राजनीति


चार वर्षपछि मतपरिणाम उल्टिँदा हारे जितेका दुवै वडाध्यक्ष भन्छन् : अन्याय भयो

चार वर्षपछि मतपरिणाम उल्टिँदा हारे जितेका दुवै वडाध्यक्ष भन्छन् : अन्याय भयो

शैलेन्द्र महतो
कात्तिक १४, २०७८ आइतबार १५:४१, जनकपुरधाम

स्थानीय तह २०७४ को निर्वाचनमा महोत्तरीको मनरासिसवा नगरपालिका वडा नंं. १० को वडाध्यक्षको मत परिणाम अहिले चर्चाको विषय बनेको छ। कारण हो चार वर्षपछि त्यहाँको मत परिणाम अप्रत्यासित रुपमा उल्टिनु।

२०७४ असोज २ गतेको निर्वाचनमा तत्कालिन मत परिणाम अनुसार नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार अरुण कुमार चौधरी र स्वतन्त्र उम्मेदवार रमेश रायको बराबर २६७।२६७ आएको थियो। मत बराबर भएपछि तत्कालिन निर्वाचन अधिकृत यामबहादुर बानियाले गोलाप्रथा गराएका थिए। जसमा कांग्रेसका उम्मेदवार अरुण कुमार चौधरी निर्वाचित भएका थिए।

पराजित स्वतन्त्र उम्मेदवार रमेश रायको चित्त बुझेन। उनले तत्कालै पुनः मतगणना गर्न माग गरे। तर निर्वाचन अधिकृत बानियाले अवस्था असहज रहेको भन्दै पुनः मतगणना गर्नबाट पन्छिए।  निर्वाचन अधिकृत बानियाकै सल्लाहमा रमेश रायले १५ दिन भित्रै उच्च अदालत जनकपुरमा पुनः मतगणनाको माग गर्दै रिट निवेदन दिए।

पुनः मतगणना गर्न लाग्ने खर्च १५ हजार धरौटी राख्नुपर्ने र त्यसपछि मात्र रिट हाल्न सक्ने कानुनी व्यवस्था अनुरुप नै अघि बढे। उच्च अदालतले ०७५ असार २१ गते पुनः १५ दिन भित्र मतगणना गर्नुपर्ने फैसला सुनायो। तर विपक्षी वडाध्यक्ष अरुण कुमार राउत विरुद्धमा सर्वोच्च अदालत पुगे। अदालतले तत्काल सो फैसला कार्यान्वयन नगर्न भनेपछि मतगणना भएन।

सर्वोच्चले २ वर्ष १० महिना पश्चात उच्च अदालतकै फैसला सदर गर्‍याे। मतगणना गर्ने दिन तोक्ने विषयमा २०७७ वैशाख २१ मा उच्च अदालतमा सोही मुद्दाको पेसी थियो। तर कोरोनाको दोश्रो लहर सुुरु हुँदा अदालत नै बन्द भयो। त्यसपछि कोरोना लहर सकिँदा अदालत खुलेपछि गएको कार्तिक ७ गते उच्च अदालत जनकपुरमा निर्वाचन कार्यालय महोत्तरीले मतगणना गरेको थियो।

चार वर्षपछि पुनः मतगणना हुँदा पराजित वडाध्यक्ष रमेश राय २ भोटले जिते। विजयी वडाध्यक्ष चौधरी दुई भोटले हारे। अर्थात रमेश रायको २६८ मत आयो भने चौधरीको मात्र २६६ आयो। र, अब पराजित रमेश राय निर्वाचित भए। जबकी २०७४ को निर्वाचनमै मतगणना हुँदा दुवैजनाको बराबरी २६७।२६७ मत आएको थियो। जसमा गोलाप्रथा गर्दा चौधरी निर्वाचित भएका थिए। 

दोश्रो मतगणना परिणामले रमेश राय र चौधरी दुवैजनाले आफूमाथि अन्याय भएको तर्क गरिरहेका छन्। 

निर्वाचन अधिकृतमाथि कारबाही, पहिलेको वडाध्यक्षले गरेका सबै काम बदर हुनुपर्छ : राय  

निर्वाचित वडाध्यक्ष रमेश रायले आफूमाथि अन्याय भएको बताउँदै दोषी निर्वाचन अधिकृत यामकुमार बानियामाथि कडा कारबाही हुनुपर्ने माग गर]का छन्। उनले धाँधली गरेर जितेका वडाध्यक्ष चौधरी, मेयर सञ्जय कुमार सिंह र ढिला गरी न्याय दिने अदालतमाथि पनि करबाही हुनुपर्ने बताएका छन्। 

‘धेरै मिहिनेत दौडधुप पश्चात अदालतबाट पुनः मतगणना भएको छ। म माथि ठूलो अन्याय भयो। अब त वडाध्यक्षको पदभार सम्हाल्न पनि इच्छा भइरहेको छैन। तीन चार महिना म वडा चलाएर के गर्छु? तरपनि जनदबाब छ’ निर्वाचित वडाध्यक्ष रायले नेपालखबरसँग भने, ‘तीन महिना भित्रै पुनः मतगणना हुनु पर्थ्याे। तर भएन। देशको नियम कानुन, न्यायालय सब भद्रगोल छ।’

रायले कार्तिक १५ गते वडा कार्यालयमै आफू जनताको दबाबमा केही महिनाका लागि भएपनि पदभार ग्रहण गर्न लागेको बताए। 

उनले पहिलेका वडाध्यक्षले चलाएको सबै कामकारबाही, बजेट सबै बदर हुनुपर्ने माग गरेका छन्। सर्वोच्च अदालतको ढिलासुस्तीले झन् अन्यायमा परेको उनको भनाइ छ। 

‘उच्च अदालतले २०७५ असार २१ गते गरेकै आदेशमा मतगणना भएको भए न्यायको अनुभूति हुन्थ्यो। पराजित वडाध्यक्ष चौधरी सर्वोच्च पुग्दा तत्काल मतगणना नगर्न भन्यो। फाइल हेर्दै सर्वोच्चले झण्डै तीन वर्ष ढिला गर्यो। फेरि उच्चकै आदेश सदर गर्यो। र मतगणना भयो’ रायरले भने ‘यतिका दिन सर्वोच्चले फाइल किन थाँतेर राख्यो? उच्च अदालतले पनि कोरोनाको नाममा ढिला गर्यो। ७ महिना नै खाइसक्यो। अनि मतगणना गरायो। अब कसलाई के भनु?’ 

उनले आफूसँग अन्याय गर्ने सबभन्दा ठूलो दोषी तत्कालिन निर्वाचन अधिकृत यामकुमार बानिया भएको बताए। 

‘ममाथि अन्याय गर्ने सबभन्दा ठूलो दोषी निर्वाचन अधिकृत यामकुमार बानिया हुन्। मतगणना सकिएको बिहान जनताले ‘तपाइँ जित्नु भयो’ भने। मेयरको सबभन्दा विरोधी म। म राजपाको बागी थिएँ। तत्कालै दोहोरो मतगणना गर्न आग्रह गरेँ। तर भने अहिले म केही पनि गर्न सक्दिन। त्यसैले सबभन्दा ठूला दोषी उनी नै हुन्’ रायले भने। 

यामबहादुर बानिया, मेयर संजय सिंह र अरुणकुमार चौधरीले मतगणना स्थलमा मिलेमतो गरी २।३ पटक लाइन काटेर त्यति बेला मतपत्र हेराफेरी गरि आफूलाई हराएको रायको दाबी छ। 

‘मलाई जनताले तपाइँ जितिसक्नु भो भने। म बाहिर थिएँ। अरुण चौधरीको २६४, मेरो २६८ मत आएको थियो। एलाउन्स भइसकेको थियो। तर, यिनीहरुले लाइन काटेर के के गरे थाहा भएन’ उनले भने, ‘मैले तत्कालै पुनः मतगणनाको लागि निवेदन दिएँ। तर निर्वाचन अधिकृत बानियाले यहाँ दुवै दल जबरजस्त छन् भनेर पछाडि हटे। त्यसपछि भोट बराबर गरेर गोलाप्रथा गरी जिताए। बानियाले ‘म पहाडको मान्छे हुँ, मलाई अपठ्यारो हुन्छ’ भने।’

रायले तत्कालिन समयमा मतगणना भएको भए मेयर संजय सिंहलाई पनि जित्न समस्या हुने बताए। राजपाबाट विद्रोह गरेर आफू स्वतन्त्र लडेकाले राजपाबाट विजयी भएका सिंह त्यस बेला आफ्नो विरुद्धमा उत्रेको नवनिर्वाचित वडाध्यक्ष रायको तर्क छ। 

त्यतिबेला गन्दा २६७ अहिले २६८ कसरी भयो?  : तत्कालिन वडाध्यक्ष चौधरी 
पुनः मतगणनापछि मत परिणाम उल्टिँदा तत्कालिन वडाध्यक्ष अरुण कुमार चौधरीले आफूमाथि अन्याय भएको बताए। 

‘म सर्वोच्चको यो फैसलाबाट विल्कुलै असन्तुष्ट छु। मतगणना समयमा हामी दुवैको मत बराबर २६७–२६७ थियो। अहिले फेरि गन्दा उहाँको २६८ मेरो २६६ कसरी भयो? यो नै प्रश्नवाचक चिन्ह हो’ उनले नेपालखबरसँग भने ‘यो अदालतमा मुद्दा गरेर, तारेख लिएर यसको निकास निस्किँदैन। यसको कुनै आयोग गठन गरी निष्पक्ष छानबिन हुनुपर्छ।’

मतपत्र बोरामा राखेर असुरक्षित राखिएको कारण त्यसमाथि आफूलाई विश्वास नभएको उनको तर्क छ।  

‘मतगणना त गरियाे। तर, मतपत्र बोरामा राखिएको थियो। त्यो कति सुरक्षित थियो। यो चुनावी प्रतिष्पर्धामा मानिस बमबारुद चलाउँछन्। मतपेटिका लुट्छन्। विभिन्न ढंंगको दुस्साहसी काम गर्छन्। तर, यो मतपत्र चार वर्षदेखि बोरामा थियो। बेवारिसे अवस्थामै थियो। कुनै लकर र दराजमा थिएन। यसमा कुनै लाहाछाप पनि मारिएको थिएन। मुद्दा हाल्नु अघि नै त्यसमा कु गरिसकेको थियो’ उनले भने। 

मुद्दा हाल्नु अघि नै बोरामा  एक मतपत्र हालेर ‘कु’ भएको चौधरीको दाबी छ। 

‘मुद्दा हाल्नु अघि नै बोरामा कु भएको थियो। त्यसैले त्यतिबेलाका बराबर मत आज मेरो एउटा घट्यो। उनको एउटा बढ्यो। यो सब सुनियोजित षड्यन्त्र हो’ चौधरीले भने ‘न्यायालय सर्वोपरी हो। जुन दिन अदालतमा गणना भयो त्यो गणना गर्ने कर्मचारी रुख छापको मत पत्र आउँदा सानो स्वरमा बोल्थे। एक मिनेट समय लगाउँथे। तर, पान छाप एक सेकेण्डमै गन्ती गर्थे।’ 

उनले आफू जनताकै बीचमा आएको बताउँदै चार वर्ष १ महिना पदभार चलाएको  मान्छेलाई अन्तिममा आएर ठूलो अन्याय र बेइमानी भएको बताए।

‘म जनतामा जान्छु। म माथि ठूलो अन्याय भयो। अदालतले अन्याय गर्यो। यो सरासर बेइमानी हो’ चौधरीले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .