ad ad

राजनीति


कांग्रेसको एक महिने रणनीतिः ‘कम्युनिस्ट फेल भए’ भन्दै भण्डाफोर गर्ने, गठबन्धनबारे नबोल्ने

कांग्रेसको एक महिने रणनीतिः ‘कम्युनिस्ट फेल भए’ भन्दै भण्डाफोर गर्ने, गठबन्धनबारे नबोल्ने

केशव सावद
फागुन २६, २०७८ बिहिबार २१:५१, काठमाडौँ

सत्तारुढ नेपाली कांग्रेस स्थानीय तहको निर्वाचनबाट पहिलो दल बन्ने रणनीतिसहित एक महिने अभियानमा होमिन लागेको छ। 

बढीभन्दा बढी स्थानीय तहमा पार्टीलाई जिताउन सके आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आफ्नो प्रभाव बढाउन सकिने बुझाइ कांग्रेस नेतृत्वको छ। 

‘स्थानीय निर्वाचनमा हामी जति ज्यादा सिट ल्याउन सक्छौँ, त्यति नै राष्ट्रिय निर्वाचनलाई प्रभावित गर्न सकिन्छ,’ कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले नेपालखबरसँग भने, ‘त्यसका लागि हामीले ‘घरघर जाऔँ, नेपाली कांग्रेसलाई जिताऔँ’ अभियानलाई उच्च महत्व दिएका छौंँ।’ 

स्थानीय तह निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न कांग्रेसले फागुन २९ गतेबाट सो एक महिने अभियान चलाउँदैछ। अभियानलाई सफल बनाउन उसले ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइसकेको छ। 

उनीहरुलाई अभियान सुरु हुनुअघि र सुरु भइसकेपछि खटिएका जिल्लाका हरेक स्थानीय तहमा अनिवार्य पुग्न भनिएको छ। अभियानमा खटिएका केन्द्रीय नेताहरुले जिल्लास्थित पालिकासम्म पुगेर कार्यकर्तालाई प्रेरणा, सुझाव र निर्देशन दिँदै जनपरिचालन गर्ने डा. महतले बताए। 

स्थानीय तह निर्वाचनमा पहिलो दल बन्न कांग्रेसले पार्टीको पालिका नेतृत्वलाई हरेक वडाका घरघर पुर्‍याउने रणनीति बनाएको उनले बताए।

‘सम्भव भए पालिकाको नेतृत्व वडा–वडा पुग्ने नभए कम्तिमा पनि वडा समितिको नेतृत्व वडाभित्र हरेक घरमा पुग्ने रणनीति हो। त्यसअनुसारको कार्यक्रम तय भइसकेको छ,’ डा. महतले भने। 

बढीभन्दा बढी सिट जित्ने लक्ष्यप्राप्तिका लागि स्थानीय तहका नेता–कार्यकर्ता स्वतस्फूर्त क्रियाशील भइसकेको पनि उनले बताए। 

‘चुनावमा जाने भनेकै बढीभन्दा बढी सिट हासिल गर्ने उद्देश्यले हो,’ प्रवक्ता महतले भने, ‘लक्ष्य प्राप्त गर्न स्थानीय तहका साथीहरु स्वतस्फूर्त क्रियाशील भइसक्नुभएको छ।’ 

अभियानअन्तर्गत हरेक घरमा स्थानीय नेतृत्व पठाएर कांग्रेसले पार्टीका धारणा राख्ने, विगतको निर्वाचनमा पार्टीलाई सहयोग नगरेका मतदाता फकाउने लक्ष्य राखेको छ। त्यसका लागि उसले कम्युनिस्ट पार्टीको भण्डाफोर गर्ने रणनीति तय गरेको छ। 

‘कम्युनिस्टहरु कसरी सत्तामा पुगेर पनि फेल भए? सत्ताको दुरुपयोग कसरी गरे? भ्रमको खेती उनीहरुले नै गरिराखेका छन्, त्यसकै आधारमा उनीहरुको राजनीति चलेको छ,’ प्रवक्ता डा. महतले भने, ‘यी कुराहरु हामीले अभियानका क्रममा सम्प्रेषण गर्छौँ।’ 

कांग्रेस केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले संविधानको व्यवस्था शतप्रतिशत कार्यान्वयन गराउन कांग्रेसको विकल्प नभएको बताउँदै उक्त यथार्थ  जनतालाई बुझाउने बताए।

‘हाम्रो संविधानमा शिक्षा, स्वास्थ्य नैसर्गिक अधिकार भनिएको छ। रोजगारको ग्यारेन्टी भनिएको छ। यावत कुराहरु संविधानमा लागू गरिएका छन्,’ उनले नेपालखबरसँग भने, ‘संविधानमा लेखिएका कुराहरु शतप्रतिशत कार्यान्वयन गराउनका लागि कांग्रेसको विकल्प छैन भन्ने कुरा सत्य हो। त्यो सत्य कुरालाई जनतामा बुझाउनुपर्ने वर्तमान आवश्यकता छ। हामी बुझाउँछौँ।’ 

अभियानका क्रममा कांग्रेसले आफू कसरी कम्युनिस्टभन्दा फरक छ भनेर पनि मतदातालाई प्रस्ट्याउने भएको छ। चुनावी परिणाम आफ्नो पक्षमा पार्न राष्ट्रिय मुद्दाहरूमा पार्टीको गाम्भीर्य र अन्तर्राष्ट्रिय सम्बन्धको संवेदनशीलतालाई उदाहरणसहित प्रस्तुत गर्ने कांग्रेसको तयारी छ। 

‘नेपाली कांग्रेस कम्युनिस्ट पार्टीभन्दा किन भिन्न छ, हामी यथार्थ कुरा बोल्छौँ। राष्ट्रिय मुद्दाहरूमा हामी गम्भीर छौँ। अन्तर्राष्ट्रिय सम्बन्धको संवेदनशीलतालाई हामी गम्भीरताका साथ लिन्छौँ,’ महतले भने, ‘त्यहीअनुसार हामी प्रस्तुत हुन्छौँ। जसमा हामीले एमसीसीको उदाहरण दिन्छौँ। कम्युनिस्टका एमसीसीप्रतिका दृष्टिकोण यथार्थमा आधारित नभएर कसरी जनतालाई भ्रममा पार्न राष्ट्रियताको नाराको दुरुपयोग गरे भनेर भन्छौँ।’ 

अभियानमा मतदाता आकर्षित गर्न कांग्रेसले तल्लो तहका समितिसँगै भ्रातृ तथा शुभेच्छु संगठनहरु परिचालन गर्ने भएको छ।

‘जनताको सवाल आउँदा हामी कसैलाई पक्षपात गर्दैनौँ, भेदभाव गर्दैनौँ, मेरो र तेरो गर्दैनौँ,’ महतले भने, ‘यी सन्देशहरुसहित तल्लो तहका समितिसँगै भ्रातृ तथा शुभेच्छु संगठनहरु परिचालन हुन्छन्।’     

आफ्नै नाडी छाम्दै
एक महिने अभियानमार्फत कांग्रेसले जनस्तरमा पार्टीप्रतिको आकर्षण पनि मापन गर्ने भएको छ। देशभरका कार्यकर्ताको मनस्थिति बुझेर पालिकामा पार्टीको शक्ति मूल्याङ्कनपछि चुनावी तालमेल गर्नेसमेत कांग्रेसको रणनीति देखिन्छ। 

‘बढी सिट के गर्दा आउँछ? त्यसको लेखाजोखा हामी गर्छौँ। गठबन्धन गर्दा बढी सिट आउँछ वा एक्लै जाँदा बढी आउँछ,’ प्रवक्ता महतले भने, ‘लेखाजोखाको आधारमा निष्कर्षमा पुग्छौँ। अहिले नै हामी निष्कर्षमा पुगिसकेका छैनौँ।’ 

अभियानका क्रममा चुनावी तालमेल गर्ने वा नगर्नेबारे केही नबोल्ने कांग्रेसले आधिकारिक धारणा तय गरेको उनले बताए।

‘अहिले नै गठबन्धनमा जान्छौँ वा जान्नौँ भनेर अन्यौल सिर्जना गर्नु हुन्न भन्ने पार्टीको आधिकारिक धारणा छ,’ महतले भने, ‘त्यहीअनुसार हामी काम गरिरहेका छौंँ। स्थानीय आवश्यकता र गठजोडका फाइदा–बेफाइदा अलग ठाउँको अलग स्थिति छ। मूल्यांकनको आधारमा हामी निष्कर्षमा पुग्ने हो।’   

प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले पनि आसन्न निर्वाचनमा कुनै न कुनै दलसँग कांग्रेसले चुनावी तालमेल गर्नै पर्ने बताएका छन्। पर्साको वीरगञ्जमा बिहीबार नवनिर्वाचित जिल्ला कार्यसमितिलाई प्रमाणपत्र वितरणपछि सम्बोधनका क्रममा उनले चुनावी तालमेल गर्नै पर्ने बताएका हुन्। 

‘कुनै पार्टीले बहुमत ल्याउन सक्दैन, हामीले कसै न कसैसँग मिल्नुपर्छ। गाउँमा स्थानीय तहमा समस्या होलान् मिलाएर जानुपर्छ,’ सभापति देउवाले भने, ‘गठबन्धनलाई एक साथ लानुपर्छ। प्रजातन्त्र र हाम्रो पार्टीका लागि पनि चाहिन्छ। गठबन्धनका साथीहरुलाई अनावश्यक चिढ्याउनु हुँदैन। बाहिर जथाभावी बोलेर गठबन्धनका साथीहरुलाई बिच्काउने काम नगरौँ।’

यसअघि गत मंगलबार ‘घरघर जाऔँ, नेपाली कांग्रेस जिताऔँ’ अभियानका लागि खटाइएका केन्द्रीय प्रतिनिधिहरूलाई सानेपा बोलाएर उनले सत्तारुढ गठबन्धन तलमाथि हुने गरी नबोल्न निर्देशन दिएका थिए। 

देउवाले एक्ला–एक्लै निर्वाचनमा जाँदा कसैको पनि बहुमत आउन नसक्ने पनि जिकिर गरे। त्यही कारण तीनै तहको निर्वाचनमा कांग्रेसले गठबन्धन दलसँग मिलेर लड्ने पनि उनले बताए। 

‘अहिलेको राजनीतिक परिस्थितिमा एक्ला–एक्लै निर्वाचनमा जाँदा कसैले पनि बहुमत ल्याउन सक्दैनन्,’ सभापति देउवाले भने, ‘आगामी निर्वाचनमा गठबन्धनका दलसँग तालमेल गरेर कांग्रेसले प्रतिस्पर्धा गर्छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .