राजनीति


प्रभु साहले बहिष्कार गरे एमालेको पहिलो विधान महाधिवेशन

प्रभु साहले बहिष्कार गरे एमालेको पहिलो विधान महाधिवेशन

नेपालखबर
असोज १५, २०७८ शुक्रबार १२:३९, काठमाडौँ

माओवादी छाडेर एमालेमा आएका नेता प्रभु साहले शुक्रबारदेखि सुरु भएको पहिलो विधान महाधिवेशन बहिष्कार गरेका छन्। 

ललितपुरको गोदावरीबाट सुरु भएको एमालेको विधान महाधिवेशनमा नेता साह सहभागी नहुने भएका हुन्। 

शुक्रबार बिहान काठमाडौंमा आयोजित आफूनिकट नेताहरुसँगको छलफलपछि साहले विधान महाधिवेशनमा सहभागी नहुने निर्णय लिएका हुन्।

नेता साहले अहिलेको अवस्थामै अगाडि बढिरहे एमालेको भविष्य नरहने पनि जिकिर गरेका छन्। 

उनले बिहीबार राति मात्रै एमाले महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल र सचिव शंकर पोखरेलसँग छलफल गरेका थिए। तर त्यस छलफलले पनि निष्कर्ष नदिएपछि उनी महाधिवेशनमा सहभागी नहुने भएका हुन्। 

नेता साहले यसबारेमा अध्यक्ष केपी शर्मा ओलीसँग छलफलका लागि भेट्ने प्रयास गरे पनि सफल नभएको बताएका छन्। उनले यही अवस्थामा एमालेका कार्यक्रममा सहभागी नहुने बताएका छन्। 

‘शब्दमा नेकपा भनिए पनि व्यवहारले एमालेकै चरित्र देखाउन थालियो। एमाले भएर पनि एमालेको अस्तित्व छैन', उनले भने, 'अहिलेकै अवस्थामा अगाडि बढेमा विनासकाल विपरित बुद्धि मात्रै हुने पक्का छ।'

यसअघि साशले गत शुक्रबार च्यासलमा सम्पन्न केन्द्रीय कमिटी बैठकमा ८ बुँदे असहमति पत्र दर्ता गराएका थिए। 

उनका माग

१. सर्वोच्च अदालतल पार्टी एकता भंग गरी नेकपा एमाले र माओवादी केन्द्र व्यूँत्याए पनि हामीले नेकपा एमालेलाई नेकपा निरन्तरतामा बुझ्ने र एकताकै स्पिरिटमा कार्य सञ्चालन गर्ने।

२. नेकपाले अंगिकार गरेको जनताको जनवादलाई आगामी महाधिवेशनमा व्यापक छलफलमार्फत विकास गर्ने।

३. वर्तमान संविधानलाई हाम्रो ७ वर्षको अनुभवका आधारमा देखिएका त्रुटिहरु हटाउन, जनतालाई असली लोकतन्त्रको प्रत्याभूति दिलाउन, राष्ट्रियता, स्थायित्व र समृद्धिको चाहना पूरा गर्न समय सापेक्ष परिमार्जन गर्दै समाजवादको दिशामा अगाडि बढ्ने।

४. नेकपा एमालेको वैधानिक कमिटी र पदाधिकारीलाई कायम गर्दा नेकपा माओवादी केन्द्रको वैधानिक कमिटी र पदीय हैसियतअनुसार मिलान गर्ने अर्थात माओवादीको पूर्व पदाधिकारीलाई पदाधिकारीमा, केन्द्रीय कार्यालय सदस्यलाई स्थायी कमिटीमा, सचिवालय सदस्यलाई पोलिट व्यूरोमा, पोलिट व्यूरो सदस्यहरुलाई केन्द्रीय कमिटीमा, केन्द्रीय सदस्यहरुलाई प्रदेश कमिटी र प्रदेश कमिटीलाई जिल्ला कमिटीमा समायोजन गर्ने तथा पार्टीको पदीय वरियताक्रम कायम गर्दा नेकपामा अभ्यास गेरेको मर्यादाक्रम र दुईटै पार्टीको वैधानिक हैसियत अनुसारको मर्यादाक्रम समेतलाई ख्याल गरी नयाँ वरियताक्रम निर्धारण गर्ने।

५. पार्टी संगठन, जवस तथा अन्य निकायहरु निर्माण गर्दा वा खाली भएका पदमा पदपूर्ति गर्दा एकताको मर्म अनुरुप माओवादी पक्षका कमरेडहरुलाई सम्मानजनक सहभागी गराउने।

६. पार्टीको आगामी महाधिवेशन एकताकै अधिवेशनको रुपमा लिई पार्टी कमिटीहरुको निर्वाचन सहमतिको आधारमा गर्ने।

७. प्रदेश २ मा कमिटी निर्माण, पदाधिकारी चयन तथा कार्य विभाजनमा भएको विगतको सहमतिलाई कार्यान्वयन गर्ने।

८. आईटी आर्मीलाई पार्टीका जनसंगठनको रुपमा स्थापित गर्ने।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .