सन् १९७७ मा बनेको एउटा भारतीय चलचित्र छ– ‘चला मुरारी हिरो बनने।’
पैँतालीस वर्षपछि म आज असरानीले निर्देशन गरेको त्यो चलचित्रको नाम फेरि सम्झिरहेको छु। ऊ बेला एकादुई मुरारीहरू भारतका गाउँ–देहातहरूबाट चलचित्रको हिरो बन्न बम्बई छिर्थे। कतिपय मुरारीहरू हिरो बन्थे। बने पनि।
हिजो हिरो बनेका एकादुई मुरारीहरूका बाटा पछयाउँदै आज पनि भारतका गाउँ–देहातहरूबाट सयौँ मुरारीहरू हिरो बन्न मुम्बई छिर्छन्। र एकादुई मुरारीहरू हिरो बन्छन् पनि।
भारतीय चलचित्रमा एकादुई मुरारीहरू आउने र जाने क्रम आज पनि जारी छ। भारतीय चलचित्रको मूल चरित्र भने आज पनि उही छ। मुरारीहरूले भारतीय समाज र चलचित्रको चरित्रमा आजसम्म खासै परिवर्तन ल्याउन सकेको मलाई थाहा छैन।
मुरारीहरू, ती आए पनि ठिकै छ, ती गए पनि ठिकै छ। किनकि मुरारीहरू निश्चित चेत, आदर्श र सिद्धान्तभन्दा पनि मौकाका बढी उपज हुन्। मौका, भनेको समय हो। समय भनेको लहर हो। खासमा मुरारीहरू पनि आफै मुरारी भएका होइनन्।
चलचित्रमा मुरारीलाई मुरारी बनाउने कथाले हो, निर्देशकले हो। ‘चला मुरारी हिरो बनने’मा निर्देशक असरानीले मुरारी बनाएका हुन्।
कहाँ सधैँ भारतले असरानी, सत्यजीत रे, श्याम बेनेगल, गुरु दत्त, ऋषिकेश मुखर्जी, मीरा नायर वा राजकुमार हिरानीजस्ता निर्देशकहरू (यहाँ नाम लिइएकामध्ये मेरो दृष्टिमा असरानी सबैभन्दा कमजोर निर्देशक हुन्) पाएको छ र? पाएको छैन। पाउँदैन।
यसैले हिरो बन्न हिँडेका सबै मुरारीहरू हिरो भएका छैनन्। बनेकै एकादुई हिरोहरू पनि सधैँ हिरो रहेका छैनन्। खासमा मुरारीहरू त निर्देशकहरूका सिर्फ सह–उत्पादनहरू हुन्। सह–उत्पादनप्रति मेरो खासै रुचि छैन।
तै, चलचित्रहरूमा कथाका कारण वा निर्देशकका कारण बेलाबेलामा झुल्कने मुरारीहरू हेर्नका लागि रमाइलै हुन्छन्। कतै मनका कुनामा चलचित्रका ती मुरारीहरूप्रति मेरो आदरभाव नै छ। चलचित्रमा हिरो बन्न हिँडेका मुरारीहरूप्रति मलाई यहाँभन्दा केही भन्नु छैन।
खास भन्नु अब छ।
भन्नु के छ भने– मुरारीहरू आज देशका र राजनीतिका पनि हिरो बन्न हिँडेका छन्। ती मुरारीहरूले आज देशलाई थिएटर र राजनीतिलाई चलचित्र ठानेका छन्।
देश न थिएटर हो, न राजनीतिक चलचित्र।
देशलाई थिएटर र राजनीतिलाई चलचित्र ठान्ने मुरारीहरूको आजको नेपालमा ओइरो छ।
नाम कति लिऊँ? लिन्नँ।
जो आज यो पढिरहनु भएको छ, तपाईंहरू मभन्दा बढ्ता चिन्नुहुन्छ– ती मुरारीहरूलाई। ती मुरारीहरूले चलचित्रमा जस्तो एकादुई ‘हिट’ देलान् पनि। त्यस्ता एकादुई ‘हिट’प्रति मेरो खासै रुचि छैन।
मेरो रुचि त ती मुरारीहरूले चलचित्रको मूल चरित्रमा कति फरक पार्न सके, सकेनन् वा पार्न सक्छन्, सक्दैनन् भन्नेमा छ। यसतर्फ नेपाली समाज, बुद्धिजीवी भनाउँदाहरू र मिडियावालाहरूको उत्तिसारो रुचि छैन। नेपाली मनोविज्ञान अलि अर्कै छ। असाध्यै सतही।
मेरा एकजना प्रिय लेखक/चिन्तक/विश्लेषक विष्णु सापकोटाले एउटा पछिल्लो अन्तर्वार्तामा भनेको सुनेको थिएँ– ‘नेपाली समाजलाई कुनै कुरा मन पराउन वा मन नपराउन कुनै खास कारण चाहिँदैन।’
सापकोटा सही भनिरहेका छन्।
आजको औसत नेपालीको चिन्तनको धरातल असाध्यै कमजोर छ। यति कमजोर कि, एउटा भाषणको, एउटा वक्तव्यको, एउटा पोस्टको सानो हावाले पनि आजको नेपालीको चिन्तन वा सोचलाई एक रातमै उडाइदिन्छ। के कुरा गरिरहेको छु र किन गरिरहेको छु भन्ने कुराको गहिरो चेत औसत नेपाली समाजले मात्र होइन, समाजलाई नेतृत्व वा दिशा दिन्छु भन्ने राजनीतिकर्मी र मिडियाले पनि गुमाउँदै गइरहेको छ।
यति कमजोर र सतही नेपाली समाज र मनोविज्ञानले आज कसैलाई के बनायो? के बनाउँछ? मेरो दृष्टिमा यसको कुनै अर्थ छैन। अर्थ छैन मात्र होइन, यो डरलाग्दो छ।
यस्तै कमजोर, सतही मनोविज्ञान र चेतको फाइदा उठाउँदै आज नेपाली समाजमा र राजनीतिमा मुरारीहरूको हिरो बन्ने दौड छ। यो दौडमा दुईदुईपटक राष्ट्रपति भइसकेकी विद्या भण्डारी समेत किन सामेल हुन हिँडिन्, म आश्चर्यमा छु।
दुईदुईपटक राष्ट्रपति भइसकेकी सम्मानित व्यक्तित्वलाई मुरारीको तहमा झारेर टिप्पणी गरिरहँदा म सजिलो मानिरहेको छैन। मलाई राम्ररी हेक्का छ– म हल्का टिप्पणी गरिरहेको छु। उनी मुरारी होइनन्। मुरारी बन्ने उनको समय पनि होइन। दुईपटक राष्ट्रपति भएको मान्छे, एउटा चलचित्रमा हिरो बन्न हिँडेको मुरारीजस्तो झन् हुँदै होइनन्।
यति हेक्का हुँदा हुँदै पनि उनीमाथि हल्का टिप्पणी गर्नुको कारण र अर्थ छ।
कारण उनै हुन्, अर्थ अरु पनि छन्।
यो हालतमा विद्या भण्डारीले आफूलाई किन पुर्याइन्? के यसमा उनको व्यक्तिगत महत्वाकांक्षा मात्रैले काम गरेको छ?
लौ, उनलाई अहिले निष्क्रिय बस्न मन लागेन, एमालेको सदस्य/अध्यक्ष भएर हुने उनको सक्रियताले देशलाई ठूलै लाभ हुन्छ भन्ने विश्वास उनलाई कसले दिलायो? वा उनमा त्यो भ्रम कहाँबाट उत्पन्न भयो?
हुनसक्छ कोही एमालेभित्र ओली शैलीबाट आजित भएको होस्। र, उसले विद्यालाई उचित पात्र ठानेको होस्। के आजको नेपाली समाज र जनताले खोजेको साँच्चिकै पात्र उनी हुन्?
विद्याले एमालेभित्रको मनोविज्ञानको मात्रै हिसाब गरिन् कि आजको नेपाली समाज र जनताको पनि?
वा यसो हो– विद्या भण्डारीको महत्वकांक्षालाई चीनले मलजल गरिदिएको छ। नेपाली सेनाले पनि उनलाई खास कारणवश ‘कम्फर्ट जोन’मा राख्छ। र, भारतलाई नेपालमा जति खेलाडी बढी भयो, त्यति फाइदा छ?
यस्ता अनेकौँ प्रश्नहरूको जवाफ अनुत्तरित छन्।
नेपाली विश्लेषक र मिडिया भने अन्यत्रै भड्किएका छन्। जुन दिन उनको सदस्यता नवीकरण भइसकेको उनैले सार्वजनिक गरिन्, त्यो दिन र त्यसपछिका केही दिनसम्म नेपाली विश्लेषक र केही मिडियावालाहरू बहस चलाइरहेका थिए– राष्ट्रपति भइसकेको व्यक्ति कुनै पार्टीको सदस्य हुनु ठिक होइन।
जुन दिन एमालेले उनको सदस्यता नवीकरण नगर्ने निर्णय गर्यो, त्यसदिन यता कतिपय पण्डित र मिडियावालाहरू चिच्याइरहेका छन्– एमालेले निषेधको राजनीति गर्यो।
यति अस्पष्ट पण्डित र मिडियावालाको अस्तित्व नेपालमा मात्रै सम्भव छ।
प्रथम दृष्टिमा नै कुरा के हो भने– धुन्धान विशेषता र असाधारण परिस्थितिबाहेक विद्या भण्डारीले आज एमालेको राजनीतिमा प्रवेश गर्छु भन्नु सोह्रै आना बेकार हो। दुईपटक राष्ट्रपति हुनु सामान्य कुरा होइन, भलै भण्डारी ओलीको जोडबल वा कृपाले राष्ट्रपति भएकी होऊन्। जसरी राष्ट्रपति भए पनि भण्डारीले त्यसको गरिमालाई धान्न सकिनन्।
जतिबेला विद्या भण्डारी नेपालको राष्ट्रपति बनिन्, त्यतिबेलै मलाई लागेको थियो– उनले यो धान्न सक्दिनन्। विद्या भण्डारी राष्ट्रपति र ओनसरी घर्ती सभामुख बनेपछि सन् २०१५ को नोभेम्बरको पहिलो सातातिर मैले सेतोपाटीमा एउटा लेख लेखेको थिएँ, शीर्षक थियो– हल्का बनाइँदै गरिमामय पदहरू। आज फेरि त्यो लेख खोजेर आफैँले पढेँ। दश वर्षअघि लेखेको रहेछु–
‘विशिष्ट पदहरूलाई ‘हल्का’ बनाउने काम उपप्रधानमन्त्री र मन्त्रीमा मात्र सीमित छैन, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख उपसभामुख जस्ता गरिमामय पदहरूमा पनि यो रोगको लक्षण देखिएको छ। ती गरिमामय पदलाई सामान्य ‘एडजस्टमेन्ट’को विषय बनाइएको छ। ती गरिमामय पदलाई पार्टी राजनीतिको आन्तरिक समीकरणको विषय बनाइएको छ। के ती गरिमामय पदहरू त्यसैका लागि हुन्? के ती विशिष्ट पदमा कुनै विशिष्टताको जरुरी पर्दैन? कुनै विशिष्टताबिना कसैलाई कुनै पद सुम्पने राजनीतिक परम्पराले पद पाउने व्यक्तिलाई त फाइदा गर्ला, देशलाई फाइदा गर्दैन। कुनै खास क्षेत्रमा जनतालाई प्रभाव पार्नेगरी काम नगरेका औसत व्यक्तिहरूलाई ठूला पद बाँड्नु देशलाई सधैँ जोखिममा राख्नु हो... राष्ट्रपति र सभामुखजस्ता सर्वोच्च पदमा सामान्य महिला पुगेपछि एकथरी गर्व गरिरहेका छन्। यसलाई लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष भनिरहेका छन्। कतिपयलाई त विकसित देशमा समेत नभएको चिज नेपालमा भएकोमा हर्ष लागेको छ।
के त्यसै हो त? अमेरिकामा अहिलेसम्म महिला राष्ट्रपति छैनन्, नेपालमा महिला राष्ट्रपति भइन्, यसैले नेपाल अमेरिकाभन्दा विकसित र लैंगिक समानतामा अगाडि छ? अहँ, छैन... हो, राष्ट्रपति आलंकारिक पद हो। तर ऐन मौकामा उनै राष्ट्रपतिले देशको बिशिष्ठता पनि झल्काउनु पर्ने हुन्छ राष्ट्रिय अन्तर्राष्ट्रिय मञ्चहरूमा। उनले बोलेका वाक्यहरू देशका होर्डिङ बोर्डहरूमा टाँसिनलायक हुनुपर्छ। उनी बोल्दा बच्चाहरूले कान ठाडा पार्ने हुनुपर्छ। अनि पो गौरव बढ्छ त ती पदहरूको। ...अग्ला ठाउँमा होचा मान्छे।’
ऊ बेला लेखेको कुरा आज झन् हो कि झैँ भएको छ।
राष्ट्रपति भण्डारी यति होची होलिन् भन्ने सोचेको थिइनँ, जति आज देखिँदै छन्। ओनसरी घर्ती त आज कहाँ छन्, थाहा छैन।
राष्ट्रपति भण्डारीको एमालेको सदस्यता नवीकरण भयो वा भएन, गर्नु पर्थ्यो वा पर्थेन, मेरो दृष्टिमा यो खासमा बहसको विषय नै होइन। नेपाली मिडिया र कतिपय विश्लेषकहरू एमालेले भण्डारीको पार्टी सदस्यता नवीकरण नगरेकोमा नेतृत्वमाथि प्रश्नहरू गरिरहेका छन्। मेरो दृष्टिमा सोधिनु पर्ने प्रश्नहरू अर्कै छन्।
सोधिनु पर्थ्यो– के आजको नेपाल अब विद्या भण्डारीलाई पर्खेर बसिरहेको छ?
के आजको नेपाली समाज र राजनीतिले विद्या आऊ, देश बचाऊ भनिरहेको छ?
के विद्या त्यस्तो धुन्धान प्रभावशाली, ‘बोल्ड’ र समाजलाई हल्लाउने ताकत राख्ने ‘लेडी’ हुन्, जसलाई आजको नेपालले खोजिरहेको छ?
के विद्याका भिजन, बौद्धिकता र सक्रियता देखेर नेपाली समाज हुरुक्क छ?
के विद्यामा त्यस्तो विद्या वा पेसागत दक्षता छ, जसका कारण देश दुनियाँ हायलकायल छ?
यी पाँचमध्ये कुनै एक प्रश्नको मात्र पनि जवाफ ‘छ’ भन्ने आउँछ भने विद्यालाई किस्तीमा राखेर सदस्यता नवीकरण मात्र होइन, अध्यक्ष पद नै दिए हुन्छ। होइन भने, विद्यालाई एमालेले मात्र होइन, नेपाली समाजले नै अब फेरि सक्रिय राजनीतिक नेतृत्वमा किन स्वीकार गर्ने?
कथं भण्डारी राजनीतिमा आइनन् र एमालेको अध्यक्ष हुँदै प्रधानमन्त्री भइनन् भने घाटा कसैलाई छैन– विद्या भण्डारी ओलीपछिको प्रधानमन्त्री हुन् भनेर भविष्यवाणी ठोक्ने सौरभ नामका विश्लेषक र मसँगै सौरभले यसो भनेका हुन् भनेर पटकपटक रमाइरहने टीकाराम यात्रीलाई बाहेक।
जे राजनीतिक स्वार्थका कारणले एमालेले विद्यालाई ‘रिजेक्ट’ गर्यो, ठिकै गर्यो। एमालेले बुद्धि पुर्यायो। अब बुद्धि पुर्याउने पालो पूर्वराष्ट्रपति विद्या भण्डारीको।
माथि जेजति भने पनि आदरपूर्वक राष्ट्रपति विद्या भण्डारीलाई टाढाबाट मेरो आग्रह छ– कृपया तपाईं जिद्दी नगर्नुस्। लौ मानौँ, एमालेले तपाईंको सदस्यता नवीकरण नै गर्यो, त्यहाँ तपाईं सदस्य हुनु भयो, अध्यक्ष नै हात पार्नु भयो, तर जनताले ‘रिजेक्ट’ गरे भने?
आजसम्म त एमालेले सदस्यता मात्रै ‘रिजेक्ट’ गरेको छ, जनताले तपाईंलाई ‘रिजेक्ट’ गरे भने दुईदुईपटक राष्ट्रपति भएको गरिमा कहाँ पुग्छ? बरु अघि सार्नुस् न अरु कसैलाई, जसलाई आजको नेपालले खोजिरहेको छ। आफैँलाई दाउमा नराख्नुस्, तपाईं हार्दा मर्यादा, गरिमा, मूल्य–मान्यता हार्छ। तपाईंले जित्ने सायद अब ठाउँ छैन पनि। कृपया जिद्दी नगर्नुस्। माथि मैले उल्लेख गरेका पाँच प्रश्नहरूको जवाफ ‘छ’ आउँछ आउँदैन, त्यो पनि ध्यान दिनुस् है।
(लेखक/पत्रकार सन्जय घिमिरे अमेरिकाको टेक्सासमा बसोबास गर्छन्। उनका थप लेख यो पेजमा पढ्न सकिन्छ।)
Shares

प्रतिक्रिया