ad ad

राजनीति


बलिदानका 'अञ्चलाधीश' कांग्रेस काठमाडौँ महानगर सभापति

बलिदानका 'अञ्चलाधीश' कांग्रेस काठमाडौँ महानगर सभापति

केशव सावद
असोज १८, २०७८ सोमबार १३:५६, काठमाडौँ

कांग्रेस नेतृत्वमा २०४६ सालमा सम्पन्न जनआन्दोलनको नेपाली राजनीतिमा विशेष महत्व छ। 

कांग्रेस नेतृत्वको त्यही जनआन्दोलनकै बलमा ३० वर्षीय एकदलीय पञ्चायती निरंकुश शासन ढलेर नेपालमा प्रजातन्त्र स्थापना भएको थियो। 

निर्दलीय व्यवस्था ढालेर बहुदल ल्याउने क्रममा हजारौँ नेपालीले बलिदानी दिएका थिए। २०४६ सालको जनआन्दोलनमा देश र प्रजातन्त्रका लागि ज्यानको बाजी थाप्नेहरूको कथा बुनेर तुलसी घिमिरेले निर्देशन गरेको चलचित्र थियो, ‘बलिदान’ । 

रमेश सापकोटा निर्माता रहेको उक्त चलचित्रको कथा मोदनाथ प्रश्रितले लेखेका थिए। हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, अञ्जना श्रेष्ठ, नीर शाहको मुख्य भूमिका रहेको ‘बलिदान’ मा निरंकुश र डरलाग्दा अञ्चलाधीशको भूमिकामा थिए, ‘नीलकाजी शाक्य।’ 

‘बलिदान’का तिनै निरंकुश अञ्चलाधीश नीलकाजी शाक्य देशकै सबैभन्दा ठूलो काठमाडौं महानगरपालिकामा कांग्रेस सभापति बनेका छन्। उनी आइतबार राति सम्पन्न निर्वाचनबाट कांग्रेसको महानगर कार्यसमिति सभापतिमा लोकप्रिय मतसहित निर्वाचित भएका हुन्। 

सात सय ८६ मत ल्याएका शाक्यले सभापतिका अर्का उम्मेदवार प्रगतिमान रञ्जितलाई पराजित गरे। रञ्जितले तीन सय २९ मत पाए। शाक्यलाई कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह र युवा नेता गगन थापाले साथ दिएका थिए।

सभापतिमा पराजित रञ्जितलाई संस्थापनबाट पूर्वमन्त्री भीमसेनदास प्रधान र केन्द्रीय सदस्य ध्यानगोविन्द रञ्जितले सघाएका थिए। शाक्य वरिष्ठ नेता रामचन्द्र पौडेल र रञ्जित प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवानिकट मानिन्छन्। 

सम्झिए बलिदान
कांग्रेस महानगर सभापतिमा विजयी ६५ वर्षीय शाक्यले नेपालखबरसँगको कुराकानीमा ‘बलिदान’ मा निर्वाह गरेको भूमिका स्मरण गर्दै भने, ‘परिवर्तनकारी मुभी (चलचित्र) हो। त्यसमा मैले निरंकुश अञ्चलाधीशको भूमिका निर्वाह गरेको थिएँ।’

राजनीतिक परिवर्तनको लक्ष्य बोकेर हिँडेका युवालाई निरंकुश राज्यसत्ताले कसरी दुःख दिन्छ भनेर ‘बलिदान’ ले देखाउन खोजेको प्रतिक्रिया उनले दिए। 

‘अन्याय–अत्याचार सहेर बस्नु हुन्न। निरंकुशताविरुद्ध लड्नुपर्छ भन्ने सन्देश बोकेको मुभी हो बलिदान,’ उनले भने, ‘पोलिटिकल पार्टीमा लागेकालाई तानाशाहले कसरी मार्छ, कसरी यातना दिन्छ भनेर देखाउन खोजिएको छ।’

काठमाडौं महानगरपालिका वडा नम्बर २५ मा वडाअध्यक्षसमेत रहेका कांग्रेस महानगर सभापति शाक्यले ‘बलिदान’ सँगै ‘तँ त साह्रै बिग्रिस् नि बद्री’, ‘नायक’ र ‘जात्रा’ लगायत चलचित्रमा अभिनय गरिसकेका छन्। 

उनी ‘कान्तिपुर’ लगायतका टेलिचलचित्रहरु र नेपाल भाषाका टेलिचलचित्रमा पनि अभिनय गर्दै आएका राजनीतिज्ञ हुन्। शाक्य फुटबलर पनि हुन्। उनी ‘आरसीटी’ क्लबबाट पनि व्यवसायिक फुटबल खेल्ने गर्दथे। 

‘म स्पोर्टस्म्यान पनि हुँ। इन्टरनेशनल फुटबलर पनि हुँ। आरसीटीबाट फुटबल खेल्थेँ,’ जितको खुसी साट्दै गरेका शाक्यले खुसी हुँदै सुनाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .