राजनीति


बंगलादेश स्वतन्त्रता दिवसको परेडमा सेना पठाउन नेपालद्वारा अस्वीकार

बंगलादेश स्वतन्त्रता दिवसको परेडमा सेना पठाउन नेपालद्वारा अस्वीकार

सन्तोष घिमिरे
मंसिर २३, २०७८ बिहिबार २२:९, काठमाडौँ

बंगलादेश स्वतन्त्रताको ५० औँ वर्षगाँठमा हुन लागेको विशेष सैन्य परेडमा सैनिक टुकडी पठाउन नेपालले अस्वीकार गरेको छ। 

पाकिस्तानबाट मुक्ति पाएको ५० वर्ष पुगेको अवसरमा बंगलादेशी सेनाले आगामी पुस १ गते राजधानी ढाकामा विजय दिवस परेड आयोजना गर्दैछ, जसमा भारतीय सैनिक टुकडी पनि सहभागी हुँदैछ। उक्त परेडमा बंगलादेशले नेपालबाट पनि सैनिक टुकडी सहभागी गराउन चाहेको उल्लेख गर्दै पत्र लेखेको थियो। 

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार कात्तिक दोश्रो साता बंगलादेशले ३५ जनाको सैनिक टुकडी र राष्ट्रिय सेवा दलको टोली पठाइदिन अनुरोध गर्दै पत्र पठाएको थियो। बंगलादेशले पठाएको पत्र परराष्ट्र मन्त्रालय, रक्षा मन्त्रालय हुंदै सैनिक मुख्यालय जंगीअड्डा पुगेको थियो। 

रक्षा मन्त्रालय स्रोतका अनुसार जंगी अड्डाले बंगलादेशको विजयोत्सवमा सैनिक परेडमा नेपाली सेनाको सहभागिता विवादित बन्नसक्ने निष्कर्ष सहित सैनिक टुकडी नपठाउने निर्णय लिएको हो।

‘दक्षिण एसियामा भारत लगायत मुलुकले गर्दै आएका क्षेत्रीय सैन्य अभ्यासमा विगतमा पनि नेपाल सहभागी हुने गरेको छैन। किनकि त्यस्ता सैन्य अभ्यासमा सहभागी हुँदा त्यसले हामी उनीहरुको सैन्य छाताभित्र रहेको सन्देश जान्छ। त्यसो गर्नु नेपालको असंलग्न परराष्ट्र नीतिविपरीत हुन्छ,’ रक्षा मन्त्रालयका एक अधिकारीले नेपालखबरसँग भने। 

यद्यपि द्विपक्षीय रुपमा नेपालले भारत, बंगलादेश, चीन, अमेरिका लगायत मुलुकसँग सैन्य अभ्यास गर्दै आएको छ। 

‘आज बंगलादेशको विजय उत्सवमा आयोजित सैनिक परेडमा भाग लिउँला। तर भोलि यसैगरी भारत, चीन वा रुस तथा अन्य देशले विजय उत्सवका परेडमा बोलाउन थाले भने हामीलाई सैन्य कूटनीति सञ्चालन गर्न कठिन पर्छ भन्ने बुझाइ रह्यो,’ रक्षा मन्त्रालयका अर्का अधिकारीले भने।  

यद्यपि नेपाली सेनाले रक्षा मन्त्रालयमार्फत परराष्ट्रलाई पठाएको पत्रमा सैनिक टुकडी पठाउन नसक्नुमा कोरोना महामारी कायमै रहेको कारण देखाइएको छ। 

प्रधानसेनापति प्रभुराम शर्माद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, ‘कोरोना महामारीको प्रभाव कायमै रहेको तथा तथा उक्त अवधिमा नेपाली सेनाको पूर्वनिर्धारित योजना मुताविक सामूहिक तालिम अभ्यास सञ्चालन हुने हुँदा उक्त परेडमा सहभागिता जनाउन असमर्थ छौँ। साथै राष्ट्रिय सेवा दलका छात्र छात्राहरुको सहभागिताका सम्बन्धमा निजहरुले हालसम्म कोरोना खोप नलगाइसकेको अवस्था छ।’  

बंगलादेशलाई सैनिक टुकडी पठाउन असमर्थ रहेको जानकारी कूटनीतिक च्यानलमार्फत् गराइसकिएको परराष्ट्र स्रोतले बतायो। 

भारतीय राष्ट्रपति बंगलादेश जाँदै 
बंगलादेशको स्वतन्त्रता संग्रामको पचासौँ वर्षगांठमा आयोजित विशेष कार्यक्रममा भाग लिन भारतीय राष्ट्रपति रामनाथ कोविन्द तीन दिने भ्रमणमा बंगलादेश जाने तय भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ। भारत र बंगलादेशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको पनि ५० वर्ष पुरा भएको छ।

एक सय भन्दा बढी भारतीय सुरक्षाकर्मी बंगलादेशको परेडमा सहभागी हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन्। भारत र बंगलादेशबीच सैनिक सम्बन्ध सुदृढ हुंदै गएको देखिन्छ। 

बंगलादेशका जल, स्थल र हवाई सेनाले विविध कार्यक्रम गरी उत्सव मनाउँदैछन्। 

सन् १९७१ मा तत्कालीन पूर्वी पाकिस्तान टुक्रिएर बंगलादेशको जन्म भएको थियो। शेख मुजिबर रहमानको नेतृत्वमा बंगलादेशले स्वतन्त्रता आन्दोलन सञ्चालन भएको थियो। जसलाई भारतले सघाएको थियो। डिसेम्बर १६, १९७१ मा पाकिस्तानी सेनाले ढाकामा आत्मसमर्पण गरेको थियो। 

रक्तपातबीच डिसेम्बर १६, १९७१ मा बंगलादेशले मुक्ति पाएको थियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .