नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले बझाङ खटाएका निर्वाचन अधिकृत चेतराज भट्टले आफूलाई मध्यराति अपहरण गरिएको बताएका छन्।
आइतवार बिहान निर्वाचन गर्ने कार्यतालिका लिएर बझाङ पुगेका उनी बेपत्ता भएका थिए। निर्वाचन अधिकृत नै बेपत्ता भएपछि बझाङको निर्वाचन कार्यक्रम नै स्थगित भएको छ।
अधिवेशनका लागि केन्द्रबाट खटाइएका निर्वाचन अधिकृत चेतराज भट्टले भागेको आरोप लागेपछि आफूलाई शनिबार मध्यराति अपहरण गरिएको बताएका छन्।
सोमबार बिहान सामाजिक सञ्जालमार्फत आफ्ना भनाइ राख्दै उनले आफूलाई कांग्रेसको एउटा समूहले अपहरण गरेकै कारण निर्वाचन कार्यक्रम स्थगित हुन पुगेको पनि बताएका छन्।
'बझाङमा जे जस्तो अवस्था आयो त्यसको दोषी म होइन, तपाईँहरू नै हो, म भागेको पनि होइन, निर्वाचनको अन्तिम नामावली प्रकाशन हुँदासम्म मतदानस्थलको टुङ्गो थिएन', उनले भनेका छन्, 'म आफैँ मतदानस्थल खोज्न गएको छु, राति ११ बजे मलाई अपहरण गरियो, मोबाइल खोसियो र भने बमोजिम नगरेमा मारिदिने धम्की दिइयो।'
उनले निर्वाचन बिथोल्ने मतियारहरुले आफूलाई अमानवीय व्यवहार गरेको पनि गुनासो गरेका छन्। 'निर्वाचन बिथोल्ने षडयन्त्रका मतियारहरुले मलाई अमानवीय ब्यबहार गरे। अन्तिम निर्वाचन गर्न म असफल हुनुमा तपाईँकै दोष हो', उनले भनेका छन्, 'तपाईँहरूले ७ लाख लगेर भागेको भन्ने जुन आरोप लगाउनु भएको छ, त्यो सबै झुट्टा आरोप हो।'
उनले आफ्नो ल्यापटपसहित सामान बझाङमै रहेको पनि बताएका छन्। 'तपाईंहरुको मैले एक रूपैयाँ पनि लिएको छैन। तपाईँहरूले पैसाको खटनपटन र जिम्मा दिएका व्यक्तिहरू तपाईंहरूकै जिल्लाका र तपाईँहरूसँगै छन्', उनले भनेका छन्, 'उहाँहरूसँग हिसाब माग्नु होला। मैले तपाईँहरूको एक पैसो लिएको छैन। मिथ्या आरोप नलाउनुहोला।'
Shares
प्रतिक्रिया