउको दुखाई’ भन्ने पनि छन्। ‘उनी मरिन् त आफ्नै कारणले मरिन्, कसैले मारेको होइन, कसैले अरुण नदीमा हाल्देको होइन क्यारे’ भन्ने खालका कुरा पनि आउँछन्।
त्यतिमात्र होइन, कम्युनिष्ट आन्दोलनमा त सत्याग्रहलाई नकारात्मक रुपमा लिने पनि छन्। ‘के को सत्याग्रह, कम्युनिष्टहरुले पनि सत्याग्रहलाई मान्ने हो, ठोक्ने पो हो त ठोक्ने’ भन्ने चिन्तन पनि छ। त्यो गलत चिन्तन हो।
सत्याग्रह पनि आन्दोलनको एउटा स्वरुप हो। ‘अरुलाई मार्नुभन्दा मै मर्दिन्छु, मेरा माग पूरा गर्छौं कि गर्दैनौ’ भनेर चेतावनी दिन सत्याग्रह गरिन्छ। सत्यको निम्ति, आफ्नो देहत्याग गर्ने प्रक्रियाको निम्ति अग्रिम चेतावनी नै सत्याग्रह हो। ‘मेरो माग पूरा नभए मृत्युसम्म पुग्छु है म’ भन्या हो।
योगमायाले पहिला त त्यतिबेलाको सत्तासँग न्याय, समानताका विषयमा केही माग राख्नुभयो। ‘नत्र हामी अग्नी दाहा गर्छौं’ भनेर सत्तालाई चेतावनी दिनुभयो। अग्नी दाह गर्नबाट उहाँलाई रोकियो। त्यसपछि उहाँको नेतृत्वमा वि.सं. १९९८ साल असार २२ गते ६८ जनाले जल समाधि लिए। त्यतिबेलाको सत्तालाई उहाँहरुले ‘हाम्रा न्यायपूर्ण माग पूरा नभए हामी मर्छौं’ भनेर धम्क्याउनु मात्र भएन। जलसमाधि मार्फत् देहत्याग नै गर्नुभयो।
यसको ऐतिहासिक सन्दर्भसहित समाजशास्त्रीय विश्लेषण हामीले गर्नु जरुरी छ। संघर्षका विभिन्न रुपहरु हुन्छन्। यो त्यतिबेलाको सन्दर्भमा सिंगै समाजलाई उद्धेलित गर्ने, राज्यलाई प्रभावित गर्ने संघर्षको एउटा रुप थियो। यसको हामीले उच्च मूल्यांकन गर्नुपर्छ।
त्यतिबेला उहाँले धर्मराज्य भनेर जे माग गर्नु भएको थियो, त्यो वास्तवमा हामीले अहिले भन्ने गरेको लोकतन्त्र, सुशासन, विधिको शासन, सामाजिक न्यायको माग थियो। समानताको माग थियो। त्यसकै निम्ति उहाँले आफूलाई अघि बढाउनुभयो। आर्थिक रुपमा पनि उहाँले किसानहरुका हक अधिकारका निम्ति, उत्पीडित वर्गको हक अधिकारका निम्ति आवाज उठाउनु भएको देखिन्छ।
सांस्कृतिक जागरणको क्षेत्रमा त उहाँले ठूलै आन्दोलन चलाउनु भएको हामी पाउँछौँ। सांस्कृतिक मूल्यहरुमा परिवर्तनको निम्ति उहाँले बिद्रोहको राँको नै बाल्नुभयो। उहाँले राजनीतिक, सामाजिक, सांस्कृतिक र आर्थिक सबै क्षेत्रमा परिवर्तनकारी नेतृत्वको भूमिका खेल्नु भएको थियो। योगमायाको विद्रोही, क्रान्तिकारी व्यक्तित्व निर्माणको मूल जग, आधार चाहीँ आध्यात्मिक थियो।
यो त्यति सान्दर्भिक विषयत त होइन, तर म पनि आध्यात्मिक क्षेत्रमा रुचि राख्ने मान्छे हो। तर, म आस्थिक चाहीँ होइन। म यो ब्रम्हाण्डको सृष्टिकर्ता र चालकलाई ईश्वरको रुपमा मान्दिन। म कुनै धर्म सम्प्रदायको सदस्य होइन, त्यसलाई म मान्दिनँ।
अध्यात्मलाई मैले फरक ढंगले बुझेको छु। त्यसका धेरै महत्वपूर्ण पक्षहरु छन्, जसलाई हामी सबै कम्युनिष्ट क्रान्तिकारीहरुले र भौतिकवादी द्वन्द्ववादीहरुले पनि आत्मसाथ गर्नुपर्छ। यो विज्ञान सम्बत कुरा हो भन्ने म ठान्छु। हाम्रो बाहिरी संसार हेर्ने आँखा छ। जसको सहायताले हामी भौतिक संसारलाई देख्न सक्छौँ। त्यसलाई बुझ्न सक्छौँ, त्यसलाई फेर्न सक्छौँ। विज्ञानले त्यो गरिरहेको छ।
तर, हामी आफैँलाई हेर्ने, बुझ्ने र फेरिने विज्ञान भनेको चाहीँ अध्यात्म नै हो। त्यो एक अर्कासँग जोडिनु पर्दछ।
म मूलतः भौतिकवादी, द्वन्द्ववादी हुँ। अध्यात्मको एउटा पक्ष विशेषतः ध्यान धेरै महत्वपूर्ण छ। त्यसलाई म आत्साथ गर्छु। ध्यानले स्वरुपान्तरणलाई मद्दत गर्छ भन्ने मेरो ठम्याइ छ।
त्यसकारणले पनि म योगमायाप्रति अलि बढी आकर्षित भएको हुँ। यही आकर्षणको कारणले मैले योगमायाको योगदान के रै’छ त भनेर बुझ्ने प्रयन्त गरेको हुँ।
अध्यात्मका कतिपय पक्षहरु अत्यन्तै वैज्ञानिक छन्। त्यसलाई हामी सबैले आत्मसाथ गर्नुपर्छ। जसले आफ्नो रुपान्तरण र सिंगै समाजको रुपान्तरणलाई योगदान पुर्याउन सक्छ भन्ने मेरो निस्कर्ष छ। त्यतिबेला माक्र्सले जे कुरा फेला पार्नु भएन, त्यसलाई हामीले पनि अस्वीकार गर्नुपर्छ भन्ने कुटमन्डुप विचारबाट हामी मुक्त हुनुपर्छ।
माक्र्सले फेला नपार्नु भएको विचार चाहीँ सत्य हुँदैन भन्ने छ र? माक्र्सले फेला नपार्नु भएको पक्षचाहीँ सत्य हुँदैन र? हुन्छ। माक्र्सले जे फेला पार्नु भएन, हामीले त्यो सत्य फेला पार्छौं भने त्यसलाई आत्मसाथ गर्नु पनि माक्र्सवाद नै हो।
यो कोणबाट हेर्दा पनि योगमाया अध्यात्मको क्षेत्रबाट तर, समग्र राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रको ऐतिहासिक परिवर्तन र रुपान्तरण प्रक्रियाको नेतृत्व गर्ने एउटा विद्रोही र क्रान्तिकारी व्यक्तित्व हुनुहुन्थ्यो, नेता हुनुहुन्थ्यो। उहाँलाई त्यस रुपमा नै बुझ्नु बस्तुवादी हुन्छ, भौतिकवाद सम्वत हुन्छ। योगमायाको योगदानलाई हामीले अझ विस्तारित गर्नु जरुरी छ।
उहाँको शिक्षा, उहाँको व्यक्तित्वका सम्पूर्ण पक्षको बारेमा हामीले खोज अनुसन्धान गर्नुपर्छ। र, आधिकारिक निष्कर्षमा पुग्नुपर्छ। अहिलेसम्म मोटामोटी रुपमा योगमाया उन्नत समाज सुधारक, परिवर्तनकारी व्यक्तित्व हो भन्नेसम्म स्थापित भएको छ। तर, ठ्याक्कै उहाँको इतिहास, उहाँको समग्र व्यक्तित्व र शिक्षा जस्ता सबै पाटापक्षको विषयमा आधिकारिक संश्लेषण गर्ने अनुसन्धानको आवश्यकता छ। त्यो खालको अनुसन्धानलाई हामीले अघि बढाउनु जरुरी छ।
त्यो अनुसन्धानलाई अघि बढाउनको निम्ति योगमाया फाउण्डेशनले अझ मेहनत गर्नुपर्छ। तर, यो गहन जिम्मेवारी राज्यले फाउण्डेशनलाई मात्र थोपर्नु हुँदैन। त्यसमा राज्य आफैँ लागि पर्नुपर्छ।
योगमाया नेपालको असाध्यै ठूलो प्रतिभा र स्मरणीय व्यक्तित्व हो। यसमा राज्यले नै अनुसन्धानका निम्ति चासो लिनुपर्छ। योगमायाको विषयमा आधिकारिक संश्लेषण गरेर नेपाली जनता र विश्वलाई पनि दिनुपर्छ। त्यसको निम्ति फाउण्डेशनको पहलकदमी जरुरी छ।
योगमाया आयुर्वेद विश्वविद्यालय स्थापना गर्ने निर्णय नेपाल सरकारले गरिसकेको छ। त्यो महत्वपूर्ण र ऐतिहासिक निर्णय हो। त्यो क्रियान्वयनको प्रक्रिया छिटो अघि बढाउनुपर्छ। शिक्षामन्त्रीसँग यस विषयमा मैले कुराकानी पनि गरिरहेको छु।
त्यसका लागि जहाँ समस्या छन्, सबै मिलेर समाधान गर्नुपर्छ। योगमाया विश्वविद्यालयलाई अरु कुनै कारणले रोक्नु हुँदैन। हामी सबै मिलेर सहमतिमा ठाउँ खोजी गर्नुपर्छ। त्यो ठाउँ अरुण उपत्यकामै हुनुपर्छ। योगमाया विश्वविद्यालय अरुण उपत्यकामै रहनेगरी यसको क्रियान्वयन प्रक्रिया अघि बढाउनुपर्छ।
नेपालको समग्र राजनीतिक, सामाजिक, सांस्कृति, आर्थिक परिवर्तनको प्रक्रियामा योगदान पुर्याउने महान नेता, कवि, समाज सुधारकका रुपमा हामीले योगमायालाई स्मरण गर्नुपर्छ। ७९ औँ स्मृति दिवसको अवसरमा उहाँप्रति हार्दिक श्रद्धासुमन।
(योगमायाको ७९ औँ स्मृति दिवसको अवसरमा योगमाया फाउण्डेशनद्वारा काठमाडौँमा आयोजित कार्यक्रममा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठद्वारा व्यक्त विचारको सम्पादित अंश)

प्रतिक्रिया