विचार


गगनमा छ देशलाई ट्रयाकमा ल्याउन सक्ने ताकत, कांग्रेसलाई बहुमत दिऊँ

गगनमा छ देशलाई ट्रयाकमा ल्याउन सक्ने ताकत, कांग्रेसलाई बहुमत दिऊँ

सन्जय घिमिरे
फागुन १२, २०८२ मंगलबार २१:३०, टेक्सस, अमेरिका

नेपालमा हुन लागेको चुनावकेन्द्रित यो मेरो दोस्रो लेख हो।

प्रचार–प्रसारका क्रममा देखिएका अनेक रूप–रङ, लहड, लहर र सिद्धान्तविहीन राम–रमाइलाहरू देखेर यसअघि मैले प्रश्नसहित लेखेको थिएँ– नेपाल जाँदैछ कहाँ?

यो प्रश्न र सम्भावित निराशाजनक जवाफको डर आज पनि छँदैछ। त्यो डरकाबीच आज म फेरि चुनावकेन्द्रित यो दोस्रो लेख लेख्दैछु, जहाँ उस्तै अर्को प्रश्नमाथि तपाईंहरूसँग सिधा र एकोहोरो संवाद गर्नेछु।

प्रश्न छ– नेपाल जानु पर्छ कहाँ?

मेरो विचारमा यो आजको नेपालका लागि झनै महत्वपूर्ण प्रश्न हो। महत्वपूर्ण यसकारण कि, जता जाँदा अलि बढी राम्रो हुन्छ, कम जोखिम हुन्छ, त्यतै लैजाने सही समय फागुन २१ हो। त्यो समय चुक्यो भने नेपालले फेरि पाँच वर्ष उस्तै अराजकता, अनिश्चय र अस्थिरताको समय बेहोर्नु पर्नेछ, जुन सम्भावना म बढ्ता देखिरहेको छु।

त्यसो नहोस्, यसैले म सकेसम्म इमानदार भएर यो लेख लेख्दैछु।

त्यसो नहुन दिन के गर्नुपर्छ?

पहिले त, सही–सलामत चुनाव हुनुपर्छ, जुन अझै शंकामा छ। चुनाव भएर मात्र पनि हुँदैन, त्यसले कुनै एक दललाई सरकार बनाउन सक्ने गरी सुविधाजनक बहुमत पनि दिनुपर्छ।

सोध्नु वा सोच्नुहोला– त्यस्तो सुविधाजनक बहुमत कुन दललाई दिने? कसलाई दिँदा भविष्यमा कम जोखिम हुन्छ?

एकैछिन पर्खनुहोस्, यो म अलि पछि भन्नेछु। पहिला म किन कुनै एक दललाई सरकार बनाउने सुविधाजनक मत दिनुपर्छ भनिरहेको छु, यो प्रस्ट पार्नेछु। त्यसपछि कुन दलले सरकार बनाउने सुविधाजनक बहुमत पाउँदा देश आगामी पाँच वर्ष कम जोखिममा पर्नेछ, त्यो भन्नेछु।

पहिला कुरा सुरु गरौँ– किन कुनै एक दललाई सरकार बनाउने सुविधासहितको मत दिन आवश्यक छ?

किनकि, कुनै एक दलले सरकार बनाउने सुविधाजनक बहुमत पाएन भने यो चुनावको कुनै अर्थ रहनेछैन। अर्थ किन रहनेछैन भने, कुनै एक दलले सरकार बनाउने सुविधाजनक बहुमत नपाएको खण्डमा दुई वा त्यो भन्दा बढी दलहरू मिलेर सरकार बनाउनु पर्ने हुन्छ। त्यो अवस्थामा कुन दलले कुन दलसँग मिलेर सरकार बनाउने? प्रधानमन्त्री को बन्ने? फेरि उस्तै जटिल अवस्था आइलाग्ने छ। भदौ २३/२४ को हिसाब–किताबमा सुरुमा नै गडबड हुन थाल्नेछ।

मान्नुहोस् यस्तो भयो– नेपाली कांग्रेस पहिलो ठूलो दल, राष्ट्रिय स्वतन्त्र पार्टी दोस्रो, नेकपा एमाले तेस्रो, नेपाली कम्युनिस्ट पार्टी चौथो, त्यसपछि अरू। यस्तो भयो भने कसले कोसँग मिलेर सरकार बनाउने? जसले जोसँग मिलेर बनाए पनि त्यो सरकार भदौ २३/२४ को भन्दा फरक हुन सक्ने छैन। यो चुनावको कुनै अर्थ रहने छैन।

केही दृश्यहरू हेरौँ है त?

दृश्य एक– नेपाली कांग्रेस र रास्वपाको सरकार।

यो सरकार यसै पनि सहज हुनेछैन। किनकि फेरि उही कथा दोहोरिनेछ, पहिलो र दोस्रो दलको सरकार। उस्तै अस्वाभाविक सुनिनेछ, जस्तो भदौ २३/२४ अघि कांग्रेस र एमालेको सरकार हुँदा सुनिएको थियो।

सुन्ने र देखिने कुरा आफ्नै ठाउँमा छ, यो यस्तो सरकार हुनेछ जहाँ डढ्ने र डढाउनेहरू एकै ठाउँमा हुनेछन्। पोलिएका घाउहरू निको नहुँदै आगोको संगतमा नेपाली कांग्रेस जाओस् कसरी? आफूलाई आगो ठान्ने वा आगोको स्वामित्व लिएको रास्वपा पनि उसले ठानेको खरानीसँग मिल्न यत्ति छिट्टै जाओस् कसरी?

लौ, दुवैले लाज पचाए, संवैधानिक बाध्यताको तर्क गरे। र, सरकार बनाए। के त्यो सरकारले आजको लहड र लहरले गरेको अपेक्षा पूरा गर्न सक्छ?

अहँ, सक्दैन।

यसको अलि बढी व्याख्या म त्यतिबेला गरौँला, जतिबेला त्यो परिस्थिति आइलाग्ला।

अब दृश्य दुई– रास्वपा र एमालेको सरकार।

आजको दिनसम्म यो कतैबाट म सहज र सम्भव देख्दिनँ। सहज र सम्भव यसकारण देख्दिनँ, भदौ २३/२४ मा सबैभन्दा बढी पोलिएको वा डढेको कोही हो भने एमाले हो। असाध्यै डढ्ने र सकेजति डढाउन खोज्नेहरूको स्वामित्व लिने, यत्ति छिट्टै मिल्लान्? मलाई लाग्दैन। मिल्नु पनि हुँदैन। एमाले त आज पनि आफ्नै शरीरमा लागेको आगोको उपचारको क्रममा नै छ।

आगोका नायक बालेन त्यहाँ नभएको भए सायद कुरा अलि नरम हुन्थ्यो पनि होला। तर एमाले र बालेनसहितको रास्वपाबीचको कुरा असाध्यै गरम छ। गरम हुँदाहुँदै पनि कथं यी मिले भने यो चुनावको कुनै अर्थ नहुनेगरी दुवै पग्लिनेछन्। सक्किइगयो। यो चुनावको अर्थ रहने कुनै कुरा बाँकी रहने छैन।

अब दृश्य तीन– रास्वपा, नेपाली कम्युनिस्ट पार्टी र तराईतिरका एक–दुई पार्टीहरूको सरकार। यसो हुनलाई अलि गाह्रो छ। भइहाल्यो भने यो झन् ‘डिजास्टर’ हुनेछ। ‘डिजास्टर’ यसकारण कि त्यहाँ फेरि प्रचण्डले आफूलाई झन् जादुगर ठान्नेछन्। र, फेरि नेपालमा उसैगरी जादुमय नम्बरको चक्कर चल्नेछ। यो चुनाव झन् बेकार हुनेछ।

अब दृश्य चार– नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी र तराईतिरका केही पार्टीहरू मिलेर बनेको सरकार। 

यस्तो सरकार अलि सहज जस्तो देखिन वा सुनिन त सक्छ तर यो पनि त्यति सहज र सम्भव देखिँदैन। सम्भव भए पनि, पार लाउने खालको सरकार हुनेछैन। यसकारण हुनेछैन कि न प्रचण्डको भर, न तराईवाला पार्टीहरूको। त्यसमाथि नेपाली कांग्रेसका सभापति गगन थापा र नेपाली कम्युनिस्ट पार्टीका प्रचण्ड एउटै चरित्रका मान्छे होइनन्। गगनले प्रचण्डसँग सोचे–सम्झेरै दूरी बढाइरहेका छन्। बढाइसकेका छन्।

अब दृश्य पाँच– फेरि उही नेपाली कांग्रेस र एमालेको सरकार।

यसो हुनु थियो भने त्यत्रो ताण्डव केका लागि? फेरि देश त्यहीँ फर्कनेछ, जहाँ भदौ २३/२४ अघि थियो। यो चुनाव– समय, पैसा र विश्वासको सत्यानाश हुनेछ। नयाँ र पुस्ताका नाममा आगो सल्काउने र तिनलाई ‘ग्लोरिफाइ’ गर्नेहरू हेरेको हेर्‍यै हुनेछन्। परिवर्तनको चाहना राख्ने समाज पनि हेरेको हेर्‍यै हुनेछ।

दृश्य छ– एमाले, नेपाली कम्युनिस्ट पार्टी र बाँकी साना पार्टीहरू मिलेर बनेको सरकार।

यिनले बहुमत पाउने सम्भावना असाध्यै न्यून छ। असाध्यै न्यून सम्भावना भएकोले यस्तो सरकार बन्ने जोखिमको कुरा गर्नै परेन।

सम्भावित दृश्यहरू जम्माजम्मी यिनै हुन्।

माथि मैले जे–जस्ता दृश्यहरू तपाईंहरूलाई देखाएँ, तीमध्ये कुनै एक हुनु थियो भने भदौ २३/२४ को विध्वंसको कुनै अर्थ रहनेछैन। ती जुनसुकै दृश्य प्रकट भए पनि भदौ २३/२४ को विध्वंस बेकार हुनेछ। हुनेछ यत्ति मात्र– गएको संविधान, आउनेछ। लेखक, पत्रकार नारायण वाग्लेले कुनै किताबमा एउटा वाक्य लेखेका थिए, ‘आएको थियो, गयो भन्दिनू।’ यसमा अलिक ट्विस्ट हुनेछ– गएको (संविधान) थियो, आयो भन्दिनू।

बाँकी त फेरि पनि गालामा हात।

यसैले म भनिरहेको छु– तपाईं नेपाली मतदाता देशप्रति साँच्चिकै संवेदनशील हुनुहुन्छ भने यसपटक कुनै एक दललाई सरकार बनाउने सुविधासहितको बहुमत दिनुहोस्।

बहुमत कसलाई दिने? हो, गाँठी कुरा यसैमा छ।

यो गाँठी कुराको गुत्थी खोल्दै आजका दिनमा बिना कुनै आग्रह वा पूर्वाग्रह म तपाईं नेपाली मतदाताहरूलाई भन्न चाहन्छु– यसपटक गगन थापाले नेतृत्व गरेको नेपाली कांग्रेसलाई सरकार बनाउने सुविधासहितको बहुमत दिनुहोस्।

म यो यसै भनिरहेको छैन। कतिपयलाई लाग्ला, म कांग्रेसको मान्छे भएर यसो भनिरहेको छु। होइन, बिल्कुलै होइन। यसो भन्नुका पछाडि अनेक सैद्धान्तिक, राजनीतिक, सामाजिक र व्यावहारिक कारणहरू छन्। कारणहरूमा प्रवेश गर्नुअघि आज बहुमतको दाबी गर्ने वा चाहना राख्ने कांग्रेसबाहेक अरू पार्टीहरूको केही कुरा गरौँ।

नेकपा एमाले।

म धेरै व्याख्या गर्दिनँ, यत्ति भन्छु– विभिन्न कारणले आजको दिनमा एमाले सुविधाजनक बहुमत ल्याउने ठाउँमा कतैबाट पनि देखिँदैन। एमालेजनले अन्यथा नलिनुहोला। अध्यक्ष केपी शर्मा ओलीको अहिलेको इमेज, कार्यकर्ताबाहेक आमजनमा एमालेप्रति उत्पन्न उदासीनता, महाधिवेशनपछि एमालेभित्रै प्रकट भएको एकखालको असन्तुष्टि र टिकट वितरणमा देखा परेका गुनासाहरूका कारण एमाले आजका दिनमा सुविधाजनक बहुमत ल्याउन सक्ने ठाउँमा छैन। जसको सम्भावना नै कम छ, त्यसलाई बहुमत दिनुहोस् म कसरी भनूँ?

नेपाली कम्युनिस्ट पार्टी।

यो पार्टी माओवादीबाट तल झरेको, एमालेबाट पनि तल झरेको पार्टी हो। आजको दिनमा यो पार्टीको कुनै छुट्टै पहिचान नै बनेको छैन। विचार, साख र प्रभाव सबै दृष्टिले यो पार्टी दिनप्रतिदिन खिइँदो छ। यस्तो खिइँदो पार्टीलाई कसरी म बहुमत दिनुहोस् भनूँ?

अरूहरूको त के कुरा गर्नु?

बाँकी रहे नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी, जो ठूलो दल वा बहुमतका लागि सम्भावित पार्टीहरू हुन् आजको दिनमा। ग्राउन्ड जिरोमा के छ, मलाई ठ्याक्कै थाहा छैन तर यी दुवै दलले आजको दिनमा बहुमत वा ठूलो दल बन्ने स्वाभाविक दाबी गरिरहेका छन्।

दलका दाबी जे–जस्ता भए पनि सोच्नुपर्ने मतदाताहरूले हो। कतिपय, लहड र लहरलाई देखेर रास्वपाले बहुमत ल्याउँछ भन्छन्।

कुरा ल्याउँछको होइन, ल्याउन हुन्छ कि हुँदैन भन्ने हो। देश, समाज, समय, राजनीति र भूगोललाई ध्यानमा राखेर भन्दा रास्वपालाई बहुमत दिने समय भएकै छैन।

घडीको सुई घुमाउँदैमा समय छिटो चल्दैन। एक घण्टा हुनलाई साठी मिनेट पर्खनै पर्छ। समय नपुगी रास्वपाले बहुमत ल्याउँदाका धेरै जोखिम छन्।

जोखिम यसकारण कि–

–यो अझै कच्चा छ।

–आजका दिनसम्म रास्वपा व्यक्तिको, व्यक्तिद्वारा, व्यक्तिका लागि बनेको दल हो।

–आजका दिनसम्म यो व्यक्तिहरूको जमघट हो, दल होइन।

–आजका दिनसम्म यो पार्टीको मियो सिद्धान्त होइन, व्यक्ति हो।

–आजका दिनसम्म यो आक्रोशको थुप्रो हो, आस्थाको पुञ्ज होइन।

–आजका दिनसम्म दार्शनिक, सैद्धान्तिक रूपमा यो दललाई विश्वले चिन्दैन।

–प्रधानमन्त्रीका रूपमा प्रस्तावित पात्रले आजसम्म आफ्नै उम्मेदवारहरू नै राम्ररी चिनेका छैनन्। यी पात्र केही समयका लागि सापटी लिइएका जस्ता छन्। यी कति त्यहाँ टिक्छन्? गएको दिनदेखि नै प्रश्न छ।

–आजका दिनसम्म त्यहाँ यस्ता मान्छेहरूको बढी जमघट छ, जसले हिरो बन्न नयाँ कथा र प्लाटफर्म खोजिरहेका थिए। यो उनीहरूको गल्ती हुँदै हुँदैन। कोही हिरो बन्न वा ‘बन्छु’ भन्न नपाउने? पाउने नि, किन नपाउने? गल्ती मतदाताहरूले गर्नु हुँदैन– हरेक ‘मुरारी’हरूलाई हिरो बनाएर। त्यसमाथि देश कथा र राजनीति स्क्रिप्ट होइन।

–आजका दिनसम्म यो दल ‘सेलेब्रिटी मोड’मै छ। ‘सेलेब्रिटी मोड’बाट राजनीतिक मोडमा आउन दिनुहोस्। रास्वपालाई सरकार बनाउने गरी मत दिनु आजको दिनमा मेरो दृष्टिमा राजनीतिक र कूटनीतिक दृष्टिले सबैभन्दा बढी जोखिम हो। 

कथं रास्वपाले बहुमत पायो भने के हुनेछ?

–राजनीति, कूटनीति र अनुभवका दृष्टिले अलि कच्चा बालेन शाहले सरकारको नेतृत्व गर्नेछन्।

–रास्वपाभित्रै ‘बालेनको सरकार कि रास्वपाको सरकार’ भन्ने विवाद पैदा हुनेछ।

–मौका छोपेर त्यसका विरुद्ध नेपाली कांग्रेस, एमाले जस्ता शक्तिहरू एक हुनेछन्। यसैगरी खान दिने छैनन्।

–राजसंस्थावादीहरू सजिलै बलिया हुनेछन्। किनकि तपाईंहरूले कत्तिको ख्याल गर्नुभएको छ, रास्वपाले आजसम्म नेपालको लोकतान्त्रिक संविधानको स्वामित्व लिएको छैन। उसले भनेको यत्ति मात्र छ– ‘देशमा विद्यमान संविधान मानेर चल्छौँ।’ गणतन्त्रको स्वामित्व नलिएको दल सरकारमा आउँदा त्यसका विरुद्ध लड्न राजावादीहरूलाई सजिलो हुनेछ। गणतन्त्रको स्वामित्व लिनेहरू कमजोर हुँदा, त्यहाँ ठूलो स्पेस खाली हुनेछ, जहाँ ठूलो राजनीतिक भ्वाङ पर्न सक्नेछ।

–भूराजनीतिक छालहरू तीव्र हुनेछन्।

–अन्तर्राष्ट्रिय विषयहरूमा गरिने अधिकांश निर्णयहरू विवादमा पर्नेछन्।

–समाजमा सिद्धान्तको पछि होइन, व्यक्तिको पछि लाग्ने मनोविज्ञान विकसित हुनेछ।

–आक्रोश र प्रतिक्रियात्मक अभिव्यक्तिले बढ्ता ठाउँ पाउनेछ।

–आगोको बढ्ता र पानीको कम मूल्य हुनेछ।

–पवनको होइन, हुरीको महत्व बढ्नेछ।

–देश फेरि प्रयोगशाला हुनेछ।

यसैले रास्वपालाई ‘एक पटक हेरौँ’ भनेर देशलाई फेरि पाँच वर्ष प्रयोगशाला बनाउने गल्ती नगर्नुहोस्। रास्वपालाई भन्नुहोस्– ‘तिमीहरू पाँच वर्ष पर्ख, हेर, सिद्धान्त, राजनीति, अनुभव र अभ्यासका दृष्टिले परिपक्व होऊ।’

लामो इतिहास नभएको, सिद्धान्तका दृष्टिले कुनै ठोस धार नभएको, राज्य सञ्चालनमा त्यति अनुभव नभएको, अन्तर्राष्ट्रिय जगतले पत्याइहाल्न नसक्ने दलले छिट्टै उदाएर, चुनाव जितेर देशमा धुन्धान गरेको दुनियाँमा कहीँ पनि छैन।

यस्तो हुँदैन। जुन भएको छैन, हुन पनि सक्दैन, त्यो हुन्छ भनेर कृपया भ्रममा नपर्नुहोस्।

देश, काल, परिस्थिति सबै विचार गर्दा गगनले नेतृत्व गरेको नेपाली कांग्रेसलाई बहुमत दिनु आजको दिनमा सबैभन्दा कम जोखिम विकल्प हो। म यो यसकारण भनिरहेको छैन कि म कांग्रेसको नजिक छु। म यसकारण भनिरहेको छैन कि कांग्रेसबाहेक अरू दलप्रति मेरा समस्याहरू छन्।

मलाई गाली गर्नुहोस्, जे भन्नुहोस्। लोकतन्त्र दह्रोसँग उभिइसकेको भए, राज्यका संयन्त्रहरू बलिया भइसकेका भए, अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीति एउटा लयमा बसिसकेको भए, भूराजनीतिक जटिलताहरू नभएका भए, म पनि यो बेला भन्ने थिएँ– ‘लौ, एक पटक नयाँलाई चान्स दिऊँ।’

लोकतन्त्र अझै दह्रोसँग नउभिएको, राज्यका संयन्त्रहरू बलिया नभएको, अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिले लय पकड्न नसकेको, भूराजनीतिक जटिलता बढ्दै गएको यो समयमा कुनै कच्चा नयाँ दललाई जिताउनु दोब्बर जोखिम मोल्नु हो। त्यसमाथि प्रस्तावित प्रधानमन्त्री झन् कच्चा छन्।

अब यो पनि भनिहालौँ– कांग्रेसले बहुमत पायो भने के हुन्छ?

–गगनको नेतृत्वमा सरकार बन्छ।

–संविधान पूरा ट्रयाकमा आउनेछ।

–केही समय नेपालको राजनीतिमा शान्ति छाउनेछ।

–गणतन्त्र विरोधीहरू हतोत्साहित हुनेछन्।

–भूराजनीतिक छालहरू अलि सुस्त हुनेछन्।

–अन्तर्राष्ट्रिय जगतबाट सजिलै सरकारले विश्वास आर्जन गर्नेछ।

–परिवर्तनको दबाबबीच बनेको सरकारले परिवर्तनलाई सम्बोधन गर्ने खालका केही कामहरू गर्नेछ।

–सैद्धान्तिक र नीतिगत बहसहरूले ठाउँ र समय पाउनेछन्।

–रास्वपालाई परिपक्व हुने र अरू दलहरूलाई सुध्रिने पर्याप्त अवसर मिल्नेछ।

शेरबहादुर देउवा नेपाली कांग्रेसका सभापति रहिरहेको भए आजको दिनमा म तपाईंहरूलाई कदापि यो भन्ने थिइनँ– कांग्रेसलाई बहुमत दिनुहोस्। गगन छन्, यसैले यो भनिरहेको छु– कांग्रेसलाई बहुमत दिनुहोस्, देशलाई एकचोटि ट्रयाकमा ल्याउन सक्ने ताकत गगनमा छ।

किनकि, गगन:

–नेपाली राजनीतिको भट्टीमा खारिएका छन्।

–आफ्नो बोली, विचार र तर्कमा स्पष्ट छन्।

–आँखामा आँखा जुधाएर वैचारिक बहस गर्ने ताकत राख्छन्।

–देश–दुनियाँको कुरा बुझ्ने वा बुझाउने क्षमता राख्छन्।

–युवा जोश र मनोविज्ञानसँग जोडिएका छन्, जोडिन जान्दछन्।

–काम गर्ने शैली स्मार्ट छ।

–प्रजातन्त्रको ‘लिगेसी’ छ।

यसो भन्दै गर्दा कतिपयले मलाई भन्ने गर्नुहुन्छ– के गगन धुन्धान हुन्? धुन्धान भएको भए बितेका बीस–तीस वर्षमा के धुन्धान गरे?

तपाईंहरू कसैले मलाई गाली गर्नै पर्दैन, म आफैँ भन्छु– गगन धुन्धान होइनन्। उनका पनि सीमितताहरू छन्। के त्यस्ता, अझ बढ्ता सीमितताहरू तपाईंहरूले धुन्धान ठानेका मान्छेमा छैनन्?

रह्यो कुरा बीस–तीस वर्षमा गगनले के धुन्धान गरे?

समय, राजनीति, चेतना र समाजकै अनेक सीमितताहरूका बीच राजनीतिक रूपमा गगनले जे गरे, के तपाईं कोही भन्न सक्नुहुन्छ– त्यो कम्तीको थियो?

फेरि पनि भन्छु– गगन भगवान होइनन्, तर आज उनका सामुन्ने जो उभिएका छन्, ती सबैका तुलनामा गगन अलि अग्लै छन्।

यसैले म दोहोर्‍याएर भन्छु– कांग्रेसलाई बहुमत दिनुहोस्। यो नै आज नेपालको राजनीतिमा सबैभन्दा कम जोखिमयुक्त विकल्प पनि हो।

बाँकी बहस अब चुनावपछि गरौँला।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad