ad ad

राजनीति


‘पार्टी फुटाउन’ नेपाललाई पाँच अफर

‘पार्टी फुटाउन’ नेपाललाई पाँच अफर

सागर न्यौपाने
साउन २१, २०७८ बिहिबार १५:२५, काठमाडौँ

नेकपा एमालेमा रहेर पनि ‘विद्रोह’ गरी शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन निर्णायक भूमिका खेलेका वरिष्ठ नेता माधवकुमार नेपाललाई चुनावपछिको प्रधानमन्त्रीदेखि उच्च स्तरीय राजनीतिक संयन्त्रको संयोजक लगायतका आधा दर्जन अफर दिइएको छ।

कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चा लगायतको चार दलीय सत्ता गठबन्धनका तर्फबाट अफर गरिएको हो।  नेपाललाई आगामी वर्ष हुने संघीय संसदको चुनावपछिको प्रधानमन्त्री बनाउने सहमति गर्न समेत तयार रहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव गरेका छन्। 

गठबन्धनले आगामी निर्वाचनसम्म मिलेर जाने सहमति गरेका छन्। यद्यपि यो सहमतिलाई लिखित रुपमा बाहिर ल्याइएको भने छैन। 

‘यदि माधवजीले भोलिको राजनीतिक परिदृश्य विश्लेषण गर्नुभएको छ भने गठबन्धनले नै सरकार बनाउने देखिन्छ, त्यसबेलाको प्रधानमन्त्री उहाँलाई बनाउन तयार रहेको समझदारी गर्न तयार छौं,’ नेता नेपाललाई राखिएको प्रस्ताव उद्धृत गर्दै स्रोतले भन्यो। 

झण्डै १७ महिनापछि हुने निर्वाचन र त्यसपछि चुनावबाट प्रधानमन्त्री बन्ने प्रस्तावमा के गर्ने नेता नेपालले निर्णय गरिसकेका छैनन्। 

गठबन्धनका तर्फबाट प्रधानमन्त्री देउवाको आग्रह अनुसार नियमित छलफलमा रहेका प्रचण्डले दोस्रो प्रस्ताव सरकारको काम कारवाहीलाई सहयोग पुग्नेगरी गठन गरिन लागेको उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक बन्न गरेका छन्।

प्रधानमन्त्री देउवाले गठबन्धनमा छलफल नगरी, सहमति नजुटाइ केही नगर्ने प्रतिवद्धता जनाएका छन् । ‘सरकारलाई सहज पार्न र विवादित विषयको हल खोज्नका लागि पनि उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउन कुरा भएको छ, त्यसको संयोजक माधव नेपाललाई बनाउने प्रस्ताव छ,’ स्रोतले नेपाललाई दिइएको दोस्रो अफरबारे नेपालखबरसँग भन्यो। 

उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने विषयमा गठबन्धनमा चर्चा चले पनि कस्तो खालको बनाउने भन्ने तय भइसकेको छैन। सरकारमा जाने कि एमालेमै मिलेर अघि बढ्ने विषयमा निर्णय गर्न नसकेका नेता नेपाल पक्षलाई भनेजस्तो र रोजेजस्तो मन्त्रालय दिन तयार भएकैले देउवाले मन्त्रिमण्डल विस्तार समेत गरेका छैनन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीका ८ र नेता नेपाल पक्षका १४ गरी २२ सांसदले साउन ३ गते देउवालाई विश्वासको मत दिएका थिए।  त्यसैकाे गुन तिर्न स्वरुप देउवा–प्रचण्डले अहिलेको सरकारमा नेता नेपाल पक्षलाई ६ वटा महत्वपूर्ण मन्त्रालय रोजेर लिन अफर गरेको स्रोतले दाबी गरेको छ। तर, नेपालले यसबारेमा पनि निर्णय गर्न सकेका छैनन्।

स्रोतका अनुसार उनी अनिर्णयमै रहेकाले अन्य अफर पनि दिइएको छ। सरकारमा सहभागी नभए अब गरिने राजनीतिक नियुक्तिमा नेपाल पक्षबाट ६० प्रतिशत भन्दा बढीलाई नियुक्ति गर्न तयार रहेको प्रधानमन्त्री देउवाले बचन दिएका छन्।

एमालेमै रहेर विद्रोह गरिरहेका नेता नेपालको भूमिकाले प्रतिगमनकारी भूमिकामा रहेका ओलीलाई हटाउन सकिएको निष्कर्ष निकालेर उनी पक्षलाई सो अफर दिइएको नेताहरु बताउँछन्।  ‘देउवा सरकारमा सहभागी हुनको लागि नेता नेपाललाई राम्रै अफर गरिएको छ,’ प्रधानमन्त्री देउवा निकट एक नेताले भने, ‘उहाँको टिमले साथ नदिइएको भए प्रतिगमनकारी केपी शर्मा ओली हट्ने थिएनन् र सरकारको नेतृत्व समेत कांग्रेसले गर्न सक्दैनथ्यो ।

त्यही भएर उहाँहरुले मागेजस्तो अफर दिएर जान प्रधानमन्त्रीले तयार छौं भन्नुभएको छ।’ असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाले पहिलो चरणमा साउन ३ गते कांग्रेस र माओवादी केन्द्रबाट ४ सदस्यीय मन्त्रिमण्डल बनाएका थिए। साउन १० गते उनले स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरे।

अन्य १९ मन्त्रालयमा भने अहिलेसम्म खाली नै राखेका छन्। ती मन्त्रालयमा नेपाल पक्षलाई पनि सहभागी गराएपछि मात्र विस्तार गर्न देउवाले चाहेका हुन्। बरु केही समय कुर्ने तर, नेपाल पक्षलाई जसरी पनि सरकारमा आउन देउवा–प्रचण्डले आग्रह गरिरहेका छन्। 

यही विषयमा प्रचण्डले उनीसँग १० पटक छलफल गरिसकेका छन्।  प्रचण्डले देउवालाई बालुवाटारमा भेट्न जानुअघि नेता नेपालसँग छलफल गरेर जाने गरेका छन्। हरेक भेटमा प्रचण्डको जोड नेता नेपाल पक्षलाई सरकारमा सहभागी भएर सहयोग गर्न आग्रह गरेको स्रोतले जनाएको छ।

‘उहाँले अहिलेसम्मको भेटमा माधवजीलाई तपाईँको तर्फबाट सरकारमा सहभागी पठाइदिनुप¥यो भनेर आग्रह गर्नुहुन्छ,’ स्रोतले भन्यो, ‘प्रधानमन्त्री देउवाले प्रचण्डलाई नेता नेपाललाई सरकारमा ल्याउन जिम्मा नै दिनुभएको छ।’

उनलाई गरिएको अर्काे प्रस्ताव हो, विप्लव, मोहन बैद्य, विश्वभक्त दुलाल आहुति लगायतका कम्युनिष्ट पार्टीहरूलाई एकै ठाउँमा राखेर बनाइने समाजवादी केन्द्रको अध्यक्ष। प्रचण्डलाई कम्युनिस्ट पार्टीबीच एकता गरेर जान सुझाव आइरहेका बेला उनले नेता नेपाललाई समाजवादी केन्द्रको अध्यक्ष बनेर एकताको भूमिका खेल्न प्रस्ताव गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .