विचार


नेपालमा कोरोनाको औषधि बनेकै हो त?

नेपालमा कोरोनाको औषधि बनेकै हो त?

डा. महेन्द्र थापा
जेठ २७, २०७७ मंगलबार १५:७,

विश्वलाई नै आतंकित बनाइरहेको कोरोना भाइरसविरुद्ध खोप एवं औषधि कहिले बन्ला भनेर यतिबेला मानव जाति व्यग्र प्रतीक्षा गरिरहेको छ। युनाइटेड नेसनले प्रकाशन गरेको तथ्यांकअनुसार कोरोनाले विश्व अर्थतन्त्र ३.२ प्रतिशत खुम्च्याउने तथा करिब ८.५ ट्रिलियन डलर घाटा गराउनेछ। यसो भयो भने विश्वले बितेका ४ वर्षमा प्राप्त गरेको आर्थिक उपलब्धि गुमाउने छ। संसारका धेरै देश आर्थिक मन्दिमा धकेलिनेछन्। करोडौं मानिसले आय आर्जनका स्रोत गुमाउनेछन्।

विश्व बैंकका प्रमुख डेभिड मल्पासका अनुसार विश्वका करिब ६०० सय लाख मानिस गरिबीको रेखामुनि हुने गरी विपन्न बन्नेछन्। विश्वमा भइरहेको ठूलो धनजनको क्षति रोक्न होस् वा वैज्ञानिक तथा आर्थिक रूपमा संसारमा आफ्नो प्रभुत्व जमाउन किन नहोस्, विकसित राष्ट्र यतिबेला कोरोनाविरुद्धको औषधि वा खोप पत्ता लगाउन पहिलो बन्ने होडबाजीमा छन्।

दैनिकजसो पत्रपत्रिका तथाा अनलाइनमा कोरोनासम्बन्धी विभिन्न खबर प्रकाशन भइरहेका छन्। यसअघि यो भाइरस कस्तो कहाँ, कसरी फैलन्छ भन्ने कुरामा बढी चासो दिइरहेको विश्वभरका मानिस अहिले यसको उपचार पत्ता लाग्यो कि लागेन भन्ने विषयमा विशेष चासो राख्न थालेका छन्। कोरोनाविरुद्धको औषधि संसारका जुनसुकै कुनामा पत्ता लागे पनि अति खुसी मान्नुपर्ने बेला आफ्नै देश नेपालमा त्यस्तो औषधि पत्ता लागेको खबर सुन्न पाउँदा यतिबेला सम्पूर्ण नेपालीले एकैपटक आश्चर्य, अविश्वास तथा गर्वको अनुभूति गर्न पाएका छन्।

जुन औषधि पत्ता लगाएको दाबी गर्ने वनविज्ञान अध्ययन संस्थान (हेटौंडा) का प्राध्यापक डा. ललितकुमार दास अहिले निकै चर्चामा हुनुहुन्छ। उहाँका विषयमा नेपालका धेरै अनलाइन न्युज पोर्टल तथा राष्ट्रिय दैनिकले खबर छापेका छन्। खबरअनुसार उहाँले बनाएको औषधिबारे विश्व स्वास्थ्य संगठनले समेत चासो देखाएको छ।

यसरी संसारले प्रतीक्षा गरिरहेको औषधि नेपालमै बनेको खबरले मलाई पनि धेरै उत्साही र उत्सुक बनाएको छ। तसर्थ वास्तविकता के रहेछ, जान्ने इच्छा जाग्यो। उहाँको अन्तर्वार्ताबाट उहाँले भारतबाट फाइटो केमेस्ट्रीमा पीएचडी गर्नुभएको बुझिन्छ। संसारका ठूला प्रयोगशालाले संश्लेषण पद्धतिबाट कोरोनाविरुद्ध औषधि बनाउन खोजिरहेका बेला आफूले भने पूर्वीय परम्पराबाट प्रभावित भई वनस्पतिजन्य वस्तुबाट औषधि बनाउन लागिपरेको उहाँको भनाइ छ।

कोरोना भाइरससम्बन्धी प्राप्त नवीनतम ज्ञान तथा फाइटो केमेस्ट्रीसम्बन्धी आफ्नो अनुसन्धानको अनुभव प्रयोग गरी डा. दासले करिब ३ महिना लगाएर विभिन्न एन्टिअक्सिडेन्ट तथा अल्कालोइड यौगिक समिश्रण तयार पार्नुभएको रहेछ। यसरी तयार पारिएको समिश्रणमध्ये कुनैले शरीरको रोग प्रतिरोध क्षमता बढाउने तथा कुनैले कोरोना निको पार्ने उहाँको विश्वास रहेछ।

मैले पनि आफ्नो अध्ययनको सिलसिलामा केमेस्ट्री विषयअन्तर्गत मेडिसिनल तथा ओर्गानिक केमेस्ट्रीमा काम गर्ने मौका पाएको थिएँ। संयोगवश, त्यसबखत संसारमा एचवानएनवानको महामारी फैलिएको थियो र मैले पनि यसका लागि उपयोगी हुन सक्ने यौगिक संश्लेषण गर्ने मौका पाएको थिएँ।

गुरर्सिटिन पहेंलो फलफूलमा पाइने एक प्रकारको एन्टिअक्सिडेन्ट हो। एचवानएनवानमा गरिएको प्रारम्भिक अनुसन्धानमा यसको एन्टिभाइरल क्रियाकलाप देखिएकाले यसको प्रयोग गरी करिब ३० वटा नयाँ यौगिक तयार पारी एन्टिभाइरल क्रियाकलाप अनुसन्धान गरिएको थियो। त्यस्तै ३ देखि ५ वटासम्म एमिनो एसिड प्रयोग गरी हाम्रो समूहले छोटो पेप्टाइड तयार पारेर यसको पनि एन्टिभाइरलका रूपमा अनुसन्धान गरिएको थियो।

संश्लेषण गरिएका धेरै यौगिकले त काम नै गरेनन्, तर केहीले भने त्यसबखत बजारमा पाइने औषधिजत्तिकै वा त्योभन्दा पनि राम्रो प्रभाव देखाएका थिए। सम्भावनायुक्त एन्टिभाइरल भए पनि घुलनशीलता तथा टक्सिसिटिका हिसाबले त्यति उपयुक्त नपाइएपछि यी यौगिकलाई अर्को चरणको आनुसन्धानमा समावेश गरेनौं।

अहिले पनि कोरोनाविरुद्ध एन्टिभाइरल क्रियाकलाप देखाउने थुप्रै यौगिक पत्ता लागेका होलान्, तर विभिन्न वैज्ञानिक कारण यसलाई आम मानिसमा प्रयोग नगरिएको हुनुपर्छ। यदि कोरोनाविरुद्ध एन्टिभाइरल प्रभाव देखाउनेबित्तिकै कुनै पनि यौगिकलाई औषधि मान्ने हो भने हालसम्म कोरोनाविरुद्ध थुप्रै औषधि बनिसकेका हुन्थे।

डा. दासले यस्तो प्रतिकूल परिस्थितिमा पनि अथक परिश्रम गरी विभिन्न यौगिक समिश्रण तयार पार्न घण्टौं प्रयोगशालामा बिताएर केवल ३ महिनमा कोरोनाविरुद्ध औषधि बनाएको जानकारी पत्रकारलाई दिएकाे उहाँ आफैँ बताउनुहुन्छ। तर यी यौगिक प्रयोग गरी कुनै पनि अनुसन्धान गरिएको छैन। वास्तवमा डा. दासले तयार पार्नुभएको यौगिक कोरोनाविरुद्ध प्रभावकारी छन् वा छैनन् भन्नेबारे अहिलेसम्म कुनै अनुसन्धान भएकै छैन।

उहाँले त केवल खानयोग्य वनस्पतिबाट यौगिक मात्र तयार पार्नुभएको हो। कोरोनाविरुद्धको औषधिका रूपमा यसलाई विकास गर्न अझ धेरै समय र पुँजी लाग्नेछ। डा. दासले अहिलेसम्म कोरोनासम्बन्धी कुनै कृति पनि प्रकाशन गर्नुभएको छैन। उहाँले आफूले के-कस्ता सिद्धान्त प्रयोग गरी कोरोनाको औषधि पत्ता लागेको निष्कर्षमा पुग्नुभयो, त्यसका वैज्ञानिक आधार के के हुन्, बताउनुभएको छैन।

होलान्, उहाँले तयार पार्नुभएको मिश्रणले कोरोनाविरुद्ध काम गर्लान्, तर संसारलाई आफूले औषधि बनाएँ भनी जानकारी दिनुपूर्व यी मिश्रण प्रयोग गरी प्रारम्भिक अध्ययनसम्म त गर्नुपर्ने होइन र? साधारणतया प्रयोगशालामा सम्भावनायुक्त यौगिक पत्ता लगाउनेदेखि यसलाई विकास गरी बजारमा औषधिका रूपमा ल्याउनसम्मका प्रक्रियालाई ड्रग डिस्क्भरी भनिन्छ। यो अति नै जटिल, खर्चालु तथा समय लग्ने प्रक्रिया हो। टफ्ट सेन्टरका अनुसार एउटा यौगिकलाई प्रयोगशालाबाट बजारसम्म पुर्‍याउन करिब २.६ बिलियन डलर र ५ देखि ७ वर्षसम्म लाग्न सक्छ।

धामीले चामलको गेडामा मन्त्र जपी ‘यो खाए रोग निको हुन्छ’ भनेजस्तो बेतुकको गफ पीएचडी गरेका वैज्ञानिकले गर्न मिल्छ? डा. दासको यसअघिको वैज्ञानिक जीवन हेर्ने हो भने उहाँ वैज्ञानिक अनुसन्धानमा त्यति सक्रिय देखिनुहुन्न। उहाँले गरेका अनुसन्धान तथा तयार पारेका कुनै कृति यसअघि प्रकाशन भएका छैनन्।

यसरी अनुसन्धानमा त्यति सक्रिय नभएका मानिसले एक्कासि कोरोना संक्रमणजस्तो जटिल रोगविरुद्ध कसरी औषधि बनाउन सक्छ? त्यो पनि ३ महिनामै! भाइरसको बाहिरी खोलमा भएको ग्लाइकोसाइडिक बोन्ड टुक्र्याएर आफूले तयार पारेको औषधिले कोरोना भाइरस मार्ने तर्क उहाँको छ। शरीर बाहिर गरिएका अध्ययनले औषधिको प्रभावकारिता देखाए पनि यही औषधि शरीरभित्र प्रयोग गर्दा निष्क्रिय पनि देखिन सक्छ। डा. दासले त त्यस औषधिको प्रयोग वा अनुसन्धान शरीर बाहिर पनि गर्नुभएको छैन भने झन् शरीरभित्र यसले काम गर्छ र कोरोना निको हुन्छ भनेर कसरी दाबी गर्न सक्नु हुन्छ?

डा. दासलाई औषधि कसरी बन्छ, यसका प्रक्रिया के कस्ता हुन्छन्, औषधि बनेको भए यसका लागि कस्तो अनुसन्धान गरियो, कहाँ गरियो, कसमा गरियो, सबै जानकारी तथा प्रमाणित गराउनुपर्छ भन्ने ज्ञान छैन र? बिनाआधार, बिनाप्रमाण, बिनापरीक्षण कोरोनाको औषधि पत्ता लगाएको भनेर उहाँले दाबी गर्दा सम्पूर्ण नेपाली वैज्ञानिकको साख गिरेको छ। डा. दासले आफ्नो दाबी प्रमाणित गर्नेगरी कि त यथेष्ट प्रमाण पेस गर्नुपर्‍याे वा वैज्ञानिक आचरण पालना गरी यस्तो भ्रामक समाचार किन र कसले फैलायो र वास्तविक कुरा के हो प्रस्ट पार्नुपर्‍याे।

यस्तो सुषुप्त अवस्थामा रहेको अनुसन्धानलाई नेपाली सञ्चारमाध्यमले अतिरञ्जित गरी कोरोनाको औषधि नै बनेको भनी समाचार सम्प्रेषण गर्नाले यसको विश्वसनीयतमा शंका उब्जिएको छ। डा. दासले अन्तर्वार्तामा आफूले वल्र्ड हेल्थ अर्गनाइजेसनको अनलाइन कन्फरेन्समा अरू देशका वैज्ञानिकसँगै भाग लिएको तर व्यक्तिगत रूपमा यस संस्थाले आफूलाई सम्पर्क नगरेको बताएका छन्। यो समाचारले आम मानिसमा उत्साह जगाउनुको सट्टा अविश्वास, धोका र भ्रम महसुस गराएको छ।

समाचार छाप्दा स्रोत उधृत गर्नुपर्ने हुन्छ, कुन संस्था वा व्यक्तिबाट सूचना प्राप्त भएको हो, त्यो संस्था वा व्यक्ति आधिकारिक हो, होइन प्रमाणित गर्नुपर्ने हुन्छ। सञ्चारमाध्यमले डा. दासको दाबीअनुसार रिपोर्ट तयार गर्दा त्यसको वैधानिकता प्रमाणित गर्ने जमर्को नगरेको देखिन्छ।

अझ उदेकलाग्दो कुरा त यस्तो संवेदनशील समाचार प्रकाशन हुँदा पनि नेपाल हेल्थ रिसर्च काउन्सिल, नेपाल मेडिकल काउन्सिल, विश्वविद्यालय, विभिन्न वैज्ञानिक समाज, कसैले पनि खण्डन गरेको पाइएन। जिम्मेवार निकाय नै मौन बस्दा आम मानिसमा झनै अन्योल थपिएको छ। 

यी निकायले डा. दासलाई बोलाई उहाँले केका आधारमा कोरोनाको औषधि बनाएको दाबी गर्नुभयो, किन गर्नुभयो भन्ने प्रश्न गर्नुपर्ने होइन र? यथेष्ट प्रमाण पेस गर्ने नसके उहाँलाई कार्बाही गर्न पनि पछि पर्न हुँदैन। अन्यथा वैज्ञानिक जगतमा अनुसन्धान नै नगरी झुटो र भ्रामक कुरा सम्प्रेषण गरी ठालु बन्ने प्रवृत्ति विकास नहोला भन्न सकिन्न।

(डा. महेन्द्र थापा काठमाडौं इन्स्टिच्युट अफ अप्पलाइड साइन्सेससँग आबद्ध छन्)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad