विचार


विश्व व्यवस्थाका लागि चीन खतरा कि अमेरिका?

विश्व व्यवस्थाका लागि चीन खतरा कि अमेरिका?

डेविड डडवेल
साउन ५, २०७७ सोमबार १०:१३,

यतिबेला वासिङ्टनका सबै शक्तिबीच मतैक्य छ– चीन विश्वका लागि खतरा हो। अचानक चीनको गतिविधिमा एउटा ढाँचा देखिन्छ, जसले हामीले जान्दै–मान्दै आएको विश्व व्यवस्थालाई नष्ट गर्दैछ।

यो भाष्यअनुसार सन् २०१५ यता राष्ट्रपति सी चिनफिङले शक्ति सुदृढीकरण गरेपछि चीनमा आधारभूत रुपमा खराब परिवर्तन आएको हो। त्यसैले स्वतन्त्र विश्वको नेताको हैसियतले अमेरिकाले त्यसलाई रोक्नैपर्ने हुन्छ।

‘यस्तो देखिन्छ, चीन लगभग हरेकसँग जुध्ने निर्णय लिइरहेको छ,’ केही समयअघि फाइनान्सियल टाइम्सका जेम्स किंगले लेखेका छन्। यो भाष्यले चीनलाई अहिले सबै दिशामा बलमिच्याइँ गर्न खोजिरहेको शक्तिका रुपमा चित्रित गर्छ। जसले दक्षिण चीन सागर, ताइवान, हङकङका लोकतन्त्र पक्षधर र उइगुरविरुद्ध दमन गरिरहेको छ। बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) लाई आर्थिक विस्तारको हतियार बनाएको छ र विश्वभर निजी क्षेत्रको उद्यमलाई नष्ट गर्न राज्यको स्वामित्वका उद्यमहरुलाई परिचालन गरेको छ। चीनले हुवावेलाई विश्वव्यापी प्रविधिमाथि प्रभुत्व कायम गर्ने हतियारका रुपमा प्रयोग गरेको छ। त्यसमाथि पश्चिमाहरुले अघि बढाएको बजार अर्थतन्त्रलाई ध्वस्त पार्न पक्कै चीनले कोरोना भाइरस जानीजानी छाडेको हुनुपर्छ।

गएको ४० वर्षदेखि म विश्व अर्थतन्त्रमा चीनको सहभागितालाई बुझ्ने प्रयास गरिरहेको छु। त्यसैले मेरालागि यस्तो भाष्य निरर्थक छ। तर, त्यसले चीनप्रति रहेको ‘वासिङटन कन्सेन्सस’ को व्यापकतालाई कम गर्न सक्दैन।

यो सत्य हो– अन्तर्राष्ट्रिय रुपमा चीन पहिलेभन्दा आक्रामक बनेको छ। त्यस्तै चीनको तीव्र उदयले विश्वका थुप्रै अर्थतन्त्रलाई चुनौती सिर्जना गरेको पनि सत्य हो। तर, यो भाष्यमा सबैथोक गडबड बनाइएको छ, कार्यकारण सम्बन्ध बिगारिएको छ। त्यसैले कहिले कसले के ग¥यो र खास व्यवस्था बिगार्ने को हो भनेर खोज्नु निकै ठूलो चुनौती बनेको छ।

अहिले चीनका उच्च अधिकारीहरु छक्क पर्ने गरेका छन्, उनीहरु रिसाएका पनि छन्। उनीहरु तर्क गर्छन्, गएको केही वर्षमा चीन होइन अमेरिका चाहिँ परिवर्तन भएको हो। वासिङ्टनले आफ्नो भाष्य जतिसुकै अघि बढाएपनि म चिनियाँहरुको तर्कमा दम देख्छु।

पछि फर्केर हेर्ने हो भने तङ स्यायो पिङ सन् १९७८ मा शक्तिमा आएयता बेइजिङको अडान परिवर्तन भएको देखिँदैन। खुलापनप्रतिको चीनको प्रतिबद्धतामा कमी आएको छैन। पश्चिमा शक्ति र तिनको हालिमुहाली रहेको ब्रेटन वुड्स संस्था (अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक) मा चीन सहभागी छ। चीन सम्भव भएसम्म पश्चिमाहरुको खेल पश्चिमाहरुकै नियम मानेर खेलिरहेको छ। बहुपक्षीयताप्रति चीनको प्रतिबद्धता कम भएको छैन। यी सबैको एक मात्र उदेश्य भनेको विश्वसामु चीनलाई आफ्नो स्थानमा बलियोगरी उभ्याउनु हो।

हो, चीनको राजनीतिक व्यवस्था अरुको भन्दा फरक छ। पश्चिमा लोकतन्त्रको तुलनामा अनाकर्षक पनि। तर, व्यवस्था त भारतको पनि फरक छ, साथै पश्चिमको तुलनामा अनाकर्षक पनि। त्यसैले राजनीतिक व्यवस्थाका कारण चीनसँग पश्चिमा विश्व क्रुद्ध बनेको होइन। बरु, सम्पन्न पश्चिमसँगको दूरी चीनले सफलतापूर्वक कम गरेकै कारण पश्चिम रिसाएको हो। किनभने कम्युनिस्ट पार्टीले हाँकेको सर्वसत्तावादी शक्ति आफ्नो विशाल र जटिल अर्थतन्त्रलाई उचित व्यवस्थापन गर्दै करोडौँ मानिसलाई गरिबीबाट बाहिर निकाल्न र प्रविधिको क्षेत्रमा विश्वकै अगुवा कम्पनीहरु विकास गर्न सक्षम छ भन्ने यथार्थलाई पश्चिमले स्वीकार्न सक्दैन।

यतिबेला म हड्सन इन्स्टिच्युटका माइकल पिल्सबरीको भनाइ सम्झिरहेको छु। उनले सन् २०१५ मा प्रकाशित पुस्तक ‘द हन्ड्रेड इयर म्याराथन’ मा भयका साथ लेखेका थिए, ‘चीनले अमेरिकालाई विश्व महाशक्तिबाट विस्थापित गर्दैछ। जसको फलस्वरुप नयाँ विश्व सिर्जना हुँदैछ।’

तर, गत नोभेम्बरमा फाइनान्सियल टाइम्समा मार्टिन वुल्फले भनेझैँ यथार्थ के हो भने चीनको आर्थिक नेतृत्व अवश्यंभावी छ। ‘किनभने यो विशाल र सक्षम दुवै छ। त्यसैले चिनियाँ जनताको गुणस्तरीय जीवनयापन गर्ने उचित चाहनाविरुद्ध दुश्मनी मोल्नु अमेरिकाको गल्ती हो।’

त्यस्तै हार्वर्ड विश्वविद्यालयका डानी रोड्रिकले गतसाता साउथ चाइना मर्निङ पोस्टमा लेखेका थिए, ‘अमेरिका र चीनबीचको रणनीतिक र भूराजनीतिक तनाव यथार्थ हो। चीनको बढ्दो आर्थिक र सैन्य शक्ति तथा त्यो यथार्थ र बहुध्रुवीय विश्वलाई स्वीकार्न नसक्ने अमेरिकी नेतृत्वका कारण यो समस्या देखिएको हो।’

रोड्रिकको भनाइ सही छ। त्यसैले चीनप्रति अमेरिकामा रहेको धारणा परिवर्तन हुन आवश्यक छ। चीनको ‘खराब व्यवहारको ढाँचा’ अचानक उत्पन्न भएको होइन। सायद चीनको खुलापन उपरियाहरुले चाहेजस्तो तीव्र गतिमा पनि नभएको हुनसक्छ। त्यस्तै, चीनको ‘मेड इन चाइना’ योजनाले राज्यको स्वामित्वमा रहेका उद्योगहरुलाई उदारतापूर्वक सहयोग गर्छ। तर, यो पनि चीनको सन् १९७८ देखिकै आर्थिक रणनीति हो।

तर, अमेरिका ७६ वर्षअघि आफैँले बनाएको विश्वव्यापी आर्थिक व्यवस्थाको नियमलाई उल्टोपाल्टो पार्ने प्रयासमा छ। यो अवधिमा अमेरिकाले नै सधैँ अरुसँग माग राख्ने, सर्त तेर्स्याउने गर्दै आयो। युरोप, जापान र चीनलगायत अरु सबैले उसको माग पूरा गर्दै आए। अमेरिकाले सधैँ आफूलाई अन्तर्राष्ट्रिय सम्बन्धको रचयिता र ठेकेदार ठान्दै आयो। र, आफूले चाहेको जस्तोसुकै नियम बनाउने कुनैबेलाको बेलगाम शक्ति कम भएसँगै अमेरिका झन्झन क्रुद्ध बन्दै गएको छ।

ट्रम्पले सुरुमै अमेरिका अरु मुलुकका कारण ‘पीडित’ बनेको भाष्य रचे। त्यो भाष्यलाई उनी अहिले अमेरिकाले अपनाएको ‘गुन्डा राष्ट्र’ को छविलाई उचित ठह¥याउन प्रयोग गरिरहेका छन्। जसले विश्वव्यापी संस्थाहरुलाई धम्क्याइरहेको छ, आफू बाहिरिने चेतावनी दिइरहेको छ। ती संस्थाहरुले दशकौँसम्म बहुपक्षीय सहकार्यको बानी विकास गर्न महत्वपूर्ण योगदान गरेका थिए। अमेरिकाको अनिश्चयले गर्दा गठबन्धनबीचको सहकार्य कमजोर भएको छ। कोभिड–१९ महामारीविरुद्धको अन्तर्राष्ट्रिय सहकार्यमा पनि त्यो कमजोरी देखिन्छ।

तसर्थ, चीन अरुको अस्तित्वका लागि खतरा हो र चीनले व्यवस्था उल्ट्यायो भन्ने भनाइ सरासर झुठ हो। आज हामीले देखेको व्यवस्था उल्ट्याउने शक्ति अमेरिकाबाट उदाइरहेको छ। भाग्यवश यो खतरनाक र सर्वथा गलत प्रयासलाई सल्ट्याउने मौका आगामी नोभेम्बरको राष्ट्रपतीय निर्वाचनमा उपलब्ध हुनेछ।

गत वर्ष एमआईटी, विल्सन सेन्टर, कार्नेगी इन्डाउमेन्ट, यल र हार्वर्डसहितका करिब १ सय प्रमुख विद्वानहरुले ट्रम्पलाई यसबारे पत्र लेखेका थिए। उनीहरुले चीनप्रति अमेरिकी व्यवहार प्रत्युत्पादक हुने बताएका थिए।

‘बेइजिङ आर्थिक शत्रु वा राष्ट्रिय सुरक्षाका लागि खतरा हो भन्ने हामी विश्वास गर्दैनौँ। चीनलाई शत्रुका रुपमा व्यवहार गर्ने तथा विश्व अर्थतन्त्रबाट उसलाई अलग्याउने अमेरिकी प्रयासले अमेरिकाकै अन्तर्राष्ट्रिय छवि र भूमिका तथा सबै राष्ट्रको आर्थिक हितलाई क्षति गर्नेछ,’ उनीहरुले भनेका थिए।

मलाई विश्वास छ, तथ्यलाई अपनाउने समय अझै छ। गत नोभेम्बरमा नेसनल कमिटी अन यूएस–चाइना रिलेसन्स नामक संस्थाले आयोजना गरेको कार्यक्रममा हेनरी किसिन्जरले भनेझैँ ‘चीनको विकासको थुप्रै पक्ष अमेरिकाका लागि चुनौती हुन्। तथापि उनीहरुबीच स्थायी द्वन्द्व भयो भने त्यसमा कसैको जित हुँदैन। जसको नतिजा प्रलयकारी हुनेछ। त्यसैले आफूहरुबीचको प्रतिद्वन्द्वितालाई उनीहरुले आदत बनाउनु उचित हुन्छ।’

(एससीएमपीबाट। डेविड डडवेल हङकङ एपेक ट्रेड पोलिसी स्टडी ग्रुप नामक थिंक ट्यांकका कार्यकारी निर्देशक हुन्) 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad