नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्री बन्न इच्छुकहरुको हुलले आफूलाई घेरेको बताएका छन्।
कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई समर्थन गरेपछि माओवादीबाट सबै ४९ जना सांसद नै मन्त्री बन्ने होडबाजीमा लागेपछि आफूलाई थेगीनसक्नु तनाव भएको प्रचण्डले बताएका छन्।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको आठौं स्मृति दिवस कार्यक्रमलाई पेरिसडाँडामा सम्बोधनका क्रममा प्रचण्डले यस्तो बताएका हुन्।
'मेरोमा अहिले मन्त्री बन्न इच्छुकको लाइन छ। मन्त्री बन्न मकहाँ दबाब दिन आएको हुलबाट उम्केर आएको छु म', उनले भने, 'मन्त्री बनाइदिनु भन्नेहरूको आतंक छ। कसलाई बनाउने, कसलाई नबनाउने मैले। सबै ४९ जना सांसदलाई नै मन्त्री बनाउन दबाब छ।'
उनले गठबन्धन सरकारको सदस्यका रुपमा माओवादीको भागमा ७ जनाजति मन्त्री बन्न पाउने अवस्थामा सबैलाई बनाउनै नसकिने अवस्था रहेको उल्लेख गरे।
'हाम्रो भागमा बढीमा ७ जना मन्त्री हुने हो। तर अहिले सबै सांसदको दौडधूप छ। मन्त्री बनाएन भने सरापेर हिँड्छन्। मन्त्री हुन नपाएपछि नेतृत्व बदमास भन्छन्', उनले अगाडि भने, 'म ४/५ दिनदेखि ठूलो मानसिक दबाबमा छु, तनावमा छु।'
उनले कम्युनिष्टहरुले आदर्शका कुरा गरे पनि चित्त चाहिँ मन्त्री पाइन्छ कि पाइँदैन भन्नेमा अड्किएको बताए। 'हामी आदर्शका निम्ति होइन, पदका लागि कुदेका रहेछौँ', उनले भने, 'कुरा गर्दा आदर्शका गर्ने, चित्त चाहिँ मन्त्री पाइन्छ कि पाइँदैन भन्ने छ। अहिलेको कल्चर भनेको मन्त्री नभए केही नहुने जस्तो भएको छ।'
Shares

प्रतिक्रिया