ad ad

राजनीति


जसपा विवाद : दुई अध्यक्ष अब सम्भव छैन, एउटा महन्थले लगिसके

असन्तुष्टले दिए माघ दोस्रो साता अन्तिम डेडलाइन
जसपा विवाद : दुई अध्यक्ष अब सम्भव छैन, एउटा महन्थले लगिसके

फाइल फोटो


सागर न्यौपाने
माघ २, २०७८ आइतबार २३:२१, काठमाडौँ

जनता समाजवादी पार्टी (जसपा)मा तीन अध्यक्ष बनाउने प्रस्ताव कार्यान्वयन सम्भव नहुने अध्यक्ष उपेन्द्र यादव पक्षधर एक नेताले दाबी गरेका छन्। 

उनले महाधिवेशन अगाडि रिक्त अध्यक्ष पदमा समेत कसैलाई चयन नगरिने स्पष्ट पारेकी छन्। 

भौतिक पूर्वाधार तथा यातायात मन्त्री समेत रहेकी नेतृ रेणुकुमारी यादवले नेपालखबरसँग कुरा गर्दै पार्टीभित्र कुनै विवाद नहुँदा पनि केही नेताहरुले किचलो कोसिस गरेको बताइन्।  

नेताहरु डा. बाबुराम भट्टराई र अशोक राई लगायतले पार्टीलाई संघीय संरचनामा लैजानुपर्ने, खसआर्य, मधेस र आदिवासी जनजाति गरी तीन क्लष्टरबाट अध्यक्ष बनाएर राष्ट्रिय समावेशी पार्टी बनाउनुपर्ने माग अघि सारिरहेका छन् ।

उक्त माग जसपा विधान बमोजिम नरहेको यादवको भनाई छ । ‘अध्यक्ष फेरबदल गर्ने कुरा अहिले संभव छैन। महाधिवेशनबाट मात्रै अध्यक्ष कति राख्ने निर्णय हुनसक्छ,’ यादवले भनिन्, ‘जसपा विधानले दुई अध्यक्षको कल्पना गरेको छैन, त्यस्तो व्यवस्था पनि भएको छैन ।’

तर, जसपा विधानमा दुई अध्यक्षको व्यवस्था गरिएको प्रश्नमा उनले महन्थ ठाकुरले नयाँ पार्टी बनाएसँगै अध्यक्ष पद पनि लगेको तर्क गरेकी छन्। 

‘राजपा एकताका लागि सिर्जना गरिएको अध्यक्ष पद लगेर महन्थजीले अर्कै पार्टी बनाइसक्नुभयो’, उनले भनिन्, ‘त्यसबेला समायोजनका लागि राखिएको पद अब रहेन। जसपामा दुई अध्यक्षको प्रावधान थिएन।’

मन्त्री यादवले आफूहरु अहिले पार्टी निर्माण अभियानमा रहेको बताउँदै हरेक निर्णयहरु पार्टीका नेताहरुसँग सल्लाह गरेरै भएको जिकिर पनि गरेकी छन्। 

तर जसपाको विधानमा दुई अध्यक्षको व्यवस्था अझैसम्म छ। त्यसलाई हटाउने हो भने विधान संशोधन गर्नुपर्छ। जसका लागि दुईतिहाइ समर्थन चाहिन्छ।

पार्टी एकलौटी चलाएको, मङसिरपछि पार्टी बैठक नराखेको, सत्ता गठबन्धनमा भए पनि पार्टीमा सल्लाह, छलफल नगरी मन्त्री नियुक्त गरेको, राष्ट्रियसभा सदस्यको निर्वाचनमा पनि छलफल

नगरी उम्मेदवार बनाएको लगायतमा भट्टराईसहित नेताहरु असन्तुष्ट छन्।

याे पनि : जनता समाजवादी पार्टी फुटनजिक पुगेकै हो त?

‘प्रदेश २ मा परशुराम खापुङलाई प्रमुख बनाउन पार्टीमै छलफल भएर निर्णय गरिएको हो, उहाँ बाबुरामजीकै मान्छे हो,’ उनले भनिन । 

असन्तुष्ट

स्रोतका अनुसार बहुमत केन्द्रीय कार्यकारिणी सदस्यहरु अध्यक्ष उपेन्द्र यादवको कार्यशैलीप्रति असन्तुष्ट छन् ।

उनीहरुले जसपाभित्रको विवाद नभने पनि कार्यकारिणी सदस्य मोहम्मद इस्तियाक राईले विवाद उत्कर्षमा पुगेको र नेतृत्वले विवेक नपुर्‍याए गम्भीर मोड लिने बताएका थिए।

अध्यक्ष यादवनिकट नेतृ तथा मन्त्री रेणुकुमारी यादवले भने पार्टीमा कुनै विवाद नरहेको र हरेक निर्णय छलफलपछि मात्रै भएको ठोकुवा गरिन्।

‘हाम्रो पार्टीमा कुनै विवाद छैन, हरेक निर्णय छलफल गरेरै भएको छ। राष्ट्रियसभाको सिट बाँडफाँटमा आफ्नो भागमा परेको संख्यामा उम्मेदवार चयन छलफलबाटै भएको छ,’ यादवले भनिन्।

महन्थ ठाकुर पक्ष बाहिरिए पनि जसपामै रहेका नेताहरुको समायोजनमा केही समस्या रहेको उनले स्वीकार गरिन्।

'केही जिल्लाको समायोजनमा अलिक समस्या देखिएको छ, त्यो पनि केही दिनमा समाधान हुन्छ, यी सबै महाधिवेशन नभएर भएको हो’, उनले भनिन्, ‘महन्थ—राजेन्द्रजीहरुलाई साथ नदिएर जसपामा बस्नुभएका साथीहरुको जिम्मेवारीबारे छिट्टै एउटा निर्णय गर्छौँ।’

पार्टी बनाउन देशव्यापी दौडधूप गरेको उनले बताइन्। ‘यो पार्टीभित्र मिहिनेत गर्नेले गरिरहेका छन्,’ यादवले भनिन्,‘ साथीहरु काठमाडौं बसेर पद मात्रै ओगटेर विवाद छ भन्दै हिँड्नुभएको होला। संगठन बनाउन खटिएपछि थाहा हुन्छ, विवाद छ छैन? काठमाडौंमा बस्ने साथीले देखेकै छैनन्, पार्टी कसरी बनेको छ ।’

उपेन्द्र यादवनिकटहरुले जसपामा विवाद नभएको बताए पनि डा. बाबुरामले समेत विवाद रहेको संकेत गरेका छन्।

आइतबार ट्वीट गर्दै भट्टराईले वैकल्पिक राजनीतिक शक्ति बनाउन व्यक्ति केन्द्रित होइन, विचारमा बहस गर्न सुझाव दिएका छन् ।

‘वैकल्पिक राजनीतिक शक्ति निर्माणका लागि व्यक्ति–केन्द्रित हैन विचार÷विधि–केन्द्रित बहस गरौँ। नेपाली सन्दर्भमा वैकल्पिक पार्टीका अहम् मुद्दा यी हुन्ः  १.समावेस-सहभागितामूलक लोकतन्त्र र समुन्नत समाजवादसहितको अग्रगामी विचार; २.सार्वभौम कार्यकर्ता र समावेशी÷सामूहिक नेतृत्वसहितको संगठन,’ भट्टराईले भनेका छन्। 

माघ दोस्रो हप्ताको अल्टिमेटम
कार्यकारिणी समितिको बैठक बोलाएर त्यहीँबाट विवाद समाधान गर्न असन्तुष्ट पक्षले माघको दोस्रो हप्तासम्मको अल्टिमेटम दिएको छ ।

उनीहरुले यसअघि माघ पहिलो हप्ता डेडलाइन दिएका थिए। तर त्यसलाई माघ दोस्रो हप्तासम्म पुर्‍याएका छन्।

जसपाको विवाद विषयमा अहिलेसम्म अध्यक्ष उपेन्द्र यादवले मुख खोलेका छैनन्। तर उनी पक्षधर नेताहरू नेतृत्वको निर्णयको डिफेन्स गरिरहेका छन् ।

भट्टराईनिकट स्रोतका अनुसार राष्ट्रिय सभाको निर्वाचन परेकोले माघ दोस्रो हप्तासम्म बैठक बोलाउन समय दिइएको हो। त्यसबेलासम्म यादवले बैठक नबोलाए एक चौथाइले बैठक बोलाउन माग गर्नेछन्। 

‘राष्ट्रियसभा निर्वाचनसम्म साथीहरु फिल्डमै खटिनुपर्ने भयो’, भट्टराईनिकट एक नेताले नेपालखबरसँग भने, ‘त्यसबेलासम्म संवादमा आउने, बैठक बोलाउने, विवाद समाधान गर्ने काम नेतृत्वले गरे ठीकै छ, नत्र हामी माघको दोस्रो हप्ता एक चौथाई सदस्यले बैठक माग गर्छौं, विधानमा व्यवस्था भएको प्रावधानलाई कुल्चन मिल्दैन ।’

अहिलेसम्म अध्यक्ष यादवले बैठक बोलाउन कुनै तत्परता नदेखाएको ती नेताले दाबी गरे ।

जसपा नेता नवराज सुवेदीले पनि राष्ट्रिय सभा निर्वाचनसम्म पार्टीमा कुनै छलफल हुने सम्भावना नरहेको बताए ।

‘अबको ९ दिनमा चुनाव हुँदैछ, हामीले त्यता ध्यान दिनुपर्छ, अहिले बैठक बस्ने सम्भावना छैन’, सुवेदीले नेपालखबरसँग भने, ‘राष्ट्रियसभा निर्वाचनपछि भने पार्टीको कार्यकारिणी समिति बैठक बस्नुपर्छ । मंसिरयता हाम्रो बैठक बसेको छैन। त्यसले पनि कतिपय विषयमा अलमल पैदा भएका छन् ।’

डा. भट्टराई, अशोक राई, महिन्द्रराय यादव, राजकिशोर यादव, महासचिव गंगानारायण श्रेष्ठ, नेता मोहम्मद इस्तियाक राई लगायत केन्द्रीय कार्यकारिणी समितिका बहुमत सदस्यले बैठक माग गरिरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .