राजनीति


विमला वलीले भनिन् : जबरजस्ती मुख्यमन्त्री निवासमा थुने, ट्वाइलेटको चप्पल लगाएर भागेँ

माओवादीको दलकै सदस्य रहेको स्पष्टीकरण
विमला वलीले भनिन् : जबरजस्ती मुख्यमन्त्री निवासमा थुने, ट्वाइलेटको चप्पल लगाएर भागेँ

नेपालखबर
साउन २१, २०७८ बिहिबार १४:२, काठमाडौँ

लुम्बिनी प्रदेशमा तत्कालीन नेकपाबाट निर्वाचित प्रदेशसभा सदस्य विमला वलीको दल बदल गतिविधि अझै जारी छ। साउन १८ मा विज्ञप्ति निकालेर आफू नेकपा एमालेमै रहेको घोषणा गरेकी उनले बिहीबार फेरि माओवादी केन्द्र संसदीय दल सदस्यका रुपमा प्रस्तुत गरेकी छन्। 

बुटवलस्थित माओवादी दलको कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनले आफूलाई एमालेमा राख्न तुलसीपुरस्थित घरबाट जबरजस्ती उठाइएको बताएकी छन्। उनले लुम्बिनीस्थित एमाले प्रमुख सचेतक भूमिश्वर ढकाल र स्थानीय नेता मानबहादुर रावतले तुलसीपुरस्थित घरबाट गाडी राखेर नेपालगञ्ज लैजाने भन्दै बुटवल पुर्‍याएको दाबी गरेकी छन्। 

'गत साउन १५ गतेयता मेरो राजनीतिक जीवनलाई असर पर्ने भ्रमहरु आएका छन्। म विमला कुमारी खत्री उपनिर्वाचनमा दाङ क्षेत्र नम्बर ३ (ख) बाट नेकपाको उम्मेदवार भइ निर्वाचित भएको हो। नेकपा नरहेपछि स्वतन्त्र हैसियतमा गत वैशाखमा माओवादी दलको सदस्य पाएको हो', उनले भनेकी छन्, 'स्वतन्त्र हैसियतमा मैले माओवादी केन्द्र रोजेर त्यही दलको सांसद भइसकेपछि एमालेबाट बारम्बार दबाब आउन थाल्यो। तर मैले त्यसलाई इन्कार गरिरहेँ।'

यही साउन १५ गते आफू उपचारका लागि नेपालगञ्ज जान लागेको अवस्थामा तुलसीपुरस्थित घरमै आएर एमाले नेताहरुले जबरजस्ती उठाएको उनको आरोप छ। 'नेपालगञ्ज हिँड्न लागेको समयमा एमाले प्रमुख सचेतक भूमिश्वर ढकाल र नेता मानबहादुर रावतले घरमै आएर दबाब दिएका थिए। उनीहरुले हामी पनि नेपालगञ्ज जाने भने। म गाडीमा बसेपछि नेपालगञ्ज जानुपर्नेमा बुटवल  लगियो। मैले तत्कालै प्रतिवाद गरेँ।'

उनले गाडी बुटवलतिर गएपछि आफूलाई एक पटक मुख्यमन्त्रीलाई भेट्न भनिएको बताइन्। 'बुटवलतिर गाडी गइरहँदा मैले प्रतिवाद गरेँ। तर एक पटक मुख्यमन्त्रीलाई भेट्नुपर्यो भनेर लगियो। बुटवलमा मुख्यमन्त्री शंकर पोखरेलसँग छलफल सुरु भयो। त्यहाँ पहिले हाम्रो गल्ती भयो, पार्टीमा आउनुस् मन्त्री बन्नुस् भनियो', उनले ६ बुँदे विज्ञप्तिमा भनेकी छन्, 'साउन १८ गतेसम्म मुख्यमन्त्री निवासबाट निस्किन नदिइ दबाब दिइयो। साउन १८ गते विज्ञप्ति लेखेर मलाई जबरजस्ती हस्ताक्षर गराइयो र एमालेमै बसेको भन्ने सन्देश दिइयो।'

तर त्यहाँबाट निस्किएर आफूले उक्त कुराको खण्डन गर्न खोजेको बताइन्। 'मैले बाहिर गएर त्यो जबर्जस्तीको खण्डन गर्न खोजेको थिएँ तर निस्किन पाइनँ। तर सुरक्षाकर्मीलाई छलेर म मुख्यमन्त्री निवासबाट २० गते निस्किएकी हुँ। २० गते अपरान्ह पौने ४ गतेतिर म शौचालयको चप्पल लगाएर माओवादी केन्द्रको दलमा पुगेँ। हिजै सार्वजनिक हुने खोजको तर धेरै तनाव भएकाले आज सार्वजनिक भएकी छु।'

उनले राजनीतिमा आएपछि पहिलो पटक यस्तो भोग्नुपरेको दाबी गरेकी छन्। 'राजनीतिमा आएपछि मैले सरकारको नाममा यस्तो खेल पहिलो पटक व्यहोर्नुपर्ने', उनले भनेकी छन्, 'एमाले र त्यसका नेताबाट यस्तो दुर्व्यवहार हुने सोचेकी थिइनँ। म अब माओवादी केन्द्रमै छु। यहीँ रहन्छु।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .